गुटगत कांग्रेसमा देउवा र कोइरालाको नयाँ समीकरण बन्ने संकेत
केदार भट्टराई (काका)
मंसिर १८, २०७९ आइतबार २३:३३:३२
१८ मंसिर, काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट संसदको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र यथास्थितिमा दुई गुट र विभिन्न उपगुट रहेपनि आगामी सत्ता नेतृत्व र अन्य महत्वपूर्ण पद हासिल गर्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवा र इतरसमूहका नेता डा. शेखर कोइरालाबीच नयाँ समीकरण बन्ने संकेत देखिएको छ ।
कांग्रेसबाट आगामी सरकारको नेतृत्वका लागि प्रधानमन्त्रीका आकांक्षीहरू धेरै भएपछि देउवा र कोइरालाबीच नयाँ समीकरण बन्ने संकेत देखिएको हो । अहिले संस्थापन समूहको नेतृत्व शेबहादुर देउवाले गरिरहेका छन् भने इतरसमूहको नेतृत्व डा. कोइरालाले गरिरहेका छन् ।मुलतः संसदीय दलको नेतामा पार्टीभित्र बहुमतका लागि यी दुई गुटको सक्रियता पनि बढी नै देखाएको छ । दुबै समूहले प्रधानमन्त्री बन्न संसदीय दलको नेतामा चुनिनुपर्ने पहिलो अनिवार्य परीक्षाका लागि अर्थपूर्ण भेटघाट र संवाद पनि बढाउँदै लगेका छन् ।
संस्थापन पक्षबाट देउवा आफै संसदीय दलको नेता बन्ने रणनीतिमा रहेका छन् भने इतरसमूहबाट कोइलालाले पनि संवाद बढाएका छन् ।कोइराला समूहबाट महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बन्न चाहना राखेपनि कोइराला आफै अगाडि सर्ने देखिएपछि कांग्रेसमा एकप्रकारको तरंग नै उत्पन्न भएको छ । कोइरालाले थापा लगायतका नेताहरुलाई दलको नेतामा आफु अगाडि बढ्ने संकेत दिएका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेता आफुलाई दिएर प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने बताइरहेका छन् ।
नेता प्रकाशमान सिंहले पनि आफुलाई भावी प्रधानमन्त्री भन्दै आएका छन् । यता, महामन्त्री थापाले आफ्नो समूहबाट संसदीय दलको नेताका रुपमा सर्मथन नपाए गुट परिवर्तन गर्न सोच बनाएको बताइएको छ । सभापति देउवाले यसअघि नै सत्ता सहकार्य र अन्य महत्वपूर्ण पदहरुमा पार्टी भित्र एकता कायम राख्न कोइरालालाई मनाउन नेताहरु नै खटाएका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र विमलन्द्र निधि लगायतका नेताहरुलाई कोइरालासँग संवादको जिम्मा दिएका छन् । देउवाले आफुसँगै सभापतिमा लडेका कोइरालालाई केही महत्वपूर्ण जिम्मेवमारी दिने गरी सहकार्यको संवाद बढाउन नेताहरु खटाएका हुन् ।
गुट-गुटभित्र विवाद आएमा देउवाले कोइरालालाई साथ दिने र उनीबाट पनि साथ दिने मनस्थित बनाएको नेताहरु बताउँछन् । छलफलमा जुटिरहेका नेताहरुले बताए अनुसार सत्ता नेतृत्व देखि पार्टी सञ्चालनको जिम्मेवारीमा सहमति जुटे कांग्रेसभित्र देउवा र कोइराला एक पक्ष र महामन्त्री गगन थापा र अर्बा महामन्त्री विश्वप्रकाश शर्माबीच अर्को गुट बन्न सम्भाना बढेर गएको छ । देउवा र कोइराला एक भएमा कांग्रेसको संसदीय दलको नेता पनि यी दुइमध्ये एक नै बन्ने पक्का छ । महामन्त्री शर्माले धेरै अगाडि देखि नै संसदीय दलको नेता बनाउन थापालाई सघाउने बताउँदै आएका छन् ।
यसले पनि आगामी दिनमा महामन्त्रीद्वयको सहकार्य हुने आंकलन नेताहरुले गरेका छन् । निर्वाचन प्रचारकै क्रममा भावी प्रधानमन्त्रीको एजेन्डा अघि सारेका महामन्त्री थापा र इतरसमूहका नेता कोइरालाबीच छलफल भए लगत्तै देउवाले यही संदेश बोकाएर प्रवक्ता डा. महतलाई कोइरालाको घरमा पठाएका थिए । देउवाले संवादका उपसभापति पूर्णबहादुर खड्का लगायतलाई इतरसमूह र गठबन्धन दलका नेतासँग पनि छलफलको जिम्मा दिएका छन् । संस्थापनइतर समूहका महामन्त्री थापा र नेता कोइरालाबीच निर्वाचनपछि पहिलोपटक शुक्रबार साँझ भेट भएको थियो । बिहीबार काठमाडौं फर्किएका कोइरालाले शुक्रबारबाटै छलफल सुरु गरेका थिए ।
थापासँग मिलेर अगाडी जाने विषयमा कुराकानी भएपनि कोइरालाले इतरसमूहबाट आफ्नो दाबी प्रस्तुत गरेका छन् । आफैँ अगाडि बढ्ने संकेत गरेपछि महामन्त्री थापा झस्किएका छन् । यता, देउवासमूहका नेताहरुले कोइरालालाई १४औँ महाधिवेशनको म्यान्डेटअनुसार पनि सभापति पछि तपाई नै वैकल्पिक नेताको रुपमा रहेको भन्दै फकाउन सुरु गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पठाएपछि कोइरालासँग भेट गर्न पुगेका प्रवक्ता डा. महतले पनि यही कुरा कोइरालासमक्ष राखेको बताइएको छ ।
संसदीय दलको नेताबाट महामन्त्री थापा पछाडि नहट्ने भएपछि देउवाले आफु नबने शेखरलाई नै सघाउने मनस्थिति बनाएको विषय सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग कांग्रेस नेताहरुले गरेको छलफलमा पनि उठेको छ । प्रवक्ता महत र उपसभापति पूर्णबहादुर खड्काले संसदमा प्रतिनिधित्व गर्ने साना दलसँगको छलफलमा पनि सभापतिले कोइरालालाई कांग्रेसबाट सरकारको नेतृत्वमा पठाउन सक्ने संभावना रहेको बताउँदै आएका छन् । प्रवक्ता महतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यदि प्रधानमन्त्री कांग्रेसले नलिने अवस्था आएका शेखरले पार्टीबाट नेतृतव गर्ने बताएका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै पूर्वमहामन्त्री शशांक कोइरालाले पनि प्रधानमन्त्रीमा दाबी गर्दै आन्तरिक तयारी थालेका छन् । नेता प्रकाशमान सिंहले च्याँखे थापिरहेका छन् । यसरी कांग्रेसभित्र धेरै जना आकांक्षी भएपछि पार्टीमा असन्तुटहरु बढ्ने सम्भावनालाई मध्यनजर गर्दै देउवाले कोइरालासँग सहकार्यको हात अगाडि बढाएका हुन् । सांसदहरुको गणित हेर्दा देउवा बलियो अवस्थामा रहेपनि यसले पार्टी भित्र थप विवाद आउने र विवादले सरकारको नेतृत्व गर्नुपर्दाको अवस्थामा असहज हुने बुझाइ देउवाको छ । कोइरालालाई साथ लिएर अगाडी गएमा पार्टीभित्र एकता कायम हुनेमा उनी विश्वस्त छन् ।
निर्वाचनको परिणामअनुसार अहिले देउवा पक्षले ३४ सीट जितेको छ भने कोइराला पक्षले २३ सीट जितेको छ । अहिले पाइरहेको समानुपातिकतर्फको मतलाई हिसाब गर्दा देउवा पक्ष २२ जना र कोइराला पक्षले कम्तिमा ११ सीट समानुपातिकबाट पाउने नेताहरु बताउँछन् । यही अनुसार भए देउवासँग ५६ सांसद रहने छन् भने कोइरालासँग ३४ सांसद रहने छ । थ्रेसहोल्ड नकटाएका दलको मतबाट एक सांसद कांग्रेसको थपिन सक्ने सम्भावना छ । अहिले गणना गरिएका सांसदमा देउवा पक्षका अकाट्य हुन भने कोइराला पक्षबाट केही सांसद महामन्त्री थापाले लानसक्ने सम्भावना छ ।
देउवा समूहमा गनिएका अर्का महामन्त्री शर्मा पनि थापाका पक्षमा जाने देखिएको छ । यसो हुँदा देउवाको एक सीट घट्नेछ । यसले पनि संसदीय दलको नेतादेखि र आगामी सरकारको नेतृत्व र पदीय भागबण्डालाई आधार बनाएर पनि देउवा र कोइरालाबीच निश्चित समयसम्मका लागि भएपनि नयाँ समीकरणको सम्भावना बढेर गएको छ । कोइराला र सभापति देउवाबीच नयाँ समीकरण बनेमा निश्चित रुपमा महमन्त्रीद्वयको छुट्टै समूह बन्ने देखिएको छ । नेताहरुको भनाइमा पनि कांग्रेसको गुटगत स्वार्थ यही रुपमा अगाडी जाने सम्भावना प्रवल देखिएको छ ।
यस्तो छ देउवा र कोइरालाको अंकगणित
संस्थापन समूहतर्फ प्रत्यक्ष निर्वाचित: शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठौर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, राजु थापा, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, मोहन आचार्य, दीपक खड्का रहेका छन् ।
समानुपातिकतर्फ अनुमानित: अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन जागा, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन आदि सम्भावित हुन् ।
कोइराला समूहबाट प्रत्यक्षतर्फ : डा. शेखर कोइराला, गगन थापा, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी, धनराज गुरुङ, बद्री पाण्डे, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू रहेका छन् ।
कोइराला समूहको समानुपातिकतर्फ: जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र मैना रावल,वसन्त भट्टराई, सरिता प्रसाईं, प्रतिमा गौतम र लीलादेवी बोखिम सम्भावित उम्मेदवार हुन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार