कसको सरकार, कस्तो सरकार ? ओरालो लागेको अर्थतन्त्र कसले सुधार्ला ?
भेषराज पोखरेल
मंसिर २४, २०७९ शनिबार २१:२३:१४
निर्वाचन परिणाम आएसँगै दलहरु तरंगित बनेका छन् । कांग्रेस, एमालेले आफ्नो नेतृत्वको गठबन्धनमा सामेल गर्ने दलहरुको खोजी गर्न थालेका छन् । माओवादी केन्द्र तेस्रो दल तर खुम्चिएको, सरकार बनाउन भने नभई नहुने शक्तिका रुपमा उभिन पाएकोमा गौरवबोध गर्दैछ । सकेसम्म कांग्रेससँग नै गठबन्धनमा गए बढी सत्ताको भाग पाइने र ओलीसँग अलग्गिएको औचित्य पनि पुष्टि गर्न सकिने भन्ने मानसिकतामा माओवादी छ । त्यसै अनुसार कांग्रेससँगको सत्ता भगबण्डाको वार्ता र छलफलमा प्रचण्ड लागेका छन् ।
नयाँ रुपमा अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टी अब आफ्नो शक्ति कसरी भरपुर उपयोग गर्न सकिन्छ भनेर लागेको छ । आफ्ना एजेण्डा लागू गर्ने दलसँग गठबन्धन गर्ने भन्दैछ । राप्रपाले ठूलै भागको दावी गर्ने नै भयो । एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टी पनि भित्रभित्रै अब बन्ने सत्ताको रापले तरंगित बन्दैछन् ।
सत्ता हातमा लिन वा सहभागी हुन निर्वाचन जितेर आएका दलहरु र तिनका नेताहरु तरंगित हुनु त स्वभाविकै हो तर यी दल र तिनका नेतृत्वपंक्तिले नेपालको अर्थतन्त्र कस्तो छ ? अब कस्तो बनाउने भनेर सोचेका होलान् ? नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन भएपनि अर्थतन्त्रलाई गतिशील बनाएर निश्चित बाटोमा हिँडाउन नसकेकै कारण जनताको जीवनस्तरमा सुधार आएन । त्यसैमा भ्रष्टाचार मौलाउँदा अर्थतन्त्रको बाटो अन्योल बन्दै गएको हो ।
दलहरुलाई यसो भन्नेबित्तिकै त्यो त हाम्रो प्रतिबद्धता पत्रमा उल्लेख छ नि त्यसै अनुसार अघि बढ्छौं भन्ने उत्तर आउन सक्छ तर ती प्रतिबद्धता पत्रमा उल्लेख गरेका ठूला योजना तर अमूर्त कुराहरु सामान्य रुपमा पूरा गर्न सकिने अवस्था छ त ? अर्थतन्त्रको गति कता जाँदैछ त्यसको आँकलन नगर्ने, छिमेकी र विश्व अर्थतन्त्रको गति र नेपालको अर्थतन्त्रको गति थाहा नै नपाउने नेतृत्वले अर्थतन्त्रलाई कुनै खालको बाटो पनि दिन सक्दैन । अहिलेसम्मको अमूर्त योजना र प्रतिबद्धता तर पूरा गर्ने आधार नै छैन । यस्तो अवस्थामा अर्थतन्त्रलाई निश्चित बाटोमा हिँडाउन सकिएला ? अब ठूला दल कांग्रेस वा एमाले कसको नेतृत्वको गठबन्धनमा सरकार बन्ने होला ?
अर्थतन्त्रमा अहिले चलिरहेको अन्योलता अर्थात् यही अवस्था रहे अझ विकृत बन्नबाट रोक्न यी दलहरुले कस्ता बौद्धिक व्यक्तिहरुको समूहलाई तयारी अवस्थामा राखेका होलान् ? अर्थतन्त्रमा आमूल परिवर्तन भनिरहने माओवादीले दलालको सहयोगमा रातारात करका दर नै फेर्ने जनार्दन शर्मालाई अर्थमन्त्री बनाउने नीतिमै होला कि अर्थतन्त्रको गतिप्रति गम्भीर होला ? आमजनताको चासोको विषय बन्न गएको छ । अर्थतन्त्रको गतिलाई नजिकबाट हेरिरहेका स्वतन्त्र बौद्धिक जगतको खोजी पनि यसैमा छ ।
अहिलेको निर्वाचनमा भ्रष्टाचार रोकिने र यही अर्थतन्त्रको गतिहीन अवस्थालाई ठूला दलबाट फेरिने आशा मारेका जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिए । युवा सम्मिलित सो दलले केही भएपनि नमूना दिन सक्ला कि भन्ने जनताको आशा रहेको देखिन्छ । छोटो समयमा रवि लामिछानेको पार्टीले चौथो राष्ट्रिय पार्टी बन्ने सौभाग्य प्राप्त गर्नु जनताको त्यही परिवर्तनको खोजी हो । सो दलले साँच्चै अर्थतन्त्रलाई बदल्न सक्ने विचारक र व्यवस्थापकको समूह खडा गरेर अगाडि बढेको होला ? सरकारमा संलग्न भएर वा प्रतिपक्षका रुपमा बसे पनि सो दलका सांसदहरुको गम्भीरता, ज्ञानवत्ता, भ्रष्टाचार र त्यसका कारणको खोजी जनताले चाहेका छन् ।
मधेशमा विभिन्न दलले मधेशीको हितमा काम गर्ने, जनजीवनमा आमूल परिवर्तन गर्ने भने पनि ती दलकै नेतृत्वमा न जनजीवनमा परिवर्तन आयो, न नातावाद कृपावाद रोकिएर लोकतन्त्र बलियो भयो, न भ्रष्टाचार रोकियो । जनता वाक्कदिक्क भएर विकल्पको खोजीमा सीके राउतको जनमत पार्टीलाई हरियो बत्ती बालिदिएका छन् । सो दलले पनि मधेशमा रहेका यावत् समस्याका साथै राष्ट्रिय अर्थतन्त्रको गति र थिति पहिल्याएर कसरी बाटोमा लैजान सकिन्छ भनेर नसोच्ने हो भने अरु जति कडा भाषण तथा क्रान्तिकारी बन्न खोजे पनि त्यसको कुनै अर्थ रहने छैन । समग्र कमजोरी पत्ता नलगाई त्यत्तिकै तराई मधेशको जीवनस्तरमा सुधार गर्न पनि सकिन्न ।
नेपाली कांग्रेसले परम्परागत रुपमा प्रजातान्त्रिक समाजवाद भन्दै आयो । अहिले पनि दस्तावेजबाट त्यसलाई हटाएको छैन । उसको अर्थतन्त्रको मोडल मिश्रित हो । विशेष क्षेत्रमा सरकारले लगानी गर्ने, अन्य क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो । पछिल्लो समय सबै क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गराएपछि अर्थतन्त्र खुला त भयो तर अनियन्त्रित । अचम्मलाग्दो छ, पछिल्लो समय त शिक्षा, स्वास्थ्यमा चरम व्यापारीकरण भयो, उता सरकारी संस्था निकम्मा भए । खुला अर्थनीति अनुसार अगाडि आएका उद्योगीहरु पछिल्लो समय त पूर्णरुपमा विदेशी विलासिताका सामग्री आयात गरेर ठूलो नाफा कमाउने व्यापारमा लागेका छन् । यही अवस्थासँगै अर्थतन्त्रदेखि सरकारी संयन्त्रसम्मै दलालीकरण बढ्न थालेको छ । कांग्रेसले समीक्षा गर्ने होला कि जसरी अगाडि बढ्छ त्यसैलाई स्वीकार्ने नीतिमा जाला ? यी कुरामा कांग्रेस गम्भीर भएन भने सो दलप्रतिको जनताको भरोसा टुट्नेछ ।
एमालेले आफूलाई खाँटी कम्युनिष्ट भन्छ । उसले बहुदलीय जनवादपछि समाजवाद भनिरहेको छ । केपी ओलीको नेतृत्वमा रहेको एमालेले जेजस्ता कुरा गरे पनि अर्थतन्त्रको उसको प्रारुप कुनै पनि रुपमा छुट्टै खालको छैन । सो दलका नेताहरुले उद्योगी व्यापारीहरुलाई आफ्नो पक्षमा ल्याउन खोजे पनि अर्थतन्त्रको रुप भने त्यही क्रोनिक पुँजीवाद र दलालीकरण नै हो । ओली नेतृत्वको सरकारको समयमा भएका केही प्रतिनिधि घटनाले स्पष्ट गरेकै छन् । यही व्यवहारका कारण योजना जेजस्ता ल्याए पनि कार्यान्वयन हुन नसक्नु एमालेको नीतिगत कमजोरी नै हो । अब सरकार सञ्चालन गरे पनि वा प्रतिपक्षमा बसे पनि अर्थतन्त्रप्रति गम्भीर नहुने हो र अर्थतन्त्रमा रहेको दलालीकरणलाई रोकेर भ्रष्टाचार न्यूनीकरणमा पहल नगर्ने हो भने जनाताले एमालेलाई पनि पत्याउने आधार रहने छैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार