ज्योतिको ‘आधा शिर उचालेर’माथि पोखरामा चर्चा
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार १९:४३:४१
११ मंसिर, पोखरा । कवि ज्योति जङ्गल नवीनम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ ।
कविता क्लब नेपालको आयोजनामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले ज्योतिले कवितामा जीवन र जगत् लेखेकी बताए ।
नारी जीवनका उतारचढावको कलात्मक चित्रण कृतिमा गरिएको बताउँदै डा। अधिकारीले समाजले नारीप्रति गरेको नकारात्मक व्यवहारप्रति शालीन विद्रोह कविताले गरेको भनाइ राखे । “सरलता, सघनता र त्यसमा मिसिएर आउने भावनाको तीव्रता, शैली र शिल्पगत मौलिकता र अनुभूतिजन्य गहनता उनका कविताका प्राप्ति हुन्” अधिकारीले भने, “ आधा शिर उचालेर राम्रो कविता सञ्चयन हो ।”
अर्का समीक्षक ¥याण्डम रिडर्स सोसाइटीका सदस्य नेपाल प्रकाश अधिकारीले ‘आधा शिर उचालेर’ कृति कविताको सुन्दर घर भएको धारणा राखे । कविताको घरमा भएका अनेकौँ झ्याल, ढोकाहरूबाट फरक फरक दृश्य देख्न सकिने भन्दै अधिकारीले भने, “त्यही घर बनाउनका लागि कुर्बानी गरेका कैयौँ दिदी, बहिनी, भाउजू र आमाहरूको जीवनमा आएका अवरोधप्रति विद्रोहको प्रस्तुति कवितामा आएका छन् ।”
“नारीप्रति परिवार र राज्यले गरेको विभेद कविताको मूल विषय हो भने विद्रोह यसको मूल स्वर हो” समीक्षक अधिकारीले भने, “उनका थुप्रै कविता नारी मुक्तिको कामनासहित नारीकै पक्षबाट लेखिएका छन् तर संयमित भएर, उनका कवितामा उग्र नारीवाद भने छैन ।” निजात्मक मौलिकता र भावगत तीक्ष्णता भेटिने यस कृतिले ज्योतिलाई विशिष्ट पहिचान दिने उनको ठम्याइ थियो ।
कविता क्लबका संस्थापक अध्यक्ष कवि रमेश श्रेष्ठले कवितालाई कविले जीवनलाई जत्तिकै माया गर्नुपर्नेमा जोड दिए । कविताले जीवन जिउन मात्रै होइन, कलात्मक मृत्यु मर्नसमेत सिकाउने उनको मत थियो । समकालीन पुस्ताकी सशक्त कविका रूपमा ज्योतिलाई आफूले चिनेको उनले बताए ।
कवि ज्योति जङ्गलले कवितालाई समाजसँग जोडेर लेख्ने प्रयास गरेको अनुभव सुनाइन् । उनले कवितालाई सस्तो सामान बन्नबाट जोगाउनका लागि आफू सधैँ प्रयत्नशील रहेको भन्दै समाजमा सबै वर्गका मानिसलाई पूरा शिर उचालेर बाँच्ने परिस्थितिको सिर्जना होस् भन्ने चाहना कवितामा प्रस्तुत गरेको बताइन् । पोखरामा आफ्नो नयाँ कृतिको पहिलो परिचर्चा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले प्राप्त सुझावहरूलाई आत्मसात् गरी आगामी दिनमा लेखन यात्रा अघि बढाउने धारणा राखिन् ।
विराटनगरकी स्थायी वासिन्दा कवि जङ्गलको यसअघि ‘पहाडको मन’ र ‘मुक्त समय’ गरी २ कविता सङ्ग्रह, ‘अक्षरमा तिमी’ गजल सङ्ग्रह तथा ‘छाया’ कथा सङ्ग्रह प्रकाशित छन् । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कृतिमा ४३ ओटा कविता सङ्गृहीत छन् । कविता क्लबका संस्थापक अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार रुपिन्द्र प्रभावीले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार