अस्ताए नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १८:५५:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/himalayan-samsher-rana-first-governor-of-nepal-6-mk-1024x521-1_0ezPNopt31.jpg)
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाको निधन भएको छ । उनको आइतबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो । उमेरकोअन्तिम समयसम्म सक्रिय जीवन बिताएका हिमालयशमशेर राणाकाल, २००७ को क्रान्तिपछि हुर्किँदै गरेको प्रजान्तन्त्रको संघर्षदेखि पञ्चायतको अँध्यारो र त्यसपछिका कैयन् महत्वपूर्ण राजनीतिक आरोह अवरोहको साक्षीसमेत थिए । पहिलो गर्भनरदेखि पहिलो अर्थसचिव भएका राणाले नेपाली अर्थतन्त्रको जग बसाल्न आर्थिक र नीतिगत कामको सुरूआत पनि गरेका थिए ।
१९८४ सालमा थापाथली दरबारमा जन्मेका राणा प्रधानमन्त्री देवशमशेरका पनाती हिमालयले २००४ सालमा बम्बई विश्वविद्यालयको स्कुल अफ इकोनोमिक्स एन्ड सोसियोलोजीबाट एमए सकेका थिए । भारतमा बस्दा अनेकन् राजनीतिक क्रान्ति र परिवर्तन देखेका उनी त्यहीँ छँदै सुवर्णशमशेर राणा र बीपीसँग नजिकिएका थिए । यही संगतबाट भूमिगत रुपमै प्रजातन्त्र स्थापनाको राजनीतिमा होमिएका हिमालय नेपाल फर्केपछि पनि जहाँनिया राणा शासन हटाउने क्रान्तिमा सक्रिय भएका थिए ।
२००७ सालको परिवर्तनपछि सुवर्णशमशेरले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि उनी अर्थ सचिवमा नियुक्त भएका थिए । उक्त समयमा अर्थमन्त्रीले त्यतिबेला बम्बईबाट पढेर फर्केका हिमालयशमशेर, परीक्षित नरसिंह राणा, विराटनगरका लिलाप्रसाद लोहनी र असनका लाल साहुका छोरा कृष्णराज राजभण्डारीलाई मन्त्रालयमा भर्ती गरेका थिए । अर्थमन्त्रालयको बालुवाटारस्थित ललिता निवासबाट जागिर सुरु गरेका हिमालयले डेढ महिनापछि अर्थ सचिवमा नियुक्त भएका थिए ।
२३ वर्षको उमेरमा २००७ फागुनबाट तलब र भत्ता गरेर मासिक ५ सय ८३ रुपैयाँ बुझ्ने गरी अर्थसचिवको यात्रा सुरु गरेका हिमालयले आफ्नो कार्यकालमा अर्थतन्त्रलाई निश्चित आकार दिने काम मात्रै गरेनन्, महत्वपूर्ण आर्थिक र प्रशासनिक सुधारका कामहरु पनि गरे । अर्थसचिव भएको अढाई वर्षसम्म काका केन्द्रशमशेरको बेलायती कम्पनी बीएसए ब्रान्डको २ नम्बर भएको मोटरसाइकल चढेर अर्थ मन्त्रालय धाएका हिमालयले परम्परागत अर्थ संरचनामा आमूल परिवर्तन गर्ने जोखिम उठाएका थिए । अर्थसचिव भएलगत्तै उनले मन्त्रालयमा मालपोत विभाग, राजस्व विभाग, खर्च विभाग, बजेट विभाग र आर्थिक मामिला विभाग गठन गरेका थिए ।
आम्दानी र खर्चको दुरुस्त हिसाबको अभावमा अर्थतन्त्रको आकार कत्रो छ भन्ने पनि थाहा नभएको समयमा हिमालयले पहिलो बजेट ल्याउने जिम्मेवारी उठाएका थिए । करिब चार महिना लगाएर देशभरका माल अड्डा र कौषितोषखानाबाट अर्थतन्त्रका सूचकांकहरू जम्मा पारेर उनले पहिलो बजेटको ड्राफ्ट तयार पारेका थिए । जसलाई २००८ माघ १९ गते अर्थमन्त्री सुवर्णशमशेरले रेडियो नेपालबाट पढेर सुनाएका थिए ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हिमालयले पहिलोपटक आर्थिक नियमावली बनाएका थिए । त्यसका निम्ति उनले अर्थमन्त्री सुवर्णको सहयोग लिएका थिए । भारतको पश्चिम बंगालका मुख्यमन्त्री विधानचन्द्र रोयसँग सुमधुर सम्बन्ध भएकैले सुवर्णले पश्चिम बंगालका अवकाशप्राप्त सहसचिव मुकरर्जी साहेबलाई नेपाल झिकाएर हिमालयसँग मिलेर आर्थिक नियमावली बनाउन सहयोग लिएका थिए । राजपरिवारको खान्की तोक्नेदेखि कर्मचारीको तलब निर्धारण र २००८ मा पार्टीको नीतिअनुसार देशभरिका मोहीको लगत लिनेजस्ता महत्त्वपूर्ण काम पनि हिमालयले सुरुआती वर्षमै गरेका थिए ।
अर्थसचिवबाट जगेडामा राखिएका हिमालयलाई सरकारले राष्ट्र बैंक खोल्ने योजनाअनुसार अफिसर अन स्पेसल ड्युटीको जिम्मेवारी थमाएको थियो । सुरुका एक महिना नेपाल राष्ट्र बैंक स्थापना गर्नका निम्ति आवश्यक ऐनको तर्जुमा गरेका हिमालय विसं २०१३ वैशाख १४ गते राजा महेन्द्रबाट राष्ट्र बैंकको समुद्घाटन गरेलगत्तै गर्भनरमा नियुक्त भएका थिए ।
गर्भनरका रुपमा पनि हिालयले महत्वपूर्ण जिम्मेवारीहरु निर्वाह गरेका थिए । नेपाललाई अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक सदस्य बनाउनेदेखि कमजोर सुरक्षा फिचर भएको परम्परागत नोटलाई आधुनिक शैलीको सेक्युरिटी फिचर भएको र नयाँ स्वरुपमा बेलायती कम्पनी डेलारुमार्फत छाप्ने काम पनि उनैको कार्यकालमा भएको थियो ।उनले गर्भनरका रुपमा रहँदा भारतीय मुद्रासँग नेपालको स्थितर सटहीदर कायम गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ५, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
फागुन ४, २०८१ आइतबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार