उपरथी शाहीमाथिको कारवाहीः सेनाका अरु अधिकृतलाई अदालत जान रोक !
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार २०:३९:५४
३० पुष, काठमाडौं । सर्वोच्च अदालतको आदेशले अवकाशको अघिल्लो दिन पुष १९ मा पुर्नवहालीका लागि सैनिक मूख्यालय पुगेका नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लियो । त्यसको पर्सिपल्ट काठमाडौं बुढानिलकण्ठस्थित उनको निवासमा छापा मारेर कागजातहरू जफत गर्यो । जन्ममिति विवादमा तानिएका शाहीलाई सेनाले आर्थिक अपचलनको आरोपमा पक्राउ गरेको हो । तर उनले कहाँ कहाँ बसेर के के आर्थिक अनियमितता गरे भन्ने पूरै विषय जानकारी दिएको छैन ।
उपरथी शाहीलाई जंगी अड्डाले १० दिनदेखि हिरासतमा राखेको छ । ‘आर्थिक अनुशासनमा नबसेको’ आरोपको उजुरी परेको भन्दै उनलाई हिरासतमा राखिएको छ । सोही उजुरीका आधारमा अनुसन्धान र तहकिकात गर्न ‘कोर्ट अफ इक्वाइरी’ गठनसमेत गरिएको छ ।
पक्राउ परेदेखि नै सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले ‘शाही विभिन्न पदमा नियुक्त रहँदा आर्थिक अनुशासनमा नबसकेको’ भन्ने उजुरी परेको र सोहीअनुसार अनुसन्धानका लागि हिरासतमा राखिएको प्रतिक्रिया दिँदै आएका छन् । उनको प्रतिक्रिया औपचारिक मात्रै देखिन्छ । जंगी अड्डाले दिएको सूचना अनुसारको ‘कसुर’ र त्यसमा सुरु गरिएको ‘छानविन’ प्रक्रिया भने ‘अवैध’ तरिकाबाट भएको देखिन्छ । सैनिक ऐन, २०६३ मा स्पष्ट भाषामा ‘आर्थिक अनुशासनमा नबसेको’ भन्ने शीर्षकको कसुर छैन । तर, ‘अनुशासन’ र ‘भ्रष्टाचार’ छुट्टाछुट्टै शीर्षकमा समावेश छन् ।
उनलाई पुस २० देखि अवकाश हुने भन्दै सैनिक मुख्यालयले शाहीलाई पत्र थमाएपछि सैनिक अभ्यास अनुसार अवकाशको १५ दिन अघिदेखि उनी बिदामा थिए । उनले उमेर विवादमा लामो समयदेखि कानुनी लडाइँ लडिरहेका थिए । सर्वोच्च अदालतमा २०७७ पुसमा दायर रिट दुई वर्षसम्म नटुँगिदै अवकाश पत्र पाएपछि शाहीले यो निर्णय कार्यान्वयन रोक्न माग गर्दै पुस ७ गते अर्को रिट दिए । पुस १३ गते सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालको इजलाशले शाहीको अवकाश कार्यान्वयन नगर्न भनेपछि उनी जंगी अड्डाको काममा फर्किएका थिए । तर त्यही बेला जंगी अड्डाले शाहीलाई पक्राउ गर्यो । ‘अब कोही पनि व्यक्तिहरु अदालतको आदेशबाट फर्केर सेनामा नआउन भन्ने मूख्य उदेश्य राखेको देखिन्छ, सेनालाई अदालतमा जाने वातावरण नै बनाउने र प्रहरी र सशस्त्रमा आएको रोगलाई रोक्न शाहीलाई पक्राउ गरिएको हुनसक्छ’, सैनिक मूख्यालयका एक अधिकृतले भने ।
राजेन्द्र क्षेत्री सेनापति छँदै शाही लगायतका सैनिक अधिकृतको उमेर विवादमा एकरुपता कायम गर्ने निर्णय भएको थियो । सोही अनुसार सेनाले २०७५ जेठमा शाहीसहित उपरथी दीपक भारती, सहायक रथी सूर्य खनाल र सुदर्शन रााणाको जन्ममिति मिलानको फाइल रक्षा मन्त्रालय पठाएको थियो । फरकफरक जन्ममिति भएकाको हकमा सबैभन्दा अघिल्लोलाई आधार मान्ने तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीस्तरीय निर्णय गरेर फाइल जंगी अड्डामै फिर्ता पठाएका थिए ।
यही निर्णयका आधारमा उमेर हदका कारण भारती, खनाल र राणाले अवकाश पाए । तर शाही भने रक्षा मन्त्रालयको निर्णयविरुद्ध कानुनी प्रतिरक्षा गर्न सर्वोच्च अदालत गए । रक्षा मन्त्रालयको त्यही निर्णयका आधारमा उपरथी शाहीलाई अवकाश पत्र दिइएको थियो । शाहीको प्रमाणपत्रहरूमा जन्म मिति २०२२ पुस २० र २०२३ पुस २३ गरी दुई थरी भेटिए पछि विवाद भएको थियो । यही विवाद निरुपणमा उनी लागेका हुन् । तर सेनाले उनलाई भ्रष्टचारजन्य कसुरमा पक्राउ गरी राखेको छ ।
ऐनले के भन्छ ?
ऐनको परिच्छेद ७ मा ‘कसुर’सम्बन्धी व्यवस्था छ । जसमा ऐनको दफा ३८ देखि ६५ सम्म २७ वटा ‘ऐनसम्बन्धी कसुर’हरू उल्लेख छ । यस्तै दफा ६६ मा ‘अन्य कानुन अनुसार कसुर’ भनेर ‘सैनिक–सैनिकबीचमा भएबाहेक’ भनेर हत्या र बलात्कारजन्य कसुर समेटेको छ । दफा ५२ मा ‘अनुशासन तथा आचरणसम्बन्धी कसुर’ को व्यवस्था छ । जसमा १२ वटा बुँदामा कसुरहरू समेटिएको छ। त्यसमा ‘आर्थिक अनुशासन’को बुँदा समेटिएको छैन।
भ्रष्टाचारको व्यवस्था दफा ६२ मा छ। जहाँ ‘भ्रष्टाचार, चोरी, यातना र वेपत्ताको कसुरसम्बन्धी विशेष व्यवस्था’ भनेर उल्लेख छ । ‘आर्थिक अनुशासनमा नबसेको सम्बन्धी विषय भ्रष्टाचारसँग जोडिन्छ । दफा ६२ अनुसारको ‘भ्रष्टाचार सम्बन्धी कसुर’को ‘अनुसन्धान र तहकिकात’ गर्ने कार्य ‘कोर्ट अफ इन्क्वाइरी’ लाई गर्ने अधिकार छैन । जसको ‘अनुसन्धान र तहकिकात’ गर्ने अधिकार सोही दफाको उपदफा (२) अनुसारको ‘विशेष समिति’मा निहित हुन्छ । जुन समिति नेपाल सरकारले तोकेको नायव महान्यायाधिवक्ता अध्यक्ष रहने गरी रक्षा मन्त्रालयको कानुन शाखा प्रमुख सदस्य र नेपाली सेनाको प्राड विभागको कम्तीमा सेनानीस्तरको प्रतिनिधि सदस्य गरी तीन सदस्यीय रहन्छ ।
जुन अदालतले जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर पुनरावेदन सुन्ने काम गर्छ । साथै दफा ११९ को उपदफा ३ अनुसार ‘दफा ६२ अन्तर्गतका मुद्दाको शुरु कारबाही र किनारा समेत गर्नेछ’ प्रष्ट व्यवस्था उल्लेख गरिएको छ । यसै दफाको उपदफा ४ मा दफ ६२ अनुसारका कसुरमा सैनिक विशेष अदालतको फैसलाउपर ३५ दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने व्यवस्था गरिएको छ। तर, प्रधानसेनापति प्रभुराम शर्माले ऐनमा भएको व्यवस्थाविपरीत अन्य कसुरमा अनुसन्धान र तहकिकात गर्ने जस्तो गरी ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेका छन् ।
सैनिक अदालत नियमावली, २०६४ को नियम ३ को उपनियम (६) मा ऐनको दफा ६२ अनुसारको कसुरको सूचना जुनसुकै युनिटमा प्राप्त हुन आएपनि उक्त युनिटले प्राड विभागको कार्यालयमा पठाउनु पर्ने व्यवस्था गरेको छ । त्यसपछिको सैनिक अदालत नियमावलीको परिच्छेद ४ मा उक्त ‘कसुरसम्बन्धी मुद्दाको दायरी सम्बन्धी विशेष व्यवस्था’ गरिएको छ। जसको नियम २७ मा ‘सूचना दिनुपर्ने’ व्यवस्था छ । जसको उपनियम (१) मा सूचना प्राप्त गरेपछि प्राड विभागको कार्यालयले सो कसुरको अनुसन्धान तथा तहकिकातको लागि रक्षा मन्त्रालयमा लेखी पठाउनु पर्नेछ र सो कुराको जानकारी प्रधान सेनापतिलाई दिनु पर्ने व्यवस्था गरेको छ । त्यसै नियमको उपनियम (२) र (३) मा प्राड विवाकबाट सूचना आएपछि रक्षा मन्त्रालयले सो कुरा समितिमा लेखी पठाउनुपर्ने र रक्षा मन्त्रालयबाट लेखीआएपछि समितिले अनुसन्धान तथा तहकिकातको कार्य प्रारम्भ गर्ने व्यवस्था छ । नियमावलीको नियम २८ मा समितिले अनुसन्धान तथा तहकिकातको कार्य पूरा गरेपछि अभियुक्त उपर मुद्दा चलाउन प्रमाण पुग्ने देखिएमा अभियोगपत्र तयार प्राड विभागमार्फत सैनिक विशेष अदालतमा मुद्दा पेश गर्नुपर्ने व्यवस्था छ ।
उल्लेखि ऐनलाई वेवास्ता गर्दै शाहीलाई नियन्त्रणमा राखिएको छ । व्यक्तिगत प्रमाणपत्रमा रहेको त्रुटिलाई आधार मानेर ‘असमयमै’ जंगी अड्डाले ‘निवृतिभरणमा अवकाश प्राप्त गर्नु’ भन्ने व्यहोराको पत्र थमाएपछि उपरथी शाही सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले शाहीको अवकाश ‘कार्यान्वयन नगर्नु(नगराउनु, निवेदकलाई यथा अवस्थामा काम गर्न दिनु’ भनेर आदेश गरेको थियो ।
सर्वोच्चको सोही आदेश बोकेर पुस १९ गते जंगी अड्डा पुगेका बेला प्रधानसेनापति प्रभुराम शर्माको ‘ठाडो आदेश’मा सैनिक प्रहरीले शाहीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो। जानकार स्रोतका अनुसार शाहीमाथि पुस ४ गते अवकासपत्र थमाउँदा उनीमाथि कुनै किसिमको गम्भीर आरोप थिएन । जब उनी न्यायका लागि सर्वोच्चको ढोकामा पुगे तब उनलाई मुद्दा फिर्ता लिन दबाब दिइयो । मुद्दा फिर्ता नलिए उनलाई फसाउने धम्की दिइयो ।
शाहीमाथि छानविनका लागि कनिष्ठ उपरथी बाबुराम श्रेष्ठको संयोजकत्वमा ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरिएको छ। जुन आफैमा ऐनविपरित देखिएको छ। उनीमाथि लगाइएको आरोपलाई मान्ने हो भने जुन समितिको अनुसन्धान र तहकिकात नै वैध मानिन्न । त्यो पनि पक्राउ परेपछि पुस २० गते गठन गरिएको थियो । उनलाई अहिलेसम्म हिरासतमा राख्दा पनि अहिलेसम्म ‘पक्राउ पूर्जी’ समेत दिइएको छैन । स्रोतका अनुसार शाहीमाथि अभियोगपत्र भरिएको छैन । अभियोगपत्र भराए शाहीले निजी कानुन व्यवसायी राखेर कानुनी उपचार लिन पाउँछन् । बरु प्रधानसेनापति शर्माले दुःख दिने नियतका साथ छानबिन लम्ब्याइरहेका छन ।
सेनाभित्रको अभ्यास अनुसार हिरासतमा हुँदा पनि दर्जा अनुसारको बासस्थान, टेलिफोन, पत्रपत्रिका, टेलिभिजनको उपलब्धता हुन्छ। घरपरिवारको सदस्यसँग भेट्न पाइन्छ। तर, हालसम्म शाहीलाई भने त्यो सुविधाबाट वञ्चित गरिएको छ । परिवारका सदस्यलाई अनुसन्धानमा संलग्न अधिकारीको निगरानीमा मात्रै भेट्न दिइएको छ । प्रधानसेनापति प्रभुराम शर्माले उनीमाथि प्रतिशोध साँधेर दुःख दिइरहेका हुन । शाही पूर्ववर्ती प्रधानन्यायाधीश पूर्णचन्द्र थापानिकट रहेर काम गरिरहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार