महोत्तरी–२ मा चुनावी प्रचार उत्कर्षमा: भण्डारीसहित सत्ता गठबन्धनका उम्मेदवार जीतको नजिक
नेपालबहस संवाददाता
कात्तिक २६, २०७९ शनिबार २२:३९:५१
♦ गोपालप्रसाद बराल
२६ कात्तिक, महोत्तरी । निर्वाचन प्रयोजनको सभा, सम्मेलन र खुला प्रचारप्रसार अभियानको अवधि अब एक साताभन्दा कम बाँकी छँदा महोत्तरी–२ प्रतिनिधिसभा क्षेत्रमा चुनावी प्रचार उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुरुप १७ कात्तिकदेखि मंसिर १ गतेसम्मको खुला प्रचार अवधि अब पाँच दिनमात्र बाँकी छँदा यहाँ दल र उमेदवारले चुनावी प्रचारलाई तीव्र बनाएका हुन् ।
क्षेत्रका बस्तीबस्तीमा दल र उम्मदेवारका निर्वाचन चिन्हका प्रचार गीत र नाराका स्वर जताततै सुनिन्छन् । दल र उम्मदेवारले समूहमा घरदैलो र बस्तीबस्तीमा कोणसभाका कार्यक्रम सम्पन्न गर्दैछन् । “हामीले मतदातासँगको भेटलाई उच्च प्राथमिकतामा राखेका छौँ, यसबाहेक मतपत्रका नमुनामा मत दिने तरिकाबारे आम मतदातालाई देखाउने/बताउने गरिएको छ”, महोत्तरी–२ बाट प्रतिनिधिसभाका तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल ‘वृषेशचन्द्र लाल नेतृत्वको’ का उम्मदेवार डा. विजयकुमार सिंह भन्छन, “खुला प्रचारको समय अवधि कम हुनाले एकै ठाउँ धेरै मतदातालाई आफ्ना कुरा भन्न कोणसभा पनि गर्दैछौँ ।”
क्षेत्रमा पाँचदलीय सत्ता गठबन्धनबाट लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी प्रतिनिधिसभाका उम्मदेवार छन । त्यसैगरी यो क्षेत्रको प्रदेशसभा ‘१’ र ‘२’ मा क्रमशः लोसपाका जयनुल राइन र नेपाली कांग्रेसका जिल्ला सभापति नागेश्वर यादव सत्ता गठबन्धनका उम्मदेवार हुन् । प्रदेशसभा ‘१’ मा भने सत्ता गठबन्धनबाट राइन आधिकारिक उम्मदेवार भनिए पनि नेकपा ‘एकीकृत समाजवादी’का मञ्जु यादव पनि उम्मदेवार छन । यादव आफूलाई गठबन्धनकै उम्मदेवार बताउँछन । उता राइन पनि आफूलाई सत्ता गठबन्धनकै उम्मदेवार बताउँछन । दुवै आ–आफ्ना प्रचारमा सक्रिय रहेका छन् । प्रदेशसभा क्षेत्र ९२० मा भने सभापति यादव गठबन्धनको सर्वसम्मत हुन ।
यसैगरी एमाले/जसपा गठबन्धनले प्रतिनिधिसभामा यो क्षेत्रबाट एमालेका डा. रामपरीक्षण यादवलाई उम्मदेवार बनाएको छ । चिकित्सा क्षेत्रमा सफल चिकित्सक डा. यादव क्षेत्रका ३६ वटै वडा बस्तीमा एकपटक आफू पुगिसकेको बताउँछन । “हामी सघन भेटघाटमा छौँ, यद्यपि अहिले सघन खेतीको बेला परेको हुँदा अपेक्षित भेट भने हुनसकेको छैन”, डा. यादव भन्छन, “ठाउँठाउँमा कोणसभा सम्पन्न गर्दैछौँ, मुख्यपक्ष मत बदर नहोस् भन्ने शिक्षामा जोड दिँदैछौँ ।” यो क्षेत्रका दुई प्रदेशसभा क्षेत्रमध्ये ‘१’ मा जसपाका धर्मेन्द्रकुमार साह र ‘२’ मा एमालेका लक्ष्मीनारायण भगत यो गठबन्धनका उम्मदेवार हुन । प्रदेशसभा क्षेत्र ‘२’ मा यसअघि निर्वाचित प्रदेशसभा सदस्य सुरिता साहले यसपटक स्वतन्त्र हैसियतमा उम्मदेवारी दिएका छन् ।
महोत्तरी–२ प्रतिनिधिसभा क्षेत्रमा आठ स्वतन्त्रसहित १७ जना उम्मदेवार छन । जसमा महिला छैनन् । त्यसैगरी यो क्षेत्रको प्रदेशसभा क्षेत्र ९१० मा आठ स्वतन्त्रसहित १९ जना उम्मदेवार छन । उम्मदेवारमध्ये एक महिला रहेको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–२ बलवाले जनाएको छ । यसैगरी प्रदेशसभा क्षेत्र ‘२’ मा १३ स्वतन्त्रसहित २० जना उमेदवारभित्र दुई जना महिला छन् ।
महोत्तरी–२ प्रतिनिधिसभा क्षेत्रमा चार नगरपालिका र तीन गाउँपालिकासहित सात स्थानीय तहका ३६ वडा समेटिएका छन् । जसमा बलवा नगरपालिकाका ११ ‘सबै’, लोहारपट्टी नगरपालिकाका नौ ‘सबै’, भङ्गाहा नगरपालिकाका पाँचवटा र औरही नगरपालिकाका तीनवटा वडा सामेल छन् । यसैगरी महोत्तरी गाउँपालिकाका पाँच ‘सबै’, एकडारा र पिपरा गाउँपालिकाका एक–एकवटा वडा यस क्षेत्रमा पर्छन् । जम्मा ३६ वटा वडाभित्र १०० भन्दा बढी बस्ती छन् । प्रतिनिधिसभा क्षेत्रका ३६ वडामध्ये प्रदेशसभा क्षेत्र ‘१’ मा १७ र ‘२’मा १९ वडा छन् ।
राजनीतिक दलहरुमा पाँचदलीय सत्ता गठबन्धन ‘नेका, माओवादीकेन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा’ मध्ये राष्ट्रिय जनमोर्चाको यहाँ गतिविधि देखिदैन । चुनावमा सत्तागठबन्धन, एमाले÷जसपा गठबन्धन, जनमत पार्टी, तमलोपा, राप्रपा नेपाल र राप्रपासहितका दलका उम्मदेवार प्रतिष्पर्धामा छन् । यहाँ आठ दलका उम्मदेवार भएपनि चुनावमा भने सत्ता गठबन्धनका उम्मदेवार शरतसिंह भण्डारी र एमाले/जसपा गठबन्धनका उम्मदेवार डा.यादवबीच मुख्य प्रतिष्पर्धा हुने बलवा–१० का सामाजिक कार्यकर्ता अव्दुल रफिकको अड्कल छ ।
यसअघि २०७४ मा शरतसिंह भण्डारी निर्वाचित भएका यो क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा पनि वडा तहको मतआधारले लोसपा पहिलो दल देखिन्छ । यद्यपि स्थानीयतहको निर्वाचनकै हुबहु हुने भन्न नसकिएपनि दलगत आँकलन गर्दा यसपालि प्रतिनिधिसभामा भण्डारी र एमाले/जसपा गठबन्धनका डा. यादवबीच मुख्य प्रतिष्पर्धा हुने अड्कल गरिएको रफिक बताउँछन ।
यसअघिका निर्वाचन परिणाम सुनाउनु र सोअनुसार नतिजा आउँने कुरामा आफ्नो असहमति रहेको जनमत पार्टीका उम्मदेवार उमेश यादवको भनाइ छ । “जनता त परिवर्तन चाहिँ रहेका छन्, अनि यसअघिका निर्वाचनमा फलाना फलाना जितेका थिए, फेरि तिनैबीच प्रतिस्पर्धा हुन्छ भन्नु त परिवर्तन छेक्नु हो”, यादव भन्छन, “निर्वाचनमा सबै सम्भावना उत्तिकै ज्यूँदा छन्, पुराना होउन् कि नयाँ ।” आफूले जनताबीच स्नेह र वास्ता राम्रै पाइरहेको यादवको भनाइ छ ।
दलका नेता र उम्मदेवार सहयोगीसहित निर्वाचनचिन्ह अङ्कित झण्डासाथ बस्तीबस्ती पसेपछि माहोल निर्वाचनमय बनेको छ । मतदाताबीच दलका नेता र उम्मेदवारले गर्ने वाचा सुन्दा त अब देश उँभो लाग्ने भएछ कि भन्ने भ्रम पर्ने गरेको भङ्गाहा–२ सिङ्ग्याही बस्तीका ३० वर्षीय युवा सञ्जय यादवको भनाइ छ । तर आफैं मतदाता भएर संसद र स्थानीय तह गरी यसअघि चार चुनाव हेरिसकेका यादव अब भने काम नदेखेसम्म कसैलाई पत्याउने अवस्था नरहेको बताउँछन । “तर जेहोस् निर्वाचन जनताका लागि दल र नेता पर्गेल्ने अवसर चाहि हो”, यादव भन्छन, “यस अभियानमा झुठो आश्वासन बाँड्दै आएका कति नाङ्गिने छन् ।”
दल र उम्मदेवारको सघन आउजाउले बस्तीबस्तीमा राजनीतिक छलफल, चुनावी अड्कलबाजी र स्थानीय मुद्दाबारे सर्वसाधारण पनि कुराकानी गरिरहेका भेटिन्छन् । प्रचारमा भोट माग्न आउने दल र उम्मदेवारसँग स्थानीय आवश्यकताबारे जानकारी गराउन ठाउँठाउँमा सर्वसाधारणले आपसी छलफल नै गर्ने गरेका पनि पाइएको छ । “हाम्रो मुख्य समस्या सिँचाइ नपुग्नु हो, अनि बीउ, मल र खेतीपातीमा प्राविधिक सल्लाह र सुलभ ऋण हामीलाई चाहिन्छ”, बलवा–१० धमौरा बस्तीका बासिन्दाको छलफल निष्कर्ष सुनाउँदै सो बस्तीका ७५ वर्षीय वासुदेव पासवानले भने ।
निर्वाचनमा दलबाहेकका स्वतन्त्र उम्मदेवारहरु निर्वाचन परिणाम आफ्नो पक्षमा हुने बताउन भने चुक्दैनन् । जनता अब फरक प्रतिनिधित्व चाहिरहेका हुँदा आफूहरु स्वतन्त्रमध्येमा नै निर्वाचनको नतिजा जाने प्रदेशसभा क्षेत्र ‘२’ का उम्मदेवार अनिल पाण्डेको दाबी छ । यसपालि महोत्तरी–२ प्रतिनिधिसभा क्षेत्रमा ९९ हजार सात सय सात मतदाता कायम छन् ।
महोत्तरी–२ प्रतिनिधिसभा क्षेत्रभित्र ६२ मतदानस्थलमा एक सय २६ मतदान केन्द्र रहेका निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–२ बलवाका सहायक निर्वाचन अधिकृत सुनिल चौहानले जानकारी दिए । अहिले सबै मतदान केन्द्रका लागि कर्मचारी नियुक्ती गरी तालिम दिने कार्यालयले तयारी गरेको चौहानको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार