राज्यप्रति वितृष्णाः सक्नेले झापड हाने, नसक्नेले आत्मदाह !
केदार भट्टराई (काका)
माघ ११, २०७९ बुधबार १८:२३:७
११ माघ, काठमाडौं । मंगलबार संघीय संसद भवन अगाडी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा मन्त्रिपरिषदका सदस्यहरुलाई संघीयताबिरुद्ध नबोल्न निर्देशन दिएर बाहिर निस्कदै गर्दा इलामका प्रेमप्रसाद आचार्यले उनी सवार सडकमै पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरे । आज उनको मृत्यु भइसकेपछि राज्यका संयन्त्र र दलका नेता आफुलाई चोख्याउँदै अरुलाई तथानाम गाली गर्न सामाजिक सञ्जालमा व्यस्त छन् ।
आफु सत्तामा हुँदा राज्यको अनुत्तरदायी भूमिकाले आहात बनेको समाज र त्यसैका कारण बढेको सामाजिक असन्तुलनलाई नजर अन्दाजसमेत गर्न नसकेका राज्यका माथिल्लो वर्गमा रहेकाहरुलाई आचार्यको आत्मदाहपछिको मृत्यु मसला बनेको छ । आचार्यको मृत्युपछि सारा नेताका सामाजिक सञ्जाल आदर्शले रंगिएका छन् । तर, नैतिक जिम्मेवारी लिन कोही तयार छैनन् । आत्मदाहको कारण कसैलाई चाहिएको छैन् ।
नेता बन्दा जनतालाई दिएको आश्वासन र जनयुद्धमा गरेका बाचाभन्दा बाहिर गएर आफुले मात्रै विलाशी जीवन बिताएर युद्धमा होमिएर परिवर्तन ल्याउने युवाको भविश्यलाई जोखिमपूर्ण बनाएको भन्दै उनै युवाबाट दुईपटक आक्रमणमा परेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सरकारको नेतृत्वमा छन् । मंगलबार उनी सवार गाडीकै अगाडी युवाले आत्मदाह गर्दा उनले न देखे न बोले ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको भन्दै यसबाट पन्छिने काम गरेका छन् । यसरी दिनहुँ बढिरहेका यस्ता घटनाका कारण खोजेर निदानको उपायमा लाग्नुपर्ने सरकार ग्यालिनमा पेट्रोल भर्न नदिने जस्ता सस्ता प्रचारबाजीमा राज्य संयन्त्रको दुरुपयोग गरिरहेको छ ।
नेताको व्यवहारले भविश्यहीन बनिरहेका युवाले नेतालाई सुध्रिन सुझाव मात्र दिएका छैनन् । सक्नेले भेटे हात र नभेटे जुत्तासमेतले आक्रमण र नसक्नेले आत्मदाह गरेरै भएपनि चेतावनी दिइरहेका छन् । जनचाहना र राष्ट्रहित विपरित काम गरेपछि नेताहरुले २०५१ सालदेखिनै कुटाई खान थालेका हुन । तर, अझै चेत खुलेको छैन् । नेता कुटिने इतिहास नेपाली कांग्रेसका नेता एवं तत्कालीन सभामुख रामचन्द्र पौडेलबाट सुरु भएको थियो ।
अहिलेका प्रधानमन्त्री प्रचण्ड पनि दुई पटक युवा आक्रमणमा परिसकेका छन् । प्रचण्डले २०६९ मंसिर २ गते आफ्नै नेतृत्वमा भएको सशस्त्र युद्धमा सहभागी एक लडाकुको परिवार सदस्यबाट झापड खाएका थिए । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा माला लगाइदिने भन्दै बाग्लुङका पदम कुँवरले प्रचण्डलाई झापड हानेका थिए । कुँवरले प्रचण्डलाई झापड हान्दा उनको चस्मा नै फुटेको थियो । प्रचण्डले फुटेको चस्मा उतिबेलै फेरे तर, देश र युवाका समस्या उस्तै छन् ।
कुँवरले प्रचण्डलाई झापड हानेपछि आक्रोशित बनेका माओवादी कार्यकर्ताले कुँवरमाथि हातपात गरेका पनि थिए । त्यसपछि प्रहरीले पक्राउ गरेका कुँवरलाई प्रचण्डले नै धरौटी वापतको रकम उपलब्ध गराई हिरासतमुक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई २०७६ फागुन १८ गते जुत्ता प्रहार गरिएको थियो । तत्कालीन नेकपा पार्टीको अध्यक्षको हैसियतले भरतमोहन अधिकारीको प्रथम स्मृतिसभालाई सम्बोधन गरेपश्चात उनीमाथि राष्ट्रिय सभागृहमा जुत्ता प्रहार भएको थियो ।
प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा थिए । उनका बाबु मनु तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाले त्यही आवेगमा उनले प्रचण्डलाई जुत्ता प्रहार गरेको रतनले प्रहरीसँगको बयानमा बताएका थिए । उनलाई पनि प्रचण्डले माफी दिए । यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि सार्वजनिक कार्यक्रममा झापड खाए । नेकपा एमालेमै रहँदा २०६७ माघको पहिलो हप्ता सुनसरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता खनालले स्थानीय देवीप्रसाद रेग्मीको झापड खाएका थिए ।
पार्टी प्रवेश गर्न लामबद्ध बनेका कार्यकर्ताहरुसँगै लामबद्ध भएर रेग्मी खनाल भएको ठाउँमा पुगेका थिए । नेता खनालले रेग्मीसँग हात मिलाएर उनलाई टीका लगाइदिन खोजेका थिए । तर, रेग्मीले टीका लगाउन इन्कार गरे । त्यसपछि नेता खनालले दुवै हात तल राखेको मौका पारी रेग्मीले नेता खनाललाई घुमाएर झापड हान्दा खनाल रन्थनिएका थिए । रेग्मीले नेता खनाललाई झापड हान्दा उनको चश्मा भुईंमा खसेको थियो भने नाकमा सामान्य चोट लागेको थियो । प्रधानमन्त्री र सभामुखभन्दा तल्लो स्तरका नेता काम नगरेकै कारण कति कुटिए कति । तर, चेत कसैमा आएको छैन् ।
नेताप्रति किन आक्रोस छ युवाको र किन आत्मदाहको अवस्थामा युवाहरु पुगिरहेका छन् भन्ने प्रश्नका पछाडी धेरै कारणहरु छैनन् । देश भोकले आक्रान्त र भयग्रस्त छ । आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको छ । बेरोजगारी बढेको बढेकै छ । रोजगारी दिने काम सरकारले गर्दैन । जनताका दैनिक समस्या ज्यूँकात्यूँ थाती राखेर नेताहरु राज्यको सम्पति दोहनमा व्यस्त छन् । आर्थिक असमानताले पछिल्लो समय सामाजिक परिवेश निकै डरलाग्दो अवस्थामा पुगेको छ ।
तर, यस विषयमा मुलुकमा क्रियाशील प्रायः सबै दल र तिनका नेताहरूले कहिले महसुस गरेनन् । विकासका नाममा अर्थहीन काममा राज्यको ठूलो धनराशी खर्च गर्ने र भरसक आफैले कुम्ल्याउने परिपाटी नेताहरुमा बस्यो । युवाहरु भन्छन्, ‘हामीले परिवर्तनका लागि थुप्रै हण्डर खायौं, दुःख भोग्यौं । नेताका सपनाहरूप्रति लालायित भयौं । तर, नेताहरुका कारण २० देखि ५० उमेर समुहका युवाको भविश्य अन्धकार भएको छ ।’
माओवादी जनयुद्धले घरबास उठेपछि २०७३ साल मंसिर २२ गते पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईलाई पनि पोखरामा जुत्ता प्रहार गरिएको थियो । उक्त समयमा उनी नयाँ शक्ति पार्टीका संयोजक रहँदा पोखराको पृथ्वीनारायण क्याम्पसमा आफूनिकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रमलाई भट्टराईले सम्बोधन गर्दै थिए । सम्बोधनका क्रममा कार्यक्रममा उपस्थित कैलालीका ३४ वर्षीय सञ्जिव भट्टराईले डाक्टर भट्टराईलाई कालोझण्डा देखाउनुका साथै जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहार गर्ने भट्टराईलाई पार्टीका विद्यार्थी संगठनका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।
मुलुकमा संघीयताको सफल कार्यान्वयनपछि बनेका प्रदेश र स्थानीय तह र त्यसका जनप्रतिनिधिहरूले पनि बेला–बेला सार्वजनिक स्थानमा कुटिने गरेका छन् । कुटाई जुत्ता वा झापड खानु सामान्य कुरा होइन । धेरैले यसलाई राजनीतिक कार्यकर्ताको नेतृत्वप्रतिको आक्रोशको रुपमा लिने गरेका छन् । हुन पनि कडा सुरक्षा घेराभित्र आफ्नै कार्यकर्ताबाट नेताहरुले यसरी सार्वजनिकरुपमा दुर्व्यवहारमा पर्नु सामान्य विषय होइन । र विनाकारण नेताप्रति आक्रमण पनि भएका छैनन् ।
जनतालाई झुक्याएकै कारण माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले पनि कुटाइ खाएका थिए । उनले २०६९ जेठ २ गते झापड खाएका थिए । संविधानसभाको बैठक सकेर घर फर्कंदै गर्दा तीनकुने स्थित एक चिया पसलेले चिया खुवाइसकेपछि २ झापड हानेका थिए । सोही समय गोर्खाको गाईखुर–८ का प्रेमराज देवकोटाले सुवेदीलाई बोलाएर संविधान कहिले बनाउँछौ, भनेर सोधेका थिए । सुवेदीले बनाउँदैछौं भनेपछि देवकोटाले गालामा दुई झापड हानेका थिए ।
इमान्दार भनेर चिनिएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाले पनि आफ्नै कार्यकर्ताको आक्रोश सहनुपर्यो । २०६९ साल असोज १३ गते काठमाडौंको कपनमा आयोजित पार्टीको कार्यक्रममा उपस्थित भएका तत्कालिन पार्टी सभापति सुशील कोइरालामाथि कांग्रेसकै कार्यकर्ता प्रवेश बस्नेतले आक्रमणको प्रयास गरेका थिए । तथापि नेता कोइराला आक्रमण गर्ने प्रवेश प्रति उदार देखिए । कोइरालामाथिको आक्रमणका विषयमा कांग्रेसले छानविन समिति गठन गरे पनि पछि आक्रमणकारी बस्नेतलाई कोइरालाले माफी दिएका थिए ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई एक महिला सभासद्ले सार्वजनिक कार्यक्रममै चप्पल हानेकी थिइन् । ०६५ जेठ १५ गते एमालेकी सभासद कमला शर्माले खड्कामाथि चप्पल प्रहार गरिन् । उनले पहिलो संविधानसभाको निर्वाचनताका एमाले उम्मेदवार ऋषिराज अधिकारीको हत्याको रिस पोख्दै खड्कालाई चप्पल हानेकी थिइन् । पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि पनि बोतल प्रहार भएको थियो । अहिले आचार्यको आत्मदाहापछिको मृत्युलाई लिएर राज्यका संयन्त्रले समेत मजाक उठाइरहेका छन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको भन्दै यसबाट पन्छिने काम गरेका छन् । यसरी दिनहुँ बढिरहेका यस्ता घटनाका कारण खोजेर निदानको उपायमा लाग्नुपर्ने सरकार ग्यालिनमा पेट्रोल भर्न नदिने जस्ता सस्ता प्रचारबाजीमा राज्य संयन्त्रको दुरुपयोग गरिरहेको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार