काठमाडौं-५ मा पोखरेललाई रोक्न प्रदीपलाई कति सहज !
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार १९:२८:३५
२२ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ को चुनावी माहोल विरासत जोगाउने र भत्काउनेबीचको प्रतिस्पर्धाले थप रोचक बन्दै गइरहेको छ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्षसमेत रहेका उम्मेदवार इश्वर पोखरेल कुनै पनि हातलमा आफ्नो क्षेत्र जोगाउने कसरतमा लागेका छन् भने कांग्रेसका तर्फबाट सत्ता गठबन्धनका साझा उम्मेदवार प्रदीप पौडेले पोखरेललाई हराएर संसदीय राजनीतिमा प्रवेश गर्ने तरखरमा जोडतोडका साथ लागेका छन् ।
चुनावी प्रचारका क्रममा पौडेलप्रति युवाहरुको आकर्षण बढी देखिन्छ भने संगठनको बलमा चुनाव जितिने विश्वास पोखरेललाई लागेको छ । कांग्रेसका नेता–कार्यकर्ताहरूले ईश्वर पोखरेललाई विवादित नेताको आरोप लगाउँदै आएका छन् भने प्रदीप पौडेललाई एमाले नेता–कार्यकर्ता टुरिस्ट उम्मेदवारको संज्ञा दिएका छन् । तर, पौडेल भने आफु टुरिष्ट उम्मेदवार नभएर काठमाडौंकै रैथाने सरह भएको बताउँदै आएका छन् ।
यसैले पनि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलबीच काठमाडौं–५को चुनावी प्रतिस्पर्धा आक्रमक बन्दै गएको छ । दुवै दलका नेता तथा कार्यकर्ताले राजनीतिक एजेण्डा र मुद्दालाई भन्दा नयाँ कि पुरानो र परिवर्तनकारी कि यथास्थितीवादीलाई राज्ने भन्दै मत मागिरहेका छन् । गृहजिल्ला तनहुँ–२ बाट सिफारिस भएका कांग्रेसका पौडेललाई पार्टीले काठमाडौं–५ मा उम्मेदवार बनाएको हो ।
विपक्षी प्रतिस्पर्धीले ‘टुरिस्ट’ उम्मेदवारको ‘ट्याग’ भिराइदिए पनि त्यसको प्रतिवाद गर्दै प्रदीपले आफ्नो ३२ वर्षको राजनीतिक जीवन नै राजधानीमा बिताएको बताउने गरेका छन् । विद्यार्थी जीवनदेखि राजधानीलाई केन्द्र बनाएर संघर्षमा होमिएको बताउने पौडेलले आफूलाई ‘टेष्टेड नभएको, युवा र केही गरौं भन्ने हुटहुटी बोक्ने परिवर्तनकामी र युवा जोश भएको उम्मेदवारको रुपमा आफूलाई अघि सारेका छन् ।
निर्वाचन क्षेत्रमा आफूले गरेका विकास निर्माण, राष्ट्रिय राजनीति, स्थानीय तहमा निर्वाह गरेको भूमिका र पार्टीको संगठनलाई पोखरेलले आफ्नो बलियो पक्ष ठानेका छन् । सतहमा जे भने पनि भित्रैबाट दुवै उम्मेदवार ‘ढुक्क’ बन्न सकेका छैनन् । काठमाडौं महानगरपालिकामा बालेन शाहको उदयले निम्ताएको तरंग यसपटकको निर्वाचनमा समेत देखिएको छ । राजनीतिक दलका विकल्पमा खडा गरिएको स्वतन्त्रहरूको अभियानले मतदातामा कस्ता तरंग ल्याउन सक्ला भन्ने अनुमान अहिल्यै गर्न कठिनाइ छ । यतिबेला मैदानमा मुख्य प्रतिस्पर्धी पोखरेल र प्रदीप भएपनि स्वतन्त्रहरू उम्मेदवारको प्रभाव पनि मतदातामा उत्तिकै देखिएको छ ।
यस क्षेत्रमा कांग्रेस, एमाले, जसपा, मनजदुर किसान पार्टी, लोसपा, राप्रपा, स्वतन्त्र पार्टीसहति ३० जनाको उम्मेदवारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका प्रणयशम्सेर राणा विगतमा कांग्रेस पृष्ठभूमिमा थिए भने अर्का स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठ एमालेमा थिए । स्वतन्त्र पार्टीको कार्यक्रममा भाषण गरेको भनेर राणालाई कांग्रेसले कारबाही गरेको थियो । अहिले रवि लामिछाने नेतृत्ववको पार्टीबाट चुनाव लड्दा उनले कांग्रेसको मत काट्छन् कि भन्ने चिन्ता कांग्रेसलाई छ ।
श्रेष्ठले एमालेको मत काट्ने चिन्ता छ । यसै क्षेत्रमा विवेकशील पार्टी त्यागेर रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । यसै क्षेत्रमा जन्मेको, हुर्केको र अध्ययन गरेको भन्दै उनले मत मागिरहेकी छन् । २०७४ मा विवेकशीलबाट काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्दा करिब २४ हजार मत ल्याएकी थिइन् । यस्तै अर्का युवा नेता श्री गुरुङले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । पर्यटन व्यवसायीसमेत रहेका गुरुङ पर्यटनलाई प्रमुख मुद्दा बनाएर निर्वाचनमा होमिएका हुन् ।
०७९ को स्थानीय तहको मतलाई आधार मान्ने हो भने काठमाडौं–५ को निर्वाचन क्षेत्रमा एमाले बलियो देखिन्छ । वडा अध्यक्षहरूले प्राप्त गरेको मत जोड्दा प्रतिस्पर्धी कांग्रेसभन्दा एमाले ५ हजार मतले अगाडि छ । प्रदीपका लागि सबैभन्दा ठूलो बल नरहरि आचार्यको विरासत पनि हो । उम्मेदवार मनोनयनलगत्तै उनले निवासमै पुगेर नरहरिको ’आर्शिवाद’ मात्रै लिएनन्, उनको पछ्याएको राजनीतिक आदर्श र विचारमा हिँड्ने बाचा पनि गरेका छन् ।
आचार्य यस क्षेत्रबाट ०६४ र ०७० का दुवै संविधानसभा निर्वाचनमा विजयी भएका थिए । ती दुवै प्रतिस्पर्धामा एमाले नेता ईश्वर पोखरेल नै निकटतम प्रतिद्वन्द्वी थिए । त्यतिबेला आचार्य पार्टीको केन्द्रीय सदस्य थिए भने पोखरेल महासचिव । हाल पौडेल केन्द्रीय सदस्य हुन् भने पोखरेल बरिष्ठ उपाध्यक्ष । पार्टीका शीर्ष व्यक्तित्वसँगको प्रतिस्पर्धा पौडेलका लागि भारी हुने तर्क पनि चलिरहेको छ ।
धेरैले चुनावी मैदानमा आएका दुई प्रतिस्पर्धी उम्मेदवार पोखरेललाई ‘टेष्टेड’ र छवि धुमिल्याएका नेताका रुपमा हेरेको पाइन्छ भने प्रदीप ‘टेष्ट’ नभइसकेका कांग्रेसमा सम्भावना बोकेका नेताको रुपमा हेर्ने गरेको पाइन्छ । एमालेका समर्थकहरु भने यस तर्कलाई मान्न तयार छैनन् । कांग्रेसको महामन्त्रीमा प्रतिस्पर्धा गरिरहेको र जन्मथलो तनहुँमा चुनाव लडिसकेकाले प्रदीपलाई ‘टेष्ट’ नभएको नेताका रुपमा चित्रण गर्नु स्वभाविक नभएको उनीहरुको भनाइ छ ।
०७४ मा प्रदीप तनहुँको निर्वाचन क्षेत्र २ को प्रदेश निर्वाचन क्षेत्र १ बाट चुनावी प्रतिस्पर्धा गर्दा जम्मा ५ मतले पराजित भएका थिए । यसपटक पनि उनी आफ्नै गृहजिल्लामा चुनाव लड्न चाहन्थे, तर उम्मेदवार व्यवस्थापनमा कठिनाइ परेपछि उनलाई काठमाडौंमा उम्मेदवार बनाइएको हो । यसलाई एमालेले ‘टुरिस्ट’ उम्मेदवार भनेर चुनावी लाभ लिन खोजिरहेको छ । स्वास्थ्यका कारण नरहरिले ०७४ देखि नै चुनावी प्रतिस्पर्धा गरेनन् । अहिले त उनी राजनीतिबाटै विश्राम लिएका छन् ।
नरहरिको विश्रामले पोखरेलको राजनीति उचाइलाई बल पुर्याएको एमालेकै कतिपय नेताहरू बताउँछन् । ०७४ मा कांग्रेसले हालका पार्टी प्रवक्ता प्रकाशशरण महतलाई टिकट दिएको थियो । तर पोखरेलसँग उनी झन्डै १० हजार अन्तरमा पराजित भएका थिए । यसपटक भने ईश्वर र प्रदीप दुवै एकअर्काका मुख्य प्रतिस्पर्धी हुन् । दुवैले मतदाता आफूतिर तान्न आक्रमक ढंगको प्रचार पनि गरिरहेका छन् ।
स्थानीयहरुका अनुसार यो क्षेत्रमा करिब १० हजार मत न्यूट्रल छन् । तिनै मतदाताले अन्तिम घडीमा लिने भूमिकाले जित–हारको निर्धारण गर्छ । ती मतदाता कस्ता होलान् त ? यस क्षेत्रमा अति सम्पन्न र शिक्षित मतदातादेखि सुकुम्बासी र अति विपन्न वर्गका मतदातासमेत छन् । करिब ६ हजार मत सुकुम्बासीका छन् । काठमाडौं महानगरपालिका–३, ४ र बूढानीलकण्ठ नगरपालिका–७ मा सुकुम्बासी बस्ती पर्छ । यी बस्तीमा चलखेल हुनसक्ने भय दुवै तर्फका उम्मेदवारलाई छ ।
अर्कोतर्फ बालुवाटारको काठमाडौं–४ मा सबैभन्दा बढी मतदाता छन् र यसै वडाका मतदाता सबैभन्दा बढी सचेत र शिक्षित पनि मानिन्छन् । उनीहरूको भूमिकाले सिंगो ५ नं क्षेत्रकै नतिजा प्रभावित बनाउन सक्ने आकलन उम्मेदवारहरूको छ । राजधानीमा खाल्टाखुल्टी पुर्नुदेखि सडकको पिच, खानेपानीको बन्दोबस्त, फोहर व्यवस्थापनजस्ता मुद्दा छन् । वर्षामा टुकुचा खोलाले दिने सास्ती, सुकुम्बासीको व्यवस्थापन समेत यस क्षेत्रका चुनावी मुद्दा हुन् । यस क्षेत्रमा करिब साढे ७१ हजार मतदाता छन् । स्थानीय तहको निर्वाचनपछि करिब ३५ सय नयाँ मतदाता थपिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार