यो चुनावले साँच्चै परिवर्तन ल्याउला ?
भेषराज पोखरेल
कात्तिक ३०, २०७९ बुधबार १७:५:२४
आवधिक निर्वाचन लोकतन्त्रको चुरो हो । जनताले पाँच वर्षपछि कस्तो नेतृत्व चुन्ने भनेर निर्णय गर्ने अवसर हो । आगामी निर्वाचन नेपाली जनताले यही रुपमा उपयोग गर्दैछन् । लामो समय ठूला दलका शीर्ष नेतृत्वको सीमित घेराले देशकाे शासन-सत्ता ओगटिरहेको छ । कहिले कांग्रेस, कहिले एमाले, कहिले माओवादीका शीर्ष नेतृत्वको घेरा र अन्य दलका केही टाठाबाठा र मन्त्री बनिरहने अनुहारले राज्यसत्ता ओगटिरहेको छ ।
यस्तो नेतृत्वले आफू र आफ्नो घेराको पृष्ठपोषणमै अधिकांश शक्ति खर्चिरहेको छ । जसले गर्दा विकासको अभियान पछाडि परेको छ, जनताको जीवनस्तर पनि सुधारिन सकेको छैन । यसले न पुँजीवादी खुला अर्थतन्त्र फस्टाउन सकेको छ, न समाजवादका सामान्य आधार तयार हुन सके । बरु दलाल पुँजीवादको दबदबा बढ्न गएको छ । प्रविधि र पूर्वाधारमा पछाडि परेका राष्ट्रमा जनता पीडित छन् ।
यस्तो दूरावस्था र व्यवस्था भोगेका जनताले आगामी निर्वाचनबाट यस्तो नेतृत्व फेर्न चाहेका छन् । यी दलका शीर्ष नेताका घेराहरु भने जसरी जुन उपायद्वारा भएपनि पुनः सत्तामा पुग्न मुख बाइरहेको छ । जनअपेक्षा परिवर्तनको पक्षमा छ । उच्चशिक्षा लिएका युवाहरुमा पनि राजनीतिक चेत, नेतृत्व लिने हुटहुटीका कारण स्वतन्त्र रुपमा चुनावमा खडा भएका छन् । दलहरुभित्रै पनि युवाहरुको उपस्थिति बढ्दै गएको देखिएको छ । यो अवस्थाले साँच्चै पटकपटक सत्तामा रहेर तर मारिरहेका नेताहरुलाई बिदा गरेर नयाँ नेतृत्व अगाडि आउला त ? चासोको विषय बन्न गएको छ ।
अहिले देशैभरि संगठन सञ्जाल भएका कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी जस्ता दलहरुका शीर्ष नेताहरु आसन्न चुनावी मैदानमा छन् । यी दलका शीर्ष नेताका वरिपरि रहने नेताहरु पनि जसरी भएपनि जितेर सत्ता हात पार्न कस्सिएका छन् । एमालेमा युवाहरुको संख्या त ठूलो छ, आधुनिक उच्च शिक्षा प्राप्त गरेको ठूलै समूह पनि तयार छ । तर केपी ओली र उनको वरिपरि घेराको विचार र व्यवहारविरुद्ध प्रश्न उठाउने हिम्मत समेत गर्दैन । यस्तो अवस्थामा दलभित्रको परिवर्तनको सोच राख्ने समूह नेतृत्वमा कसरी पुग्न सक्ला र ?
जनताले प्रष्ट देखे नेकपा र एमाले सरकारका कयौं कमीकमजोरी, दलालीकरणमा खुला प्रवेशजस्ता कुराको कहीँ कसैले विरोध गरेन । योजना बनाइए तर कार्यान्वयन भएनन् । विकास भनियो दलालको राज्यसत्तासम्म प्रवेश भयो, कसैले आवाज उठाएन । यस्तो अवस्थामा एमालेले जिते सत्तामा नयाँ नेतृत्व वा नयाँ विचारका साथ अघि बढ्ने कुनै गुञ्जायस रहला ? कसैले नेतृत्वविरुद्ध आवाज उठाए कत्लेआममा परिने निश्चित भएकाले नेतृत्वको विरोध गर्न कसैले हिम्मत गर्दैनन् । त्यसैले त एमालेले ओलीलाई नै प्रधानमन्त्री बनाउने चुनावी घोषणा गरेकाे हाे ।
स्वतन्त्र उम्मेदवार ठूलो संख्यामा चुनावी मैदानमा छन् । केहीले जित हासिल गर्लान्त, सरकारका केही कमजोरी र गल्तीको विरोध गर्लान् तर अहिलेको राजनीतिक संयन्त्र नै परिवर्तन गर्न भने कठिन छ । तसर्थ, यो चुनावले पनि जनताको परिवर्तनको आशा पूरा हुन कठिन छ ।
माओवादी केन्द्रको अवस्था पनि यस्तै छ । सो दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध कोही पनि जान सक्दैन । आवाज उठायो कि पेलियो भन्ने अवस्था छ । यस्तो अवस्था कम्युनिष्ट नीति अनुसार चलेको भएर आएको होइन । सबैको नीति त उही दलाल पुँजीवाद नै हो । माओवादीका अरु नेताहरुले जे जति गफ गरे पनि दलभित्र प्रचण्डको कुरा कसैले काट्न सक्दैन । एक त नयाँ विचार उत्पादन गर्नै नसक्ने, अर्को प्रचण्डका अगाडि केही पनि बोल्न नसक्ने । त्यसैले त उनले गठबन्धनबाट आफू नै प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने बताइरहेका छन् । माओवादी केन्द्रको नेतृत्व र उसका वरिपरिका नेताहरूकाे समूहले वास्तविक परिवर्तन ल्याउन सक्ला ? सोच्दा कसैले केही नभन्ला तर परिवर्तन सम्भवै छैन ।
जनता समाजवादी पार्टीको कुरा पनि त्यस्तै छ । निर्वाचनमा याे दल र एमाले गठबन्धनले बहुमत ल्याए सत्तासुखका सबै अवसरहरु अध्यक्ष उपेन्द्र यादव र उनको नजिकको घेराभित्रै रहने निश्चित छ । उनको विरोध गर्नु भनेकाे दल त्याग्नु सरह हाे, अर्थात दल त्याग गरेपछि मात्रै विराेध गर्न पाइन्छ । राजनीतिक अस्तित्व समाप्त गरेर बोल्ने हिम्मत कसको आउने ? अझ मधेश क्षेत्रका नेताहरुमा ? यो त यथार्थ देखिरहिएकै छ नि । एकीकृत समाजवादी नयाँ दल भएकाले आफैं अस्तित्वको संघर्ष गरिरहेको छ । यस दलको अवस्था पनि अन्य दलको भन्दा फरक हुने छन्द देखिएको छैन । पाए माधवकुमार नेपाल प्रधानमन्त्री हुन कस्सिने नै छन् । पछिल्लो समय पूर्वपञ्चहरुको दल राप्रपाले आफूलाई कांग्रेस, कम्युनिष्ट दलहरुको विकल्प भएको घोषणा गरिरहेको छ । सो दलका अध्यक्ष राजेन्द्र लिङदेनले यही चुनावमा अरु सबै दललाई पछारेर आफ्नो हातमा सत्ता आइहाल्छ भने जसरी भाषण गरिरहेका छन् । अब संघीयता खारेज गर्ने, राजालाई पुनः फर्काउने सपना देखिरहेका छन् । उनले भनेजस्तै भएपनि परिवर्तनका कुनै विषय छैनन् । दलहरुले भ्रष्टाचार गरेर खाए, जेल हाल्छौं भनिरहेका छन् । जब कि पुराना नेताहरु प्रायः सबै नै चुनावी मैदानमा छन् ।
पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता कांग्रेसको कुरा गर्दा अहिलेसम्म शेरबहादुर देउवा र उनको एउटा घेराले नै नेतृत्व लिइरहेकाे छ । अब पनि लिन कस्सिएको छ । शेरबहादुर देउवा अझै प्रधानमन्त्री हुन चाहेका छन् । उनले नेतृत्व त गरिहलान् तर उनको नेतृत्वको औचित्य केही रहँदैन । उनको नेतृत्वले देशको मुहार फेर्ने कुनै विशेष मोडल त छैन । उनले जित्लान् तर विकासका विशेष योजना बन्न कठिन छ । बनिहाले पनि कार्यान्वयन गर्न शेरबहादुरको नेतृत्वले सक्ने अवस्था अत्यन्तै कम छ । यसको कारण त त्यही हो राजनीतिमा हावी हुँदै गएको दलालीकरण । कुनैपनि योजना सञ्चालनमा दलालको पहुँच र प्राथमिकता भएपछि समयमा काम कसरी हुन्छ ? अहिले हामीले देखिरहेका छौं कर्मचारी प्रशासनमा पनि कमिसनको खेल ठूलो छ । कमिसन आए कुनैपनि योजनाका फाइल अगाडि बढ्छन्, नआए विभिन्न निहुँमा राेकिन्छन् । यी कुरामा कांग्रेसले पनि सुधारका कुनै योजना र प्रतिवद्धता अगाडि सारेको छैन । गरिब विपन्नका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यको ठोस योजना आएका छैनन् ।
यसकारण कांग्रेसमा युवा नेताहरुले नेतृत्वको विरोध गर्ने अवस्था सिर्जना भएको छ । गगन थापाले आगामी निर्वाचनमा जित हासिल गरेर प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । अन्य दलमा यो अवस्था पनि छैन । थापाले प्रधानमन्त्री बन्ने घोषणा त गरे, प्रयास पनि गर्लान् तर राजनीतिमा भएको दलालीकरण कसरी रोक्ने भन्ने योजना भएन भने उनको प्रधानमन्त्रित्व पनि शेरबहादुर, केपी, प्रचण्ड, माधवको भन्दा कसरी फरक होला र ?
अहिले स्वतन्त्रहरु ठूलो संख्यामा चुनावी मैदानमा भएकाले केहीले जित हासिल गर्लान् तर उनीहरुले अहिलेको राजनीतिक संयन्त्र नै परिवर्तन गर्न भने कठिन छ । उनीहरुले सरकारका केही कमजोरी र गल्तीको विरोध गर्लान् तर सच्चिएर अगाडि बढ्न बाध्य पार्न सक्ने अवस्था सिर्जना गर्न सक्ने देखिँदैन । त्यति सजिलाे पनि छैन । तसर्थ, यो चुनावले पनि जनताको परिवर्तनको आशा पूरा हुन कठिन छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार