बालेन शाहले देखेका वेलायती सडक र बालीको बगैंचा
विनोद त्रिपाठी
चैत ९, २०७९ बिहिबार १९:१५:२५
९ चैत, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले इण्डोनेसिया र बेलायत भ्रमण गरेका छन् । उनले पुसको तेस्रो साता इण्डोनेसिया र चैतको पहिलो साता बेलायत भ्रमण गरे । प्रतिनिधित्वको हिसाबले यी दुवै देशका शहरले संसारभरका सबै नगरलाई समेट्छ । पश्चिमा मुलुकहरुको सबै चिनारी बेलायत र एशियाको अधिकांश जानकारी इण्डोनेसियामा भेटिन्छ ।
बिश्वमा हामी नेपाली धेरै भ्रमण गर्ने मध्येमा पर्छौं । संसारका सबै देशमा नेपाली बस्छन् । काम, व्यवसाय, अध्ययन र अवलोकनका हिसाबले हामी नपुगेको स्थान सायदै होला ! यो पंक्तिकारले पनि केही मुलुकको भ्रमण गरेको छ । त्यस हिसाबले पंक्तिकारले बेला बेलामा विभिन्न मुलुकको उदाहरण दिएर नेपालका बारेमा लेखन र अभिव्यक्ति दिने प्रयास गर्दै आएको छ । प्रतिस्पर्धाको हिसाबले नभई, सिकाइका आधारमा हामी र अन्य देशबीचको भिन्नता के छ त भन्ने हामीले बुझ्न जरुरी छ । के हामी ती देशमा गएर केही राम्रा कुराहरु सिकेर फर्कन्छौं त ? सबै नेपालीले अन्यथा नलिनुहोला, अंह हामी केही गतिलो सिक्दैनौं । मात्र हामी रमझममै अल्झिन्छौं । अनि, यहीका खिचातानीमा होमिन्छौं ।
गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए) को केन्द्रीय कार्यालय काठमाडौं मै छ । यो संस्थामा आबद्ध विकसित, कम विकसित मुलुकमा बस्ने नेपाली नेपाल आउजाउ गरिरहन्छन् । हरेक महिना सरकारी खर्चमा विभिन्न व्यक्ति कयौं देश जान्छन् । सरकारी कर्मचारीदेखि मन्त्री, प्रधानमन्त्री, सांसद र नेताहरु विभिन्न देश घुमिरहन्छन् । तर, कुनै एकजनाले कुनै देशको ढल यसरी निर्माण गरिंदोरहेछ, ल्याण्डफिल्ड साइट यस्तो बनाउने रहेछन् भनेर कुनै जानकारी वा तस्विर सार्वजनिक गरेको छ ? अहं विल्कुल छैन । अझ अर्को कुरा भनौं, क्यानाडा वा अमेरिका जस्तो विकसित मुलुकमा कुनै एक नेपाली बस्छ । अनि नेपालकै राजनीतिमा आँखा चम्काउँदै यस्तो उस्तो भनेर अर्ति उपदेश दिन्छ ।
क्यानाडाको कुनै भागमा बसेको नेपालीले त्यहाँको विकासको मोडेल, त्यहाँको जनजीवन, सरसफाई वा सभ्यताका बिषय सबैलाई शेयर गर्ने हो भने केही न केही सिकाई त नेपालीले पाउने थिए नि । तर, एकजनाले पनि आजसम्म यस्ता प्रेरणाका स्रोत र अनुभवलाई नेपाली माझ साट्न खोजेनन् । बेलायत वा अष्ट्रेलिया अथवा जापान बसेको नेपालीले यसरी पनि टिकाउ र दीर्घकालीन सडक बनाउन सकिन्छ भनेर अध्ययन गरेर नेपाली माझ सार्वजनिक गर्ने हो भने सायद हाम्रा नीति, निर्माण, विकास र लगानीमा कति वदलाव आउने थियो होला । त्यसैले, हरेक नागरिकले मेरो कर्तव्य के हो भन्ने सोच विकास नभएसम्म मुलुकको विकास असंभव प्रायः छ ।
अब लागौं, काठमाडौंका मेयर बालेन साहले गर्न सक्ने काम । यी यस्ता काम हुन्, जुन काम गर्न कुनै लगानी चाहिंदैन । इच्छाशक्ति र जागरण भने आवश्यक छ । काठमाडौं महानगरले देखाएको बाटो उपत्यकाका सबै पालिका र देशभरका सबै स्थानीय निकायलाई पाठ बन्न सक्छ । यसै पनि देशको राजधानीमा भएको गतिविधिले सोझै देशभर प्रभाव पार्छ । त्यसैले, यो आलेखमा यस्ता सवालहरु उठान गर्ने प्रयास गरिएको छ, जुन कामहरु गर्न ठुलो बजेट चाहिंदैन । नियम, प्रणाली र जरिवानाको व्यवस्था गरिदिए पुग्छ ।
बालेन जी !
१, ध्वनी प्रदुषण नियन्त्रणः शहरको सौन्दर्यको मुख्य मापन शान्त वातावरण हो । दक्षिण एशियाका भारत, बंगलादेश र पाकिस्तान सबैभन्दा क्रेजी (कोलाहल) मुुलुक हुन् । त्यसको प्रभाव नेपालमा पनि परिरहेको छ । यो रोक्न स्वनियम जारी गर्नु अनिवार्य छ । शहरको मुख्य समस्या भनेको हर्नको आवाज हो । केही महिनाअघि हर्न निषेधका प्रयास भएका थिए । नयाँ बानेश्वर लगायतका आकाशे पुलमा ‘हर्न निषेध’ का पोष्टर टांसिएका थिए । अहिले ती पोष्टर छैनन् । उपत्यका ट्राफिक कार्यालयसँग समन्वय गरेर पुनः यो काम शुरु गर्नुपर्छ । बालेन जी, तपाईंले देख्नु भएकै होला, लण्डनको भीडमा कुनै हर्नको आवाज सुन्नुभयो ? भीड वा सवारी घनत्वकाबीच कडा नियम जारी गर्ने हो भने हर्न कसैले बजाउन आँट गर्दैन । हर्न बजाउनेलाई २५ हजारसम्मको जरिवाना तोक्ने शुरुवात गर्नुपर्छ ।
ध्वनी प्रदुषणः याे अर्को कारण छ, ठेलामा सामान राखेर हाते माइक प्रयोग गर्ने । नगर प्रहरीलाई खटाएर यो पुर्ण नियन्त्रण गर्नु अनिवार्य छ । अहिले जथाभावी घरघरमा कुकुर पालिएका छन् । यसले छिमेकीहरुलाई हैरान बनाएको छ । सडकका बेबारिसेदेखि घरघरमा पालिने कुकुर नियन्त्रण गर्न आवश्यक छ । हाम्रो बस्तीमा घरघर जोडिएका छन् । एउटा घरमा चम्चा खस्यो भने पनि छिमेकीलाई असर पर्छ । अर्को विकराल समस्या छ, जथाभावी खुलेका काठ मिल, वर्कशप, फलामे मिलहरु । यी सबैभन्दा खतरनाक ध्वनी प्रदुषण हुन् । यस्ता सबै वर्कशपहरु निश्चित स्थानमा मात्र संचालनको अनुमति दिनुपर्छ । बस्तीमा यस्ता शपहरुले कोलाहल निम्तिएको छ । पुराना घर पुननिर्माण, नयाँ घर निर्माण, सामान आयात निर्यात, विवाह पार्टी, सभा जुलुश, माइकिङ लगायतबाट निस्कने आवाज नियन्त्रण गर्न र यस्ता गतिविधिमा पुर्ण रोक लगाउन र निश्चित स्थान समयको प्रणाली बसाल्न अनिवार्य छ । बालेन जी, तपाईंले विकसित मुलुकमा देखेको र भोगेको अनुभव मात्र प्रयोग गर्नुभयो भने यी तमाम समस्या स्वतः हल हुनेछन् ।
२, अवान्छित गतिविधिमा पुर्ण रोकः अहिले काठमाडौं उपत्यकामा विकसित मुलुकका पर्यटक आएर घुम्न नसक्ने अवस्था छ । यसको उदाहरण हेर्न एकपटक स्वयम्भूमा एक घण्टा बिताए यो दृष्य सजिलै देखिन्छ । विदेशी पर्यटकलाई यहाँका उद्दण्ड युुवाहरु पछ्याएर हैरान बनाएका हुन्छन् । जर्वजस्ती पैसा माग्छन् । नेपालकै बेइज्जत हुनेगरि अहिले केही समयदेखि यता बिदेशी भ्लगरहरुले यस्ता कुरुप दृष्य प्रशारण गरिरहेका छन् । दोष ती भ्लगरहरुको होइन । गल्ति हाम्रो हो । ती भ्लगरले त झन नेपालकै प्रचार गर्न यहाँ आएका हुन् ।
हामीले नै हाम्रो वातावरण खराब बनाउँदा ती दृष्य संसारभर फैलिरहेका छन् । प्रहरीका वृत र प्रभाग अनि चाैकी लगायतका कार्यालयसँग समन्वय गरेर दिर्घकालीन रुपमा यस्ता गलत गतिविधि रोक्न आवश्यक छ । खासगरि, स्वयम्भू, पशुपति, दक्षिणकाली, बुढानिलकण्ठ, बसन्तपुर, ठमेल लगायतका क्षेत्रमा भारत र पाकिस्तानबाट आएका सडक व्यापारीहरुले भरिएका छन् । तेस्रो मुुलुकबाट आएका कयौं पर्यटकले यो नेपाल हो कि भारत हो भनेर झुक्किएका छन् । कयौं भारतीयहरु व्यापारीहरुले आफु नेपाली भएको परिचय दिएर नेपालको चिनारी नै समाप्त पारिरहेका छन् । यो सम्पुर्ण रुपमा रोक्न आवश्यक छ । काठमाडौं उपत्यकाको यही विकृतिका कारण अहिले अधिकांश तेस्रो मुलुकका पर्यटक सोझै पोखरा घुम्न जान्छन् । राजधानीको यो कुरुप दृष्य नहटाएसम्म विकसित मुलुकका पर्यटक यहाँ अडिंदैनन् ।
३, सडक वरपरका कुरुप दृष्य अन्त्यः बालेन जी, तपाईले शुरुमै शुरुवात गरेको ठेला व्यवस्थापनको काम र फुटपाथ व्यापार निषेध अभियान शतप्रतिशत सही थियो । मुलधारका केही मिडिया र कालाबजारी धन्दावालाका कारण तपाईको यो काममा बाधा पुगेको सबैले देखेकै छौं । नेपालमा राजनीतिक दलहरु, केही ठुला मिडिया र काला बजारिया बिचौलियाका कारण समाज निर्माण हुन सकेको छैन । यो दर्दनाक अबस्था आमजनताले देखेका छन् । तपाईं यी गलत तत्वको दवावबाट पछि नहटनुस । यी खराब तत्वले दशकौंदेखि नेपाल बन्न नदिएको जनताले बुझेका छन् । फुटपाथमा पसल थापेर र सडक किनारमा मकै पोलेर जनतामा कुनै समृद्ध आउँदैन भन्ने जागरण ल्याउन आवश्यक छ ।
यी सबैलाई व्यवस्थित गर्नु अनिवार्य छ । विकसित मुलुकमा जस्तो फराकिलो, सफा सडक छैन यहाँ । सडकमा खाना खाने त कुरै नगरौं, हिंड्न त मुस्किलको अबस्था छ । यस्तो फोहोर र धुलो भएको सडक र सार्वजनिक स्थानमा खाना विक्री गर्न पुर्ण रोक लगाउनुपर्छ । निश्चित स्थानमा अस्थायी व्यापार र जग्गाजमीन भएका नागरिकलाई घर फर्काउ अभियान शुरु गर्नुपर्छ । यसका लागि सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य आवश्यक छ । कुरुपको अर्को दृष्य छ, सडक वरीपरी झुत्रे पसल । सडक वरपरका घरहरु,पसलहरु र पुराना संरचनामा निश्चित रंगरोगन, डिजाइन लगायतका व्यवस्था अनिवार्य गर्नुपर्छ । तपाईंले देख्नुभएकै होला, इण्डोनेसियाका बाली टापुमा आर्कषक घरहरु निर्माण गरिएका छन् । यी घरहरु महंगा होइनन् । इण्डोनेसिया त्यस्तो धनी देश पनि होइन । तर, आज सौन्दर्यकै कारण बाली जस्ता टापुहरु पर्यटकका केन्द्र बनेका छन् ।
४, माइक्रो समस्याका समाधानः कतिपय समस्याहरुमा हाम्रा आँखा पर्देनन् । तर ती समस्याले हामीलाई बर्षौदेखि हैरान बनाएको छ । कोटेश्वरका चोकदेखि बिभिन्न बस स्टेशनमा भारतीय महिला, बालबालिका भीख मागिरहेका छन् । अहिले यो दृष्य डरलाग्दो गरि बढिरहेको छ । यी भारतीय महिलाहरु भीख माग्न कसरी आइपुगे यिनलाई उनीहरुकै देशमा फर्काउने बारेमा गृहमन्त्रालयसँग तुरुन्त समन्वय गरेर समाधान निकाल्नुपर्छ । यो समस्या अहिले झन तीव्ररुपमा बढिरहेको छ ।
अर्को समस्या छ, पानपराग र सुर्ति खाएर सडकमा जथाभावी थुक्नु । तपाइले देख्नुभएकै होला, बेलायत त्यस्तो देश हो, जहाँ करिब २५ प्रतिशत मानिस भारतीयहरु बस्छन् । तर, त्यहाँ कसैले सुर्तिसेवन, पानपराग बिक्री गर्न र सडकमा थुक्न पाउँदैनन् । सडकमा चुरोटका ठुटाहरु विस्कुन सुकाएर झैं एकैछिनमा देखिन्छन्, एकैछिनमा सफाचट पारिन्छ । यस्तो दृष्य सबै विकसित देशहरुमा देख्न सकिन्छ । गाँजा, चुरोट र मदिरा खुल्ला बिक्री गर्न पाउने नियम चाहिन्छ भने सुर्ति पानपराग बिक्रीमा प्रतिबन्ध लगाउनु अनिवार्य छ । यदि बंगलादेश र भारतका शहरको जस्तो कुरुप दृष्य हटाउने हो भने सुर्ति र पानपराग आयात रोक्न सरकारसँग पहल गर्न आवश्यक छ । अर्को समस्याको बिषय छ, सार्वजनिक शौचालय । तपाईंले शुरु गर्नुभएको सार्वजनिक शौचालय अभियान कहाँ पुग्यो ? अहिले काठमाडौंमा सार्वजनिक शौचालयको समस्या झन चर्किएको छ । पर्यटक बस लाग्ने सोह्खुट्टेमा बिहानै पुग्नुस, बालेन जी, त्यहाँ सार्वजनिक शौचालय नभएकोले कुन हैरानी छ, हेर्नुहोला । यस्ता दर्दनाक दृष्य उपत्यका भित्रका हरेक स्टेशनमा सजिलै देख्न सकिन्छ ।
५, बालेन जी, उपत्यकाका संसदीय निर्वाचन क्षेत्रमा नयाँ दलका नयाँ व्यक्ति सांसद बनेका छन् । शहरको सौन्दर्यका लागि काम गर्न यी सांसदहरुलाई घच्घच्याउनुस । केन्द्रीय सरकारसँग सहयोगका लागि यी सांसदको भुमिका महत्वपुर्ण हुनेछ । त्यति मात्र होइन, उपत्यका भित्रका सबै जिल्लाका पालिका प्रमुखहरु र अन्य जनप्रतिनिधिसँग निरन्तर परामर्श र सहकार्यको वातावरण निर्माण गर्नुस । राजधानी काठमाडौं राम्रो र सुन्दर भयो भने सबै पालिकाले सिक्न बाध्य हुनेछन् । कुनै पनि देशको राजधानी भनेको ढोका हो । जब ढोका नै कूरुप छ भने घरभित्रका बस्तुहरुले कुनै प्रभाव पार्दैन । बालेन जी, तपाईंले ढोका सुन्दर बनाउनुस । बाँकी रहेका कोठा, भित्ता, झ्याल, कुना र भर्याङ सबैले सुन्दर बनाउनेछन् ।
अन्य नेपाली जस्तै बिदेश गयो, घुम्यो, आयो अनि काजु चपायो नगर्नुस । ती देशहरुको राम्रा कामहरुको शिक्षा लिनुस । माथि उल्लेखित काम तत्काल गर्न कुनै बजेट चाहिंदैन । समन्वय, जागरण र जनचेतनाको मात्र आवश्यक छ । यो इच्छाशक्ति तपाईमै हुनुपर्छ । बालेन जी, तपाईंले, २०७४ साल बैशाख ३१ गते लेखेको फेसबुक स्टाटस सम्झनुस । ‘मैले आज भोट गरिन, म उम्मेदवार थिइन । मलाई देश बनाउन आउँछ । अर्कोपटक गर्छु र आँफैलाई भोट दिन्छु । म मेरो देशको विकास गर्छु । अरु कसैको भर लाग्दैन ।’ त्यो स्थानीय चुनावमा देखाएको प्रतिबद्धता अनुरुप पाँच बर्षपछि चुनाव जितेर जुन मैदान तपाईंले प्राप्त गर्नु भएको छ, त्यही बाचा नर्बिसिकन काम गर्नुस । उपत्यकाका मात्र होइन, देशभरका जनता तपाईंकै जयजयकार गर्नेछन् । यो एक ऐतिहासिक काम हुनेछ ।
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार