कांग्रेसले यसकारण दियो प्रचण्डलाई ओली रोक्ने क्षेप्यास्त्र
केदार भट्टराई (काका)
पुस २९, २०७९ शुक्रबार २०:३८:१५
२९ पुष, काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिनुका पछाडी केही कारणहरु लुकेका तथ्य बाहिरिएका छन् । नेताहरुका अनुसार निकट भविश्यमा हालको सत्ता गठबन्धनले गर्ने शक्ति बाँडफाँटबाट राजनीतिक र संवैधानिक संकट निम्त्याउन सक्ने सम्भावनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकेत दिएपछि त्यो दुर्घटना रोक्नका लागि कांग्रेस विश्वासको मत दिन तयार भएको थियो । तर, यो विषयमा कांग्रेसभित्र छलफल हुन बाँकी छ ।
एकाएक सत्ताविमूख बनाएर हिँडेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि यस पछाडिको राजनीतिक रहस्यका विषयमा अहिले आम अडकलबाजी भइरहेका छन । राजनीतिक रुपमा आफुलाई अब्बल खेलाडी भनेर प्रस्तुत गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत चकित छन् । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्काएपछि सत्ताको हर्ताकर्ता बन्न पुगेका ओलीको आगामी राजनीतिक उदेश्यमा ठेस पुर्याउन यो प्रकरण अर्थपूर्ण मात्र देखिएको छैन, कांग्रेस विश्वासको मत दिने अवस्थामा पुग्नुपर्ने कारणहरु पनि खुल्न थालेका छन् ।
एकाएक समीकरण बदलेर सत्ता गठबन्धनको नेतृत्व गर्न पुगेको एमाले आफै सत्ता नेतृत्वमा नभएपनि हर्ताकर्ता भने उही छ । उसकै कारण प्रधानमन्त्री नियुक्त भएको २० दिन पुगिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन् । कांग्रेसले बिनासर्त सरकारलाई विश्वासको मत दिने निर्णय गर्दा एमाले अध्यक्ष ओलीले माछा नभएको खोलामा कांग्रेसले जाल थापेको टिप्पणी गरेका थिए । किनकी उनलाई कांग्रेसले यसै सरकारलाई समर्थन गर्ने विश्वास थिएन । तर, पार्टीमा विवादका बीच सभापति शेरबहादुर देउवाले सरकारलाई समर्थन गर्ने अवस्थामा कांग्रेसलाई पुर्याए ।
यो समर्थनमा कुनै लाभको उदेश्य नभएको बताइएपनि भविश्यमा घट्नसक्ने सम्भावित राजनीतिक र संवैधानिक दुर्घटनालाई रोक्न कांग्रेसले मत दिनु परेको तथ्य नेताहरुले खोलेका छन् । विश्वासको मत दिनुपर्ने कारणबारे नेपाली कांग्रेसका एक नेताले भने, पुष २३ मा भएको धुम्बाराही छलफलमा सभापति देउवा विश्वासको मत दिने पक्षमा थिएनन् । उनी विश्वासको मतबाट प्रधानमन्त्रीलाई असफल बनाउन प्रयत्नमै थिए । पार्टी उपसभापति पूर्णबहादुर खड्काले भने विश्वासको मत दिनुपर्ने अवस्था आउनसक्ने संकेत गरेका थिए ।
उनको भनाइमा प्रधानमन्त्रीका लागि कांग्रेस छाडेर प्रचण्ड एमालेसँग गठबन्धन गर्न गएपनि ओलीले राखेका शर्त पुरा गर्न असहमति जनाएको भए सत्ता गठबन्धनबाटै पुष २६ मा प्रचण्डले विश्वासको मत पाउन सम्भावना थिएन । माओवादीमा वर्तमान सत्ता गठबन्धनबारे दुईधार छ । त्यसमध्येको एक धार कांग्रेस नेताहरुसँग निरन्तर छलफलमा थियो । एकातिर कांग्रेस सभापति शेरबहादुर देउवा समीकरण बदल्ने खेलमा लागिरहेको र अर्कोतिर ओलीले भनेका शर्त पुरा गर्ने बचन नदिए विश्वासको मत पाउन कठिन हुने देखेपछि प्रचण्डले ओलीविरुद्ध देउवालाई प्रयोगमा ल्याउने रणनीति बनाएर देउवा निवास धुम्बाराही पुगेका थिए ।
छलफलमा सँगै रहेका ती नेताका अनुसार धुम्बाराहीमा प्रधानमन्त्री प्रचण्डले परिस्थिति यस्तो आउने भयो भन्दै ओलीले राखेका शर्त र उनले राखेको शर्त अनुसार जाँदा भविश्वमा आउने संकटबारे जानकारी गराएका थिए । छलफलमा प्रचण्डले भनेका थिए,‘ओलीजी आफै राष्ट्रपति लड्छु भन्दै हुनुहुन्छ । यदि उहाँलाई राष्ट्रपति बनाउनुपर्यो भने अहिले भएका कुनै पनि उपलब्धि रहने वाला छैनन् र मैले रोक्न सक्ने अवस्था पनि छैन । तपाईले रोक्नुपर्छ । त्यसका लागि अहिले मलाई विश्वासको मत दिनुभए अरु कुरा म मिलाउँदै जान्छु ।’
उता, माओवादीका नेताहरुले पनि ओलीले सबै कुरा पाए पछि धोका दिने बुझेका छन्, यसैले अहिले पनि ओली मन्त्रीपरिषद विस्तारभन्दा पहिले राष्ट्रपतिमा लिखित सहमति नै खोजिरहेका छन् । विश्वासको मत लिनुअघिसम्म ओलीलाई यो हुन्छ र यो हुँदैन भन्ने अवस्थामा प्रधानमन्त्री थिएनन् । अहिले प्रधानमन्त्रीले कांग्रेसको आड पाएपछि अडान लिन थालेका छन् । पुष १० मा प्रचण्डले बालुवाटार छाड्नु आगाडी नै माओवादीका नेता र ओलीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति र पहिलो सभामुख लिने विषयमा सहमति भइसकेको थियो ।
माओवादी नेताको भनाईमा एमाले अध्यक्ष ओलीलाई चिकित्सकहरु दौडधुपको राजनीति नगर्न सल्लाह दिएका छन् । चिकित्सकले दिएको सल्लाह अनुसार अबको पाँच वर्षपछि उनलाई सक्रिय राजनीतिमा लागेर काम गर्न गाह्रो पर्छ । त्यसैले अहिले नै सबै प्रक्रिया मिलाएर उनी आफु राष्ट्रपतिमा जान चाहिरहेका छन् । २०७४ मा प्रधानमन्त्री भएका बेला पनि ओलीलाई काममा समस्या परेको थियो । मृर्गौला प्रत्यारोपणपछि उनी अहिले सक्रिय जस्तै देखिएका छन । तर, चिकित्सकले पनि खतरा हुने संकेत दिएपछि उनी राजनीतिक रोल परिवर्तनको तयारीमा लागेका छन् ।
प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओलीले बनाइरहेका रणनीतिबारे छलफलमा सहभागी भएका माओवादी नेता भन्छन्, ‘अहिले बाहिर राजनीतिक बृतमा राष्ट्रपतिबारे भइरहेका चर्चा र व्यक्ति मिथ्या हुन् । ओलीको भित्री रणनीति अर्कै छ ।’ ओलीले एमालेमा अहिले राष्ट्रपतिका लागि सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य र गोमा देवकोटाको नाम पार्टीमा ल्याएका छन् । तर, उनको लक्ष्य आफै राष्ट्रपति बन्ने छ । उनका अनुसार ओलीले प्रचण्डसँग तीन कुरामा छलफल चलाएका छन् ।
हाल राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउने र आफु राष्ट्रपतिमा जाने सोच ओलीको छ । भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउन ओलीले विशेष महाधिवेशन गराउने र त्यसबाट पार्टी नेतृत्वमा स्थपित गर्ने । अर्को दाङबाट निर्वाचित रेखा शर्मालाई कुनै पद दिएर जसरी पनि सांसदबाट राजीनामा गराउन लगाउने र पार्टीका महासचिव शंकर पोखरेललाई उपनिर्वाचन लडाएर सांसदमा जिताउने । पोखरेल सांसद भएपछि दोस्रो कार्यकालको प्रधानमन्त्री बनाउने ।
यसरी ओलीले राष्ट्रपतिमा आफु, पार्टी अध्यक्षमा विद्यादेवी भण्डारी र प्रधानमन्त्रीमा शंकर पोखरेललाई पुर्याउनुपर्ने शर्त प्रचण्डसामू राखेका छन् । यो स्थितिमा पुग्दा ओलीले माओवादीलाई कुन अवस्थामा पुर्याउछन र अहिले प्राप्त भएका उपलब्धिहरुको अवस्था के हुन्छ भन्ने डर प्रचण्डलाई छ । ओली राष्ट्रपति भएपछि संवैधानिक र प्रशासनिक कार्य प्रधानमन्त्रीका लागि सहज नहुने देखेपछि प्रधानमन्त्री प्रचण्डले फेरी कांग्रेसतिर हात बढाएका हुन् । ओलीसँग बाम एकता पनि सम्भव नभएको बुझाई प्रचण्डको छ । राष्ट्रपति विमति हुँदा एमालेले साथ नदिए पनि कांग्रेसले धोका नदिने निष्कर्षमा प्रचण्ड छन् ।
ओली योजना घातक भएको ठहर गर्दै प्रचण्डले उनलाई रोक्न देउवाको साथ मागेपछि त्यो अवस्थाको मुल्याकन गर्दै कांग्रेसले विश्वासको मत दिएको कांग्रेस नेताको भनाई छ । ओलीको यो डिजाइनबारे प्रचण्डले माधव नेपालसँग पनि छलफल गरेका थिए । यसैले पनि उनले संसद बैठकमा ओलीबिरुद्ध प्रवचन दिएका थिए । यता, सर्वत्र आलोचना खेपिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि राष्ट्रपति पदप्रति लालयित देखिएका छन् । उनले अनुकुल भए पार्टी र सत्ता राजनीति छाडेर सहज राजनीतिक अवतरणका लागि राष्ट्रपति पद उचित हुने ठहर गरेका छन् । यसबारे देउवाले पार्टीका केही नेताहरुसँग पनि छलफल चलाएका छन् ।
बाम एकता हुने चिन्ता पनि देउवालाई छ । सबै गुमाएका देउवालाई ओली रोक्न प्रचण्डले गरेको प्रस्तावले उनैलाई राष्ट्रपति बन्ने बाटो पनि खोलिदिएको छ । देउवाले यसअघि राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आश्वासन दिएपनि पछिल्लो समय आफै राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा देउवा रहेका छन् । माओवादी नेताहरुको भनाईमा एमालेसँग माओवादीको सहकार्य धरै अगाडी जाने देखिएको छैन् । राष्ट्रपतिको निर्वाचनपछि यो सम्बन्ध टुटने उनीहरु बताउँछन् ।
यसरी कांग्रेसले विश्वासको मत दिनुका पछाडीका कारणहरु हेर्दा आगामी राष्ट्रपतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भीडन्त हुने देखिएको छ । कांग्रेसबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डमा बदलाव आएको ठहर ओलीले गरिसकेका छन् । उनले आफु जसरी पनि राष्ट्रपति बन्नका लागि माओवादीले धोका दिने अवस्था आएमा कांग्रेसलाई फकाउन ललीपप पनि फाल्ने तयारी गरेको बताइएको छ । उनले केही पार नलाग्ने अवस्था आए कांग्रेसलाई सभामुख दिएर पनि राष्ट्रपति एमालेले पाउने गरि छलफल थाल्न नेताहरुलाई निर्देशन दिएको बताइएको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार