द्वन्द्वकालमा छोरालाई बेपत्ता पारेको भन्दै सेनाका सुवेदारविरूद्ध प्रहरीमा जाहेरी
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार २२:५३:३०
२९ फागुन, पोखरा । तत्कालीन नेकपा (माओवादी)ले चलाएको द्वन्द्वकालमा तत्काली शाही सेनाले आफ्नो छोरा बेपत्ता पारेको भन्दै पोखरा–३० का अणनाथ बरालले प्रहरीमा सेनाविरूद्ध जाहेरी दिएका छन् ।
बरालले तत्कालीन शाही सेनाको फूल बारी ब्यारेकका सुबेदार कृष्णबहादुर गुरूङविरूद्ध सोमबार जाहेरी दरखास्त दिएका हुन् । गुरूङको कमाण्डमा सादा पोशाकमा रहेका सेनाको टोलीले बरालका छोरा नेत्रप्रसाद बराललाई पक्राउ गरी लगेदेखि नै बेपत्ता रहेको जाहेरीमा उल्लेख छ ।
उनले कास्कीको तत्कालीन भरतपोखरी गाविस–७ डाँडागाउँमा जन्तरे भन्ने साथीको घरबाट सेनाले २०६० कात्तिक १९ गते बिहान ५ बजे नेत्रप्रसादसहित ४ जनालाई गुरूङ नेतृत्वको सेनाले गैरकानूनी पक्राउ गरी ब्यारेकमा राखेर चरम यातना र बलपूर्वक बेपत्ता पारेको दाबी गरेका छन् । पक्राउपछि ब्यारेकमा सेनाले छोरासँग भेट गर्न समेत नदिई बन्धक बनाई हालसम्म बेपत्ता पारेको उनको दाबी छ ।
पक्राउ परेपछि नेत्रप्रसादले बुबालाई चिठी पठाएर आफूलाई आँखामा पट्टी बाँधेर हातमा हत्कडी लगाएर राखेको, मानव अधिकारकर्मीहरु आउँदा लुकाउने गरेको व्यहोरा उल्लेख रहेको जाहेरीमा उल्लेख गरेका छन् । उनले छोरा बेपत्ताबारे २०६२ असो १ मा राष्ट्रिय मानव अधिकार आयोगमा पनि निवेदन दर्ता गरेका थिए ।
बरालले छोरा बेपत्ता पार्ने कामको नेतृत्व गर्ने गुरु«ङलाई राज्यको नियमित फौजदारी कानून अनुसार दोषीलाई पक्राउ गरी अनुसन्धान तथा कानुनबमोजिम अदालतमा मुद्दा चलाउन माग गरेका छन् । उनले मुलुकी अपराध संहिता, संयुक्त राष्ट्र संघको मानव अधिकार घोषणा पत्र र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनका आधारमा छोरालाई बेपत्ता पार्नेलाई कारबाही गरी बेपत्ता व्यक्तिको अवस्थासार्वजनिक गर्न उनले माग गरेका छन् ।
द्वन्द्वकालमा सेनाले छोरा बेपत्ता पारेको विषयमा यसअघि प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन । सरकारी वकिलको कार्यालयमा पुग्दा समेत उनीहरुले साथ पाएनन् । पछि उच्च अदालत पोखरामा २०७८ मंसिर २७ गते रिट निवेदन दिएका थिए । उच्च अदालतले २०७९ मंसिर १३ गते जाहेरी दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आदेश दिएको थियो । सोही आदेशका आधारमा जाहेरी दर्ता गरिएको हो ।
द्वन्द्वकालमै आफ्नो श्रीमान सेनाले पक्राउ गरी बेपत्ता पारेको जनाउँदै आरती शर्माले पनि दोषीविरुद्ध जाहेरी दर्ताको आदेश माग गरेको रिट उच्चमा छ । रिट फैसला प्रमाणीकरण भएपछि उनले पनि श्रीमान बेपत्ता पार्ने सैनिक अधिकृतविरूद्ध प्रहरीमा जाहेरी दिने तयारीमा छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार