प्रधानमन्त्री प्रचण्डका ३२ दिनः थोरै शुभ, धेरै अशुभ !
केदार भट्टराई (काका)
माघ १२, २०७९ बिहिबार १८:९:४८
१२ माघ, काठमाडौं । राष्ट्रपतिबाट पुष १० मा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले महिना दिन कटाएको छ । उनी प्रधानमन्त्री बने यता, शुभभन्दा अशुभ घटनाहरु बढी भए । महिना दिनमा मन्त्रिपरिषदले पूर्णता पाएको छ भने एकचरण प्रधानमन्त्रीले सबै मन्त्रालय र प्रधानमन्त्री कार्यालय मातहतमा रहेका निकायका प्रमुखहरुसँग छलफल गर्न भ्याएका छन् । मन्त्रिपरिषदले कुनै ठोस निर्णय भने गर्न सकेको छैन् ।
उनले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि सुशासन, सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने घोषणा पनि गरेका छन् । यद्यपि सरकारको सकारात्मक सुरुवात, मूल्यांकनका लागि एक महिनाको समय पर्याप्त मानिदैन । अहिलेसम्म परिचयात्मक कार्यक्रममै प्रधानमन्त्रीको समय पनि बितिरहेको छ । संसदले सभामुख र उपसभामुख पाएको छ । दुबै पदमा सत्ता पक्षका उम्मेदवार विजयी भएका छन् । व्यवस्थापिकाले पुर्णता पाएपनि राष्ट्रपतिको निर्वाचन नभएकाले कार्यपालिकाले पुर्णता पाउन बाँकी छ।
माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्री त भए तर, उनलाई सुरुदेखिनै छायाँको प्रधानमन्त्री भन्न थालियो । अर्थात प्रचण्ड पर्दाका प्रधानमन्त्री मात्रै हुन र पर्दा पछाडीबाट सरकार अरुले नै चलाइरहेको छ भन्ने आम बुझाई छ । मन्त्रिपरिषद गठनमा पनि उनी प्रभावकारी हुन नसकेको विषयले नै प्राथमिकता पायो । उनी प्रधानमन्त्री छन, तर, अर्थ, गृह, रक्षा, परराष्ट्र जस्ता मन्त्रालय उनीभन्दा बााहिरका दलमा गएकाले प्रभावकारी र सन्तुलित सरकार चल्नेमा आम दुविधा सुरुमै खडा भएको छ ।
प्रचण्ड प्रधानमन्त्री भएपछि यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्यो र ७२ जना नागरिकले ज्यान गुमाए । जहाज प्राविधिक र चालकको लापर्वाहीले दुर्घटना भएको हुनसक्छ र यसबारे छानविन आयोग गठन भएर काम भइरहेको छ । तर, उनी आए लगत्तै दुर्घटना भएकाले यसलाई सरकारको कार्यकालको अपसगुन भनेर चर्चा गरियो । उनकै अगाडी इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरे र यसैकारण उनको मृत्यु भएपछि सरकार सुरुमै आलोचनाको पात्र बन्यो ।
उनी यसअघि दुइपटक युवा आक्रोशमा परिसकेका कारण कतिपयले यी विषयसँग पनि आचार्यको आत्मदाहको प्रयासबाट भएको मृत्युलाई जोडेर व्यख्या गर्न थालेका छन् । यसको कारणबारे पनि उनले छानविन गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउन गृह मन्त्रालयलाई मन्त्रिपरिषदबाटै निर्णय गराएर जिम्मेवारी दिएका छन् । पहिलेको गठबन्धन छाडेर सम्बन्धविच्छेद भएको नेकपा एमालेसँग फेरी सहकार्य गर्दै प्रधानमन्त्री बनेपछि गठन भएको सरकार र त्यसमा सहभागी दलहरुको राजनीतिक पृष्ठभूमिलाई लिएर पनि प्रधानमन्त्री आलोच्य भइरहेका छन् ।
सबैभन्दा प्रमुख उनको मन्त्रिपरिषदका उपप्रधान तथा गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको विषयले प्रधानमन्त्री प्रचण्डमाथि नैतिक प्रश्न उठाएको छ । सामाजिक न्यायको सिदान्त अनुसार पनि नागरिकता जस्तो विषयमा मुद्दा खेपिरहेका र न्यायालयमा चलिरहेको मुद्दाको फैसलाले न्याय नदिएकै अवस्थामा रहेका व्यक्ति लामिछानेलाई उनले उपप्रधानसहित गृहमन्त्री बनाएका छन् । यो कुशासनको पहिलो चरण हो । विद्यमान विश्वमा रहेका मुलुकमा गल्तिले पनि यस्तो नभएको हुनुपर्छ ।
जुन निकायले अनुसन्धान गरिरहेको छ त्यही निकायको हर्ताकर्ता बनाइनुले अन्तर्राष्ट्रिय जगतमा पनि उनी आलोचित भइरहेका छन् । यसबाट भोलीका दिनमा उनको परारष्ट्र नीतिमा पनि प्रभाव पर्ने देखिन्छ । प्रचण्डले लामिछानेलाई उपप्रधानमन्त्री बनाउनु गैरन्यायिक त छदै थियो त्यसमाथि पनि लामिछानेको नागरिकतालाई नजिर बनाएर गैरकानुनी काम गराउन राज्यका संयन्त्रहरुलाई नै परिचालन गरेका छन् । यतिबेला प्रचण्डको नेतृत्वमा देश चलिरहेको छ । यो नजिर स्थापित हुँदा नेपालमा भ्रष्टाचार गर्ने र अनेका गैरकानुनी रुपले पैसा कमाएर विदेशमा लाने बाटो खुल्ला हुन्छ ।
यो प्रकरणमा संलग्न रहेका प्रधानमन्त्री प्रचण्डलाई व्यक्तिगत रुपमा कति फाइदा हुन्छ यो अहिले नै भन्न सकिन्न । तर, गैरआवासीय नेपाली लाईमात्र हेर्ने हो भने अहिलेकै स्थितिमा पनि १० लाख हाराहारीसँग दोहोरो नागरिकता छ । नेपालमा सरकारी निकायमा काम गर्ने र विगतदेखि अकुत कमाउँदै आएकाहरुलाई विदेशमा सम्पति लकाउन सहज हुने वातावरणका लागि उनी नेतृत्वको सरकारी संयन्त्र कम्मर कसेर लागेको छ । यो विषयमा सर्वत्र आलोचना र चर्चा भइरहँदा प्रधानमन्त्री मौन बस्नुको कारण पनि यही हो ।
अर्को उनी नेतृत्वको सरकारले महिना दिन कटाएकै बेला बुधबार मन्त्रिपरिषदबाट बन्द गराइएका क्रसर उद्योग खोल्ने निर्णय गराएका छन् । निर्माण योजनासँग सम्बन्धित व्यवसाय भएकाले खुलाउनुपर्ने अवस्था उनका अगाडी आएको पनि हुनसक्छ । तर, यस विषयमा धेरै अन्तरकथाहहरु जोडिएर बाहिरएका छन् । रातारात कमिशन र सेटिङपछि खुलाइएको भन्ने चर्चा सुरु भएको छ । क्रसर उद्योगबाट आम्दानी लिनेबारे पत्रकारितामै रहँदादेखि निकै चर्चामा आएका गृहमन्त्री लामिछानेको एकल मन्त्रीस्तरीय निर्णयबाट क्रसर उद्योगहरु हठातमा बन्द गरिएका थिए ।
बन्द गर्नुपर्ने कारण थिए भने ती कारणबारे सरकारले किन खोजी गरेन । उद्योगलाई व्यवस्थित बनाउने कार्य योजनाविना बन्द गराइनु र खुलाइनुका बीच आर्थिक चलखेलको भूमिका मुख्य भएको अनुमान गरिएको छ । यसरी एक महनिा पनि नपुग्दै कमिशनको चक्करमा प्रचण्ड नेतृत्वको सरकार लागिसकेको देखिन्छ । प्रचण्ड नेतृत्वको सरकारको सुरुको एक महिनाको कामलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूबीच पनि सकारत्मकभन्दा नकारात्मक चर्चाले प्राथमिकता पाउन थालेको छ । तेस्रो कार्यकालमा राम्रो काम गर्ने अपेक्षा आम जनमानसमा थियो ।
उनको कामका लागि प्रधानमन्त्री बन्ने चाहना, उनले निरन्तर दिएका अभिव्यक्ति र चुनावमा उदाएका नयाँ दलको सहभागिताले सरकारका कामकारबाहीमा जनचासो धेरै थियो । तर, मन्त्रिपरिषद विस्तारमा ढिलाइ र केही मन्त्री विवादमा तानिएपछि सरकारले प्राथमिकतामा राखेका धेरैजसो विषयमा नीतिगत निर्णय पनि विवादमा तानिएका छन् । प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गर्दै ११ पुसमा ‘सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुदृढीकरणका लागि रणनीतिक अध्ययन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । तर, मसी सुक्न नपाउँदै कमिशनका काण्डहरु सुरु भएका छन् ।
उनले मन्त्रिपरिषद्को पहिलो बैठकमा राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, सवारीचालक अनुमतिपत्र लगायतका सेवा प्रवाहलाई सुगम, सरल, कम खर्चिलो र झन्झटमुक्त बनाउन यसमा देखिने गरी सुधारका काम तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने निर्णय लिएका थिए । सेवा प्रवाह गर्ने केही सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागू भए पनि नागरिकले झेल्दै आएका सास्ती जस्ताका त्यस्तै छन् । जसले जनअपेक्षाअनुसार काम अघि बढ्न नसकेको भन्दै कार्यसम्पादनको गति बढाउन र शैली परिमार्जन गर्न सरकार लागेको देखिदैन ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार