कांग्रेस-एमाले मिल्दा संघदेखि प्रदेशसम्मका सरकार बनाउन अति सहज
केदार भट्टराई (काका)
पुस ७, २०७९ बिहिबार १८:५:५४
७ पुष, काठमाडौं । नयाँ सरकार गठन गर्ने संख्या पुर्याएर प्रधानमन्त्रीमा दावी पेस गर्न राष्ट्रपतिले दिएको समय सकिन लाग्दा पनि दलहरुबीच कस्तो र कसरी सरकार बनाउने भन्ने सहमति जुटेको छैन् । सत्ता गठबन्धन सरकार बनाउनका लागि तयार देखिएपनि अझै प्रधानमन्त्रीमा सहमति भएको छैन् । पहिलो चरणको प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुख जस्ता महत्वपूर्ण पदहरुको भागबण्डा मिलाउन नसक्दा सत्ता गठबन्धन वा अर्को समीकरणबाट सरकार बन्छ भन्ने कौतुहलता कायमै छ ।
पुष १० गते साँझ ५ बजेभित्र राष्ट्रपति कार्यलयमा सरकार गठनका लागि आवश्यक संख्यासहित प्रधानमन्त्री बन्ने उम्मेदवारको नाम पठाउनुपर्छ । यसका लागि अहिले विभिन्न विकल्पहरु सरकार गठनका लागि बनिरहेका छन तर, कुनै पनि विकल्प भरपर्दा देखिएका छैनन् । यही बीचमा छलफल भइरहेको तर सतहमा नआएको अन्तिम विकल्प छ, नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य ।
कांग्रेस र एमालेबीच सहकार्य हुने कुरामा धरैले विश्वास गरेका छैनन् भने दुई दलका मध्यमार्गी नेताहरु यसलाई सम्भव बनाउने प्रयासमा लागिरहेका छन् । दलभन्दा बाहिरबाट पनि अहिलेको जनादेश अनुसार कांग्रेस र एमाले मिल्नुपर्ने दवाव आइरहेको छ । अन्य विकल्पहरुमा सम्भव नभएमात्र कांग्रेस एमालेबीच सहकार्यको प्रक्रिया अगाडी बढ्न सक्ने अनुमान पनि गरिदैछ । तर, यो विकल्पमा अहिले मुख्य दलहरु पुगेका छैनन् । आफ्नै नेतृत्वमा साना दलको सहमति जुटाउने प्रयासमै कांग्रेस र एमाले छन् ।
नागरिक अगुवाहरुले भने अहिलेको राजनीतिक अवस्था, देशको अर्थतन्त्र र बाह्य शक्ति राष्ट्रहरुको चलखेल हेर्दा अहिले कांग्रेस एमाले मिल्नुको विकल्प दिगो नहुनेमा जोड दिएका छन् । उनीहरुकै भनाइ अनुसार कांग्रेस एमाले मिलेको खण्डमा संघीय सरकारदेखि प्रदेश सरकार र राष्ट्रपति-उपरराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका पदको व्यवस्थापन पनि सहज हुने देखिन्छ । यी दुई दलबीच न्युनतम राष्ट्रिय एजेण्डामा सहमति हुनसके आलाेपालो गर्दा पनि पाँच वर्ष सरकार सहज रुपमा चल्ने देखिन्छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रहेको सदस्य संख्याको बहुमत प्राप्त गर्ने राजनीतिक दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । अहिले संघीय संसदमा प्रतिनिधिसभातर्फ कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, रास्वपा २०, राप्रपा–१४, जसपा १२, नेकपा एस १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, नेमकिपा १, राजमो १ र पाँच स्वतन्त्र सांसद रहेका छन् । यिनै सीटमाथि कांग्रेस र एमालेले खेलेर सरकार बनाउने हो । कांग्रेस एमाले मिल्दा अरु आउने साना दल लिंदा संविधान संशोधन गर्न सकिने बहुमत पनि पुग्न सक्ने देखिन्छ ।
अहिले सरकार बन्ने विभिन्न विकल्पमा कुराकानी हुँदा गठबन्धनभित्र कुरा मिलेन भने नेकपा एमाले र कांग्रेसबीचको अर्को गठबन्धन हुन सक्ने बाटो पनि कायमै छ । जहाँ कांग्रेस र एमालेका केही नेताले प्रयास पनि गरेका छन् भने नागरिक अगुवाले पनि स्थिरताका लागि कांग्रेस र एमाले मिल्न दवाव दिएका छन् । त्यो अवस्था आयो भने कांग्रेससँग रहेका ८९ र एमालेसँग रहेका ७८ सांसद गरी १६७ सांसदको समर्थन रहेको केन्द्रीय सरकार बन्न सक्छ भने प्रदेशमा पनि यही अनुसार हुनेछ ।
देउवाको नेतृत्वमा कुनै पनि हालतमा सरकार बन्न नसक्ने अवस्था आएमा सरकारको नेतृत्वका अर्का दाबेदार व्यक्ति हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । प्रचण्डले आफू निकटका नेताहरुसँग अहिलेकै गठबन्धनको समर्थनमा आफू प्रधानमन्त्री बन्न सक्ने बताउँदै आएका छन् । कांग्रेसले नबनाए एमालेसँग गठबन्धन गरेर पनि प्रधानमन्त्री बन्ने भित्री दौडमा छन् प्रचण्ड ।
कांग्रेस र माओवादीबीच हुने सहमतिले प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्था आएमा देउवा प्रधानमन्त्री बन्न सक्ने पहिलो विकल्पकै जस्तै गठबन्धन बन्नेछ त्यसमा सरकारको नेतृत्व प्रचण्डले गर्नेछन् । अर्थात् त्यसमा प्रचण्डसँग नजिक मानिएका र सरकारमा जान आतुर देखिएका उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सहभागी हुन सक्नेछ । त्यस्तो गठबन्धन बन्ने अवस्थामा आएमा कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राजमो रहनेछन् । तर, अरु विकल्प अहिले सहज देखिएका छैनन् ।
अर्को महत्वपूर्ण पक्ष्ँ भनेको पाँचदलीय सत्तागठबन्धनभित्र केन्द्रमा गडबड भए त्यसको असर सातै प्रदेशको सरकार निर्माणमा देखिन्छ । गठबन्धनबाट माओवादी र एकीकृत समाजवादी बाहिरिएको अवस्थामा एमालेसहित वामगठबन्धनले ४ प्रदेशमा कम्युनिस्ट पार्टीको मात्रै, दुई प्रदेशमा चुनावी तालमेलमा रहेका दलहरूको सहयोगमा सहजै बहुमतीय सरकार बनाउन सक्ने अंकगणित छ । मधेस प्रदेशमा पनि वाम नेतृत्व वा उसको पहलमा मात्र सरकार बन्न सक्ने अवस्था छ ।
अहिलेको अवस्थामा सत्तारूढ गठबन्धनसँग चार प्रदेशमा मात्र बहुमतीय सरकार गठन गर्न सक्ने सिट संख्या छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा बाहेक बाँकी प्रदेशमा गठबन्धनले कम्तीमा एक वा एकभन्दा बढी दलसँग तालमेल गरेर मात्रै सरकार गठन गर्न सक्ने अंकगणित देखिएको छ । प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा अन्य दलसँगको तालमेलविना सत्तारूढ गठबन्धनले सरकार बनाउन असम्भव छ । यी प्रदेशमा कांग्रेस र एमाले मिल्दा सहज छ ।
प्रदेश १ मा सरकार गठनका लागि ४७ सीट आवश्यक पर्छ । जहाँ एमालेसँग ४० र कांग्रेसँग २९ सीट छ । यो प्रदेशमा दुई दलको बलियो सरकार बन्न सक्छ । सत्तारूढ गठबन्धनतर्फ ४६ सीट मात्र रहेकाले बहुमत पुयाउन ६ सीट जितेको राप्रपा वा एक सीट जितेको जसपासँग तालमेल गर्नुपर्ने अवस्था छ । कुल ९३ सीट रहेको प्रदेश १ मा कांग्रेसको २९, माओवादीको १३ र एकीकृत समाजवादीको चार सीट छ । यो सीट संख्याबाट सरकार नबन्ने भएकाले गठबन्धनलाई राप्रपा वा जसपा भित्र्याउनुपर्ने बाध्यता छ ।
प्रदेश १ मा वामगठबन्धन भयो भने पनि सहजै प्रदेश सरकार बनाउन सक्छ । प्रदेशसभामा बहुमतका लागि ४७ सीट आवश्यक पर्नेमा एमाले, माओवादी र एकीकृत समाजवादीको मात्रै ५७ सीट पुग्छ । एमालेसँग तालमेल गरेको राप्रपाको ६ र जसपाको एक सीट थपिँदा ६४ सीट पुग्छ । प्रदेश १ मा एमालेले ४०, माओवादीले १३ र एकीकृत समाजवादीले चार सीट जितेका छन् ।
मधेस प्रदेशमा भने कांग्रेस र एमालेले मात्रै सरकार बनाउन सक्ने अवस्था छैन् । यो प्रदेशमा एक सय सात सीट रहेकाले बहुमतका लागि ५४ सीट आवश्यक पर्छ । यहाँ एमालेको २३ र कांग्रेसको २२ सीट गरी ४५ सीट हुन्छ । तर सत्तारूढ गठबन्धनभित्रैबाट सरकार गठनका लागि लोसपालाई समेत साथमा लिँदा जम्मा ४६ सिट पुग्छ । कांग्रेसले २२, माओवादीले आठ, लोसपाले नौ र एकीकृत समाजवादीले सात सिट जितेको छ । जस्ले सरकार बनाए पनि साना दललाई लिनुपर्ने बाध्यता मधेश प्रदेशमा छ ।
मधेस प्रदेशमा वामगठबन्धन बनेपनि बहुमत पुग्दैन । एमालेले चुनावमा तालमेल गरेको राप्रपा र जसपालाई गठबन्धन राख्दा साधारण बहुमतबाट वामगठबन्धनकै नेतृत्व वा पहलमा सरकार बन्ने अंकगणित छ । एमालेको २३, माओवादीको आठ र एकीकृत समाजवादीको सातसहित वाम पार्टीहरूको ३८ सीट पुग्छ । जसपाले जितेको १५ र राप्रपाको एक सीट थपियो भने मात्रै मधेस प्रदेशमा वाम पार्टीहरूको नेतृत्वमा सरकार बन्नसक्छ ।
यस्तै एक सय १० सीट रहेको बागमती प्रदेशमा पनि कांग्रेस र एमाले मिल्दा सरका बनाउन सहज हुन्छ । हुनत सत्तारूढ गठबन्धनले बाहिरी दलहरूसँग तालमेल नगरी बहुमतीय सरकार गठन गर्न सक्छ । बहुमतका लागि ५६ सीट आवश्यक रहेकामा कांग्रेसले ३७, माओवादीले २१ र एकीकृत समाजवादीले सात सीट जितेको छ । गठबन्धनबाहिरको राप्रपाले बागमतीमा १४ सीट जितेको छ । त्यस्तै, नेमकिपाले दुई र हाम्रो नेपाली पार्टीले दुई सीट जितेका छन् । यो प्रदेशमा कांग्रेस र एमाले जोडदा ६४ सीट हुन्छ ।
गण्डकी प्रदेशमा पनि कांग्रेस एमाले मिल्दा ५० सीट हुन्छ । यहाँ सत्ता गठबन्धनले पनि सहजै बहुमतीय सरकार बनाउन सक्छ । ६० सीट रहेको प्रदेशमा सरकारका लागि ३१ सीट आवश्यक रहेकोमा कांग्रेसले २७, माओवादीले आठ सीट जितेका छन भने राप्रपाले दुई र हाम्रो नेपाली पार्टीले एक सीट जितेका छन् । प्रदेशमा बहुमतका लागि ३१ सीट आवश्यक पर्नेमा एमालेको २३, माओवादीको आठ र एकीकृत समाजवादीको एक सीटसहित ३२ सीट पुग्ने हुँदा वामगठबन्धन बनेमा सरकार बन्न सक्नेछ ।
यसैगरी ८७ सीट रहेको लुम्बिनी प्रदेशमा पनि कांग्रेस र एमालेको सरकार नै सहज रुपमा बन्न सक्छ । यो प्रदेशमा सत्तारूढ गठबन्धनको बहुमतीय सरकार बन्ने अवस्था छैन । ४४ सीट आवश्यक पर्नेमा कांग्रेससँग २७ र एमालेसँग २९ गरी ६५ सीट पुग्छ । यो सरकार बनाउन पर्याप्त संख्या हो । लोसपा गठबन्धनमा सामेल गराउँदा ४१ सिट पुगे पनि बहुमतका लागि गठबन्धनलाई थप तीन सीट आवश्यक पर्छ । त्यसका लागि चार सीट जितेको नागरिक उन्मुक्ति पार्टी, तीन–तीन सीट जितेको जनमत पार्टी वा जसपासँग गठबन्धनले अनिवार्य तालमेल गर्नुपर्ने हुन्छ ।
लुम्बिनी प्रदेशमा वामगठबन्धनलाई पनि बहुमतीय सरकार बनाउन कठिन छ । बहुमतका लागि ४४ सीट आवश्यक पर्नेमा एमालेको २९, माओवादीको नौ, एकीकृत समाजवादीको एक र जनमोर्चाको एकसहित ४० सीट पुग्छ । तर, एमालेसँग चुनावी तालमेल गरेका राप्रपाको चार र जसपाको तीन सीट पनि थपिँदा ४७ सीट पुग्छ । जसपा गठबन्धनमा नआएको खण्डमा भने वामगठबन्धनले राप्रपालाई मनाउनुपर्छ ।
कर्णाली प्रदेशमा पनि कांग्रेस र एमालको जोडेर २४ सीट हुने भएकाले सहज सरकार बन्छ । सत्तारूढ गठबन्धनले पनि सहजै बहुमतीय सरकार बनाउन सक्छ । ४० सीटको प्रदेश सभामा बहुमतका लागि २१ सीट आवश्यक पर्नेमा कांग्रेसले १४ र माओवादी केन्द्रले १३, एकीकृत समाजवादीले एक सीट जितेका छन् । यी तीन दलको २८ सीट पुग्छ । त्यस्तै, यो प्रदेशमा राप्रपाले एक र एक सीट स्वतन्त्र सांसदले जितेका छन् ।
प्रदेशमा बहुमतका लागि २१ सीट आवश्यक पर्छ । यो प्रदेशमा वाम गठबन्धन हुँदा पनि सरकार बन्न सक्छ । एमालेको १०, माओवादीको १३ र एकीकृत समाजवादीको एक सीट जोड्दा २४ सीट हुन्छ । एमालेसँग चुनावी तालमेल गरेको राप्रपाको एक सीट पनि थपिए २५ सीट पुग्छ । तर, कांग्रेस र एमाले मिल्दा कसैलाई जोड्नु पर्दैन ।
यस्तै सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस र एमाले मिल्दा २९ सीट हुन्छ र सरकार बन्छ । सत्तारूढ गठबन्धनले पनि बहुमतीय सरकार गठन गर्न सक्छ । ५३ सीट रहेको प्रदेश सभामा बहुमतका लागि २७ सीट आवश्यक पर्नेमा कांग्रेसले १९, माओवादीले ११ र एकीकृत समाजवादीले चार सीट जितेका छन् । उनीहरू सबैको सीट जोड्दा ३४ पुग्छ । यो प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले सात र एक सीट स्वतन्त्रले जितेका छन् ।
प्रदेशमा पनि वामगठबन्धनले सरकार बनाउन सक्छ । तर, त्यसका लागि एमालेले राप्रपालाई साथमै राखेर एक सीट स्वतन्त्र सांसदबाट लिँदा पनि पुग्छ या विकल्पमा सात सीट जितेको नागरिक उन्मुक्ति पार्टीलाई साथमा लिनुपर्ने हुन्छ । प्रदेश सभामा बहुमतका लागि २७ सिट आवश्यक पर्छ । एमालेको १०, माओवादीको ११, एकीकृत समाजवादीको चार सीट जोड्दा २५ पुग्छ । राप्रपाको एक सीट र स्वतन्त्र सांसदको एक सीट थपिए साधारण बहुमत पुग्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार