आज सहिद दिवस मनाइँदै, राष्ट्रपतिद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार १४:१२:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/1625659195183701-0_fG7A3rKPZT.jpg)
१६ माघ, काठमाडौं । आज सहिद दिवस । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।
विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा पनि कार्यक्रमको तयारी भएको जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कोे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले गोकर्णको सहिद स्मृति स्तम्भमा सहिद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय सहिद स्मारक उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी पनि उनले दिए । विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिदगेटमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।
यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
उनले सहिद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरिन् । नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आइएको छ ।
राष्ट्रपति भण्डारीले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै आजको दिनले हामीलाई सहिदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताइन् । हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल हो ।
तसर्थ, सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख उनले गरेकी छन् ।
उनले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्तरूप दिन आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार