आम निर्वाचन २०७९ : सत्ता गठबन्धनभित्रका घातदेखि अन्तर्घातसम्मका यस्ता छन् कहानी
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार २०:३३:१८
११ मंसिर, काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मत परिणाम आउने क्रम लगभग अन्तिमतिर पुगेको छ गठबन्धन बनाएर चुनावमा बहुमत ल्याउन गएका दलहरुको पछिल्लो अवस्था हेर्दा कुनैपनि पक्षले सरकार बनाउन सक्नेसम्मको जनमत पाएका छैनन् । फरक पार्टी र पार्टीभित्रकै घात अन्तर्घातले गर्दा कतिपय राम्रा उम्मेदवारहरुसमेत पराजित भएका छन् ।
प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रको सीट भागबन्डा मिलाएर आम चुनावमा गएको नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धन एकल सरकार गठनको अवस्था देखिएको छैन् । पार्टीगत रुपले हेर्दा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो ठूलो दल बन्न देखिएको छ । तर, दुवै गठबन्धनसँग सरकार गठनका लागि आवश्यक संख्या पुग्ने देखिएको छैन् ।
सरकार बनाउनका लागि स्पष्ट बहुमत ल्याउने भन्दै अगाडि बढेको सत्ता गठबन्धनभित्र मत ट्रान्सफर मूख्य समस्याको रुपमा देखियो भने कतिपय क्षेत्रमा नेकपा माओवादी र समाजवादीको भोट कांग्रेसमा नगएको पाइयो । नेकपा माओवादी र एकीकृत समाजावादीको भागमा परेका क्षेत्रमा पनि कांग्रेसकै मत राम्रो थियो । कांग्रेसको मत बलियो भएका क्षेत्र एक हजारदेखि १२ सयसम्म पार्टीगत भोट भएका सत्ता गठबन्धनका अन्य दलका उम्मेदवारहरु विजयी भए भने माओवादी बलियो भएकाे क्षेत्रमा कांग्रेसका उम्मेदवार हारेका छन् ।
अन्तिम मतपरिणाम आइरहँदा धेरै जसो निर्वाचन क्षेत्रमा माओवादी र समाजवादीले कांग्रेसका उम्मेदवारलाई मत नदिइएको पाइएको छ ।कतिपय क्षेत्र कांग्रेसकै बागी र पार्टीका आधिकारिक उम्मेदवारहरु माथि भएका अन्तर्घातले पनि नेपाली कांग्रेसले अपेक्षकृत सीट जित्न सकेको छैन् । धेरै क्षेत्रमा कम मतले कांग्रेसका उम्मेदवारहरु हार्नु परेको छ । यसको असर अहिले सरकार बनाउनका लागि सत्ता गठबन्धनका सबै दलहरुलाई परेको छ ।
सत्ता गठबन्धनका कारण नेकपा एमाले २९ जिल्लामा निल भएको छ । यी क्षेत्रमा कांग्रेसको मत बढी र उम्मेदवारहरु भने माओवादी र समाजवादीकै बढी थिए । ओखलढुङ्गामा कांग्रेस आएको छ भने भोजपुरमा माओवादी, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, सिन्धुलीमा बराबरजस्तै छ । दोलखामा मतगणना जारी रहेपनि नेकपा माओवादीले लिएको छ र जित्ने सम्भावना पनि उसैको छ । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, गोरखामा पनि एमाले निल भएको छ ।
यस्तै लुम्बिनी प्रदेशका दाङ, रोल्पा, नवलपरासी पश्चिम, रूकुम पूर्व, बर्दिया, बाँके लगायतका क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई गठबन्धनका दलहरू माओवादी केन्द्र र समाजवादीबाट ठूलाे घात भएको छ । कर्णाली प्रदेशका सल्यान, जाजारकोट, दैलेख, कालिकोट, हुम्ला, रूकुम पश्चिम र सुदुरपश्चिम प्रदेशका अछाम, कैलाली, डडेल्धुरा, दार्चुला, बझाङ पनि एमाले निल छ भने बाजुरामा चुनाव र मतगणनाको काम बाँकी छ ।
सत्ता गठबन्धनको दोस्रो ठूलो दल रहेको नेकपा माओवादीले धेरै जसो क्षेत्रमा कांग्रेस उम्मेदवारलाई मतदान नगरेको कुरा रोल्पाको घाटनाले नै पनि पुष्टि गराउँछ । रोल्पाबाट प्रतिनिधिसभामा वर्षमान पुन विजयी हुँदा रोल्पा प्रदेश क्षेत्र नम्बर २ बाट चुनाव लडेका अमरसिंह पुन माओवादीका बागी उम्मेदवारसँग पराजित भएका छन् । प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वर्षमान पुनले ४१ हजार सात सय १४ मत पाएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत प्राप्त गरेका थिए । पुन २५ हजार दुई सय २९ मतान्तरको जित निकाल्न सफल हुँदा कांग्रेसका लुम्बिनी प्रदेश सभापति पुन प्रदेशमै पराजित भए ।
माओवादीको मत नपाएर प्रदेशमा नै हार्न पुगेका अमरसिंह पुनले नेपालबहससँग कुरागर्दै आफुलाई माओवादीबाट ५ प्रतिशत पनि मत नआएको बताए । लुम्बिनी कांग्रेसका सभापतिसमेत रहेका पुनले २५ प्रतिशत मत भने कांग्रेसबाट नै अन्तर्घात भएको बताए । केन्द्रीय तहका नेता वर्षमान पुनको मौखिक सहयोग रहेपनि तल्लो तहका माओवादी कार्यकर्ताले रुपमा भोट हाल्न नमानेकाे पुनको भनाइ छ ।
उनले भने,‘ वर्षमान पुनले सक्दो सहयोग गरेको हो । तर, उहाँहरुले तलाका कार्यकर्तालाई भन्न सक्नु भएन । केही सभामा मेरो लागि मत पनि माग्नुभएको हो । उहाँहरुले माथि जसरी भन्नुभयो तल त्यसरी नै भन्न सक्नु भएन र मलाई पाँच प्रतिशत पनि भोट माओवादीबाट आएन् ।कांग्रेसका साथीहरुबाट पनि ठूलो अन्तर्घात भयो । २५ प्रतिशत कांग्रेसीहरुले रुपमा भोट नहालेर अन्त्यै हाले । कांग्रेसको मात्रै भोट पाएको भएपनि म सहजै जित्ने थिए ।’
रोल्पा प्रदेश ख बाट उम्मेदवारी दिएका पुनले जम्मा १० हजार ४ सय ६ मत ल्याएका छन् । उनको विपक्षी माओवादीका बागी उम्मेदवार दीपेन्द्रकुमार पुनले १४ हजार ९ सय २७ मत ल्याएर विजयी भए । माओवादीले कांग्रेसलाई मतदान गरेको ४१ हजार वर्षमान पुन मत पाउँदा १५ हजार मत अमरसिंह पुनले किन पाएनन् ? कांग्रेस सभापति पुनले आफलाई माओवादीको मत नआउने कुरा २० दिन अगाडि नै जानकारी आएको बताए । उनलाई उक्त समयमा नेकपा एमालेले पनि साथ दिने जनाएको थियो ।
पुनले गठबन्धनमा असर पर्ने भएकाले आफुले एमालेको प्रस्ताव अश्विकार गरेर हार्न तयार भएर चुनावी रणनीति नबदलेको बताए । उनले भने, ‘मैले एमालेसँग मिल्ने कुरा गरेको भए २० हजार मत ल्याएर जित्ने थिए । तर, मेरो कारण केन्द्रमा गठबन्धनलाई समस्या पर्ने भएकाले मैले पार्टीको माथिल्लो निकायलाई म हार्दैछु भन्ने जानकारी पनि गराए । गठबन्धन बचाउनका लागि मैले चुनाव हारेको हुँ । मैले रणनीति परिवर्तन गरेको भए कसैले चुनाव हराउन सक्ने थिएनन् । म जितेरै देखाउने थिए ।’
उनले रोल्पा, अर्घाखाँची, प्युठान र कपिलवस्तुमा सत्ता गठबन्धनमा रहेर पनि नेकपा माओवादीले कांग्रेसलाई घात गरेको बताए । प्युठानमा कांग्रेस वा माओवादी जोबाट भएपनि उम्मेदवार उठाएको भए गठबन्धनको जित हुने दावी गरे । राष्ट्रिय जनमोर्चालाई प्युठान दिन केन्द्रीय नेताहरुको भूल भएको उनको भनाइ छ । अर्घाखाँचीमा पनि जनमोर्चाले मात्रै साथ दिएको भएपनि चुनाव सहज रुपमा जितिने भन्दै दाङमा मात्र गठबन्धन सफल भएको बताए ।
गुल्मी, बाँके, बर्दिया र कपिलवस्तुमा गठबन्धन आंशिक सफल भएको उनको भनाइ छ । रुपन्देही ३ का उम्मेदवार बालकृष्ण खाँण कांग्रेसकै कारण हारेको उनले बताए । माओवादीको भन्दा गृहमन्त्री खाँण हार्नुका पछाडि दीपकुमार उपाध्यायको हात रहेको पुनको भनाइ छ । उनले कपिलवस्तुमा पनि कांग्रेसलाई माओवादीले पूर्ण साथ नदिएको बताए । नवलपरासी २ नम्बर क्षेत्रबाट कांग्रेसका देवेन्द्रराज कंडेल पराजित भएका थिए ।
यस्तै प्रदेशतर्फ रुपन्देही क्षेत्र नम्बर २ को (क) का कांग्रेस उम्मेदवार विक्रमसिंह थापा पनि जितका धेरै आधार हुँदाहुँदै पराजित भएका छन् । नेपालबहससँग कुरा गर्दै थापाले आफुलाई माओवादीबाट घात नभएको बताए । उनले पार्टीभित्रकै केही व्यक्तिहरुका कारण आफुले चुनाव हार्न पुगेको बताए । उनले भने,‘ म माओवादीले भोट नदिएर हारेको हैन् । विपक्षी उम्मेदवारभन्दा पाँच सात हजार भोट बढी भएको अवस्थामा कांग्रेसका केही केन्द्रीय र जिल्ला स्तरका नेताहरुले जोड बल गरेर मलाई हराए ।’
उता, सोलुखुम्बु जिल्लामा पनि बलबहादसुर केसीको चुनाव हार्नको कारण पनि अन्तर्घात नै देखिएको छ । नेपालबहससँग कुरागर्दै केसीले आफुलाई यो जिल्लाबाट चुनाव जित्न गठबन्धन चाहिने अवस्था नरहेपनि पार्टीको अन्तर्घातका कारण हारिएको बताए । केसीले भने, ‘नेताहरुले टिकट दिए तर, आर्शिवाद दिएनन् । नेताको आर्शिवाद नपाएका कारण ७ हजार हाराहारीको मत आफ्नो हुँदाहुँदै पनि चुनाव हारियो ।’ उनले सोलुखुम्बुमा २०७४ कै गठबन्धन कायम रहेको पनि बताए ।
नेकपा माओवादी अहिलेको कांग्रेस नेृतृत्वको गठबन्धनमा रहेपनि भोट भने माओवादीका कार्यकर्ताले एमालेमा हालेको केसीको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्य केसी सोलुखुम्बुमा पराजित भएपछि कांग्रेसमा बबण्डर सुरु पनि भएको छ । अन्तर्घात भएका कारण केसी पराजित भएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमितिका दुवै सचिवले जिल्ला सभापति र केन्द्रीय सदस्यलाई नेता नमान्ने घोषणा गरेका छन् । जिल्ला सचिव युवराज घिमिरे र भलाकाजी राईले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय सदस्य आङ्गेलु शेर्पा र जिल्ला सभापति नाम्गेल शेर्पालाई मानेर अगाडि जान नसकिने केन्द्रीय कार्यसमितिलाई जानकारी गराएका छन् । जिल्लाको दुधकुण्डका सभापति सोनाम ग्याल्जेन शेर्पा पनि उम्मेदवारी केसीलाई हराउन सक्रिय रहेको उनीहरूले दाबी गरेका छन् । पार्टीभित्रकै अन्तर्घातका कारण केसी पराजित भएको उनीहरूको दाबी छ ।
यस्तै मोरङको क्षेत्र नम्बर ४ को (क) का उम्मेदवार गुरुराज घिमिरेले पनि आफु हार्नुका पछाडि धेरै अन्तरंग कारणहरु रहेको बताएका छन् । गुरुले नेपालबहसले खुलाएका हारका कारणप्रति टिप्पणी गर्दै भनेका छन्, ‘मतगणना स्थलका कुरा सुनेर यथार्थ थाहा पाइदैन् । भूगोल घुम्दा सत्य सुनिन्छ, बुझिन्छ । त्यहाँको यथार्थ कुरा थाहा पाउनु भो भने छक्क पर्नुहुन्छ । जनता मेरो उम्मेदवारीले खुशी तर पार्टी र गठबन्धन पुरै दुःखी । अनि नतिजा सकारात्मक कसरी आउँछ ?।
आम चुनाव जस्तो विषयमा समान्य अन्तर्घातलाई ठूलो विषय बनाउन उपयुक्त हुँदैन । तर, बहुमतको लक्ष्य बोकेर चुनावमा गएको गठबन्धनमा रहेका दलहरुले एकले अर्काको चुनाव चिह्नमा मतदान गर्ने कार्यकर्तालाई मतदानका लागि प्रेरित नगर्ने र मत ट्रान्सफर भएन भन्दै अर्कालाई दोष दिने प्रबृति यतिबेला बढिरहेको छ । जे भएपनि सत्ता गठबन्धनमा चुनावकै विषयलाई लिएर थप विवाद नभएमा सत्ता गठबन्धनमा रहेका दलहरुको सरकार फेरी पनि बन्ने सम्भावना भने कायमै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार