काठमाडौं-१ मा कांग्रेसको मत तीनतिर विभाजित, प्रकाशमानलाई आफ्नै भोट बचाउन कठिन
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार १८:५:४८
११ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी देशभर बढीरहेका बेला संघीय राजधानीसमेत रहेको काठमाडौं क्षेत्र न. १ को चुनावी माहोल फरक ढंगले विकसित भइरहेको छ । यस क्षेत्रमा बलियो मानिएका सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई आफ्नै मत जोगाएर राख्नसमेत मुस्किल हुँदै गइरहेको छ ।
यो क्षेत्रमा स्थानीय तहको मतलाई आधार मान्दा सत्ता गठबन्धनको मत विपक्षी एमालेभन्दा धेरै अगाडी छ । कांग्रेसको एकल मत मात्रै पनि एमालेभन्दा यो निर्वाचन क्षेत्रमा बढी छ । त्यसमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको जोड्दा १५ सय हाराहारीमा प्रकाशमान सिंहको मत बढी देखिन्छ । तर, उनको यो मत तीनतिर विभाजित हुने देखिएको छ ।
सिंहसँगको प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेका युवा नेता किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत छन् । सिंहको पक्षमा देखिएको राप्रपाका मिश्र, स्वतनत्रका बम र सुशासनका उम्मेदवार खरेलले काट्ने प्रवल सम्भाववना देखिएको छ । स्थानीयहरुका अनुसार मिश्रले भन्दा बम र खरेलले सिंहको बढी म प्रभावित बनाउने छन् ।
यी तीन उम्मेदवारले सिंहको पक्षमा रहेका भनिएका मत मध्ये १५ सयदेखि २ हाजार मात्रै काटिए पनि उनलाई चुनाव जित्न मुस्किल पर्ने कांग्रेसकै कार्यकताहरु बताउँछन् । यता, स्थानीय कांग्रेसका केही कार्यकर्ता र मतदातासमेत सिंहबाट असन्तुष्ट छन् । उनलाई विगतदेखि नै समर्थन नगर्ने एकथरी कार्यकर्ताहरु अझै पनि विपक्षमै देखिएका छन् ।
सानो भूगोल भएपनि ठूलो संख्यामा मतदाता यो क्षेत्र रहेका छन् । काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ वडा यस क्षेत्रमा पर्छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ हजार १८ जना मतादाता छन् । २०७४ सालको तुलानामा यहाँ २ हजार ५ सय ८८ जना नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाताले नयाँ अनुहार रोज्ने सम्भावना धेरै देखिएको छ ।
काठमाडौं १ मा २०५१ देखि निरन्तर चुनाव लड्दै आएका कांग्रेस नेता सिंह पुनः उम्मेदवार भएर आएका छन् । उनले यो क्षेत्रबाट २०५१, ०६४, ०७० र ०७४ मा निर्वाचन जितेका छन् । चार दशकदेखि राजनीतिमा सक्रिय सिंह पटक–पटक मन्त्रीसमेत भएका छन् । सिंहसँगको प्रतिस्पर्धामा धेरै उम्मेदवार रहेपनि अहिले चर्चा भने मिश्र, पौडेल, बम र खरेललको मात्र बढी छ ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त मत परिणाम हेर्दा यो क्षेत्रमा कांग्रेस अगाडि छ । पार्टीगत वडाध्यक्षहरुले पाएको मतमा कांग्रेसले ९ हजार ८ सय ९५, एमालेले ९ हजार ५ सय ४१, माओवादी केन्द्रको ११ सय ५९, राप्रपा नेपालको ११ सय ४९ र विवेकशील साझाको २ सय ७३ मत छ । चार वडामध्ये १०, ११ र २९ मा कांग्रेस र ३१ नम्बर वडामा एमालेले बढी मत ल्याएको छ ।
त्यसमा पनि वडा नम्बर १० मा कांग्रेसले ३ हजार ४ सय २८ मत प्राप्त गर्दा एमालेले १ हजार ९ सय ५३ पाएको छ । एमाले प्रभाव देखिएको वडा नम्बर ३१ मा सो पार्टीले ४ हजार ७ सय ६७ मत र कांग्रेसले २९ सय ९१ मत प्राप्त गरेको थियो । कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएकाले स्थानीय तह चुनावमा प्राप्त मतलाई जोड्दा ११ हजार ५४ हुन्छ । सिंहले यही क्षेत्रबाट २०७४ सालमा १० हजार ९ सय ३६ मत (३९.५१ प्रतिशत) ल्याएर प्रतिनिधिसभा विजय हासिल गरेका थिए ।
काठमाडौं कांग्रेसको राजनीतिमा पकड बनाएका सिंह उपप्राधनमन्त्री एवं स्थानीय विकासमन्त्रीसमेत भएका थिए । गत आम निर्वाचनमा काठमाडौंमा १ बाट उम्मेदवारी दिएका २२ मध्ये ३ जनाबाहेक सबैको जमानत जफत भएको थियो । उनीहरुले एक प्रतिशत पनि प्राप्त गरेका थिएनन् । सिंहले यसपटक ‘राजनीतिलाई निकास र क्षेत्रमा विकास’ भन्ने नारा अगाडी सारेका छन् । उनले आफुलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार हुन सक्ने आश्वासन पनि मतदातालाई दिएका छन् ।
२०७४ को निर्वाचनमा सिंहका प्रतिस्पर्धी रवीन्द्र मिश्र पनि दोस्रो पटक यही क्षेत्रमा चुनाव लड्दैछन् । विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्रले उक्त निर्वाचनमा १० हजार १ सय १८ मत ल्याएका थिए । अहिले मिश्र राप्रपाबाट चुनावी मैदानमा छन् । एमालेले यो क्षेत्रबाट किरण पौडेललाई मैदानमा उतारेको छ । युवा राजनीतिबाट उदाएका पौडेल एमालेको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष हुन् । उनले समृद्धि र सुशासन, युवा नेतृत्वको नारा अघि सारेका छन् ।
यस्तै वैकल्पिक राजनीतिबाट उदाएका युवा नेता पुकार बम पनि यस क्षेत्रबाटै प्रतिस्पर्धा गर्दैछन् । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बनेका हुन् । पुकारले संविधानको व्यवस्थाअनुसार कार्यान्वयन नभएका नागरिकको जनजीविकाको परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले सक्षम, अनुभवी पुस्ता संसद्भित्र आउनुपर्ने, एउटै व्यक्तिले सिंहदरबारभित्र पहुँच र पद होल्ड गर्ने कार्य बन्द हुनुपर्नेजस्ता एजेन्डा अघि सारेका छन् ।
यही क्षेत्रमा नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल पनि उम्मेदवार बनेका छन् । उनी नेपाल सुशासन पार्टी खोलेर राजनीतिक गतिविधिमा होमिएका हुन् । प्रहरी सेवाबाट राजानीमा दिएर राजनीति अँगालेका खरेलले मुलुकभित्रको विकृतिको अन्त्य गर्दै सुशासन कायम गर्न उम्मेदवारी दिएको उल्लेख गरेका छन् । खेरलले यो क्षेत्रबाट प्रतिस्पर्धाकै रुपमा मत ल्याउने आंकलन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार