नयाँ सरकार, भावी अर्थतन्त्रः जनताको लगानी क्षेत्र शेयरबजारमा सुधार आउला ?
भेषराज पोखरेल
मंसिर २७, २०७९ मंगलबार १९:३५:४१
अर्थतन्त्र कजोर बन्दै जाने, भ्रष्टाचार तथा अनियमिता बढ्दै जाने र आजनताको जीवनस्तर झन् झन् कमजोर बन्दै जानाले जनता ठूला दलप्रति खुसी रहेनन् । अन्य विकल्प खोज्ने बाटोमा लागे । कांग्रेस र एमाले र माओवादी केन्द्रलाई पहिलो, दोस्रो र तेस्रो पार्टी बनाए तर यी तीनै दलले एक्लै सरकार बनाउन भने नसक्ने भए । गठबन्धन बनाएर सरकार बनाउनुपर्ने भयो । जसको बनोस् तर नयाँ बन्ने सरकारले जनताको वास्तविक आक्रोशका विषय समाधान गर्न सक्लान् ?
अर्थतन्त्रका अरु विविध क्षेत्रका कमजोर र नराम्रा पक्ष त छँदै छन्, पछिल्लो समय आमजनताको लगानीको क्षेत्र बनेको धितोपत्र बजार कमजोर बन्दै जाँदा आमजनताले अप्ठ्यारो महसुस गरेका छन् । अब बन्ने सरकारले शेयरबजारलाई सुधार्ने वातावरण बनाउन सक्ला कि नसक्ला भन्ने कौतुहलता बढेको छ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य क्षेत्र कमजोर त बनेका छन् नै अर्थतन्त्रको ऐना नै मानिने धितोपत्र बजार अझ अस्थिर बन्ने होला कि ? अर्थतन्त्रका अरु पक्षमा सुधार नआउँदासम्म धितोपत्र बजारमा सुधार नआउने भएकाले आउने सरकार कति गम्भीर बन्ने होला ? अहिले आमचासोको विषय बनेको छ ।
अर्थतन्त्रको बाह्य पक्ष कमजोर बन्न गयो, वैदेशिक मद्रा सञ्चिति खुम्चिँदै गयो, आन्तरिक उत्पादनमा सुधार हुन सकेन जसले गर्दा निर्यात घट्दै गयो । यी सबै कारणले बैंकको तरलतामा गम्भीर प्रभाव पर्न गयो । यसले निक्षेपको ब्याज बढ्न गयो भने ऋणको ब्याज पनि बढाएका छन् । महँगो ब्याजमा ऋण लिएर शेयरमा लगानी सम्भव भएन, त्यसले गर्दा सेयर निरन्तर ओरालो लाग्दै गएको छ । पछिल्लो समय राष्ट्रबैंकले सेयरमा दिने ऋणको सीमा तोकेपछि त मूल्यमा निरन्तर ओरालो लाग्दै गएको छ । आर्थिक वर्ष २०८९।०८० को मौद्रिक नीतिको समीक्षाले राष्ट्रबैंकले बैंकबाट सेयर कर्जा लिन पाउने सीमा ४ करोड र समग्र वित्तीय संस्थाबाट १२ करोड रुपैयाँ मात्र हुँदा सेयरबजारका लगानीकर्ता उत्साहित हुन सकेनन् । यसलाई उकास्न कस्तो नीति अवलम्बन गरिने होला ?
केपी ओलीको नेतृत्वमा बनेको नेकपा सरकारका अर्थमन्त्री युवराज खतिवडाले सेयरबजारको लगानी अनुत्पादक भनेपछि शेयरबजार घट्न सुरु ग¥यो । उनले पछि त्यसो भनेको होइन भने पनि उनको कार्यकालभरि नै शेयरको मूल्य उकालो लाग्न सकेन । उनले सेयर बजार उठाउने कुनै नीतिगत सुधार पनि गरेनन् । नेकपा सरकार हटेर पुनः एमालेको केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेल आउँदा पनि सेयर बजार अस्थिर नै रहन गयो । नेकपाको विघटनको अवस्था आउँदादेखि नै शेयरबजारमा केही सक्रियता आयो । एमाले सरकार हटेर गठबन्धन सरकार बनेपछि सेयरबजारमा सुधार हुँदै गएको देखिन्छ । २०४८ सालको असार, साउनमा नेप्से परिसूचक ३ हजारबाट उकालो लाग्यो । यो क्रम ३२ सयसम्म पुग्न गयो ।
पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको खटपले पनि शेयरबजार अस्थिर बनिरहेको छ । अर्थमन्त्रीले शेयर कर्जाको सीमा बढाउन चाहने, गभर्नरले कस्न चाहनाले पनि सेयरबजार कमजोर बन्न गयो । बैंकहरुमा तरलताको अभाव तथा ऋणको सीमाले पनि धितोपत्र बजार माथि उठ्न सकेन । अबको सरकारको नीतिगत अवस्था पनि त्यस्तै होला कि फेरिएला ? लगानीकर्ताले चासोका साथ हेरेका छन् ।
अर्थतन्त्र सुध्रिएर सक्रिय बन्दा सेयरबजारमा स्वतः सुधार आउँछ । अर्को, बजेट निर्माण गर्ने अर्थमन्त्रालय तथा नियामक निकायको विशेष चासो भए पनि सेयरबजारमा सुधार आउन सक्छ । पछिल्लो समय नियामक निकायका नकारात्मक पक्ष अझ भनौं बदमासी पनि छताछुल्ल भए । यसले पनि धितोपत्र बजार अस्थिर बन्न पुग्यो । पछिल्लो समय एक त बैंकको तरलतामा पर्याप्त सुधार आउन सकेको छैन । अर्को, बैंकहरुले कर्जाको ब्याज अत्यन्तै बढाएका छन् । छोटो समयमै ९।१० प्रतिशत रहेको कर्जाको ब्याज १८ प्रतिशतसम्म हुँदा शेयर लगानीकर्ता उत्साहित हुने कुरा भएन । एकातिर शेयरबजारको उतारचढाव अर्कातिर त्यति महँगो ब्याजदरमा ऋण लिएर शेयरमा लगानी गर्नु सानो जोखिमको अवस्था रहेन । त्यस्तै, तरलताको अभावका कारण शेयरमा लगानी हुनसक्ने जनताको सानोतिनो रकम पनि बैंकहरुले मुद्धति निक्षेपमा दिने महँगो ब्याजका कारण सेयरबजारमा नआएर बचतमा गयो । पछिल्लो समय बंैंकहरुले भारी मात्रा बढाएको ब्याजदरको विरोधमा उद्यागी व्यापारी तथा अन्य लगानीकर्ता सडकमा आएका छन् ।
कमजोर बन्दै गएको उद्योग क्षेत्रले नयाँ लगानी गर्ने तथा सञ्चालन खर्चका लागि महँगो ऋण लिन सक्ने अवस्था नरहेपछि उत्पादन घटेको छ । यस्तो अवस्थामा उत्पादनमूलक उद्योगले सेयर लगानीकर्तालाई आकर्षक बोनस तथा अन्य लाभांश दिन सक्ने अवस्था रहेन । जसले गर्दा ती संस्थाका सेयरको खरिद, बिक्री पनि घट्न गएको छ । बैंकहरु, लघुवित्त कम्पनी, बीमा तथा फाइनान्सहरुको शेयरमा नै लगानीकर्ता सीमित भए पनि अर्थतन्त्रको बाह्य प्रभाव र आन्तरिक प्रभावले तरलता अभाव खेपिरहने अवस्थामा बैंकहरुको नाफा पनि अनिश्चित हुने अवस्था छ ।
नेपालको शेयरबजार सरकार तथा नियामक निकायको नीतिबाट मात्रै तल, माथि हुँदैन । यसमा ठूला लगानीकर्ताले समय समयमा विभिन्न होवा फैलाएर तल, माथि बनाउने गरेका छन् । ठूला लगानीकर्ताले अब यसको सरकार आउँछ, यस्तो बजेट आउँछ, यस्तो मौद्रिक नीति आउँछ, अब शेयरबजारमा सुधार आउँछ भनेर प्रचार गरेर शेयरमा उछाल ल्याउने र आफूले बजारमा ठूलो मात्रामा सेयर पठाउने गर्छन् । कहिले अब यो सरकार तथा अर्थमन्त्री बन्ने भए, अब खत्तम हुन्छ भनेर प्रचार गर्ने र बजारमा शेयरको भार बनाउने वातावरण बनाइदिने र सस्तोमा ठूलो मात्रामा खरिद गरिदिने गरिरहन्छन् । यसले पनि अन्योलता सिर्जना गर्ने गरेको छ । सेयरबजार अर्थतन्त्रको गतिमा हिँड्ने कुरा हो । जुवाको खाल होइन, आउने, जाने ठेगाना नहुने तर नेपालको अवस्था अनिश्चित छ ।
अर्थतन्त्र कति सक्रिय छ भन्ने देखाउने र लगानीलाई बहुरुपमा सक्रिय गराउने शेयरबजार सुधार गर्न कस्तो नीति लिइने होला ? वर्तमान अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डलाई सबल र सक्षम बनाउनुको साटो निजी क्षेत्रबाट समानान्तर संस्था बनाउने प्रयास गरे । यसले प्रतिस्पर्धी जस्तो देखिए पनि सरकारी नियामक निकाय कमजोर बनाएर यो कारोबारलाई अझ अराजक बनाउने अवस्था आउँछ । कमिसनको लोभमा यस्तै हचुवाको भरमा नीति बनाउने सरकार र अर्थमन्त्री आए शेयरबजार कस्तो होला ? अनुमान गर्न गाह्रो छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार