राज्यको लगानी परेका ठूला नेताको कसरी रोकियो संसदीय यात्रा ?
केदार भट्टराई (काका)
मंसिर ९, २०७९ शुक्रबार १८:१५:११
९ मंसिर, काठमाडौं । मंसिर ४ मा सम्पन्न भएको आम निर्वाचन २०७९ मा राज्यले धेरै लगानी गरेका नेताहरु पराजित भए । जति पराजित भए, त्यसमा केही राज्यबाट प्रशस्त आम्दानी लिएका नेताहरु पनि छन् । थोरै त्यस्ता नेताहरु पनि छन् जसले राज्यको सम्पति दुरुपयोग गर्न पाएका छैनन् वा भ्याएनन् ।
राजनीतिक विश्लेषकहरुको भनाइमा पार्टीको साधारण कार्यकर्ताबाट महत्वपूर्ण जिम्मेवारीमा पुग्दासम्म वा त्यो कार्यकर्तालाई संसदीय यात्रामा समावेश हुनसक्नेसम्म बनाउनका लागि करोडौं खर्च हुन्छ । त्यो पार्टी कार्यकर्ताबाट उठेको लेवी होस वा कुनै व्यापारीले दिएको चन्दा । यति हार्नेहरुको संख्या हेर्ने हो भने कुनै न कुनै क्षेत्रबाट राज्यलाई नोक्सान पुर्याएकै नेताहरुको संख्या बढी छ ।
पार्टीगत रुपमा हेर्ने हो भने एमालेले धेरै नेता संसदीय यात्राबाट यो पटक गुमाएको छ । उसका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव पराजित भएका छन् । माओवादीका महासचिव देव गुरुङसहित पूर्व सभामुख आनसरी घती, पम्फा भुसाल लगायतका नेताहरु पराजित भएका छन् । जसपाको त अध्यक्ष नै पराजित भएका छन् । नेकपा एसका पनि उपमहासचिव, सचिवसहितका नेता पराजित भएका छन् ।
नेपाली कांग्रेसमा पनि स्थापित भइसकेका र राम्रै छवि बनाएका नेताहरु हारेका छन् । नेपाली कांग्रेसको तेस्रो गुटको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला, उपसभामुख भइसकेकी पुष्पा भुसाल, बलबहादुर केसी, सहमहामन्त्री महालक्षमी उपाध्याय (डिना) सहमहामन्त्री उमाकान्त चौधरी लगायतका नेताहरु पराजित भएका छन् । यी नेताहरुको राज्यसँग कुनै न कुनै भूमिका जाेडिएकै छ ।
सबै पुराना राजनीतिक दलमा हेर्ने हो भने राष्ट्रिय राजनीतिमा उचाइ बनाएका नेताहरू यसपटक पराजित भएका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए । पौडेलले पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेललाई हराए । उनी हार्नुको कारण उनले बनाएको बाटो नै थियो । जसलाई मतदाताले मन पराएनन् ।
०५४ मा पहिलोपटक राष्ट्रियसभा सांसद बनेका पोखरेलले २०५६ मा राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनले काठमाडौं–३ बाट जितेका थिए । त्यसपछि २०६४ र २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं–५ मा उनी कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए । २०७४ मा सोही क्षेत्रमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्दै उनी उपप्रधानमन्त्री बनेका थिए । उपप्रधानसहित रक्षामन्त्री भएका बेला पोखरेलका धरै काण्डहरु बाहिरिएका थिए ।
कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग लगातार दोस्रोपटक पराजित भए । २०७४ मा पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलालाई हराएपछि लोकप्रियता कमाएका लिङ्देन राप्रपाको अध्यक्ष चुनिएपछि थप शक्तिशाली बन्दै आएका छन् । लिङ्देन एमालेको समर्थनमा र सिटौला सत्ता गठबन्धनको समर्थनमा चुनावी मैदानमा थिए । लिङ्देन ४० हजार मत कटाउँदा सिटौला ३७ हजार मात्रै कटाए ।
शिक्षा क्षेत्रमा माफियाको नाम कमाएका बहालवाला राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठ चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग ३४ हजार २ सय ८१ मतान्तरले पराजित भए । यो लाजमर्नु अवस्था हो । पूर्वसञ्चारकर्मी लामिछाने असार पहिलो साता आफ्नै नेतृत्वमा पार्टी घोषणा गर्दै पहिलोपटक निर्वाचनमा होमिएका थिए । शैक्षिक क्षेत्रका व्यवसायी श्रेष्ठ ०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य हुँदै राज्यमन्त्री बनेका थिए ।
यस्तै खानेपानी मन्त्री उमाकान्त चौधरी बारा–१ मा एमालेका अच्युतप्रसाद मैनालीसँग फराकिलो मतान्तरमा पराजित भए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री सुनील थापा धनकुटामा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । राप्रपाबाट कांग्रेस प्रवेश गरेका थापा पूर्वमन्त्रीसहमहामन्त्री पनि हुन् । सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भइन् । सिंहसँग राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पराजित भए ।
पटक–पटक मन्त्री भएका थापा ०७४ मा मकवानपुर–२ मा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए भने उपाध्याय विरोध खतिवडासँग पराजित भएकी थिइन । थापा, उपाध्याय र सिंहबीच यसपटक त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । सिंहले २७ हजार ८ सय १६ मत ल्याउँदा उपाध्यायले २५ हजार ४ सय २३ र थापाले २५ हजार ४ सय २० मत ल्याए ।
पटक–पटक मन्त्री भएका कांग्रेस नेता बलबहादुर केसी सोलुखुम्बुमा एमालेका मानवीर राईसँग पराजित भए । राईले १९ हजार ३ सय २४ मत ल्याउँदा केसीले १६ हजार ५ सय ५५ मतमा चित्त बुझाए । निवर्तमान उपसभामुख कांग्रेसकी पुष्पा भुसाल अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन् । पूर्वमाओवादी नेता रायमाझी नेकपा विभाजनपछि एमालेमा लागेका थिए । पूर्वमन्त्री कांग्रेसका भीमसेनदास प्रधान काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भए ।
आफुलाई मधेशको ठेगेदार मान्दै आएका जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तरमा पराजित भए । सप्तरी–२ मा राउतले ३५ हजार ४२ र यादवले १६ हजार ९ सय ७९ मत ल्याए । मधेस आन्दोलनबाट उदाएका यादव पृथकतावादी राजनीति छोडेर शान्तिपूर्ण राजनीतिमा आएका राउतसँग पराजित भए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवलाई पराजित गरेर संसद्को यात्रा तय गरेसँगै मधेस प्रदेशमा जनमत पार्टीको उदय पनि सुरु भएको छ ।
माओवादीका महासचिव देवप्रसाद गुरुङ लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भए । २०६४ मा मनाङ र कास्की–१ बाट सांसद बनेका महासचिव गुरुङले २०७४ मा लमजुङबाट जितेका थिए । ऊर्जामन्त्री रहेकी माओवादी नेतृ पम्फा भुसाल ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीसँग पराजित भइन् । कार्कीले ३१ हजार १ सय ३६ मत ल्याउँदा भुसालले ८ हजार ७ सय ६९ मत ल्याएकी थिइन् । पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भइन् । जित्ने अठोट लिए गएकी उनी ९ हजार ४ सय ४९ मतमा सीमित भइन ।
एमाले महासचिव शंकर पोखरेल दाङ–२ मा माओवादीकी रेखा शर्मासँग १ सय ९६ मतान्तरले पराजित भए । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएर पनि तेस्रोपटक संघीय संसद् पुग्ने चाहना पूरा गर्न सकेनन् । २०५६ मा कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित भएका उनी २०६४ मा समानुपातिकबाट संविधानसभामा पुगेका थिए । २०७० मा दाङ–४ बाट कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएका उनी २०७४ मा दाङ–२ (१) बाट प्रदेशसभा सदस्य हुँदै लुम्बिनीको मुख्यमन्त्रीसमेत बने । उनी अध्यक्ष ओलीका विश्वासपात्रसमेत मानिन्छन् ।
यस्तै पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग करिब ८ हजार मतान्तरले पराजित भए । राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर प्रतिस्पर्धा गरेका कांग्रेसका विश्वराज पौडेल पनि यही क्षेत्रमा पराजित भए ।२०५४ मा पहिलोपटक राष्ट्रिय सभा सदस्य भएका पाण्डे २०६४ मा समानुपातिकतर्फ एमालेबाट संविधानसभा सदस्य भएका थिए ।संविधानसभाको सोही कार्यकालमा अर्थमन्त्री भएका उनी २०७० र २०७४ मा प्रत्यक्षतर्फबाट निर्वाचित भएर चौथोपटक संघीय संसदमा पुगेका थिए । तर, यसपटक उनी रोकिए ।
माओवादी विद्रोहबाट राजनीतिमा उदाएका एमाले सचिव लेखराज भट्ट यसपटक एमालेबाट कैलाली–४ मा कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरसँग पराजित भए । युवा संघको अध्यक्ष हुँदा चर्चामा आएका एमाले नेता महेश बस्नेत भक्तपुर–२ मा कांग्रेस जिल्ला सभापति दुर्लभ थापासँग पराजित भए । थापाले २४ हजार २ सय ३९ ल्याएर पहिलोपटक संघीय संसद्को यात्रा तय गर्दा बस्नेत २३ हजार २ सय ८२ मा रोकिए ।
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर–२ मा एमालेका अम्बरबहादुर रायमाझीसँग पराजित भए । उनको पराजयमा सत्ता गठबन्धनभित्रको अन्तरसंघर्षलाई प्रमुख कारक मानिएको छ । उदयपुर–२ मा कांग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार राई बागी उठेका थिए । इलाममा झैं उदयपुरमा पनि कांग्रेसले स्थानीय तह निर्वाचनमा खतिवडाले गठबन्धनलाई धोका दिएको आरोप लगाउँदै आएको थियो ।
एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री गुल्मी–२ मा एमालेका गोकर्ण विष्टसँग पराजित भइन् । विद्यार्थी राजनीतिबाट उदाएकी झाँक्री पूर्वमन्त्रीसमेत हुन् । २०७४ को निर्वाचनमा एमालेबाट समानुपातिक सांसद भएकी उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीमा गएकी थिइन् । सत्ता गठबन्धनको साझेदार दल जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्यूठानमा एमालेका सूर्य थापासँग पराजित भइन् । यसरी हेदा धरै नेताहरु केन्द्रीय राजनीतिमा दवाव कायम गर्ने नै छन् । तर,उनीहरु जनमतबाट अगाडी आउन सकेनन् ।
ठूला दलका ठूला नेता हार्नुमा मुख्यकारण उनीहरुले गरेका काम र व्यवहार नै हुन् । सत्तामा रहँदा होस वा बाहिर रहँदा जनताका माझ नजाने र जनतालाई वास्ता नै नगर्ने बानी धेरैमा छ । अर्काे नेताहरुबाट भएको आर्थिक भ्रष्टाचार पनि कारण हो । नेताहरुबाट जताततै भ्रष्टाचार गर्ने, भ्रष्टाचारीलाई बचाउन जस्ता कामबाट जनता वाक्क भइसकेको र नयाँ नेतृत्व खोजेको संन्देश अहिलेको निर्वाचनले दिएको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार