बालकोटको बार्दलीमा कांग्रेस र माओवादी, बन्ला त बामपन्थीबिहीन सरकार ?
कुसुम सेञ्चुरी
पुस १०, २०७९ आइतबार १७:२२:१६
१० पुष, काठमाडौं । मंसिर ४ को निर्वाचनपछि दोस्रो दलमा थन्किएको एमालेसँगको सहकार्यमा कांग्रेस र माओवादी दुवैले ‘एप्रोच’ (सम्पर्क) गरेका छन् । माओवादीले शनिवार राती औपचारिक सम्पर्क बढाएको हो भने कांग्रेसले पनि विभिन्न सम्पर्क सुत्रमार्फत दलको हैसियतमा सरकार बनाउने र त्यसका लागि विश्वासको मतको अपेक्षा गर्दे सम्पर्क बढाएको हो ।
आधा–आधा कार्यकाल मध्य शुरुको कार्यकाल आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेर माओवादीले कांग्रेससँग चरम बार्गेनिङ गरेपछि शनिवार दिउँसो कांग्रेसका नेता विमलेन्द्र निधिले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर गएको बालकोट निकट स्रोतको दावी छ । सत्ता गठनबन्धमा कांग्रेससँग कुरा नमिल्ने भन्दै माओवादीले पनि एमालेसँग सम्पर्क बढाइरहेको छ । ‘आइतबार कुरा नमिलेमा बालकोट जाने र एमालेसँग मिलेर सरकार बनाउने चेतावनी दिएका छन’, कांग्रेसका एक नेताले भने ‘उनीहरु बालकोट पुग्नु अघि हामी नै पुगिसकेका हुन्छौ ।’
माओवादी नेताहरुले एमालेसँग सम्पर्क बढाएको थाह पाएपछि गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई बालकोट पठाएका थिए । सत्ता गठबन्धनमा कुरा नमिलेपछि नयाँ सरकारको समीकरणबारे छलफल गर्न निधि एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न पुगेका स्रोतको दावी छ । बालकोट स्रोतका अनुसार उनीहरूबीच एमाले र कांग्रेसको सम्भावित सत्ता समीकरणबारे छलफल भएको थियो ।
धारा ७६ को उपधारा २ वा ३ अनुसार सरकार गठनबारेमा पनि छलफल भएको छ । शनिबार अपरान्ह बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री बन्ने विषयमा छलफल भएको तर को पहिला प्रधानमन्त्री बन्ने भन्ने सहमति नबनेपछि माओवादीका नेताहरुले एमालेको दोस्रो तहका नेताहरुसँग राती कुराकानी गरेका थिए । एमाले–माओवादीसहित नयाँ गठबन्धन बन्नेमा पनि माओवादीका नेताहरू त्यत्ति आश्वस्त नभएपनि उनीहरुले एमालेसँग सम्पर्क गरेका थिए ।
‘एमालेले चाहन्छ भने गठबन्धन हुन सक्छ, तर दुवै पार्टीले जित्ने गरि गठबन्धन गर्न एमाले तयार हुनुपर्यो, हामी एमालेसँग गठबन्धनको कुरा हुन थालेपछि फेरि कांग्रेसतिर फर्किंदैनौँ, एमालेसँगै अगाडि बढ्छौँ’, बैठकपछि माओवादीका एक नेताले भनेका थिए । तर एमाले नेताहरुले गठबन्धन टुटाएमा मात्रै सहकार्य हुने प्रष्ट सन्देश दिएका छन् । एमाले अध्यक्ष केपी ओलीले आइतबार ‘समयमै निर्णय गर्न नसकेकाले अब प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना सकिएको’ भन्दै माओवादीमाथि दबाब बढाएका थिए । बिहीबार प्रचण्डले एमालेबाट प्रधानमन्त्री बन्ने प्रस्ताव आएको ब्रिफिङ पार्टी पदाधिकारीलाई गरेका थिए ।
एमालेका नेताहरू प्रचण्डलाई एमालेको प्रस्तावमा प्रधानमन्त्री बन्न अफर गर्दा पनि उनले निर्णय गर्न नसकेको बताउँछन् । एमालेका नेताहरूका अनुसार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा एक ठाउँ उभिँदा प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् । राप्रपाले प्रचण्डको सरकारलाई बाहिरबाट समर्थन दिन सम्क्छ । प्रचण्डलाई प्रधानमन्त्रीको अफर गर्दा एमालेले राष्ट्रपति र सभामुख पद आफुले राख्न चाहेको छ ।
कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री छाड्न नमानेपछि एमालेसँग वैकल्पिक गठबन्धनबारे छलफल अघि बढाए पनि प्रचण्ड एमालेसँग पनि त्यति आश्वस्त हुन सकेको देखिँदैन । ‘यदि माओवादी गठबन्धनबाट निस्किएपछि एमालेले कांग्रेसलाई सरकार बनाउन सहयोग गर्यो भने चाहिँ हामी विपक्षमा बस्छौँ’, माओवादीका अध्यक्ष प्रचण्ड निकट ती नेताले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेभित्र संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गर्न तोकिएको समय सीमाभित्रै नयाँ प्रधानमन्त्रीको दाबी गर्नुपर्ने भएकाले कांग्रेस र माओवादी दुवैले यो विषयमा आफ्नो दावी छाडेका छैनन । प्रधानमन्त्री बन्ने दौडमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार बिहानै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल निवास पुगेका थिए । शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका नेपाललाई भेट्न र सरकार गठनबारे छलफल गर्न प्रचण्ड नेपाल निवास पुगेका हुन् । दुई नेताबीच कोटेश्वरमा वान टु वान छलफल भएको स्रोतको भनाइ छ ।
नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा रहेका यी दुई दलका शीर्ष नेताबीच करिब आधा घन्टा छलफल भएको बुझिएको छ । नयाँ सरकार गठन र सत्ता गठबन्धनको भविष्य नै वार्ताको मुख्य विषय रहेको स्रोतको दाबी छ । नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न कसरत गरिरहेको अवस्थामा प्रचण्ड र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यी सबै दौडधुपलाई एमालेले पनि नजिकबाट नियालेका कारण माओवादीले तत्कालै गठबन्धन तोडिहाल्दैन र गठबन्धन नतोडेको अवस्थामा एमालेले सरकार बनाउने पहल थाल्नु अस्वाभाविक हुने जनाउदै आएको छ ।
निर्वाचनको म्याण्डेट अनुसार प्रतिनिधिसभामा गैरबामपन्थी दल कांग्रेसका ८९, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४, जनता समाजवादीको पार्टी (जसपा) का १२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ३ गरी १४८ सांसद छन । सरकार बनाउन १३८ सांसदको समर्थन चाहिन्छ । गैरबामपन्थी दल मिलेको अवस्थामा सरकार गठन गर्न सकिन्छ । यही अंक गणितका आधारमा कांगेस सांसद अघि बढिरहेको स्रोतको दाबी छ । कांग्रेसकै नेतृत्वमा सरकार बन्ने तर माओवादी केन्द्र र नेकपा एस बाहिर बस्ने अवस्था आए एमालेले विश्वासको मत दिने कांग्रेस नेताहरूकोे दाबी छ । माओवादीले निहुँ खोजिरहे कांग्रेसले यो अस्त्रलाई प्रयोग गर्ने संभावना पनि बढिरहेको स्रोतको दावी छ ।
एमालेले माओवादीलाई सत्ता गठबन्धन कायम राखेर वर्ताको टेबुल बस्न नसक्ने प्रष्ट रुपमा बताइसकेको छ । शनिवार मध्यराती भएको एमाले र माओवादीका नेताहरुको छलफलमा गठबन्धन तोडेको घोषणा गरेर आएमा सबै प्रकारका विषयमा छलफल गर्ने तर गठबन्धन तोडेर आउने पूर्व शर्त राखेपछि रातीको बैठक अघि नबढेको स्रोतको दावी छ । आइतबार सत्ता गठबन्धनको बैठक बस्नुअघि कांग्रेस नेताहरुले सरकार गठनबारे आन्तरिक छलफल गरेका छन् ।
बालुवाटारमा कांग्रेस नेताहरुको छलफल चलिरहेकै बेला सभापति शेरबहादुर देउवाको सन्देश बोकेर आइतबार बिहान १० बजे कांग्रेस नेता बिमलेन्द्र निधि खुमलटार फगेर माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । निधिले कांग्रेसमा भइरहेको छलफलबारे दाहाललाई जानकारी गराएको बताइएको छ । आज दावी पेस गर्ने अन्तिम दिन भएकाले सरकार गठनका सबै विकल्पमा नेताहरु दौडधुप गरिरहेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार