थप चर्कियो चिकित्सकमाथि लाठीचार्ज प्रकरण, काठमाडौं प्रहरी प्रमुखमाथि कारवाहीको माग
नेपालबहस संवाददाता
माघ २८, २०७९ शनिबार १९:४२:१०
२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टर माथि लाठीचार्ज गर्ने सामान्य प्रहरीलाई मात्र निलम्बित गरिएपछि चिकित्सक कुटाई घटनाले नयाँ मोड लिएको छ । ड्यूटीमा खटिने प्रहरीभन्दा खटाउने व्यक्ति दाषी हुने भन्दै काठमाडौं प्रहरी प्रमुखमाथि नै कारवाही हुनुपर्ने माग उठेको छ । शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठीचार्ज गर्ने प्रहरीलाई निलम्बित गरिएपनि यस घटनाको मुख्य दोषी काठमाडौं प्रहरी प्रमुख नै भएको चिकित्सकहरुले बताएका छन् । काठमाडौं प्रहरी प्रमुखमा अहिले दानबहादुर कार्की रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलले केहीबेर अघि नेपालबहसलाई जानकारी दिएका थिए । तर, यतिले मात्रै यो घटना साम्य हुने अवस्था देखिएको छैन । प्रहरी नै लुटेरा भएको भन्दै अहिले सर्वत्र विरोध भइरहेको छ । राष्ट्रपति भण्डारीको सवारीका क्रममा वीर अस्पतालबाट ट्रमा सेन्टरमा विरामीको शल्यक्रिया सकेर निस्किएका चिकित्सकमाथि प्रहरीले कुटपिट गरी उनको साथमा भएका माेवाइल, पर्सलगायतका सामानसमेत लुटेको घटनालाई लिएर देशभर विरोध भइरहेको छ । यतिबेला सामाजिक सञ्जाल र राजनीतिक दलका नेताहरुले प्रहरी प्रशासनको गैरजिम्मेवारपूर्ण व्यवहारबाट आतंक फैलिएको भन्दै चर्को विरोध गरिरहेका छन् ।
निलम्बित हवल्दार गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको थियो । शुक्रबार अपराह्नदेखि बीर अस्पताल र ट्रमा सेन्टरको सेवा पनि प्रभावित भइरहेको छ । नागरिक समाजका अगुवा र विभिन्न दलका नेताहरुले चिकित्सकमाथि हातपात गर्ने प्रहरी र काठमाडौं प्रहरी प्रमुखमाथि कारवाहीको माग गरेका छन् ।
काठमाडौंका प्रहरी प्रमुख कार्कीले भने यसबारे जवाफ दिएका छैनन् । राष्ट्रपतिको सवारीमा सवारी व्यवस्था मिलाउने जिम्मा काठमाडौं प्रहरी प्रमुखको भएको भन्दै उनीमाथि तत्काल कारवाही गर्नुपर्ने आवाज सामाजिक सञ्जालभरी उठेको छ । नेपालबहससँगको कुराकानीमा ट्रमा सेन्टरका वरिष्ठ सर्जन डा. जनितलाल सिंहले शल्यक्रियाका लागि नजिकैको एक भवनबाट अर्को भवनमा जान लागेको कारणसहित आफु चिकित्सक भएको परिचयपत्र देखाउँदा पनि प्रहरीले लाठी प्रहार गर्दै लछारपछार गरेको र आफुसँग भएको पर्स, पैसा, घडी र औँठीसमेत लुटेर लगेको बताए ।
उनको पर्स र पैसासमेत लुटिएको भन्दै सामाजिक सञ्जालमा काठमाडौं प्रहरी प्रमख कार्कीले मातहतका प्रहरीलाई लुटपाटमा खटाएको भन्दै विरोध भइरहेको छ । चिकित्सकहरुले काठमाडौंका प्रहरी प्रमुख कार्कीसहित यो घटनामा राष्ट्रपति भण्डारीले पनि प्रहरीबाट कुटिएका चिकित्सकसँग लिखित माफी माग्नु पर्ने माग सर्वत्र उठेको छ । संसदलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपतिकाे सवारीका क्रममा भएको यो घटनालाई आइतबारदेखि सांसदहरुले प्रतिनिधिसभामा नै लाने भएका छन् । उनीहरुले प्रतिनिधिसभाबाट काठमाडौं प्रहरी प्रमुखमाथि कारवाहीको माग गर्ने बताएका छन् ।
केही समय अघि प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा झण्डै भीभीआईपी सवारीमा रहेका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री दुर्घटनामा पर्नबाट बाल बाल जोगिनुमा काठमाडौं प्रहरीको चरम सुरक्षा लापरवाही देखिएको हो र अहिले राष्ट्रपतिको सवारीमा डाक्टर कुटिनुमा काठमाडौंको सुरक्षा जिम्मा लिने प्रहरी प्रमुखको कमाण्ड कन्ट्रोलमा गम्भीर कमजोरी रहेका एक पूर्व डीआईजीले नेपालबहसलाई बताए । काठमाडौं जस्तो संघीय राजधानी रहेको जिल्लाको प्रहरी प्रमुखले सुरक्षा समन्वय र अटनखटन गर्न नजान्नुले यस्तो अवस्था बारम्बार आउनसक्ने उनको तर्क छ ।
नेपाली कांग्रेसका एक सांसदले भने, ‘यो राजा महाराजाको भन्दा पनि ठूलो रवाफ देखाउने कुरा भयो । काठमाडौंमा चिकित्सक जस्ताे पेशामा भएको र सर्जनका लागि हिँडेको व्यक्तिमााथि आक्रमण गर्नु सामान्य विषय होइन । यो किन र कसरी भयो त्यसको जवाफ प्रहरी प्रशासनले दिनुपर्छ, हामी संसदमा देशभरीका जनतालाई प्रहरी नेतृत्वको व्यवहारबारे जानकारी गराउने छौं ।’ यस्तै सांसद एवं राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानेन्द्र शाहीले विज्ञप्ति नै जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका छन् ।
उनले भनेका छन् ‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु । ‘साथै सम्माननीय राष्ट्रपतिले यो विषयमा चिकित्सकसँग माफी माग्न हार्दिक अनुरोध गर्दछु ।’ प्रहरी प्रमुखले पनि यो घटनाको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । प्रहरी जवानलाई कारवाही गरिएपनि प्रमुखमाथि नै कारवाहीको माग राखेर अहिले पनि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका आवासीय चिकित्सकहरूले आंशिक रूपमा सेवा प्रवाहमा अवरोध गरिरहेका छन् ।
नेपाल चिकित्सक संघले पनि काठमाडौं प्रहरी प्रमुखले यो घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै राष्ट्रपतिले माफी नमागे देशभरका स्वास्थ्य संस्था प्रभावित हुनसक्ने चेतावनी दिएको छ । यस्तै ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले पनि विशिष्ट व्यक्तिको सवारीमा जनताले दुःख पाउने, डाक्टर कुटिनु निन्दनीय काम भएको बताउँदै दोषी माथि कारवाहीको माग गरेका छन् । उनले गर्नेभन्दा गराउने जिम्मेवार हुने भन्दै राष्ट्रपति र काठमाडौंका प्रहरी प्रमुखले घटनाबारे जानकारी दिएर माफी माग्नुपर्ने बताए ।
उनले भनेका छन्, ‘जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक हक, यो या त्यो बहानामा संकुुचित हुन हुँदैन । विशिष्टको सुरक्षा प्रत्याभूत गर्ने गराउने क्रममा जनताले दुःख पाउनु व्यवस्थापकीय कमजोरी हो । प्रशासनले बिनाकारण त के, कारणनै भए पनि जनताको आत्मसम्मानमा ठेस पुर्याउने भौतिक कारबाही गर्नु हुँदैन । सुरक्षा निकायले सबै तह र तप्कामा यो संवेदनशीलता पुर्याउन जरुरी छ । डाक्टर साहब कुटिनु, निन्दनीय काम हो, दोषीलाई कारबाही र नसिहत दिँदै अब उपरान्त यस्तो घटना हुन नदिन सबै पक्षलाई अनुरोध गर्दछु ।’
राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहले भनेका छन्, ‘फिल्मी स्टाइलमा कठालो समातियो र हान्न थाल्यो । देब्रे पट्टी, दाहिने पट्टी हानेपछि मैले समात्न खोजें । उम्किएर झन् टाउकोमै हान्यो । टाउकोमा नै हानेपछि मरुला झैं लाग्यो । प्रतिकार गरें । मैले पनि एक किक हानें । टाउकोमा नै हानेपछि मैले प्रतिकार गर्नुको विकल्प नै थिएन । उसले पुलिसलाई हात हाल्ने भन्दै मान्छे बोलायो ।भ्यानमा लैजाने कुरा गर्न थाले । प्रत्यक्षदर्शीहरुले पुलिसको गल्ती हो, हामीले देखेका छौं, हामी बोल्छौं भनेपछि प्रहरी पनि आत्तियो । त्यही ठाउँमा एक जना डाक्टर साथी आउनुभयो । त्यसपछि प्रहरी जवान भाग्यो ।
राष्ट्रपतिको सवारी भनेर टाउकोमा नै हान्नुपर्ने केही थिएन । मलाई टाउको मै प्रहार गरेपछि सिध्याउने नै हो कि जस्तो डर भयो । आँखामाथि कन्चटको भाग पुरै सुन्निएको छ । टाउको दुख्ने र वान्ता हुने भयो । साथीहरुले अब्जरबेसनमा आईसीयूमा बस् भन्नुभएको छ । टाउकोमा चोट लागेको छ भने यसरी बस्नुपर्ने प्राेटोकल नै हो । मैले व्यक्तिगत रुपमा धेरै दोषरोपाण त गर्न मिल्दैन । तर, प्रहरी जवानहरुलाई खटाउने संयन्त्रले कसरी बोल्ने ? कस्तो व्यवहार गर्ने ? केही परे पनि कहाँ हान्ने-कहाँ हान्न हुन्न भन्ने कुरा त सिकाउनुपर्याे ! अनुशासन र बोली व्यवहार सिकाउनुपर्यो । खटिने भनदा खटाउनेमाथि कारवाही हुनुपर्यो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार