विश्व सैन्य रणनीतिमा प्रवेश गर्न नेपालमाथि चीनको दवाव, राष्ट्रपतिको सहभागिता शंकास्पद
केदार भट्टराई (काका)
पुस १९, २०७९ मंगलबार १७:१४:४९
१९ पुष, काठमाडौं । अमेरिकी सैन्य रणनीतिलाई काउण्टर दिन तयार पारिएको विश्व सैन्य रणनीति अन्तर्गतको सुरक्षा कार्यक्रम ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा सहभागी हुन चीनले नेपाल सरकारलाई दवाव दिएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै चीनले विश्व सैन्य सुरक्षा कामर्यक्रममा सहभागी हुन दवाव दिएको हो ।
जीएसआईमा सहभागिताबारे चीन सरकारले राखेको भर्चुअल बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सम्बोधन गरिसकेकी छन् । गत असोज पहिलो साता सरकारको इच्छा विपरित भएको उनको सम्बोधनलाई लिएर विभिन्न टिक्का टिप्पणीसमेत भएका थिए । अमेरिकी परियोजना एमसीसी पारित नगर्न दवाव दिएको चीनले नेपाल सरकारले यसलाई पारित गरेपछि उसको सैन्य रणनीतिमा सहभागी हुन दवाव बढाएको हो । चीनले यो रणनीतिलाई संयुक्त रूपमा अघि बढाउन नेपालको सहयोग अनिवार्य हुने बताएको छ ।
असोज पहिलो साता उक्त बैठकमा सहभागी हुनको लागि नेपालस्थित् चिनियाँ दूतावासको तर्फबाट परराष्ट मन्त्रालयलाई आग्रह गरिएको थियो । तर, परराष्ट मन्त्रालयले उक्त बैठकमा सहभागी नहुने जवाफ दिएको थियो । परराष्ट्रले सहभागी नहुने भन्दा भन्दै बैठकमा राष्टपति भण्डारीले भर्चुअल सहभागिता जनाएकी थिइन । उनको यो सहभागिता अहिले आएर शंकास्पद देखिएको छ । पछिल्लो समय चीनले नयाँ सुरक्षा अवधारणालाई अघि सार्दै जीएसआईको घोषणा गरेको थियो ।
गत अप्रिल २१ मा चिनियाँ राष्ट्रपति सी जिनफिनले घोषणा गरेको उक्त कार्यक्रममा सहभागी हुन र सदस्य राष्ट्र बन्न चिनियाँ कम्युनिस्ट पार्टीले बारम्बार आग्रह गर्दै आएको भए पनि नेपालले अस्वीकार गर्दै आएको थियो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेकोले उक्त बैठकमा सहभागी हुन नसक्ने बताएपनि राष्ट्रपतिले भने अटेर गर्दै बैठकलाई सम्बोधन गरेकी थिइन् ।
चिनियाँ कम्युनिस्ट पार्टीले विश्व सैन्य रणनीतिबारे आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएपछि राष्टपतिको यो कदमको चौतर्फी निन्दासमेत भएको थियो । चिनियाँ सरकारले अगाडि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे नेपाल सरकारको धारणा सार्वजनिक गर्न सांसदहरुले पनि माग गरेका थिए । नेपाल सरकारका परराष्ट्रमन्त्रीबाट भएको चीन भ्रमणका क्रममा ग्लोबल सेक्युरिटी इनिसिएटीभको बिषयमा कुरा उठाइएको चिनियाँ पक्षबाट जानकारी आएपछि संसदमा विषयले प्रवेश पाएको थियाे ।
चीन सरकारले जारी गरेको उक्त विषयको बिज्ञप्तिपछि लगत्तै चिनियाँ राजदूतको एक अंग्रेजी दैनिकमा लेखसमेत आएको थियो । त्यसको केही दिन अगाडि राष्ट्रियसभाका अध्यक्ष र चीन सरकारका उच्च राजनीतिक सल्लाहकारबीच भएको भिडियो कन्फरेन्समा नेपालले ग्लोबल सेक्युरिटी ईनिसिएटिभमामा सहयोग गरे वापत चीनले धन्यवाद ज्ञापनसमेत गरेको थियो । यसैलाई आधार मानेर राष्ट्रपति भण्डारीले सीपीसीद्वारा आयोजित जीएसआई सम्मेलनलाई असोज ५ मा सम्बोधन गरेकी थिइन । यो सम्बोधनप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाउँदै कुनै पनि सुरक्षा छातामा संलग्न नहुने नेपालको परराष्ट्र नीतिविपरीत राष्ट्रपतिले उक्त सम्मेलनलाई सम्बोधन गरेको बताएको थियो ।
राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिविपरीत जीएसआई सम्मेलनलाई सम्बोधन गर्नुलाई कूटनीतिक मामिलाका कतिपय जानकारले अपरिपक्व निर्णय भनेका थिए । यसले नेपालले अवलम्बन गर्दै आइरहेको असंलग्न परराष्ट्र नीतिको उल्लंघन भएको उनीहरूको ठहर छ । राष्ट्रपति भण्डारीले सम्बोधन गरेर पठाएको रेकर्डेड भिडियो जीएसआई सम्मेलनमा प्रसारण गरिएको थियो । सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारीलाई प्रस्ताव आएपछि सरकारले उक्त कार्यक्रम चिनियाँ सुरक्षा छातासँग जोडिएकाले नेपालको परराष्ट्र नीति प्रतिकूल हुने भन्दै नजान सुझाव दिएको थियो । तर राष्ट्रपति भण्डारीले भने सरकारी अधिकारीहरूको आग्रहको बेवास्ता गर्दै जीएसआई सम्मेलनलाई रेकर्डेड भिडियोमार्फत सम्बोधन गरेकी थिइन् ।
यस विषयमा चिनियाँ विदेश मन्त्रालय एसिया मामिला विभागका महानिर्देशक लिउ जिनसङले चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठसँग गत बिहीबार बेइजिङमा भेटवार्ताका लागि बोलाएर जीएसआईलाई कार्यान्वयनका लागि सहयोग गर्न दवाव दिएका थिए । उक्त भेटबारे बेइजिङस्थित नेपाली दूतावासले औपचारिक जानकारी नगराए पनि भोलीपल्टै चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जीएसआईसँगै ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) को कार्यान्वयन गर्न नेपाललाई आग्रह गरिएको र नेपालको सकारात्मक जवाफ आएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघले सन् १९८१ देखि मनाउँदै आएको अन्तर्राष्ट्रिय ‘पीस डे’ को सन्दर्भमा बेइजिङमा ‘विश्वमा शान्ति र स्थायित्व राखिराख्नका लागि ग्लोबल सेक्युरिटी इनिसिएभिटमार्फत् पहल गर्ने’ नाराका साथ कार्यक्रम भएको थियो । चीनले अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति (आईपीएस) र क्वाड (अमेरिका, जापान, अस्ट्रेलिया र भारत) समूहको औचित्यमाथि प्रश्न उठाउँदै चीनको नेतृत्वमा जीएसआईलाई अघि बढाएको हो । यसमा नेपालको सहभागिता खोजिएको छ ।
असंलग्न परराष्ट्र नीतिलाई यसअघि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले आईपीएसमा सहभागिता नजनाउने निर्णय गरेको थियो । त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गत असार ६ मा आईपीएसअन्तर्गत रहेको अमेरिकी कार्यक्रम स्ट्रेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा पनि सहभागिता नजनाउने निर्णय गरेको हो । तर, हाल नेपालले चीनले अघि बढाएको सुरक्षासम्बन्धी कार्यक्रममा कार्यान्वयनमा लैजानका लागि चिनियाँलाई आश्वासन दिएको बताइन्छ । तत्कालिन प्रधानमन्त्री ओली अहिलेको सरकारका हर्ताकर्ता छन् ।
चीन मामिलासम्बन्धीका जानकारहरु नेपालले चीनको चासोलाई पूरा गर्दै आइरहेकामा यो नयाँ जीएसआई पनि पुरा गर्नसक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन् । जीएसआई एसिया प्रशान्त क्षेत्रलाई लक्षित गरेर ल्याएको उनीहरुको बुझाइ छ । नेपालले अहिलेको भूराजनीतिक अवस्थामा चीन, भारत, अमेरिकासहित अन्य कुनै पनि मुलुकसँग धेरै ध्यान पुर्याएर मात्र कार्यक्रमहरूमा सहभागी हुने र हस्ताक्षर गर्नुपर्ने सुझाव विज्ञको छ । चीनले पटक–पटक जीएसआईमा नेपालको साथ रहेको उल्लेख गर्दै आएको छ । यो त्रार्यक्रको भर्चुअल बैठकमा करिब ५० मुलुकका विदेशी कूटनीतिज्ञले सहभागिता जनाएको चीनको दावी छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार