कांग्रेसको भरमा अन्तिम पटक चुनावी मैदानमा आएका खनाललाई एमालेको कडा टक्कर
नेपालबहस संवाददाता
कात्तिक ८, २०७९ मंगलबार १७:५२:१९
८ कार्तिक, इलाम । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अहिले इलाममै डेरा जमाएर बसेका छन् । उनी सातौ पटक प्रतिस्पर्धामा रहेका नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई आफ्नै पुरानो पार्टीले कडा टक्कर दिएका कारण उतै डेरा जमाएर बस्नु परेको हो । राष्ट्रिय राजनीतिमा पटकपटक उदाएका खनाल यसपटक कांग्रेसको साथमा अन्तिम पटक संसद प्रवेश गर्ने तयारीमा छन् ।
इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दै गरेका खनालले गठबन्धन दलबाट इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि एमालेले कडा टक्कर दिएको छ । खनाल अहिलेसम्मका निर्वाचनमा एकपटक बाहेक सबैमा विजयी पनि भएका छन् । ‘हेभिवेट’ खनाललाई अहिलेसम्मका चुनावको निकटतम् प्रतिद्वन्द्वी (नेपाली कांग्रेस) समेतको साथ रहँदा पनि उनको जीत सहज देखिएको छैन् ।
३१ वर्षयता निरन्तर सूर्य चिह्नमा भोट मागेर जितेका खनाललाई अबको चुनावमा भने हिजोसम्म रुखमा र गोलाकारभित्र हसिँयाहतौंडामा भोट हाल्नेहरूले पनि भोट हाल्नुपर्ने भएपछि मत विभाजित हुने अवस्था रहेको छ ।
इलामका एक नेताका अनुसार खनालले विगतमा कांग्रेसप्रति गरेको विभेदकारी व्यवहारका कारण पनि कांग्रेसको सबै मत खनाललाई जाने संभावना निकै न्यून रहेको छ । ‘विगतमा पनि खनालकै डोमिनेशनमा परेका हौं अहिले उनैलाई भोट माग्नुपर्ने अवस्था छ, उनलाई राजनीतिको अन्तिम पटक मत दिने भन्ने कुरा भावानात्मक हो तर यसपटक कांग्रेसजन सबैले मत दिन्छन भन्ने कुरा गलत छ, जसले गर्दा फेरी पनि एमालेले बाजी मार्ने संभावना पनि देखिन्छ, अर्कोतिर खनाल आफै पनि एमालेको भोट साटसाट गर्ने पक्षमा देखिएका छन्, त्यो भनेको सुवास नेम्वाङसँगको सहकार्य पनि हो’, ती नेताको दावी छ । उनका अनुसार विगत स्थानीय तहको निर्वाचनमा पनि खनालबाट कांग्रेसले धोका पाएको थियो । अहिले पनि खनालको गतिविधिलाई लिएर कांग्रेसहरु पनि उत्तिकै शंकित बनेका छन् ।
इलामका गाउँ–गाउँ चहारेर भूमिगत राजनीति गर्दादेखि २०४६ सालको राजनीतिक परिवर्तनमा समेत खनाल इलामेको आशाको केन्द्र बनिरहेपनि उनले त्यस्तो कुनै कायपलट गरेको देखिदैन । विकासको क्रमसँगै इलाम आफनै गतिमा बद्लिएको अनुभूति गरेका जनताले खनालबाट खास अपेक्षा पनि गरेका छैनन् । ०४६ सालको परिवर्तनपछि २०४८ र २०५१ सालका संसदीय निर्वाचनमा खनाललाई नै विजयी गराएर इलामे मतदाताले आफ्नो ‘वास्ताविक प्रतिनिधि’ भएको पुष्टि समेत गरिदिएपनि खनालले कायपलट नगरेको यहाँका जनताले बताउँदै आएका छन् । ०५६ सालको निर्वाचनमा पराजित बनेपनि ०६४ र ०७० सालको संविधानसभा निर्वाचन तथा ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खनाल इलाम १ बाट पुनः विजयी बनेका थिए । अहिले उनी कांग्रेसको साथ लिएर राजनीतिको उत्तराद्र्धमा प्रतिनिधि बन्ने कोसिस गरिररहेका छन् । ‘ जीवनभर कांग्रेससँग प्रतिस्पर्धा गरेका उनलाई अन्तिममा कांग्रेसले नै उद्धार गर्नुपर्ने अवस्था छ’, एक कांग्रेस नेताले भने ।
इलामकै साखेजुङमा २००६ साल चैत ६ मा जन्मेका खनालले राजनीतिशास्त्र र इतिहासमा स्नातक अध्ययन गरेका छन् । उनले केही समय विज्ञान विषयको शिक्षक भएरसमेत काम गरे । राजनीतिमा क्रियाशील भएपछि जागिरबाट अलग भएर उनी कम्युनिस्टको पूर्णकालीन कार्यकर्ता बनेका थिए । जन्मगाउँ साखेजुङ इलामको क्षेत्र नम्बर २ मा पर्ने भएपनि खनाललाई क्षेत्र नम्बर १ का मतदाताले सांसदका रूपमा पटक–पटक विजयी बनाएर सिंहदरबार (प्रतिनिधिसभा) छिराए । २०६७ माघ २० मा उनी देशको प्रधानमन्त्री समेत निर्वाचित भए । पार्टीभित्र नेता–कार्यकर्ता ‘व्यवस्थापन’ गर्न नसकेको आरोप खेपिरहेका खनालका लागि यो निर्वाचन चुनौती र अवसर दुवैका रूपमा अगाडि छ । तर, उनलाई आफ्नो दल नेकपा (एस)को मात्रै मत जितका लागि पर्याप्त भने देखिँदैन । सत्ता गठबन्धनको भागबण्डामा खनाल निर्वाचनपछि देशको राष्ट्रपति बन्ने चर्चा इलामस्थित गठबन्धन दलका नेताबीच हुने गरेको भएपनि त्यो संभावना निकै कमजोर छ ।
उनको निर्वाचन क्षेत्रमा पर्ने मुख्यपालिका सूर्याेदय नगरपालिकामा गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा नेकपा (एस)का उम्मेदवारले ल्याएको एकल मत हिसाब गर्दा ९ हजार हाराहारी देखिन्छ । तर, यो निर्वाचन क्षेत्रमा ५४ हजार २ सय ८८ मतदाता छन् । यही क्षेत्रका अन्य पालिकामा उनकै दलको मत चाहिँ ‘थपथाप’मात्रै हुने देखिन्छ । र, जितका लागि कांग्रेस र नेकपा (माओवादी)को पनि सबैजसो मत उनलाई आवश्यक देखिन्छ ।
पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट खनाल नेकपा (माओवादी केन्द्र)सहितको साझा उम्मेदवारका रूपमा निकटतम् उम्मेदवारभन्दा १७ हजार २ सय ६७ मतान्तरले विजयी बनेका थिए । खनालले ३६ हजार ८ सय ५ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेलको १९ हजार ६ सय ३८ मत आएको थियो । सूर्याेदय नगरपालिका, माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका, माई नगरपालिकाको वडा १, २, ३, ४, ५, ६ र १० तथा इलाम नगरको वडा १० उनको निर्वाचन क्षेत्रमा पर्छन् । खनालका लागि अहिले सबैभन्दा उपयुक्त मतदाता रहेको स्थान चाहिँ सूर्योदय नै हो ।
वैशाख ३० को स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस)कै रणबहादुर राई सूर्याेदयको मेयर निर्वाचित भएका थिए । राई गठबन्धनबाट मेयरमा विजयी हुने १ नम्बर प्रदेशकै एकमात्र पालिमा प्रमुख समेत हुन् । गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा सूर्याेदय र माइजोगमाई दुवै पालिकाको प्रमुख पद गठबन्धनबाट नेकपा (एस)को भागमै परेपछि कांग्रेसजन त्यतिबेलै असन्तुष्ट बनेको थियो । यद्यपि अहिले गठबन्धन भएकाले कांग्रेसले चुपचाप मत मागिरहेको छ । माइजोगमाईको अध्यक्षमा गठबन्धन पराजित हुँदा आक्रोशित खनालले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै ‘कांग्रेसले आफ्ना उम्मेदवारलाई धोका दिएको’ सार्वजनिक अभिव्यक्ति दिएपछि कांग्रेस त्यतिबेला पनि चिढिएको थियो । उनले ‘कांग्रेसका मतदाताले गठबन्धनका उम्मेदवारलाई भोट नदिई एमालेका उम्मेदवारलाई जिताएको’ गम्भीर आरोपसमेत लगाएका थिए ।
उनको अभिव्यक्तिपछि कांग्रेसका जिल्ला तहकै कतिपय नेता र कार्यकर्ताले सार्वजनिक रूपमै खनालको चर्काे विरोध गरेपनि अहिले उनीहरु राष्ट्रिय आवश्यकता र बाध्यता भन्दै मत मागिरहेका छन् । त्यो बेला खनालले नेकपा (एस)ले जिल्ला समन्वय समिति (जिसस) र सूर्याेदय नगरपालिकाको कार्यपालिका गठन क्रममा तत्कालीन सत्ता गठबन्धन नै भत्काएका थिए । गठबन्धनबाट अलग भएर नेकपा (एस)ले जिसस र सूर्याेदयको कार्यपालिका गठनमा एमालेसँग तालमेल गरेपछि अहिले उनलाई कांग्रेसको साथ लिन नैतिक रुपमा संकट रहेको छ ।
गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा जिल्लामा गठबन्धन दलबीच पद भागबण्डा गर्न गठित समितिका संयोजक कांग्रेस नेता बेनुपराज प्रसाईंले गठबन्धनबाट खनाललाई क्षेत्र १ को उम्मेदवार बनाएकामा सार्वजनिक रूपमै विरोध गरिरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत् खनाललाई विभिन्न आरोप लगाउँदै विरोध जनाएका हुन् ।
२०५६ सालको निर्वाचनमा यही क्षेत्रबाट उनै खनाललाई पराजित गरेका प्रसाईंले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नेपाली कांग्रेसको प्रतिबद्ध कार्यकर्ता हुँ । गठबन्धन चुनावी रणनीति हो । गठबन्धन दलमा मेरो सदस्यता छैन । माओवादी र नेकपा (एस) का कुनै नयाँ उम्मेदवार आएको भए मेरो पूर्ण समर्थन हुने थियो होला । तर, जबसम्म जेएन (झलनाथ खनाल) ले कांग्रेसलाई आजसम्म गरेको गाली, जिल्ला समन्वय समितिमा कांग्रेसको विरोधमा गरेको अपराधप्रति माफी माग्ने काम, लक्ष्मीपुरमा समाल परिवारलाई गर्नुभएको अपराधमा माफी माग्ने काम गर्नुहुन्न, मेरो समर्थन हुँदैन । कांग्रेसमा दासत्व स्वीकार नगर्ने कुनै पनि स्वाभिमानी कार्यकर्ताको समर्थन हुँदैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार