अबको प्रधानमन्त्री को ? पुरानै पुस्ताको निरन्तरता कि यूवा पुस्ता
भेषराज पोखरेल
मंसिर १२, २०७९ सोमबार १२:२०:३७
मंसिर चारमा सम्पन्न आमनिर्वाचनमा जनताले दिएको मत परिणामले राजनीतिमा अस्थिरता ल्याउने एमालेका अध्यक्ष केपी ओलीले बताएका छन् । सोही दलका महासचिव शंकर पोखरेलले पनि यो मत परिणामले राजनीतिक अस्थिरता निम्त्याउने बताएका छन् । सो दलका नेताहरुले चुनाव प्रचारको क्रममा जनताले हामीलाई भारी मत दिएर जिताउँछन्, हामीले स्थिर सरकार दिन्छौं भनिरहे । परिणाम भने उल्टो भयो । एमाले प्रतिनिधिसभामा दोस्रो दल बन्ने अवस्था आयो । कांग्रेसले पहिलो दल बन्ने गरी मत पायो । राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आयो, राप्रपा पुनः उदायो, अन्य दलहरु खुम्चिन पुगे । केही स्वतन्त्रहरुलाई पनि जनताले जिताएका छन् ।
यो अवस्था कसैले पनि एकल सरकार बनाउन नसक्ने गरी अझ दुई दलको मात्रै पनि सरकार बन्न नसक्ने गरी जनताले मत जाहेर गरेका छन् । प्रदेशमा पनि अवस्था यस्तै यस्तै छ । यस्तो अवस्थामा केपी ओलीले भनेजस्तै कांग्रेस, एमालेदेखि अन्य दलले सरकार बनाउने होडमा पुनः सांसद खरिदबिक्री चलाउने होलान् ? या ठूला दलका युवाहरुको नेतृत्वमा सबै सक्षम युवाहरुलाई समेटेर नमूना सरकार बनाउने तथा सरकारमा संलग्न वा संलग्न नभएका दलका नेताहरुले सहयोग गरेर अघि बढ्लान् ? जनताले पछिल्लो विकल्प हेर्न चाहेको देखिन्छ
अहिले संसदमा जितेर आएका राजनीतिक दलहरुको अवस्थालाई हेर्दा पहिलेको भन्दा विचारमा बेमेल देखिन्छ । कांग्रेस, एमाले, माओवादी एकीकृत समाजवादी अहिलेको संघीय शासन प्रक्रियालाई बलियो बनाएर लैजानुपर्छ भनेरै मत मागे । जसपा र लोसपाले संघीयता तर मधेशमा अहिलेको भन्दा फरक हुनुपर्छ भन्छन् । यो निर्वाचनले भने यी दललाई फैलाउनुको साटो खुम्चाइदिएको छ । अहिले जनताको आकर्षणमा परेको तर कुनै परीक्षण नभएको दल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी राम्रो जनमतका साथ संसदमा छिर्ने भएको छ । सो दल खुला अर्थतन्त्र र अहिलेको पुँजीवादमा विश्वास गर्ने देखिएको छ ।
सो दलले भ्रष्टाचारदेखि परम्परागत रुपमा शासन सत्तामा रहेका विकृति हटाएर विकासमा अघि बढ्नुपर्छ भनेको छ । यो दलले संघीयता भने खारेज हुनुपर्छ भनेको छ । त्यसै भएर प्रदेशमा उम्मेदवारी नै दिएन । राप्रपाले पनि आफूलाई पुनरुत्थान गरेको छ । जनमत राम्रै प्राप्त गरेर संसदमा छिर्ने भएको छ । सो दलको अर्थ व्यवस्था त खुला पुँजीवाद नै हो तर सो दलले संघीयता खारेज गर्नुपर्छ, राजतन्त्रलाई पुनःस्थापित गर्नुपर्छ भनेको छ । एकातिर कम्युनिष्ट शक्ति त्यसैमा पनि फरक फरक रुपका, अर्कातिर प्रजातन्त्र र खुला अर्थतन्त्रको पक्षमा रहेको कांग्रेस सधैं प्रतिस्पर्धी शक्ति हुन् । कहिले विरोधी, कहिले पूरा सहकार्यका साथ हिँड्छन् । अब राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा जस्ता यो शासन संयन्त्रकै विरोधी दल संसदमा थपिएका छन् । सरकार कुनै एउटा दलले बनाउन सक्ने अवस्था छैन । दुईवटा दलको सरकार पनि नबन्ने अवस्था छ । अब यी सबै दलको मेल कहाँ होला ?
भावी सरकार कस्तो बन्ला ? कुन दलको नेतृत्वमा र कुन नेताको नेतृत्वमा बन्ने होला ? यो अहिलेको गम्भीर चासोको विषय बन्न गएको छ । जनमतका आधारमा सबैभन्दा ठूलो बनेको कांग्रेसले सरकार बनाउने स्वाभाविक मान्न सकिन्छ । उसले कुन, कुन दललाई समावेश गरेर बनाउने ? कसको नेतृत्वमा बनाउने ? प्रधानमन्त्र तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफैं प्रधानमन्त्री बन्न चाहन्छन् । अरु नेताहरु पनि अहिले प्रधानमन्त्रीमा मेरो पनि दावी छ भन्न थालेका छन् । गगन थापाले पहिलेदेखि नै प्रधानमन्त्रीको दौडमा रहेका बताएका थिए ।
कांग्रसको जनमत र अरु सबै दलको जनमतलाई विश्लेषण गर्दा पुराना नेतालाई सरकारको नेतृत्व गरेको देख्न चाहन्नन् जनताले । अहिले त विशेष दूरदृष्टि भएको, नयाँ सोच राख्न सक्ने तथा अन्य दललाई पनि मिलाएर जान सक्ने, विकासको प्रारुप तयार गरेर अघि जाने नेता चाहेका छन् । सुशासन, विकास र भ्रष्टाचार हटाउन पहल गर्ने नेता जनताको प्राथमिकतामा छन् । कांग्रेसले यस कुरालाई ख्याल नगरेर शक्तिको टकरावमा लाग्यो भने अर्को चुनावमा डुब्ने निश्चित छ ।
एमाले पनि दोस्रो ठूलो दल बन्ने भएको छ । जनमत नराम्रो छैन तर केपी ओलीपछिका प्रभावशाली नेताहरुलाई जनताले हराइदिएका छन् । केपी ओलीको दाहिने हात मानिएका नेताको पराजयले उनलाई अब नयाँ तरिकाले सोच्न बाध्य बनाएको छ । उनले अब पुनः संसदमा संलग्न सबै कम्युनिष्ट शक्तिलाई एक बनाएर जानुपर्ने या कांग्रेससँग नै सहकार्य गर्ने बाध्यता आएको छ । सके बाहिर भएका दलहरुलाई पनि । उनको अहिलेसम्मको स्वभावले त्यो सम्भव नहुन सक्छ । रास्वपा र राप्रपालाई आफूतिर कसरी तान्न सक्लान् र ?
एमालेमा प्रधानमन्त्री बन्ने उनै ओली हुन्, अरु प्रभावशाली नेताले पाँच वर्षलाई विश्राम लिनैपर्ने बाध्यतामा गए । संख्या पुर्याउलान् तर वास्तविक जनमतले भने केपी ओलीलाई प्रधानमन्त्री देख्न चाहेन । अरु कसैको नेतृत्व चुन्नुपर्ने बाध्यता छ नभए एमाले जनताको आँखाको तारो बन्नेछ । चुनावमा जानुभन्दा पहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आलोपालो रुपमा भए पनि कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री बन्ने सहमति गरेका थिए । जनमत भने त्यस्तो आएन । जनमत ख्याल नगरेर जसरी भए पनि प्रधानमन्त्री बन्ने ढिपी गरे त अर्कै कुरा तर स्वाभाविक रुपमा उनको पनि शक्ति कमजोर भएको छ ।
अब के होला त ? रास्वपाका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन प्रधानमन्त्री बन्ने सम्भावना छ त ? शून्यबाट उठेर राम्रै जनमतका साथ अगाडि आए पनि जनताले यी दुवै दललाई प्रधानमन्त्री बनेर देश हाँक्ने गरी जनमत दिएका होइनन् । सक्षम सांसलले देखाउन सक्ने क्षमता देखाएर जनताको मन जित्ने अवसर मात्रै दिएका हुन् । तसर्थ अहिलेको सरकार ठूला दलले नै बनाउने तर विशेष ऊर्जा भएका र परिवर्तनको दृष्टि भएका युवा नेतालाई जिम्मा दिनुपर्ने देखिएको छ । जसरी पनि सरकार बनाउने, जसरी पनि सरकार टिकाउने केपी, देउवा प्रवृत्ति हावी भए पूरै राजनीति अस्थिर बन्न जानेछ ।
विशेष सुझबुझका साथ अगाडि बढे रविको पार्टीको ऊर्जा उपयोग गर्न पनि सकिने छ, सीके राउतको दलको शक्ति, नागरिक उन्मुक्ति पार्टीको शक्ति, राप्रपाको शक्ति पनि उपयोगमा आउन सक्छ होइन भने रास्वपा र राप्रपादेखि अन्य दलहरुका शक्ति पनि राजनीतिक अस्थिरतालाई थप बढाउनमा उपयोग पनि हुन सक्नेछन् । संयमता, दृढ इक्षाशक्ति, विकासको विशेष मोडल अघि बढाउने भोक र क्षमता, जनतालाई सुशासन दिने र सबैसँग सहकार्य गरेर अघि बढ्ने सुसंस्कृतिको नमूना देखाउने अत्यन्तै विशेष अवसर पनि हो । हेरौं दल र तिनका नेताहरुले कुन बाटो राज्ने हुन् ?
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार