गगनहरुले संसदीय दलमा हारे : अब उनीहरु परिवर्तनका पक्षमा कसरी उभिने होलान् ?
भेषराज पोखरेल
पुस ९, २०७९ शनिबार १३:४८:३३
कांग्रेस महामन्त्री गगन थापा संसदीय दलको नेतामा पराजित भए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती त दिए तर राजनीतिक र सरकारको परिवर्तन हुनुपर्छ भन्ने नेताहरुले पनि खुट्टा कमाएकाले हार्न पुगे । उनले आफ्नै समूहबाट पनि पूरा भोट नपाएको देखिन्छ । हुन त सत्ता र शक्तिको होडमा राजनीति बेरिएका बेला देउवाको छहारी त्याग्न कांग्रेसका धेरै नेताहरुलाई पनि गाह्रो परेको देखियो ।
उनले देउवाको ६४ भोटका विरुद्ध २५ भोट ल्याए पनि पुराना स्थापित दलमा नेतृत्वप्रति चुनौती दिने उनी मात्रै भए । एमाले, माओवादी केन्द्र वा अरु कुनै दलमा शीर्ष नेतृत्वप्रति औंला ठड्याउन सक्ने कुनै पनि नेता तयार छैनन् । हारे पनि उनको चनौतीलाई विशेष मान्नुपर्छ । यो एउटा अध्याय त सकियो तर अब सरकारमा पनि नजाने मन्त्री पनि नबन्ने घोषणा गरेका गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश, उपसभापति धनराज गुरुंग तथा अध्यक्षमा परिाजित वरिष्ठ नेता शेखर कोइरालादेखि अन्य सशक्त नेताहरुको अबको भूमिका कस्तो होला ? पार्टी र सरकारलाई देउवाको उही पुरानो प्रारुपमा लैजान निरिह सहयोगी बन्लान्, मैदान खाली गरिदेलान् कि राज्यसंयन्त्र र पार्टीलाई विशेष र परिवर्तनकारी रुपमा अगाडि बढाउन निरन्तर हस्तक्षेपकारी भूमिका खेल्लान् ? आमजनताले उनीहरुप्रति कौतूहलतापूर्ण आँखाले हेरिरहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलमा निर्वाचित भए । जुनसुकै राजनीतिक रणनीतिबाट जिते पनि उनले अब गठबन्धनको नेतृत्व गर्नेछन् । सके पहिले प्रधानमन्त्री बन्नेछन्, राष्ट्रपति आफ्नो दलका व्यक्तिलाई बनाउनेछन् । आलोपालो प्रधानमन्त्री बन्ने हल्ला चलेकै छ, पहिलो खेपमा प्रधानमन्त्री बन्न नसके पनि दोस्रो खेपमा बन्ने नै छन् । उनले नेतृत्व गर्ने सरकार र नेपाली कांग्रेस कसरी अगाडि बढ्लान् ? गठबन्धन कस्तो रुपमा अघि बढ्ला ? कस्तो उद्देश्य प्राप्तिको लक्ष्य लिएर अघि बढ्ला ? त्यसको रणनीति कस्तो बन्ला ? कुन विशेषज्ञले बनाउने होला ? अर्को कुरा, सरकार कस्तो बन्ला र पहिलेको भन्दा कुन रुपमा फरक होला ? उनले गर्ने यी कार्यले राष्ट्रको भविष्य पनि निर्धारण गर्नेछ भने कांग्रसको पनि भावी दिशा निर्धारण गर्नेछ । तमाम युवा अर्थात् परिवर्तनको आकांक्षा राख्ने नेता तथा कार्यकर्ताको भविष्य निर्धारणसमेत यसैले गर्ने छ ।
यो कार्यकालपछि देउवाको पार्टी र सत्ताको शक्ति स्वतः सिद्धिनेछ । अब उनले उमेरका कारणले पनि पार्टीको नेतृत्व गर्न सक्ने छैनन् । सत्ताको शक्ति पनि उनको हातमा रहनेछैन । उनले अगाडि सारेका गृहमन्त्री बालकृष्ण खाँडले चुनाव हारे । पार्टीभित्र र बाहिर पनि गह्रुंगो व्यक्तिका रुपमा स्थापित होइनन् उनी । उपसभापति पूर्णबहादुर खड्कालाई जति अगाडि सारे पनि उनको ओज दह्रो छैन । आरजु देउवालाई शक्तिमा अगाडि ल्याउन खोजिएला तर उनको छवि जनताको नजरमा उज्यालो छैन । अहिले ठूलै पद दिइएला तर जनसम्मानबिना उनको राजनीतिक ताज बलियो हुनेछैन । पार्टीमा पनि सुजाता कोइराला जस्तै हुने निश्चित छ ।
उनका सहयोगी नेताहरु विमलेन्द्र निधि, प्रकाशशरण महत, प्रकाशमानसिंहदेखि अन्य कयौं नेताहरु मणि हराएका सर्पजस्ता भइसकेका छन् । यी नेताको जनसमर्थन, सिद्धान्तनिष्ठता, परिवर्तनकारी छवि र नेतृत्वकारी क्षमता भुत्ते भइसकेको छ । आमजनताले यी नेताको अगुवाइमा भ्रष्टाचार नियन्त्रण, दलालीकरणको समाप्ति र राज्यव्यवस्थाको सुदृढीकरण भएर जनताले सुख पाउने अवस्था आउँछ भन्ने सपनामा पनि कल्पना गरेको देखिन्न । यस्तो अवस्थामा इतिहास बोकेको कांग्रेसलाई सशक्त रुपमा अगाडि बढाउन शेखर, गगन, विश्वप्रकाश, धनराजजस्ता नेताले दह्रो रुपमा अभियान चलाउन सकेनन् भने उनीहरुको राजनीतिक मणि पनि धेरै समय टिक्नेछैन ।
अबको समय गफगाफ, कल्पना, टालटुल, तिग्डम, सम्झौतापरस्त नीतिने चल्लेवाला छैन । छिमेकी राष्ट्रका अति प्रगति र अनेक रणनीतिले पनि कि गरिदेखाऊ कि समाप्त भएर जाऊ भन्ने अवस्थामा पुर्याएको छ नेपाललाई । अब विकास योजना दलाल ठेकेदारको तजबिजमा, तिनै दलालको खटनपटनमा राजनीतिककर्मी र कर्मचारी तन्त्र रुमल्लिएर भ्रष्टाचारको लहरो मौलाउँदै जाने, अर्थतन्त्र पूरै रुपमा राज्यको हातबाट दलाल व्यापारीको हातमा जाने अवस्थामा देशले अस्तित्व जोगाइराख्न सक्दैन ।
यसलाई कांग्रेसका परिवर्तन पक्षधर तथा नैतिकवान् नेताहरुले कसरी लेलान् ? पार्टीले कुन रुप र स्तरमा बहस छेड्ने र परिवर्तनका रणनीति बनाउने ? अब तत्काल लाग्नुपर्ने बेला आएको छ । यो पक्षका नेताहरुले परिवर्तनविरोधी जालो फाल्न आराम गरेर, अल्छी गरेर सक्ने छैनन्, अहोरात्र खटे भने मात्रै सफल हुनेछन् । संसदीय दलको निर्वाचनले भने अझै पनि शंका उब्जाएको छ । गगन थापाले पाएको भोटले केही परिवर्तनकारी हौं भन्ने नेताहरुले देखाएको द्वेध चरित्रले त्यहाँ पनि भन्ने एउटा, गर्ने अर्कै हुने हो कि ? चाकरीवाज र दलालीकरण अधिकतर नेताहरुको आकर्षणको विषय बन्ने हो कि भन्ने आशंका बढाएको छ । यो पनि ठूलो चुनौतीको विषय हो ।
अहिले देउवा वा प्रचण्ड जसले सत्ता हाँके पनि पहिलेको जस्तो भ्रष्टाचारमा डुब्ने, खुलमखुला दलालीकरण तथा विदेशी शक्तिसँग जस्ता पनि सम्झौता गर्ने अवस्था भने त्यति सजिलो छैन । अब कांग्रेसमा इतर समूहबाट होस्, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु, जनमत पार्टीका नेताहरु यसका विरुद्धमा तत्काल अगाडि आउनेछ्न् । अर्को, प्रतिपक्षमा रहने अनुमान गरिएको एमाले र राप्रपा पनि आफ्नो अस्तित्वका लागि दह्रो आवाज लिएर अगाडि आउनेछन् । अब सामान्य रुपमा देउवा र उनको पक्षले त्यत्तिकै शक्ति हत्याउन र्याल काढ्ने, पुष्पकमल दाहाल प्रचण्ड र उनको दलका नेताहरु तथा माधव नेपाल र उनका दलका नेताहरुले शक्ति लिन पाइनेभयो भनेर मुख बाउन सजिलो छैन । आमजनता पनि सचेत भइसकेका छन्, उनीहरुले स्थापित हौं भन्ने कांग्रेस, एमाले तथा माओवादी केन्द्र सबैका शीर्ष नेताका वरिपरि खेल्ने प्रभावशाली मानिने नेताहरुलाई हराएर देखाइदिए ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सर्वोच्चको बोर्डमा कालो रङ्ग छ्यापी विरोध प्रदर्शन [ फोटो फिचर ]
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार