आगो ओकल्ने सांसदहरूबीच सभामुखको खोजी !
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २३:४८:१८
१९ मंसिर, काठमाडौं । हालैको निर्वाचनपछि गठन हुन लागेको प्रतिनिधिसभा, यसअघिको जस्तो मुर्छित संसद हुनेछैन । जनताले साविकका नेताहरूप्रति चलाएको अविश्वास र मत नदिने अभियान ‘नो, नट अगेन’ (अहँ, अब हुँदैन) को परिणामस्वरुप परिवर्तनको आवाज बोकेर आएका नयाँ राजनीतिक दल र सांसदहरूलाई चित्त बुझाएर प्रतिनिधिसभाको बैठक निर्वाध चलाउन गम्भीर चुनौतीको जिम्मेवारी खडा भएको छ ।
प्रतिनिधिसभाका सांसदहरूलाई शपथग्रहण गराउने, सर्वज्येष्ठ सांसद अस्थायी सभामुख (प्रोटेम् स्पिकर) संसदीय परम्पराअनुरुप उमेरको ज्येष्ठताका आधारमा चयन हुनेछ । हालसम्मको स्थितिमा महेन्द्र राय यादव (८६ वर्ष) अस्थायी सभामुख हुने सम्भावना छ । त्यसपछि सभामुखको निर्वाचन हुनेछ । संसदमा निष्पक्ष र सबैको साझा भूमिका निर्वाह गर्ने उद्देश्यको लागि सभामुख सर्वसम्मतिले चयन गर्ने संसदीय संस्कार, सभ्यता र परम्परा रहँदै आएको छ ।
प्रतिनिधिसभामा हालसम्म ४३ जना नयाँ अनुहार सांसदको रुपमा प्रत्यक्ष निर्वाचित भई आएका छन् । त्यसमध्ये नेपाली कांग्रेसबाट १२ जना, नेकपा (एमाले) बाट १० जना, एकीकृत माओवादी केन्द्रबाट ३ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ७ जना लगायतका सांसदहरू निर्वाचित भईसकेका छन् । समानुपातिक निर्वाचनको बाटोबाट संसदमा आईपुग्ने नौला सांसदहरू पनि निकै ठूलो संख्यामा छन् । त्यसैले संसदीय सुझबुझ, अनुभव, अध्ययन र कानुनी पक्ष नजानेको व्यक्ति अबको प्रतिनिधिसभाको सभामुख भएर संसद सुचारु रुपले अगाडि बढ्न नसक्ने निश्चित छ ।
अबको सभामुख को हो ? प्रधानमन्त्रीको खोजीसँगै सभामुखको खोजी सुरू भएको छ । सभामुख जस्तो गरिमामय ओहोदा पाउन धेरै सांसद लालायित छन् । विगतमा अग्निप्रसाद सापकोटा, ओनसरी घर्तीजस्ता नामहरू भागबण्डा र नेताको जोडले सभामुख भए भने दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवासचन्द्र नेम्वाङ् जस्ता कानुन र संसदीय पद्धति बुझेका जिम्मेवार तथा परिपक्व व्यक्तित्व पनि प्रतिनिधिसभाले पायो ।
विगतमा निहित राजनीतिक स्वार्थको शिकार भएर प्रतिनिधिसभा धेरैपटक भङ्ग गरेका दुःखद घटनाको दुष्परिणाम राजनीतिक अस्थिरता, कर्मचारी संयन्त्रको अराजकता, छाडापन र कर्तब्यच्युत चरित्रले सिंगो मुलुकलाई संकटतिर धकेल्यो । खड्गप्रसाद ओली प्रधानमन्त्री भएको बेला त पाँच महिनाको अन्तरालमा प्रतिनिधिसभा दुईपटक विघटनको अपराधमा परेको थियो । दुवैपटक सर्वोच्च अदालतको फैसलाले ब्युँताईदिएको हो । आर्थिक क्षेत्रमा पनि राजनीतिक अस्थिरताको भयानक असर पर्यो । यसबाट आजित भएका जनता र स्वयं राजनीतिक व्यक्तिहरूले पनि विगतका गल्ती अनुभव गरेको अर्थमा संसदले सरकार गठन गर्ने सामथ्र्य राखेसम्म प्रतिनिधिसभा भङ्ग नगर्ने भन्ने प्रावधान वर्तमान संविधानमा राखिएको हो ।
अबको प्रतिनिधिसभा त्यसरी चल्न सक्दैन । सभामुख प्रतिपक्षको हुने व्यवस्था छ । सत्तापक्षबाट कांग्रेसका रमेश लेखक, पूर्णबहादुर खड्का, डा. नारायण खड्का जस्ता व्यक्तित्व आकर्षक लाग्न सक्छन्, तर संसद उनीहरूबाट सम्हाल्न निकै गाह्रो छ । फेरि भौगोलिक सन्तुलनको दृष्टिकोणले पनि एकै क्षेत्रतिर राज्यव्यवस्थाका जिम्मेवारी एकोहोर्याउँन थाल्दा सन्तुलन खल्बलिएर अस्थिरता बढ्ने खतरा त्यति नै छ । त्यसैले अन्ततः यो पद काँग्रेसका लोकप्रिय र प्रभावशाली नेता अर्जुननरसिंह के.सी.को जिम्मामा जाला भन्ने सम्भावना बलियो हुँदै गएको देखिन्छ । तर उनीजस्तो सक्रिय राजनीति गर्न चाहने नेता पार्टी राजनीतिबाट हात झिकेर तटस्थ भूमिकाको पदमा बस्न इच्छुक छन् वा छैनन्, यसबारे उनले कुनै कुरा बताएका छैनन् ।
सभामुख पदको लागि हाललाई अर्जुननरसिंह के.सी. भन्दा उपयुक्त व्यक्तित्व सांसदहरूमध्ये कोही पनि देखिएका छैनन् । सभामुख हुने रहर धेरैलाई हुनसक्छ । तर यो रहर पुर्याउने वा इज्जत र आम्दानीको ओहोदा होइन । संसदलाई पूर्णकाल चलाउन र यसको प्रभावकारिता, निर्णायक क्षमता र गरिमा बृद्धि गर्ने हो भने सभामुखको ओहोदामा संसदलाई अभिभावकीय नेतृत्व दिनसक्ने सर्वस्वीकार्य व्यक्तित्व चाहिन्छ । प्राध्यापक, अधिवक्ता, संसदीय व्यवस्थाका ज्ञाता, द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका, राजनीतिक अनुभवले खारिएको व्यक्तित्वमा पनि के.सी.बाहेक अरू पात्र छैनन् भन्नु अत्युक्ती हुन्न ।
सभामुख चयनमा सांसदहरूले पार्टीगत स्वार्थ नहेरी संसदको गरिमा, प्रभावकारिता र सरकारलाई सही बाटोमा लगाउन सक्षम बनाउन वातावरणको लागि योग्य सभामुखको चयन गर्ने जिम्मेवारी आएको छ । सभामुखको चयनबाट नै प्रतिनिधिसभाको प्रभावकारिता र यसको भविष्यको आंकलन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार