राजनीतिमा सिद्धान्तः रवि लामिछानेहरुले राजनीतिलाई कस्तो बाटो देखाउने होलान् ?
भेषराज पोखरेल
पुस १९, २०७९ मंगलबार १२:५४:२२
प्रजातन्त्र तथा समाजवादको सिद्धान्त बनाएर वीपी कोइरालाले सुरु गरेको नेपाली कांग्रेस र जनवाद हुँदै समाजवाद, साम्यवाद भन्दै अगाडि आएका कम्युनिष्ट दलहरुले देशलाई सुशासन दिएनन्, विकास दिएनन्, अब विकल्पका रुपमा खडा हुनुपर्छ भन्दै गठन भएर चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टीको बाटो कस्तो होला ? सामान्यजनले त भ्रष्टाचार हटाउने, भ्रष्टाचारीलाई कारबाही गर्ने, कांग्रेस, एमाले, माओवादीका उमेर पुगेर पनि विकासविहीन राजनीतिलाई ओगटेर बसेका नेताहरुलाई हराउनुपर्छ भन्ने रास्वापाका अध्यक्ष रवि लामिछाने र सो दलका अन्य उम्मेदवारको आह्वानलाई पत्याएर आफ्नो मत दिए ।
दल गठन भएको ६ महिना नबित्दै उल्लेख्य सांसदसहित चौथो दलको हैसियतमा संसद छिर्दा राजनीतिक विश्लेषक तथा बौद्धिक जगतको मनमथिंगल हल्लियो । कुनै नयाँ वा पुरानो सिद्धान्तबिना अगाडि आएको दलले अबको राजनीतिलाई कस्तो बाटो हिँडाउन प्रयास गर्ने होला ? अझ व्यवहारमा खुला बजारमा आधारित दलाल पुँजीवादी व्यवस्था चलिरहेको छ, सविधानमा समाजवाद उन्मुख अर्थव्यवस्था उल्लेख छ, रवि लामिछानेले खुलाबजार अर्थनीतिलाई अगाडि बढाउने घोषणा गरिसकेका छन् । उनले चलाउन चाहेको कस्तो अर्थव्यवस्था होला ? शासन सत्ताका विषयमा पनि विरोधाभास देखिन्छ । वास्तबिक स्वरुप कस्तो होला ?
रवि लामिछानेको दलले प्रदेशमा उम्मेदवार उठाएन । स्थानीय निर्वाचनको समयमा उनको दल नै गठन नभएकाले स्थानीय तहमा सो दलको उपस्थिति छैन । लामिछानेले प्रदेशमा उम्मेदवार नउठाउनुको कारण उम्मेदवार नपाएर वा अरु कारण होइन, उनले अहिलेको संघीयताको प्रारुप हुनु हुँदैन भन्ने मान्यता राख्छन् । उनले संविधानमा व्यवस्था गरिएका संघ, प्रदेश र स्थानीय तहमध्ये प्रदेशको काम छैन । संघीय सरकार र स्थानीय सरकार भए पर्याप्त हुन्छ, प्रदेश ज्यादै खर्चिलो भयो, यसको काम प्रभावकारी देखिएन तसर्थ यसलाई खारेज गर्नुपर्छ भनेका छन् । यसैको कार्यान्वयनको संकेत स्वरुप प्रदेशमा उम्मेदवार नै उठाएनन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा प्रदेश खारेज गर्नुपर्छ भन्ने आवाज आइरहेकाले उनले त्यसैलाई केन्द्रमा राखेर अगाडि बढ्न चाहेको देखिन्छ । पछिल्लो समय प्रदेश सरकारहरु महँगा गाडी किन्ने, मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसदहरुको भारी मात्रामा तलवभत्ता बढाइरहँदा प्रदेश अति महँगो भएको जनसिश्वास बन्न गएको छ । अर्को, ठूलो संख्यामा स्थानीय तहका सम्बन्धमा भ्रष्टाचार तथा अनियमितताका मुद्दा परे पनि स्थानीय तह प्रत्यक्ष जनतासँग जोडिएर अगाडि बढाएको देखिनु र प्रदेशको कार्यप्रगति नदेखिनाले यसको खारेज नै गर्नुपर्छ भन्ने आवाज आएको देखिन्छ । रवि लामिछानेले यसैलाई अनुशरण गर्न खोजे पनि यो सामान्य विषय होइन । तीन तहको संरचना संविधानमा उल्लेख भएको विषय हो । यसका विरुद्धमा लाग्नु भनेको संविधानको विरुद्ध हुनजान्छ । अर्को, प्रदेशको अवधारणा अधिकतम स्रोत साधान र शासनसत्ताको विकेन्द्रीकरणको अवधारणाबाट आएको हो ।
प्रजातन्त्र वा लोकतन्त्रमा कनै पनि व्यक्ति वा दलले नयाँ अवधारणा अनुसार अगाडि आउन स्वतन्त्र हुन्छ तर सरकारमा बसेर संविधानको विरुद्धमा जान भने सक्दैन । उनको दलले आमजनताबीच व्यापक छलफल, बहस गरेर आफ्नो दलको धारणा प्रचारप्रसारका साथ अनुमोदन गराउन सक्छ तर सरकारमा गएका मन्त्रीले कुनै भूमिका खेल्न पाउँदैन । मन्त्रीले सामान्य रुपमा प्रदेशलाई बेवास्ता गरेर कुनै पनि निर्णय गर्यो भने पूरै शासन संयन्त्रमा अराजकता आउन सक्छ । रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन्, उनले सुरक्षा क्षेत्रमा प्रदेशलाई बेवास्ता गरेर कुनै पनि नीति बनाउन र लागू गर्न सक्ने छैनन् । उनको दलबाट अरु बन्ने मन्त्रीले पनि आफ्ना मन्त्रालयका काम प्रदेशलाई बेवास्ता गरेर अगाडि बढाउन सक्ने कुरा भएन । उनको दलको ठूलो योजना त्यत्तिकै स्थगित गरेर बसिरहने कि लागू गर्ने दिशामा पहल गर्ने ? त्यस्तै लामिछानेले पासपोर्ट र नागरिकतासम्कन्धी विवाद छानविन गरिरहेको मन्त्रालय नै छानेका छन् । उनले अमेरिकी नागरिकता छाडे, नेपाली नागरिक नै हुन् तर प्रक्रिया त नियमसंगत पुर्याउनुपर्छ नि । यी सबै विषयमा नैतिक प्रश्न उठ्नेछ ।
रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य उमेर भएका र सत्ता वरिपरि रहँदै आएका नेताहरुलाई पुनः आउन दिनु हुँदैन अर्थात् नो नट अगेन भनेर चुनाव प्रचार गरेका थिए । अहिले उनै प्रचण्ड र ओलीसँग सहकार्य गर्न पुगेका छन् । हुन त राजनीति सम्भावनाको खेल हो, परिस्थितिले के सिर्जना गर्छ त्यसै अनुसार चल्नुपर्छ भन्ने गरिन्छ । सरकारमा नजाने हो भने शक्तिबाट बाहिर भइने, शक्ति नभएको दलले केही गर्न सक्दैन भन्ने सोचले पनि हुनसक्छ सरकारमा जाने निर्णय गरेको । लामिछानेले निर्वाचनका बेला देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, मसँग कयौं भ्रष्टाचारीको सप्रमाण लिष्ट छ, भ्रष्टाचारीलाई जेलमा कोच्ने हो भनेका थिए । अहिले गृहमन्त्री सम्हाल्दा जनचासोसँग प्रत्यक्ष संलग्न हुने मन्त्रालय भएकाले यो मन्त्रालय लिएको बताएका थिए । भ्रष्टाचारको अनुसन्धान गर्ने र कारबाही अगाडि बढाउने मुख्य जिम्मेवारी भएको गृहमन्त्रालय उनको हातमा छ, अब त्यो वचनबद्धता पूरा गर्लान् कि गठबन्धन सरकार भएकाले भने जति काम गर्न सकिएन भनेर लाचारी प्रकट गर्ने होलान् ?
पछिल्लो समय केही गरेर देखाउँछौं भनेर कडा भाषण गर्नेहरु सत्ता र शक्तिमा पुगेर पनि उपयुक्त नीति निर्माण गर्ने र कडाइका साथ लागू गर्नुको सट्टा आफैं कार्यक्षेत्रमा गएर काम गरेको देखाउने प्रचलन बढेर गएको छ । रविले पनि चुनाव जितेपछि आफ्नो चुनाव क्षेत्रमा गएर सरसफाइमा खटेको देखिएको थियो । देशको अति संवेदनशीन र जिम्मेवार मन्त्रालय सम्हालेका लामिछानेले अहिले पनि त्यस्तै सस्तो लोकप्रियता बटुल्ने लोभमा लागे भने उनी नीतिगत रुपमा गिर्नेछन् भने गृहमन्त्रालय पनि अराजक बन्नेछ । उनको बाटो उपयुक्त नीति निर्माण र कडा कार्यान्वयन गरेर गृहप्रशासनलाई नमूनाका रुपमा अगाडि ल्याउनतिर हुने होला कि सस्तो लोकप्रियता कमाउनतिर ? हेर्न बाँकी नै छ, केही समय कुर्नैपर्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार