नयाँ शक्तिको आह्वान, पुरानाको भरोसाः दलहरुले जनताको सन्देशलाई मानेर अगाडि जालान् ?
भेषराज पोखरेल
मंसिर १०, २०७९ शनिबार १८:०:४५
मंसिर ४ मा भएको निर्वाचनको मत परिणाम अन्तिम तिर पुगेको छ । अहिलेसम्मको मत परिणाम अनुसार आमजनताले ठूला दललाई सुध्रने मौका दिँदै परिवर्तन भने आवश्यक छ भन्ने सन्देश दिएका छन् । गणना भएका मतको आधारमा लामो समयदेखि सरकार चलाएका र सत्ताको वरिपरि नै रहिरहेका कांग्रेस र एमालेलाई नै अझै विश्वास गरेर मत दिएका छन् । यी दलका प्रभावशाली नेताहरुलाई भने हराइदिएका छन् ।
माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनता पार्टीलाई सिद्धान्तमा स्पष्ट बन, प्रतिबद्धता र भाषण गरे अनुसार काम गर, राम्रा नभएर आफ्ना मान्छे मात्रै छान्याैं तथा मात्र सरकारमा जान कहिले कता कहिले कता गर्यौ भने तिमीहरुको भविष्य सुनिश्चित छैन भन्ने स्पष्ट सन्देश दिएको देखियो । नयाँ रुपमा उदाएका अन्य दलमध्ये रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो सिद्धान्त स्पष्ट गरेर अगाडि बढ, के हो तिम्रो सिद्धान्त ? भन्दै नयाँ अवसर दिएका छन् । त्यस्तै राप्रपा, जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीहरुलाई पनि राजनीतिमा आउने औचित्यता पुष्टि गर्न मौका दिएका छन् ।
निर्वाचनको अन्तिम मत परिणामका लागि अब धेरै दिन कुर्नु पर्ने छैन तर कांग्रेस ठूलो पार्टी बन्ने देखिएको छ भने एमाले दोस्रो तर बलियो अवस्थामै रहने लक्षण देखिएको छ । एमालेका विशेष रुपमा प्रभावशाली मानिएका नेताहरु भने प्रतिस्पर्धामा जित निकाल्न सकेनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै जनताले एमालेलाई भारी बहुमतका साथ सिंहदरबार छिरेको हेर्न चाहेको देखिएन । नेकपा तथा एमाले सरकारका प्रभावशाली मन्त्रीहरुलाई जनताले भरोसा गरेनन् ।
जनताले ओलीले भनिरहेका समृद्धि र सुख सरकार बनाएर होस् वा प्रतिपक्षमा रहेर होस् पूरा गरी देखाऊ, भाषणले केही हुन्न, काम गर्नैपर्छ भन्ने उत्तर दिएका छन् । संविधानको भावना अनुसार चल्नुपर्ने सन्देश पनि उनलाई दिएका छन् । भ्रष्टाचार आफ्नो पार्टीका कसैले पनि गर्दैन त भन्यो तर प्रभावशाली नेताहरुको साँठगाँठ दलाल पुँजीपतिहरुसँग रह्यो नि, त्यस्तो नमिल्दो गफ हामीलाई चाहिँदैन भन्ने सन्देश प्रभावशाली नेताहरुलाई मत नदिएर स्पष्ट सन्देश दिएका छन् ।
जनताले कांग्रेसलाई यो पटक युवा जोश अनुसार अगाडि बढ्न अवसर दिएको देखिएको छ । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल जस्ता नेताहरुको साथमा परिवर्तनका काम गर्न जनताले आफ्नो मत जाहेर गरेका छन् । यो अवसरमा पनि जनताले देखिने गरी काम गर्न नसके भविष्यमा गम्भीर क्षति व्यहोर्नुपर्नेछ भन्ने स्पष्ट सन्देश दिएका छन् । यो मत सत्तामा दलालीकरणको विरुद्ध हो भने राष्ट्रिय चासोका विषयमा भाषणबाजी नभएर गम्भीर भई समाधान गर भन्ने विशेष सन्देश पनि हो ।
कांग्रेसले अब कसैको सहारा खोजेर होइन आफ्नो सिद्धान्त, क्षमता र कार्यव्यवहारका साथ दिगो परिवर्तन ल्याउनुपर्ने जनताको चाहना देखिएको छ । यस्ता उच्चशिक्षा हासिल गरेका युवा शक्तिको उपयोग गरेर देशलाई विश्व परिस्थिति अनुसार अघि बढाउन स्पष्ट दीर्घकालीन योजना तयार गर्ने र त्यसै अनुसार लागू गरेर अघि बढ्ने अवसर जनताले प्रदान गरेका छन् । प्राविधिक कारणले कांग्रेसले सरकार बनाउन सकेन भने पनि यो दिशामा निरन्तर काम गर्न जनताले आफ्नो मतद्वारा आग्रह गरेका छन् । सरकारका लागि जस्तो पनि सम्झौता नगर भन्ने सन्देश पनि यो मतले देखाउँछ ।
अहिलेको निर्वाचनको प्रारम्भिक मत परिणामले ठूला दलहरु अझै पनि चुके भने रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी भविष्यमा दह्रो विकल्प हुन सक्छ है भन्ने देखाएको छ । अहिलेको जनमतले पविर्तनको चाहनालाई दर्शाएको हो । स्पष्ट सिद्धान्त, कार्यदिशा बनाउने र त्यसलाई जनअनुमोदित गराउने तथा कार्यान्वयनमा लैजान निरन्तर लागिरहन सो दलका नेताहरु निरन्तर लाग्ने बाटो हो यो । यसका लागि सो दलका नेताहरुले धेरै ठूलो काम गर्नु पर्नेछ । यतातिर नलागेर केही आक्रोश, केही गफ, केही विरोध र कल्पनाशील योजनामा मात्रै रमाए भने यो दल नै पानीको फोका पनि बन्न सक्छ ।
अहिलेको जनमतले तराई मधेशलाई पनि हल्लाएको छ । परम्परागत रुपमा मधेशको हितलाई प्राथमिकतामा राखेर अघि बढेका भनिएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई सिके राउतको जनमत र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले चुनौती दिए । पहिलेको अवस्थाबाट खुम्चाइदिए, मख्य नेताहरुलाई नै हराइदिए । जनताले जसपा र राजपाका नेताहरुको सरकारमा जाने तथा आफन्तलाई मात्रै च्याप्ने र उही दलालीकरणलाई आफ्नो अभीष्ट बनाउने, मधेशका मुद्दालाई अमूर्त अवस्थामै राख्ने नीतिलाई राम्रो मानेनन् । जनताले स्पष्ट रुपमा लोकतान्त्रिक व्यवहार खोजे भने विकास र जनहितका काम खोजेको देखियो । त्यसैमा पनि सुध्रने मौका भने दिएकै देखिएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले भरपर्दो वैकल्पिक दल बन्छ भन्ने भरोसा गरेको देखिएन । राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनको ऊर्जाशील अभियानलाई केही रुपमा हेर्न चाहेको भने अवश्य देखियो । २०७० को संविधानसभामा राप्रपा नेपालको उठान र तत्कालै भएको बैठानलाई पनि जनताले ख्याल गरेको देखिन्छ ।
कांग्रेस एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र राजपा जस्ता दलहरु संघीयतामा अडिग देखिए पनि अधिकांश स्वतन्त्र र अन्य दलहरु संघीयता खारेज गर्नुपर्छ भन्दै मत मागिरहे पनि जनताले त्यसलाई पूर्णरुपमा अनुमोदन गरेनन् । परिवर्तनको चाहना राखेर केही दल र स्वतन्त्रलाई अगाडि ल्याए पनि उनीहरुको त्यो मत विकास र परिवर्तनको पक्षमा देखियो न कि संघीयताको विरुद्धमा । अनेकौं व्यक्तिहरुले सामाजिक सञ्जालमा संघीयताविरोधी विचारहरु छरपष्ट पारे पनि त्यो जनअनुमोदन भएन । जनताले युवा खोजे, विकास खोजे, भ्रष्टाचारविरोधी शक्तिको खोजी गरे तर अहिलेको राजनीतिक प्रक्रिया बदल्न चाहेको देखिएन ।
तसर्थ अब आउने नेतृत्वले गम्भीर भएर संघ, प्रदेश तथा स्थानीय तहलाई अझ बलियो बनाउँदै लैजानुपर्ने देखिन्छ । अहिले जनताले संविधानको भावना अनुसार चल्न स्पष्ट सन्देश दिएका छन् । उनीहरुले राजनीतिमा भएको दलालीकरण, भ्रष्टाचारको संस्थागत गर्न खोज्ने प्रवृत्ति, अदूरदर्शी नेतृत्व बदल्न चाहेको देखिएको छ । यो जनताको गम्भीर सन्देश हो । यसलाई दलहरुले बेवास्ता गरे उनीहरुको अस्तित्व नै खतरामा पर्ने स्पष्ट सन्देश जनताले दिएका छन् ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार