एसईई परीक्षा र यसको तयारीः यस्तो हुनुपर्छ बिद्यार्थी, शिक्षक र अभिभावकको भूमिका
शरणकुमार अर्याल
माघ २१, २०७९ शनिबार १८:३२:२४
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठिमी, भक्तपुरले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को समय तालिका प्रकाशन गरिसकेको छ । समय तालिका अनुसार यो परीक्षा २०७९ साल चैत्र १७ गते शुक्रबारदेखि सुरु हुँदैछ । त्यसै गरेर ७५३ स्थानीय सरकारले पनि यही समयतिर आधारभूत शिक्षा परीक्षा (बि.ई.ई.) सञ्चालन गर्नेछन् । विद्यालय तहको शिक्षामा यी दुवै परीक्षाका आ–आफ्नै विशेषता र महत्व छन् ।
हुन त केही शिक्षाविद्हरुको विचारमा विद्यार्थीले सिक्ने प्रक्रियामा परीक्षा, टेष्ट, अंक, ग्रेड आदिको कुनै भूमिका रहन्न भन्ने पनि पाइन्छ । बालबालिका वा विद्यार्थी-परीक्षार्थीको भविष्य परीक्षाले निर्धारण गर्छ गर्दैन भन्ने बहसबाट पृथक रहँदै यो लेख मुलतः परीक्षाको तयारी कसरी गर्ने ? नतिजामा सुधार ल्याउने उपायहरु के के हुन सक्दछन् ? यसमा मुख्य सरोकारवाला व्यक्तिहरु (विद्यार्थी, अभिभावक र शिक्षक) को भूमिकाका बारेमा केन्द्रित हुनेछ भने सरोकार निकायको जिम्मेवारीमा पनि पनि केही न केही लेखिने छ नै ।
परीक्षा विद्यार्थी वा परीक्षार्थीको मात्र हो भन्ने आम बुझाई छ तर परीक्षा परीक्षार्थीले दिएता पनि यो उसको मात्र होइन, उत्कृष्ट नतिजाका लागि परीक्षार्थी, शिक्षक, अभिभावक र अन्य सरोकार निकायको पनि भूमिका रहन्छ यद्यपि प्रमुख दायित्व स्वयं बिद्यार्थीको हुनु त स्वभाविक नै मान्नु पर्दछ । त्यसैले परीक्षा परीक्षार्थी वा विद्यार्थीको मात्र नभएर अभिभावक, शिक्षक, विद्यालय प्रशासन र सरोकार निकायको पनि हो भनेर बुझ्नु पर्दछ । त्यसैले परीक्षाको तयारी र उत्कृष्ट नतिजाका लागि कसकाे भूमिका कस्तो हुनुपर्दछ, संक्षेपमा लेख्न गइरहेको छु ।
(क) अभिभावकको भूमिका– परीक्षार्थीका मातापिता वा अभिभावक नै पहिलो गुरु र घर पहिलो स्कुल हुने भएकाले परीक्षामा उत्कृष्ट नतिजाका लागि अभिभावकको आनीबानी, व्यवहार तथा घरको वातावरणले सबैभन्दा ठूलो प्रभाव पार्दछ । भनिन्छ– वातावरण तेस्रो शिक्षक हो । हामी कस्तो प्रकारको अभिभावक हौँ भन्ने विषयले परीक्षार्थीको एसईई-बिईई परीक्षामा मात्र होइन जीवनमा नै अर्थ राख्दछ । Diana Bain Rind ले गरेको एउटा अनुसन्धान अनुसार अभिभावकीय तरिका निरङ्कुश, प्राधिकृत वा अधिकारपूर्ण, उदार र लापरवाही गरी चार प्रकारका हुन्छन् ।
यी मध्ये प्राधिकृत वा अधिकारपूर्ण तरिका सबैभन्दा राम्रो मानिन्छ । प्राधिकृत सोचयुक्त अभिभावक सचेत अभिभावकहरु हुन् जसले आफ्ना सन्तानको भावना, विचार, इच्छा र चाहनाको कदर गर्दै उसका न्यूनतम आवश्यकताहरु पुरा गर्दछ । बालबालिकालाई आफ्नो पूर्ण नियन्त्रणमा राख्ने, हप्किदप्की गर्ने, पिटपाट गर्ने, आफूले भनेको आफ्ना सन्तानले मान्नपर्ने निरङ्कुश सोच राख्दैन भने अर्कोतिर आफ्ना बालबालिकाले जे भन्यो त्यही पुर्याउने, पुलपुलाएर टाउकोमा टेक्ने वातावरण सृजना हुने धेरै उदार स्वभाव पनि देखाउँदैन । अर्थात यस्ता अभिभावकले बालबालिकालाई सन्तुलित व्यवहार प्रदर्शन गर्नुका अतिरिक्त आफ्नाे जिम्मेवारी राम्रोसँग निर्वाह गर्दछन् । अतः हामीहरुले पनि बालबालिकाको जीवनका प्रत्यक परीक्षामा सफलता चाहेको हो वा बालबालिकाको जीवन सफल, सरल र असल बनोस् भन्ने अभिभावकीय लक्ष्य लिएको हो भने हाम्रो अभिभावकीय तरिका प्राधिकृत किसिमको हुनु राम्रो हुन्छ ।
एसईई वा बिईई परीक्षाका सन्दर्भमा मात्र कुरा गर्ने हो भने पनि अभिभावकले परीक्षाका समयमा परीक्षार्थीहरुमा देखिने भय, डर, त्रास र तनावबाट मुक्त राख्ने प्रयत्न गर्नुपर्दछ । परीक्षार्थीलाई कुनै किसिमको ( A+, A, B+ वा पास हुनै पर्ने) दवाव दिनु हुँदैन बरु बालबालिकालाई तनावबाट मुक्त राख्न गहिरो प्रेमानुभूति दिलाउनु पर्दछ । परीक्षाको समयमा परीक्षार्थीहरुको चाहाना आफ्ना अभिभावकले धेरैभन्दा धेरै समय आफूलाई दिएहुन्थ्यो भन्ने हुन्छ त्यसैले अभिभावकले धेरैभन्दा धेरै समय आफ्ना सन्तानसँग बिताउनु पर्दछ । शिक्षकसँग निरन्तर सम्पर्कमा रहने शिक्षकले भनेको कुरा सुन्ने, घरमा समय तालिका बनाउन र कार्यान्वयनमा जोड दिने, खानपिन वा सन्तुलित भोजन, साथीसंगत तथा इन्टरनेटको दुरुपयोग बारेमा हेक्का राख्ने कुरामा पनि अभिभावकहरु सचेत हुनुपर्दछ । छोटकरीमा भन्नुपर्दा विद्यार्थीले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि अभिभावकहरुले बालबालिकालाई समय, प्रेरणा, माया दिने, उनीहरुको विचार सन्ने र उनीहरुसँग राम्रो सम्बन्ध स्थापित गर्दै घरमा पढ्ने वातावरणको सृजना गर्नुपर्दछ ।
(ख) शिक्षकको भूमिका – विद्यार्थीको आन्तरिक तथा वाह्य मूल्याङ्कनमा शिक्षकको भूमिका सर्वाधिक महत्वको हुन्छ । आन्तरिका मूल्याङ्कन पूर्णरुपमा विषयगत शिक्षकको दायित्व हुने हुनाले नियमित मूल्याङ्कनको आधारमा अंक दिनु पर्दछ । एसईई र बिईईको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्ड र स्थानीय सरकारले सञ्चालन गर्ने हुनाले ती परीक्षाहरुमा विद्यार्थीले प्राप्त गर्ने नतिजाले शिक्षकको पनि मूल्याङ्कन हुने हुनाले आ–आफ्नाे विषयमा उत्कृष्ट नतिजा ल्याउन परीक्षार्थीलाई तयार पार्नु विषयगत शिक्षकको न्यूनतम जिम्मेवारी हो । यसका लागि शिक्षकमा न्यूनतम मापदण्डहरु जस्तै पेशागत मूल्य र मान्यता, पेशागत ज्ञान र समझदारी तथा पेशागत सीप र दक्षता हुनै पर्दछ । अन्यथा शिक्षक शिक्षक हुन् सक्दैन । भनिन्छ शिक्षक अति निष्क्रिय वा सामान्य, निष्क्रिय वा राम्रो, सक्रिय वा उच्च तथा अति सक्रिय वा महान गरी चार प्रकारका हुन्छन् ।
एसईई-बिईई परीक्षाको तयारीका लागि मात्र होइन परीक्षार्थीको भविष्यका सन्दर्भमा पनि उच्च र महान शिक्षकको योगदान ठूलो रहन्छ भने निस्क्रिय र अति निस्क्रिय शिक्षकले विद्यार्थीको भविष्यमा विशेष छाप छाड्नु त परेकै कुरा नतिजा सुधारमा समेत योगदान पुर्याउन सक्दैनन् । महान शिक्षक ती शिक्षकहरु हुन जसले बालबालिकाको चौतर्फी सफलता र विकासमा प्रेरित गर्न सक्दछन र सोही अनुसारको वातावरण सृजना गराइदिन्छन् । अनि उच्च शिक्षकहरुले पनि प्रयोगात्मक, व्यवहारिक तथा जीवनउपयोगी सिकाइमा जोड दिन्छन् । त्यसैले शिक्षकको प्रमुख दायित्व विद्यार्थीहरुलाई विषयवस्तुको पूर्ण ज्ञान दिनु मात्र होइन उनीहरुलाई प्रेरणा दिनु, प्रेरित गर्नु, पढ्ने वातावरणको सृजना गर्नु र परीक्षार्थीलाई परेको अप्ठ्यारोमा सहजीकरण गरिदिनु पनि हो । उनीहरुलाई पढ्ने बानीको विकास गर्न मद्दत पुर्याउनु हो । यसका लागि शिक्षकले कक्षाकोठामा बालमैत्री वातावरणको सृजना गर्दै कक्षाकोठा व्यवस्थापन (कक्षाकोठाको सजावट, बसाइ व्यवस्थापन, सामग्री व्यवस्थापन, सामाजिक वातावरण निर्माण, समय व्यवस्थापन) उत्कृष्ट बनाउन सक्नुपर्दछ । अब सूचना र तथ्याङ्क मात्र प्रदान गर्ने शिक्षकले विद्यार्थीलाई सही गोरेटो देखाउन सक्दैन भनेर बुझ्नु पर्दछ ।
(ग) विद्यार्थी वा परीक्षार्थीको भूमिका– सिकाई, परीक्षा, नतिजाको प्रमुख पात्र वा केन्द्रमा विद्यार्थी भएकाले उसको सक्रियता, इच्छा, सपना, विचार र कर्मले नै परीक्षाको तयारी, नतिजा सुधार तथा उसको भावी जीवन कस्तो हुने भन्ने निक्यौल गर्दछ । नेपाली समाजमा एउटा भनाई छ– ताप्के नतातेसम्म बिडँ मात्र तातेर केही पनि हुँदैन, हो सिकाईको प्रत्येक चरणमा विद्यार्थीको भूमिका सर्वोपरी हुन्छ । अमेरिकी शिक्षाविद जोनहल्टको विचारमा बालबालिकाले त्यसै बेला राम्रोसँग सिक्दछन् जब स्वयं कुनै कुरा सिक्न चाहन्छन्, जब कुनै कुरा अरुले भनेको आधारमा होइन स्वयं आफ्नाे जिज्ञासा (प्रश्न) शान्त पार्न सिक्दछन् । उनी मात्र होइन धेरै शिक्षाविद्हरु यसमा सहमत छन् । त्यसैले परीक्षाको तयारी, उत्कृष्ट नतिजा तथा जीवनका प्रत्यक पलहरुमा सफलता र खुशी प्राप्त गर्न परीक्षार्थी स्वयं आफै तत्पर र अग्रसर हुनु पर्दछ । व्यक्तिगत आनीबानी र व्यवहारमा सकरात्मक परिवर्तन गर्न सक्नु पर्दछ ।
यसका लागि परीक्षार्थीले सर्वप्रथम लक्ष्य निर्धारण र सकरात्मक सोचको विकास गर्नु, विषयवस्तुको पूर्ण ज्ञान प्राप्त गर्नु, समयको प्रभावकारी व्यवस्थापन गर्नु, आकर्षक तथा ठोस उत्तर दिने कौशलको विकास गर्न, शारीरिक तथा मनोवैज्ञानिक तयारी गर्नु, पढ्ने बानीको विकास गर्नु (पढ्ने पनि बानी नपढ्ने पनि बानी भएकाले), असल संगतको निर्माण र परीक्षा हलमा अपनाउनु पर्ने सावधानीलाई सदैव मनन गर्नुपर्ने हुन्छ । यसका लागि मूलमन्त्र भनेको अध्ययनको तरिकामा वैज्ञानिक अध्ययन, व्यवस्थित अध्ययन र सार्थक वा अर्थपूर्ण अध्ययन हुन भने व्यक्तिगत व्यवहार र आनीबानीमा आफू कस्तो किसिमको सिकारु हो (देखेर सिक्ने-दृश्यको माध्यमबाट, सुनेर सिक्ने-श्रवणको माध्यमबाट, गरेर सिक्ने वा शारीरिक क्रियाबाट सिक्ने र पढेर वा लेखेर सिक्ने वा किताब, कापी, कलमको माध्यमबाट सिक्ने) कस्तो स्वभावको विद्यार्थी हो (अनिच्छुक, सदैव पढ्न रुची राख्ने, जसरी पनि सिक्न खोज्ने र पढाइ सीप नभएको तर पढ्न खोज्ने) स्वमूल्याङ्कन गर्दै सर्वप्रथम लक्ष्य निर्धारण गर्नु र सो प्राप्तिका लागि ध्यान केन्द्रित गर्नु, समर्पण भावको विकास गर्नु मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहनु र हरहमेशा शान्त, धैर्य, नम्र, इमान्दार, परिश्रमी, लगनशील हुन प्रयत्न गर्नु नै हुन् ।
(घ) सरोकारवाला निकाय– अध्ययनरत विद्यालय, परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने, नतिजा निकाल्ने निकायहरु तथा अन्य सरोकारवाला व्यक्ति तथा निकायहरुको भूमिका पनि परीक्षार्थीको उत्कृष्ट नतिजाका लागि प्रमुख नभएता पनि सहायक हुन्छन् नै । पाठ्यक्रमको निर्माण र कार्यान्वयन, पाठ्यपुस्तक छपाई तथा समयमा नै वितरण, शिक्षक तालिम, अनुगमन जस्ता विषयहरुमा सरोकारवाला निकायले आफ्नाे जिम्मेवारीपूर्ण रुपले निर्वाह गर्नु नै पर्ने हुन्छ । त्यसै गरेर परीक्षाको समयदेखि नतिजा प्रकाशनसम्मको प्रक्रियाहरु (फारम भर्ने, आन्तरिक नम्बर प्राप्त गर्ने, परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष बनाउने, प्रश्न प्रश्नको निर्माण गर्ने, मर्यादित परीक्षा सञ्चालन, उत्तरपुस्तिकाको निरीक्षण र सुपरिवेक्षण तथा मार्कसिट तयार आदि) पनि गौण हुन भन्नु भूल हुनेछ । यी र यस्ता विषयहरुमा सरोकारवाला व्यक्ति तथा निकायहरु जिम्मेवार हुनु नै पर्दछ ।
अन्तमाः आगामी विईई र एसईई परीक्षापूर्वको तयारीमा कुनै चासो नदेखाउने, परीक्षा परीक्षार्थीको मात्र ठान्ने, नतिजा कमजोर आएपछि पछुताउने र त्यसको लेखाजोखा गर्दै एकले अर्कोलाई दोष मात्र लगाउनुको कुनै अर्थ नरहने हुनाले परीक्षापूर्व नै सरोकारवाला व्यक्ति तथा निकायहरुले आ–आफ्नाे जिम्मेवारी राम्रोसँग निर्वाह गरौँ । नतिजामा सुधार आउने नै छ । अन्यथा प्रत्येक वर्षको एसईई नतिजा पछि सञ्चार माध्यममा नतिजा बिग्रनुको कारण बारे प्रमुख समाचार बनिरहनेछन् र आइनै रहनेछन् ।
शरणकुमार अर्याल
शरणकुमार अर्याल शिक्षाविद हुन् । शैक्षिक जगतलाई नजिकबाट केलाएका उनी विद्यालय व्यवस्थापनमा पनि संलग्न छन् ।
लेखकबाट थपठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार