ढल्दा पिल्लरः एकातिर दलालीकरण अर्कातिर समाजवाद उन्मुख अर्थतन्त्र ?
भेषराज पोखरेल
फागुन ९, २०७९ मंगलबार १२:३५:३८
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार भएको बताएका छन् । देशका समग्र राज्यसंयन्त्रमा चरम दलालीकरण चलिरहेको समयमा समाजवाद उन्मुख अर्थतन्त्रको कल्पना गर्न सकिएला ? हुन त माओवादी क्रान्तिकारी कम्युनिष्ट पार्टी भनिँदै आएको र त्यसका अध्यक्षले क्रान्तिकारी कदम चाले भने सम्भव हुने हो कि ?
देशको अर्थतन्त्र ओरालो लागिरहेको छ । पछिलो समय रेमिट्यान्समा बृद्धि हुँदा विदेशी मुद्राको सञ्चिति केही बढेर गएको र बैंकहरुमा जम्मा हुने निक्षेपमा केही बृद्धि भएकाले अर्थतन्त्र ध्वस्त नै त नहोला कि भन्ने आशा पलाएको छ । सरकार यसैमा ढुक्क देखिन्छ । समाजवाद उन्मुख अर्थतन्त्रका आधारस्तम्भ मानिएका सहकारी जनताको धन कुम्ल्याएर धमाधाम बन्द हुँदैछन् । विपन्न जनताका लागि बिनाधितो स-सानो ऋण दिने लघुवित्त संस्थाहरुले चर्को ब्याज र अन्य प्रक्रिया अपनाएर जनतालाई उठिवास लगाइरहेका छन् ।
चलेका ऋण सहकारीको ठगीप्रति सरकारी संयन्त्रले बेवास्ता गरेको छ । त्यस्तै, सहकारी र लघुवित्तले विपन्न जनता फसाएर कमाउने धन्धा चलाइरहे पनि सरकारबाट बेवास्ता हुनु देशमा चलिरहेको दलालीकरण मुख्य कारक भएको स्पष्ट भएको छ । यस्तो अवस्थामा दलालीको जालो नताडेसम्म समाजवाद उन्मुख अर्थतन्त्र कहाँबाट होला ? प्रश्न तेर्सिएको छ ।
देशमा चलिरहेको दलालीकरणका कारण नेपालको विकास उठ्न नसक्ने अवस्थामा पुगेको छ । दलालीकरणबाट नै पहुँचवाला सांसद, मन्त्रीहरुको क्षेत्रमा ठूलो बजेट पारिँदै आयो । गुणस्तरलाई वास्ता नगर्ने र बजेट सक्ने प्रयास गरियो । दलहरुको राजनीति दलालीकरणको जालोसँग जोडिनाले राष्ट्रिय स्तर वा प्रदेश स्तरका महत्वपूर्ण आयोजना दलाल ठेकेदारले लिन सफल भइरहेकै छन् । उद्योग क्षेत्रमा दलालीकरणका कारण मन्त्रीहरुका आँखामा पर्ने र नपर्ने दुई खेमामा विभाजित छन् । पहुँचवालाले ल्याउने तयारी सामग्री वा कच्चा पदार्थमा सहुलियत पाएकै छन् । शासकको कृपा नपाउनेहरु दिनदिनै धराशायी बन्दै छन् ।
एकातिर अर्थतन्त्रको बाह्य पक्ष सुधार्न केही वस्तु आयात र प्रतितपत्र खोल्न कडाइ गरियो अर्कातिर मनोमानी गर्न छुट दिइयो । ठूलो मात्रामा अवैध बाटोबाट सामग्री भित्रियो, जसले गर्दा ठूलो मात्रामा भन्सार राजश्व घटेर गयो । दलालीको जालोमा रमाएका दलका मन्त्री बन्ने नेताहरुको व्यापारीसँग साँठगाँठ भएरै यस्तो भएको हो । यस्तो अवस्थालाई आमूल परिवर्तन गरेर अर्थतन्त्र समाजवाद उन्मुख दिशामा लैजाने हिम्मत दाहालमा छ ? या बजेटको आकार घटाएर, राजश्वकाे लक्ष्य घटाएर सुधार गर्न सकिएला भन्ने मान्यतामा छन् ?
नेपालका कम्युनिष्ट नेताहरुले भाषणमा सहकारीलाई साजवादी अर्थतन्त्रको मेरुदण्ड नै माने । विपन्न जनताको जीवनस्तर उठाउन यो सबैभन्दा उपयुक्त उपाय बताए । समाजवाद उन्मुख अर्थतन्त्र संविधानमा लेख्न बल गरे । तिनै सहकारी पछिल्लो समय जनताको बचत दुरूपयोग गरेर धमाधम बन्द हुँदैछन् । तिनै दलको सहयोग र संरक्षणमा दलालीकरणकै कारण मनोमानी रुपमा सञ्चालकहरुले आफन्तका कम्पनी तथा व्यवसायमा लगानी गरे ।
सहकारीलाई समाजवाद उन्मुख अर्थतन्त्रको महत्वपूर्ण अंग मानिएको हो भने त्यसको प्रभावकारी नियमन हुनु पर्दैन ? विपन्न तथा मध्यम वर्गका जनताको रकम ठगेर भाग्ने सहकारी सञ्चालकलाई समाएर उनीहरुको सम्पत्तिबाट असुल गरेर पीडित जनतालाई दिनुपर्ने राज्यको दायित्व हो । सरकारी संयन्त्रकाट सहकारीको ठगीका घटनालाई लामो समयसम्म वास्ता गरिँदैन । सहकारीबाट ठगिने ठूलो जनसंख्याको क्रयशक्ति घटेको छ । यसले अर्थतन्त्रलाई कसरी सक्रिय बनाउला ? निश्चित व्यक्तिले ठूलो नाफा गर्ने लोभमा निष्क्रिय क्षेत्रमा गरेको लगानीले अर्थतन्त्रलाई नै अपांग बनाउने प्रयास गदैछ । यसले गरिबी झन् बढाउँदै छ ।
सरकारी तथ्यांक अनुसार देशभर ३२ हजार सहकारी छन् । ती सहकारीले सर्वसाधारण जनताको करिब ७ खर्ब रुपैयाँ परिचालन गरेको तथ्यांक छ । काठमाडौं महानगरभित्र १ हजार ६ सय बचत तथा ऋण सहकारी छन् । तीमध्ये १ सय २५ ले जनताको रकम दिन सकेका छैनन् । सहकारीले आफन्त र पहुँचको आधारमा लगानी गरेकाले उनीहरुले लिएको धितो कमजोर छ । लगानी निष्क्रिय क्षेत्रमा बढी छ ।
एकातिर कमजोर आर्थिक अवस्था भएका जनताको रकम दिन नसक्दा जनताको क्रयशक्ति घटाएर अर्थतन्त्र मन्दीको दिशामा जाँदैछ, अर्कातिर त्यही मन्दीका कारण ऋण सहकारीको कतिपय लगानी उठ्न पनि कठिन हुँदै गएको छ । निश्चित क्षेत्रका समान पेशा, व्यवसाय र उद्देश्यका व्यक्ति मिलेर साझा हितका लागि काम गर्ने संगठन बनाइने हो सहकारी । यस्तो विशेष उद्देश्य पूर्तिका लागि खोलिने सहकारी जनताको बचत जम्मा गरेर आफ्नो व्यक्तिगत हितमा मनलाग्दी लगानी गर्ने दलालको हातमा परेपछि जनताको उत्थान हुने कुरै भएन ।
अर्थतन्त्रका कुनै पनि क्षेत्रलाई लगामविहीन छाड्नु भनेको कि सरकार सञ्चालकहरुले त्यसको काम र स्वभाव नबुझ्नु हो या त्यसमा निश्चित निहित उद्देश्य जोडिनु हो । अर्थात् त्यही दलालीकरणका माध्यमबाट ठूलै लाभ लिने बाटो बनाइएको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा राजनीतिमा फस्टाएको दलालीकरणले अर्थतन्त्रका विभिन्न पाटालाई गम्भीर प्रभाव पार्दै लगेको छ ।
पछिल्लो समय लघुवित्तहरु पनि जनताका लागि त्यस्तै दुःखको कारक बन्न गएका छन् । गाउँगाउँमा खुलेका लघुवित्तसम्बन्धी कारोबार गर्ने संस्थाले सर्वसाधारणलाई सहयोग गर्ने प्रलोभन देखाउने र अति महँगो ब्याजमा ऋण दिने गर्दै आएका छन् । सोझासादा जनताले ब्याज र किस्ता तिरे पनि लघुवित्तका कर्मचारीहरुले विभिन्न नाममा ऋणको रकमबढाउने गरेका समाचार आएका छन् । यसले पनि ग्रामीण जनताको जीवनस्तरमै गम्भीर प्रभाव पार्न थालेको छ । सरकारबाट हुनुपर्ने लघुवित्तको अनुगमन पनि अत्यन्तै कमजोर छ ।
यस्ता अनेकौं भंगालाबीच सरकारले अर्थतन्त्र सुधार गर्न दह्रो नीति अलम्बन गर्न सक्ला त ? यही अवस्थामा प्रधानमन्त्रीले अर्थतन्त्र सुधार्छु भनेर बोल्नु त राम्रो हो तर सामान्य टालटुले नीतिले न उद्योग क्षेत्र सुधारिन सक्छ, न बजेट खर्च गर्नसक्ने अवस्था बनाउन सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले सरकार सञ्चालकहरुले वास्तविक समस्याको पहिचान गर्न सक्नुपर्यो । सरकार हाँक्ने र गठबन्धनका शीर्षनेताहरु इमान्दार हुनुपर्छ । अर्को, देशको शासन संगन्त्रमै रहेको दलालीकरणलाई निर्मम प्रहार गर्ने हिम्मत हुनुपर्छ । अहिलेको तरल राजनीतिका कारण अस्थिर मानसिकतामा रहेका प्रधानमन्त्री तथा गठबन्धन दलका शीर्ष नेतृत्वले कुनै विशेष नीति ल्याएर समाजवाद उन्मुख आधाशिला खडा गर्न त्यति सजिलो छैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौ+का यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार