अनुकुल मिले पौडेल रोकेर राष्ट्रपतिमा आफै जाने रणनीतिमा देउवा
![केदार भट्टराई (काका)](
https://nepalbahas.prixacdn.net/media/albums/Kedar_Bhattarai_0uOymgetS5.jpg
)
केदार भट्टराई (काका)
पुस २७, २०७९ बुधबार १९:४१:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/paudel_ptIdAvmERr.jpg)
२७ पुष, काठमाडौं । नेपालको राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसले खेलेको भूमिकालाई लिएर मंगलबारदेखि नयाँ बहस सुरु भएको छ । संसदीय व्यवस्थाको हिमायति कांग्रेसले संसदीय आचरण र मान्यता विपरित गएर प्रजातन्त्रको परिभाषामा नयाँ कोर्स थपेको चर्चा एकथरिले गरेका छन् । केहीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन दिएर नेपाली कांग्रेसले प्रतिनिधिसभालाई प्रतिपक्षबिहीन बनाएर संसदीय मान्यताको अवमुल्यन गरेको आरोप पनि लगाएका छन् ।
तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै बनेको सत्ता गठबन्धनबाट प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत मंसिरको आम निर्वाचन सम्पन्न गराएर सरकार बनाउने समयमा गठबन्धन जोगाउन असफल भएपछि सबै कुरा गुमाउन पुगेका थिए । प्रधानमन्त्री पदलाई लिएर देउवाले हड नछाडेका कारण माओवादीका अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर एमालेको शरणमा गएका थिए । एमालेका अध्यक्ष ओलीकै पहलमा बनेको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई उनै देउवाले मंगलबार विश्वासको मत दिएका छन् ।
नेपाली कांग्रेसमा आन्तरिक सहमति नभई बहुमतबाट निर्णय गराएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दा कांग्रेसभित्र मात्र हैन राष्ट्रिय राजनीति नै यतिबेला सशंकित देखिएको छ । संसदलाई चाहिने प्रतिपक्षको भूमिका र विपक्षी दलका नेताको मान्यतालाई लत्याएर देउवाले दाहाललाई समर्थन गर्नुको पछाडि के रहस्य छ ? यो विषय अहिले चर्चामा छ । संविधानको धारा २८४ मा विपक्षी दलको नेता संवैधानिक परिषदमा पदेन सदस्य रहने व्यवस्था छ । सरकारले संवैधानिक परिषद्को बैठकमा अब कांग्रेस सभापति देउवालाई बोलाउन नमिल्ने अवस्था छ । उनलाई बोलाइयो र गए पनि त्यसबाट हुने नियुक्ति विवादित बन्ने देखिएको छ ।
विपक्षी दलको नेताको हैसियतमा रहेको भए देउवाले उपसभामुख सरहको सुविधा पाउने कानुनी व्यवस्था छ । सरकारलाई समर्थन गरिसकेका देउवाले यो सुविधा लिने अवस्था पनि अब रहेन । योसँगै सरकारले विशेष राष्ट्रिय महत्वका समारोहमा विपक्षी दलका नेतालाई अनिवार्य बोलाउने चलन छ । यस्तो निम्तोमा पनि अब देउवा कानूनी विवादमा तानिने देखिएको छ । संसदमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका लागि बस्ने छुट्टै स्थान हुन्छ । देउवा अब प्रतिपक्षको कुर्सीमा बस्छन् कि सत्तापक्षको लहरमा भन्ने विषयमाथि पनि विवाद सुरु भइसकेको छ ।
एमालेसहित सात राजनीतिक दलको समर्थन रहेको अवस्थामा देउवाले समर्थन जनाउनको पछाडी राष्ट्रपतिको पद रहेको विषय अहिले योसँग जोडिएको छ । भरसक एमालेलाई समेत मनाएर कांग्रेस सभापति देउवा राजनीतिक जीवनको उत्तराद्र्धमा राष्ट्रपति पदबाट राजनीतिक अवकाश लिने मनस्थितिमा पुगेका छन् । उनी निकट नेताहरुको भनाइमा सभापति देउवा अब क्रमशः संसदीय र पार्टी राजनीतिबाट बाहिरिने सोचमा रहेका छन् । अब कुनै राजनीतिक खेल आफु अनुकुल नभए पाँचवर्ष पछि निर्वाचन लड्ने र प्रधानमन्त्री बन्ने आस देउवाले मारिसकेका छन् ।
तत्कालीन पाँचदलीय गठबन्धनलाई कायम नरहेपछि प्रधानमन्त्री बन्ने समय सकिएको भन्दै देउवाले विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा नयाँ खालको ध्रुवीकरण गराउने प्रयास गरेको प्रष्टै छ । यसले कांग्रेसभित्र भने अर्को विद्रोह हुने देखाएको छ । राष्ट्रपतिमा पुगेर राजनीति अवकाश लिने देउवाको रणनीति सफल भएपनि नभएपनि पार्टीको आगामी १५ औँ महाधिवेशनको सभापतिलाई लिएर कांग्रेसमा अर्को किचलो सुरु हुँदैछ । पाए र वातावरण मिले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला आकांक्षी छन् ।
कांग्रेसले राष्ट्रपति पाएको खण्डमा देउवाले आफुलाई नै अगाडी सार्ने विश्वास लिएका छन् । तर, सभापति देउवाको रणनीति अर्कै छ । उनी कांग्रेसले राष्ट्रपति पाउने अवस्था आएमा अरुलाई मौका दिने पक्षमा देखिएका छैनन् । सत्ता समीकरणमा कांग्रेसले राष्ट्रपति पाउने अवस्था आए आफु जाने र पार्टीको जिम्मेवारी छोड्ने विषयमा देउवाले केही नेताहरुसँग सल्लाह पनि गरेको बताइएको छ । तर, यसमा कुनै नता खुलिसकेका छैनन् । सरकारलाई समर्थन दिनुको उदेश्यबारे संस्थापन इतरसमूहको नेतृत्व गरिरेका नेता डा. शेखर कोइराला र देउवाबीचमा पनि छलफल भएको छ । तर, कोइरालाले सार्वजनिक गर्न रोकेका छन् ।
नेता शेखर कोइरालाले तत्कालीन अवस्थामा राष्ट्रपति र सभामुखको निर्वाचनमा नयाँ ध्रुवीकरण बनाउन सकिन्छ कि भन्ने सोच सभापति शेरबहादुर देउवा र उनीनिकट नेतालाई परेकाले विश्वासको मत दिने निर्णय गरिएको हुन सक्ने संकेतसम्म दिएका छन् । उनले राष्ट्रपतिकै निर्वाचनमा पनि फरक परिस्थिति निर्माण हुने विश्वास अहिले नभएपनि राष्ट्रपति आइहाल्छ कि भन्ने लागेको वा नेताहरूबीच कुराकानी र समझदारी पनि भएको हुनसक्ने बताएका छन् । देउवाको समर्थनले एमाले पनि हच्किएको छ । कांग्रेसको समर्थनले गर्दा सरकारलाई दवावमा राख्न एमालेलाई सहज नहुने भएको छ भने प्रधानमन्त्री पनि उसको दवावमा नरहने देखिएको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार