कांग्रेस उत्तराधिकारीको गेम प्लानिङमा देउवा, इतरसमूहबाट शेखर अगाडि
केदार भट्टराई (काका)
मंसिर १३, २०७९ मंगलबार २०:१९:५६
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको परिणाम सोचेअनुसार नआएपछि सत्ता गठबन्धन र पार्टीको आन्तरिक जीवनमा आमुल परिवर्तनको रणनीति अघि सार्ने तयारी गरेका छन् । सत्ता गठबन्धनतर्फ सहयात्री दलहरुबीच प्याकेजमै पूर्णकालिन सहमति देउवाको पहिलो शर्त छ ।
पार्टीभित्र निर्वाचनको परिणाम असहज रुपमा आउँदा सरकार गठनका लागिसमेत समस्या भइरहेका बेला आधा दर्जनभन्दा बढी नेताहरु प्रधानमन्त्रीका लागि दौडधुपमा लागेपछि उनीहरुको व्यवस्थापन गर्न देउवाले कांग्रेसभित्र दुई उत्ताराधिकारीको गेम प्लानिङ अगाडि ल्याउने तयारी गरेका हुन् । कांग्रेसबाट सत्तामा नेतृत्व गर्ने र पार्टीलाई चलाउन सक्ने आगामी सभापति गरी १५ औँ महाधिवेशनमा सभापतिका लागि मुख्य दावेदारलाई देउवाले अहिलेदेखि नै अगाडि ल्याउने सोच बनाएका छन् ।
सभापति देउवाले बनाएका यी दुई रणनीतिबारे धरै नेताहरु जानकारसमेत छैनन् । उनले अहिले आफुसँग रहेका टीमभित्रका नेताहरुलाई पनि जानकारी दिइएका छैनन् । सम्भवत देउवाले मंगलवार साँझ वा बुधबार बिहान आफुसँग पार्टी सभापतिमा पराजित भएका डा. शेखर कोइरालासँग यो विषयमा पहिलो परामर्श गर्ने बुझिएको छ । डा. कोइराला मंगलबार विराटनगरको कार्यक्रम छोट्याएर काठमाडौं आउँदैछन् ।
देउवानिकट स्रोतले दिएको जानकारी अनुसार उनले संस्थापन पक्षबाट पूर्णबहादुर खड्का र संस्थापनइतर समूहबाट डा. कोइरालालाई आफुपछिका दुई जिम्मेवारी सुम्पने तयारी गरेका छन् । इतरसमूहको आन्तरिक विवाद सो समूहका नेताले व्यवस्थापन गर्ने र संस्थापन पक्षका विवाद सोही समुहका नेताले मिलाउने गरी देउवाले जिम्मेवारी दिने बताइएको छ । दुर्वै पक्षको नेतृत्व भने देउवा आफैले गर्नेछन् ।नेतृत्व लिएपनि आफु धेरै खट्न नसक्ने भएकाले उनले जिम्मेवारी सार्न चाहिरहेको बताइएको छ ।
स्रोतको भनाइमा देउवाले लिएको उत्तराधिकारीको गेम प्लानिङलाई मुर्तरुप दिनका लागि सत्ता गठबन्धनमा पहिले सहमति हुन आवश्यक छ । सत्ता गठबन्धनसँग कांग्रेसले लिने विषयमा पनि उनले दुवै पक्षका नेताहरुसँग आन्तरिक छलफल गर्न बाँकी छ । सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रपति र सभामुख दुई ठूला दलले लिने र उपराष्ट्रपति तेस्रो दललाई दिने गरी सहमति जुटाउने तयारीमा देउवा रहेका छन् ।उनको रणनीतिअनुसार गठबन्धनमा सहमति भए राष्ट्रपति पद लिनेले पहिले सरकारको नेतृत्व गर्न पाउने छैन् ।
कांग्रेसले राष्ट्रपति लिएको खण्डमा पहिले सरकार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्नेछ भने त्यसमा उपप्रधानमन्त्रीसहित कांग्रेसबाट डा. शेखर कोइरालालाई पठाउने तयारीमा देउवा छन् । तर, यसबारे डा. कोइरालासँग छलफल भएको छैन् । कांग्रेसले राष्ट्रपति लिँदा कोइरालालाई सरकारमा जान सहज हुने र उपसभापतिसमेत रहेकाले नेता पूर्णबहादुर खड्कालाई पार्टीको जिम्मेवारी सम्हाल्न सहज हुने अनुमान देउवाको छ ।
यदि नेकपा माओवादीले राष्ट्रपति लिएमा सरकारको नेतृत्वमा देउवा आफै जाने तयारीमा छन । यो अवस्था आएमा कोइराला र खड्काको जिम्मेवारीमा हेरफेर हुनसक्छ । यी दुई नेतासँगै विलमेन्द्र निधि र इतरसमूहका गगनकुमार थापा पनि सभापति देउवाको नजरमा परेका छन् । प्रधानमन्त्रीको आकांक्षी रहेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि उचित जिम्मेवारी दिने तयारीमा देउवा रहेका छन् । यसका लागि गठबन्धन सरकार सञ्चालनको मापढण्ड बनाउन तयारी भइरहेको छ । यसबारे गठबन्धनका तीन नेताबीच पनि छलफल भइरहेको छ ।
रामचन्द्र पौडेल सम्भावित राष्ट्रपतिका उम्मेदवार रहेकाले पनि उनको प्रधानमन्त्री दावीलाई देउवाले अस्वभाविक मानेका छन् । पौडलले राष्ट्रपति नभएको खण्डमा सत्ता गठबन्धनबाट सरकार सञ्चालन गर्ने संयन्त्रको संयोजकमा काम गर्नुपर्ने गरी देउवाकाे कार्यविभाजन गर्ने तयारी छ । उता नेकपा माओवाादीले डा. बाबुराम भट्टराईलाई राष्ट्रपतिका रुपमा अगाडी ल्याउने सम्भावना पनि उत्तिकै छ । यसै भएर पनि देउवाले पहिले राष्ट्रपति र सभामुखको विषयमा सहमति गराउन खोजिरहेका छन् ।
स्रोतका अनुसार संस्थापन पक्षकै नेताहरु सभापति देउवालाई बाइपास गर्दै प्रधानमन्त्री बनाईदिन भन्दै विपक्षी दलका ढोका ढोकामा पुग्न थालेपछि देउवाले यसको व्यवस्थापनको जिम्मा आफुपछिका नेताहरुलाई दिन चाहेका हुन् । उनले इतरसमूहका विषयमा सो समुहका नेता कोइरालासँग मात्रै सम्बन्ध राख्ने गरी रणनीति बनाउँदैछन् । कोइराला समूहबाट कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिने बताइरहेका छन् । शेखर कोइराला आफै पनि प्रधानमन्त्रीका दावेदार हुन् । तर, उनले अहिलेसम्म मुख खोलेका छैनन् ।
निर्वाचनको मत परिणाम आउनुपूर्व नै नेपाली कांग्रेसका शीर्ष नेताहरूले नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाउँदै लगेका छन । उनीहरुको कुदाइले प्रधानमन्त्री पदकै उपहास हुने अवस्था आएको भन्दै राजनीतिक क्षेत्र आलोचना पनि सुरु भएको छ । मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग हारगुहार मागिरहेका छन् ।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी छलफललाई अघि बढाएका छन् । दाहाल र नेपालसँग छलफल गरेका देउवाले अहिलेको गठबन्धनलाई निरन्तरता दिने समझदारी गर्दै अन्य दललाई पनि समेटेर मुलुकको आर्थिक विकास र समृद्धिको पक्षमा अघि बढ्नुपर्ने बाटो खोजिरहेका बेला पार्टीका नेताहरुनै म प्रधानमन्त्री भन्दै हिड्न थालेपछि देउवा उत्तराधिकारीको रणनीतिमा पुगेका हुन् ।
अहिलेककै गठबन्धनको निरन्तरतासहित सभापति देउवा फेरि प्रधानमन्त्री बन्न सक्ने र उनी नै कांग्रेस संसदीय दलको नेता चयन हुने प्रबल सम्भावना रहेको आंकलन पनि कांग्रेसभित्र भइरहेको छ । यदि यो आवस्था सहजरुपमा अगाडि जाने सम्भावना नदेखेमा सभापति देउवाले इतरसमुहका नेता डा. कोइरालालाई संसदीय दलको नेतामा प्रस्ताव र समर्थन गर्ने सम्भावना पनि कायमै रहेको स्रोत बताउँछ । देउवा आफु संसदीय दलको नेता नबन्ने अवस्था आएमा उनले शेखरलाई समर्थन गर्ने कुरा नजिकका नेताहरुलाई समेत भनिसकेका छन् ।
कांग्रेसमा नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइरालादेखि महामन्त्री गगनकुमार थापासम्मले आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका छन । निर्वाचनको अन्तिम परिणाम आएपछि हुने पार्टी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री थापाले बताउँदै आएका छन् । नेता पौडेल र सिंहले नयाँ सरकार गठनसहितका विषयमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका साथै एमाले अध्यक्ष केपी ओलीसँग भेटेका छन् । पार्टी सभापति देउवाको समेत विश्वास जितेर नेतृत्व लिने भन्दै सिंहले आइतबार एमाले अध्यक्ष ओलीसँगसमेत भेट गरे ।
देउवाले संसदीय दलमा आफ्ना पार नलागे शेखरलाई सघाउने संकेत गरेपछि उपसभापति पूर्णबहादुर खड्काले पनि देउवा नभए आफु भन्ने प्रस्ताव ल्याउँदैछन् । देउवापछि पार्टी र सरकारको नेतृत्व आफूले गर्ने भनेर निकटहरूलाई बताउँदै आएका खड्का देउवाको एकल उत्तराधिकारीका रूपमा आफुलाई उभ्याए पनि उनीभन्दा अगाडी पार्टीको १४ औं महाधिवेशनमा सभापति देउवाविरुद्ध आमनेसामने भएका नेता शेखर कोइराला देउवाको ‘पावर’ सेयरिङमा परेका छन् । देउवालाई पार्टी सञ्चालनको जिम्मेवारी दिने र आफूले सरकार सञ्चालन गर्ने रणनीतिका साथ उनी अघि बढ्ने पक्षमा रहेकै बेला देउवाले समेत उनैलाई रोज्न खोज्नुले पनि कांग्रेसका अन्य नेताहरुको कुदाई अर्थपूर्ण देखिदैन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार