भजनमण्डलीका कारण कांग्रेसको गुम्यो सर्वश्व, देउवाको राजनीतिमा पूर्णविराम !
केदार भट्टराई (काका)
पुस ११, २०७९ सोमबार २१:५३:१०
११ पुष, काठमाडौं । उमेर र राजनीतिको उत्तरार्धमा आईपुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुखद राजनीतिक अवतरणबाट विमूख भएका छन् । आम जनमतमा कम्युनिष्ट बाहुल्यताबाट घिरिएको कांग्रेसलाई सत्ता निकट पुर्याएर आगामी दिनमा काग्रेसको नेतृत्व युवापुस्तामा हस्तान्तरण गरी सम्मानजनक बर्हिगमनको सम्मूख आइसकेका देउवाले आफ्नै भजनमण्डलीको विश्वास र नितान्त व्यक्तिगत हठले आफुलाई मात्र नभएर सिंगो कांग्रेसलाई संकटमा पारेका छन् ।
नेतृत्वमा उनी रहेकाले दोषको जिम्मेवारी पनि उनैले लिनुपर्छ भन्ने माग यतिबेला पार्टीभित्र चर्को रुपमा उठेको छ । निष्ठाको राजनीति गरेका भए नैतिकताका आधारमा देउवाको यतिबेलासम्ममा पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा आईसक्ने थियो । तर, अब उनले चाहेर पनि निष्ठा र इमानको राजनीतिमा फर्कने सम्भावना छैन् । देउवाले सधै पार्टीको इतर समूहप्रति सहअस्तित्वको भावना राखेका थिएनन् । यो पटक झन् आफ्नो नेतृत्वमा निर्वाचन भएको र निर्वाचनमा कम्युनिष्टहरुलाई साथ लिएर भएपनि कम्युनिष्ट बाहुल्यतामा कांग्रेसलाई पहिलो पार्टी बनाएको घमण्ड थियो ।
यसकारण उनले कांग्रेसमा आफुबाहेकका अरुलाई देख्ने अवस्था रहेन र हेर्ने प्रयास पनि गरेनन् । कांग्रेसमा थिए त उनको भजनमण्डलीमा रहेका दुईचार आसेपासे । यी बाहेक कसैको सल्लाह र सुझाव देउवाका लागि आवश्यक भएन । संसदीय दलमा भारीमतका साथ जितेपछि उनमा झन् घमण्ड पलाएको देखियो । निर्वाचनपछि नयाँ सरकार गठनका विषयमा सत्ता गठबन्धनसँग छलफल गर्दा पन्ती आरजु राणा देउवा प्रमुख सल्लाहकार बनेर आइन् । जुन उनले मेरा लागि यो ठूलो दुर्भाग्य हुन्छ भन्ने कुरा बुझेनन् । आफु प्रधानमन्त्री बन्न पाए पुग्यो, हठ बोकेका उनलाई भजनमण्डलीबाट मलजल भइरहेकै थियो ।
सरकार बनाउन र त्यो सरकारको नेतृत्व आफुले गर्ने सन्देशसहित त्यही भजनमण्डलीमा भएका केही नेताहरुलाई सहमति जुटाउन वार्ताका लागि खटाए । खटिएका पात्रले पनि देउवा नेतृत्वमा बाहेक सरकारको कुरै गरेनन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरी गठबन्धनले आफु प्रधानमन्त्री बनाउँदा गरेका सहमति पनि देउवाले विर्सिए । माओवादीका अध्यक्ष प्रचण्डलाई पहिलो चरणको प्रधानमन्त्री बनाउने सहमति कार्यन्वयन गर्नेमा उनी कति तयार थिए । यो कुरा उनले कहिल्यै पनि खोलेनन् । समाचारमा देउवा तयार भएपनि भजनमण्डलीले प्रचण्डसम्म यो खबर पुग्नै नदिएको भन्ने देखियो ।
अहिले झट्टहेर्दा सत्ता गठबन्धनमा सहमति भएन र कांग्रेस प्रतिपक्षमा बस्नुपर्यो भन्ने देखिन्छ । भजनमण्डलीका आज्ञाकारीहरु अझैपनि पाँच बर्षपछि पालो आइहाल्छ भनिरहेका छन् । तर, यथार्थमा हेर्ने हो भने देउवाकै कारण कांग्रेसले सर्वश्व गुमाएको छ । देउवा आफै पनि राजनीतिक जीवनको उत्तरार्धमा पुगेर अपहेलित र अपमानजन बर्हिगनमाको अवस्थातिर ढल्किएका छन् । ज्योतिषका भरमा अब प्रधानमन्त्रीको सम्भावना देखिएको छैन् । जीवनभर देउवा कहिल्यै पनि निर्वाचित प्रधानमन्त्री बन्न सकेनन् । उनी पाँचौ पटक कैचे चलखेलबाट मात्रै प्रधानमन्त्री बनेका हुन् ।
राजनीतिक जीवनमा कहिल्यै पनि उनले विवादरहित राजनीति गरेन्, न कहिल्यै सक्षम प्रधानमन्त्री बन्ने कोसिस गरे । उनले नेतृत्व दिएका बेला देश, राजनीति र पार्टी कसैको पनि भलो भएको थिएन । अहिले पनि कांग्रेसलाई भलो भएन । अहिलेसम्मका नराम्रा कामको सफाई पाउने अवस्था थियो अहिले । प्रचण्डलाई प्रधानमन्त्री दिएर सरकार बनाउँदा देश र कांग्रेस सँगसँगै अगाडी जाने थिए । १५ औं महाधिवेशनमा यही क्रमले पार्टी नेतृत्व आफुपछिका पुस्तालाई सुम्पदा उनको राजनीतक इतिहासमा राम्रै स्थान मिल्ने अवस्था थियो । तर, छैटौं प्रधानमन्त्रीको लोभले सबै गुमेको छ ।
पार्टी त लामो समयकै लागि पछि पर्यो । बारम्बारको टुट र फुटको परिणाम भोगिसकेका कम्युनिष्टहरु विगत जस्तो अवस्थामा नगए कांग्रेस पार्टीको भविश्य के हुन्छ ? संगठनका ९ लाख क्रियाशील कार्यकर्ता र लाखौं शुभचिन्तकको अवस्था के होला ? । अब कम्युनिष्ट पार्टीहरु एक हुन्छन् । उनीहरुबीच एउटै चुनाव चिन्हमा सहमति हुन्छ । नेपालको जनमतको मतीय आधार हेर्ने हो भने कम्युनिष्ट विभाजन विना कांग्रेसलाई सत्तासँग साइनो गास्न मुस्किल हैन, असम्भव नै छ । अर्को नेतृत्वका कारण कांग्रेसप्रति यो पुस्तामा जागेको वितृष्णा कसरी मेटाउने कांग्रेसले ? ।
अहिलेका सभापतिलाई अब कांग्रेसको भविश्यप्रति आस पनि छैन् । उनले न अब चुनाव लडेर प्रधानमन्त्री बन्न सपना देखेका छन् न पार्टी नेतृत्वमा फेरी आउने ? यसैले अन्तिम समयमा आएर सभापति देउवाले जुन गल्ती गरे यो गल्ती सच्याउन उनले चाहे पनि अब समय छैन् । उनको पत्नी आरजुलाई पार्टी र राजनीतिमा स्थापित गराउने सपना पनि यही गल्तीबाट तुहिने अवस्थामा पुगेको छ । भजनमण्डलीका अरुको राजनीतिले अब खासै प्रभाव पार्ने ठाँउ पनि छैन् ।
देउवाले नै अहिले प्रतिनिधिसभाको ठूलो दल कांग्रेस बनाएका हुन् । तर, उनकै कारण राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मका सबै शक्तिशाली भूमिकाबाट कांग्रेस विमुख हुने भएको छ यतिबेला । यो अवस्थामा कांग्रेसलाई ल्याइ पुर्याउन यही नेतृत्व, यही सोच र यही नीति तथा कार्यक्रमबाट सम्भव देखिदैन् । कांग्रेसलाई यो अवस्थामा पुर्याउनुको जस अपजस लिने भनेको पनि देउवाले मात्रै हो । किनभने उनले यो निर्णय प्रक्रियामा केन्द्रीय सदस्यदेखि पदाधिकारी समेतलाई सामेल गराएका छैनन् । यति भन्दै गर्दा सभापति देउवाबाट कांग्रेसमा भएको क्षति देउवाबाटै फर्काउ सक्ने अवस्था अब छैन् ।
सभापति देउवाले प्रधानमन्त्री पद नछाड्ने अन्तिम घडीसम्म हठ गर्दा कांग्रेस संघदेखि प्रदेशका सबै नेतृत्वदायी भूमिकाबाट विमुख भएको कुरा अब नयाँ रहेन । देउवालाई यो अवस्थामा पुर्याउने भूमिकामा सक्रिय देखिएकी आरजुको भूमिका अब कांग्रेसमा कति रहला ? त्यो इतिहासले बताउँला । २०७४ मा प्रत्यक्षतर्फ २३ सीट जितेको कांग्रेसलाई ५७ सीटमा पुर्याएको जस लिँदै आएका देउवालाई सत्ता महत्वकांक्षाभित्र बाँधेर पार्टीभित्रै रक्षात्मक अवस्थामा पुर्याएउने नेतृ आरजुको हिसाब कांग्रेसले गर्ला र गर्नु पनि पर्छ ।
देउवालाई यो हदमा पुर्याउनमा राज्यसत्ता सञ्चालनमा हावी हुन खोज्ने पत्नी आरजुको मुख्य भूमिका जस्तै अरुको पनि छ । कांग्रेस नेता रामचन्द्र पौडेलको रोल सभापति देउवाका अगाडी शक्तिहीन देखियो । देउवा र दाहालबीच प्रधानमन्त्रीका विषयमा सहमति बन्दा पौडेल राष्ट्रपतिका उम्मेदवार बन्न सक्थे । तर, देउवाका वरिपरि बस्ने अराजनीतिक गिरोहले राज्यशक्ति र साधनस्रोत दोहन गर्न गठबन्धनको मर्मविपरीत प्रधानमन्त्रीको महत्वाकांक्षा बढाउने काम गर्दा त्यसलाई उनले रोक्न सकेनन् ।
देउवा पक्षका उपसभपति पूर्णबहादुर खड्काले पनि अन्तिममा आएर उनलाई साथ नदिएको भन्ने बुझियो । उनी प्रचण्डलाई प्रधानमन्त्री दिएर भएपनि सहमति गर्नुपर्ने पक्षामा थिए । तर, उनको पनि देउवापत्नी आरजु र पार्टी प्रवक्ता प्रकाश शरण महतका अगाडी केही चलेन ।खड्काले प्रवक्ता महतलाई बालुवाटार बैठकमै बजाउन खोजको विषय पनि बाहिरिएको छ । उनले दाहाल बालुवाटारबाट निस्कँदासम्म रोक्न खोजेका थिए ।
भजनमण्डलीका सदस्यहरुले भने दाहाल हिड्न लाग्दा पनि देउवालाई गठबन्धन छोडे पनि संविधानको धारा ७६ (२) अन्तर्गत एमालेको सहयोगमा मिलीजुली सरकार बन्न नसक्ने तर्क गरिरहेका थिए । विकल्पमा संविधानको धारा ७६ (३) अन्तर्गत ठूलो दलको हैसियतमा देउवा नै अल्पमतको प्रधानमन्त्री हुनेमा ढुक्क बनाउँदै थिए प्रवक्ता महत । यसै विषयमा खड्का र महतबीच हानाहानको स्थिति आएको देख्नेहरु बताउँछन् । निधि पनि महतकै पक्षमा उभिएको बताइन्छ । गठबन्धन भत्किनुमा दाहालको भन्दा पनि कांग्रेस नेतृत्वकै कदम आत्मघाती रहेको वरिष्ठ नेता पौडेलको भनाइ आइसकेको छ । देउवा एक इन्च पनि पछि नसर्दा समझदारी बन्न सकेन भने उनलाई सम्झाउने पनि कोही भएनन् ।
देउवाको भजनमण्डलीले बालुवाटार बैठकमा हुने छलफलमा संस्थापनइतर नेताहरू मात्रै होइन, आफ्नै समूहका नेतासँग पनि देउवाले पर्याप्त राजनीतिक छलफल गर्न मौका दिएन । बालुवाटारका गठबन्धन बैठकमा नेता पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सधैंजसो सहभागी रहे । नेता विमलेन्द्र निधिलाई त वार्तामै पठाइएको थियो । देउवा आफ्नै समूहका अर्का मुख्य नेता बालकृष्ण खाँणलाई पनि बैठकमा उपस्थिति दिएनन् । निर्वाचन हारेपछि खाँण र बालुवाटारको सम्बन्ध सुमधुर थिएन । देउवाले आफ्नो विश्वासिलो पात्रमा उपसभापति खड्का र कार्कीलाई नै अघि सार्दै आएका थिए । तर, अन्त्यमा खड्कासँग पनि सम्बन्ध राम्रो भएन् ।
बालुवाटारमा सरकार बनाउने प्रधानमन्त्री हुने विषयमा भइरहेका छलफलमा संस्थापन इतरसमुहका नेता डा. शेखर कोइराला, पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग देउवाले परामर्श लिएनन् । उनलाई उनको भजनमण्डलीले भाडिन सक्ने भन्दै रोक्न लगाएका थिए । देउवाका पक्षमा हुँटिङ गर्न आरजुले बोलाएको सांसद भेलामा पनि देउवाका लागि नकारात्मक बन्नपुग्यो ।
कांग्रेसभित्र यी कुरा अब अतित भइसकेका छन् । कांग्रेसमा अब के हन्छ भन्ने कुरा अहिलेका लागि महत्वपूर्ण हो । अहिलेलाई प्रतिपक्षमा बस्ने र सरकारमा गएकाहरुको निरर्थक आलोचना गर्नुबाहेक तत्काल कांग्रेसका हातमा केही पनि छैन् । पार्टी पंक्तिमा ठूलै खैलाबैला भइसकेको छ । नेतृत्वप्रति कांग्रेसकाे ठूलो हिस्सा असन्तुष्ट छ । कार्यकर्ता निरास भएर विकल्पको खोजीमा लाग्न थालेको छन् । उनीहरुलाई साम्य पारेर पार्टीको संगठन विस्तार गर्न यो नेतृत्वबाट सम्भव छैन् ।
पार्टीको १४ औं महाधिवेशन सकिएको एकवर्ष भइसक्यो । नीति महाधिवेशन भएको छैन् । अहिलेका सभापति देउवालाई जे हुने भइगो भनेर नेतृत्वमा सबैले स्वीकार्ने अवस्था देखिएन । संस्थापन पक्षबाट विधान अनुसार विशेष महाधिवेशनको माग भइसकेको छ । भजनमण्डलीभित्र रहेका भन्दा बाहेक संस्थापन पक्षका नेताहरु पनि ठूलाे संख्यामा असन्तुष्ट छन् । यो समयमा कांग्रेसका कार्यकर्ताहरु भड्किन नदिने इतरसमूहको नेतृत्व अग्रसर हुन आवश्यक छ ।
यो समूहको नेतृत्व गरिरहेका डा. कोइराला १४ औँ महाधिवेशनका सभापतिका प्रत्यासी हुन भने आगामी पार्टी सभापतिका दावेदार पनि ।उनकै नेतृत्वमा संस्थापन पक्षका नेताहरुलाई समेत समेटेर विधानअनुसार विशेष महाधिवेशन बोलाउनु बाहेक अर्को उपाय देखिँदैन ।सभापति देउवाले गल्ती स्वीकार गरेर नैतिकता देखाउँछन भनेर आस गर्नु भनेको साँढेका पछि स्याल कुर्नू जस्तै हो । भलै सभापति देउवामा सुधार आएपनि त्यसले न पार्टीको खस्किएको साँखमा सुधार गर्नसक्छ न देउवा कै राजनीतिमा ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार