देउवाले खोजे राष्ट्रपति, प्रधानमन्त्री र सभामुखबारे एकै प्याकेजमा सहमति
केदार भट्टराई (काका)
मंसिर १२, २०७९ सोमबार २१:२०:३६
१२ मंसिर, काठमाडौं । निर्वाचनको परिणाम अन्त्यतिर आएपछि सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आगामी सरकार गठनसहित राष्ट्रपति, उपराष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको निर्वाचनसम्मका सबै विषय एकै प्याकेजमा सहमतिका लागि छलफल सुरु गरेको छ । आम निर्वाचन २०७९ मा कुनै पनि राजनीतिक दल वा गठबन्धनलाई स्पष्ट बहुमत नआउने भइसकेको छ । सरकार बनाउन गठबन्धनलाई सहज हुने अवस्था देखिएपछि सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सहयात्री दलहरुसँग छलफल अगाडी बढाएको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिममा रहेको अवस्थामा पाँचदलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री देउवाले आज सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । दुई नेताहरुसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको टुंगो लगाएर मात्रै प्रधानमन्त्रीका विषयमा छलफल गर्ने सहमति भएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छुट्टाछुट्टै छलफल गर्दै चुनावमा स्पष्ट बहुमतको अवस्था नदिए पनि सरकार गठनका लागि आवस्यक संख्या सत्ता गठबन्धनसँग पुग्ने भएकाले प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुखको विषयमा पहिले सहमति गर्दा सरकार गठनमा सहज हुने कुरा प्रधानमन्त्री देउवाले राखेका छन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले नेपालबहसलाई दिएको जानकारी अनुसार नेताहरूबीच सुरुमा पाँचदलीय गठबन्धनले निर्वाचनमा प्राप्त गरेको परिणामबारे मतगणनाको परिणाम आइसकेपछि समीक्षा गर्ने कुराकानी भएको थियो । सोमबार बिहान मात्रै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेट भएको थियो ।
प्राप्त प्रत्यक्ष सीट र समानुपातिक रूझानबीच १४० सीट पुग्ने सत्ता गठबन्धनको निष्कर्ष छ । यसका लागि चाँडै पाँच दलका नेताहरुसहितको बैठक बोलाउने र छलफल गर्ने निचोड तीन नेताबीच निस्किएको छ । यसअघि पनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ सरकार गठनबारे छलफल भएको थियो । सरकार गठनका विषयमा दुई नेताबीच छलफल सुरु भएपछि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए ।
आजको छलफलमा पनि सम्भावित समीकरणका विभिन्न अनुमानबीच छलफल चलेको थियो । नेताहरुले गठबन्धनकै सरकार बनाउनुपर्ने र गठबन्धनले सरकार नबनाए देशमा थप अराजकता हुने औल्याएका थिए । प्रत्यक्ष सीट तथा समानुपातिक रुझानबीच सत्ता गठबन्धनकै बहुमत पुग्ने निष्कर्षसहित उनीहरूले पाँच दलको बैठक बोलाउने समझदारी पनि गरेका छन् । सोचे जति सीट गठबन्धनले नपाएपछि अहिले अर्को सम्भावित समीकरणका विषयमा पनि आम चासो बढिरहेको छ ।
यसैलाई ध्यानमा राखेर नेताहरुले विद्यमान गठबन्धनलाई निरन्तरता दिने र सरकार निर्माणको गृहकार्यमा लाग्न तयारी थालेका हुन् ।प्रधानमन्त्री देउवाले गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शुक्रबार टेलिफोन संवादसमेत गरेका थिए । उनले आफु काठमाडौं आएपछि बैठक राख्न देउवालाई भनेका थिए । आजको भेट पछि दाहाल र नेपालले गठबन्धनलाई अगाडी बढाउने र सभामुखदेखि राष्ट्रपतिसम्म एकै प्याकेजमा सहमति गरेर टुंग्याउने विषयमा पार्टिभित्र पनि छलफल गर्ने छन् ।
सोमबार बालुवाटार छलफलले निकालेको हिसाबमा सत्ता गठबन्धनको मात्रै एक सय ४० मत पुग्छ । गणना भइरहेको, रोकिएको र समानुपातिकतर्फको समेत परिणाम आउँदा सत्ता गठबन्धन १ सय ४० सीट आसपासमा पुग्छ । गठबन्धनलाई सरकार निर्माणकै लागि अन्य दल जोडजाड गर्नुपर्ने अवस्था नपर्ने उनीहरुको बुझाइ छ । यसअघि प्रधानमन्त्री र प्रचण्डजीबीचको छलफलमा पनि गठबन्धन सँगै जाने कुरा भएको थियो ।
यस्तै गठबन्धनको सहयोगीका रूपमा उठेका प्रभु साह समूहको दुई सीट छ भने चार सीट स्वतन्त्र निर्वाचित रेशम चौधरीका पितासहित भएको नागरिक उन्मुक्ति पार्टी पनि यही गठबन्धनसँग संवाद गरिरहेको बताइएको छ । उपेन्द्र यादवको पराजयपछि जसपाका ६ जनालाई पनि गठबन्धनमा मिसाउने कसरत सुरु भएको छ ।
गठबन्धनको बहुमत हुनेमा ढुक्क कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालको मुख्य चासो भने पहिलो चरणमा को प्रधानमन्त्री बन्ने र राज्यशक्तिका मुख्य पदहरूको बाँडफाँट कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ । उनीहरु सरकार गठनभन्दा पहिले मुख्य पदहरुको हिसाब मिलााउन पक्षमा देखिएका छन् । देउवा र दाहाल दुवै प्रधानमन्त्रीका दाबेदार हुन् । यता, सरकार निर्माणमा पहलकदमी लिन खोजेका एमाले अध्यक्ष ओली भने पर्ख र हेरको स्थितिमा बसेका छन् ।
एमाले अध्यक्ष ओली कांग्रेसबाहेक बाम शक्तिको सरकरा बनाउन पक्षमा सुरु देखिनै लागेका छन् । निर्वाचन आयोगले २२ मंसिरसम्म समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक गर्ने बताइसकेको छ । समानुपातिकतर्फ कस्को कति सीट आउला ? यो अझै प्रष्ट छैन ।अहिलेसम्मको स्थितिमा ६ दलले थ्रेसहोल्ड भेटिरहेका छन् । क्रमशः एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा र जसपा । तर अरु तीन दल क्रमशः एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि नजिक देखिन्छन् ।
अहिलेदेखि घनिभूत रुपमा छलफल भए अबको दुई साताभित्र नयाँ सरकारको विषय टुंगिन सक्छ । सत्ता गठबन्धनले सहज बहुमत प्राप्त गरेकाले अहिलेकै सरकारले निरन्तरता पाउने सम्भावनालाई ओलीले पनि हेरीरहेका छन् । खासगरी सत्ता बाँडफाँडमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति जुटेमा अहिलेकै सरकारले निरन्तरता पाउने आंकलन गरिएको छ । त्यसका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख पद बाँडफाँड नै नेताहरूका लागि टाउको दुःखाईको विषय बन्नसक्छ ।
कांग्रेस र माओवादीले प्रधानमन्त्री पदमा दाबी गरेका छन् । निर्वाचनले कांग्रेसलाई ठूलो दलका रूपमा स्थापित गरेकाले प्रधानमन्त्रीमा पहिलो दाबी कांग्रेसकै रहन्छ । यदि कांग्रेसले ठूलो दलको हैसियतमा सरकार बनाउन नसके, अर्को विकल्प खुला पनि हुनसक्छ । अहिलेकै सरकारलाई निरन्तरता दिने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास थालेका छन् । तर, कांग्रेस संसदीय दलको नेता पुनः निर्वाचित हुनुपर्ने भएकाले समानुपातिक नतिजा कुर्नैपर्ने अवस्थामा दलहरू छन् । कांग्रेसमा महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले कसरी गठबन्धन बन्छ भन्ने चासो पनि छ ।
उता एमाले अध्यक्ष केपी ओली पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेका छन् । त्यसका लागि उनले वाम एकताको नारा र प्रलोभन दिएका छन् । अर्कोतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई अलग राखेर सरकार बनाउने प्रयासमा पनि उनी लागेका छन् । स्रोतका अनुसार ओलीले राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टीसँग यसबारे अनौपचारिक ढंगले कुराकानी थालेका छन् । तर, अहिलेसम्मको प्रत्यक्षको नतिजा हेर्दा ओली नेतृत्वमा सरकार बन्ने सम्भावना धेरै कम छ । माओवादी र एकीकृत समाजवादीमध्ये एउटा दललाई साथमा नलिई ओलीले सरकार बनाउन सक्दैनन् ।
प्रत्यक्षतर्फ एमालेले अहिलेसम्म ४२ सीट जितेको छ । दुईमा अग्रता छ । राप्रपा, रास्वपा, जसपा र उन्मुक्ति पार्टीको गरी २५ सीट छ । एमालेले थप दुई जितेमा ४४ र चार पार्टीको २५ गरी ६९ सीट हुन्छ । अझै ओलीलाई ६९ सीट आवश्यक पर्छ । एमालेले समानुपातिकमा ३५, रास्वपाले १५, राप्रपाले सात र जसपाले चार पाए पनि ओलीलाई सरकार बनाउन बहुमत पुग्दैन । त्यसैले अहिलेसम्म कांग्रेस नेतृत्वमै सरकार बन्नेमा ओली पनि ढुक्क देखिएका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार