सुरक्षा निकायलाई सरकारको निर्देशन–‘हतियारसहित भेटिए गोली हान्नू’
इन्द्र रिजाल
फागुन ३०, २०७५ बिहिबार १६:५६:५४
काठमाडौं । सरकारले नेत्रबिक्रम चन्द विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै देशभर सुरक्षा सतर्कता बढाएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनि गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रजिअले भने ।
बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न निर्देशन छ । सुरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन भनिएको छ । एक डीएसपीका अनुसार हरेक जिल्लाका दुर्गम क्षेक्रमा सुरक्षा जनशत्ति बढाउने, गस्ती जारी राख्ने र विकास एवं सञ्चार संरचनाको सुरक्षामा विशेष सतर्कता राख्न निर्देशन छ । सामान्य कार्यकर्तालाई पनि पिछा गर्ने, बासस्थान निगरानी गर्ने र एक जिल्लादेखि अर्को छिर्ने सवारीमा समेत जाँच कडा पार्ने निर्देशन छ ।
स्रोतका अनुसार चन्द समूहका नेता–कार्यकर्तालाई पछ्याउने, तर्साउने र मनोवैज्ञानिक दबाबमार्फत वार्तामा ल्याउने सरकारको रणनीति पनि रहेकाले त्यसैअनुसारका गतिविधि गर्ने सुरक्षा निकायको आन्तरिक सर्कुलर छ । आन्तरिक सर्कुलरमा प्रहरीलाई एकजना मात्र बाहिर नहिँड्न, लामो गस्ती समूहमा हिँड्न, आफू जोगिएर फायर खोल्न भनिएको एक प्रहरी अधिकृतले बताए । प्रहरीका दुर्गमका सुरक्षा युनिटमा जनशक्ति बढाउनेदेखि आवश्यक परे सशस्त्र प्रहरीसँग पनि सहकार्य गर्न गृह मन्त्रालयको निर्देशन छ ।
रूपन्देहीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले ग्रामीण क्षेत्रका सुरक्षा युनिटलाई पनि आफैंमाथि हुनसक्ने आक्रमणका लागि तयारी अवस्थामा बस्न निर्देशन गरिएको बताए । ‘सबै निर्देशन र रणनीति तय गरिएको छ,’ उनले भने, ‘हामीले रातो बत्ती बालिसकेका छौं ।’ चन्द समूहका जिल्लास्थित सबै पार्टी कार्यालय, निवास एवं बासस्थान खाली भइसकेको प्रहरीले जनाएको छ । चन्द समूहविरुद्ध प्रहरीले प्रदेशभरि विभिन्न खालका अपरेसन सञ्चालन गर्न थालेको प्रदेश ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले बताए ।
‘सरकारले युद्ध घोषणा गर्यो’
सरकारले प्रतिबन्ध लगाएर शान्ति प्रक्रिया बिथोलेको चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले बताए । ‘सशस्त्र युद्धपछि सरकारले गरेको विस्तृत शान्ति सम्झौता अब भंग भयो,’ उनले भने, ‘सरकारले आफैं गृहयुद्ध घोषणा गरेको छ । सरकारको निर्णयलाई हामी खारेज गर्न चाहन्छौं । हामी आफैंले युद्ध गरेका छैनौं । सरकारले देश र जनतामाथि थोपरेको अन्यायपूर्ण युद्धको सशक्त प्रतिवाद गर्नेछौं ।’
‘सर्च एन्ड एरेस्ट अपरेशन’
कालीकोट– कालीकोटमा प्रहरीले चन्द समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेशन’ सुरु गरेको छ । सरकारले चन्द समूहको गतिविधि नियन्त्रण गर्ने निर्णय गरेलगत्तै कालीकोट प्रहरीले मंगलबार राती जिल्लाको माल्कोट, कोटवाडा, मुम्रा, फुकोट, रेगिंललगायत ठाउँमा सर्च गरेको थियो । प्रहरी टोली बुधबार बेलुकी पनि सर्चका लागि गाउँ खटिएको छ । ‘नेतालाई लक्ष्य गरेका छौं, सानातिनालाई तत्काल समात्दैनौं,’ डीएसपी विनोद शर्माले भने । उनले स्थानीय जनप्रतिनिधिले चन्द समूहका नेता–कार्यकर्तालाई लुकाउने गरेको आरोप पनि लगाए ।
कालीकोट चन्द समूहका प्रवक्ता खडगबहादुर विश्वकर्माको गृहजिल्ला हो । समूहका जिल्ला नेताहरूले मोबाइल अफ गरेका छन् । अपरेशनपछि चन्द समूहले एक वर्षदेखि निर्माण गरिरहेको खुलालु–लालु–माल्कोट १४ किमि सडकको काम छाडेर कतिपय नेता भागेको डीएसपी शर्माले जानकारी दिए । ‘एक दर्जन जिल्ला नेताविरुद्ध जिल्ला प्रहरीमा मुद्दा छ,’ उनले भने ।
चन्द समूहले एक वर्षअघि यहाँका ९ वटै स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनीसहित पत्र बुझाएको थियो भने भ्रष्टाचार आरोपमा कर्णाली रोजगार कार्यक्रमका इन्जिनियरलाई मोसो दलेको थियो । चन्द समूहले चन्दा आतंक चलाएको आरोप पनि छ ।
वडा कार्यालयमा विस्फोट
चितवन– भरतपुर महानगरपालिका–५ वडा कार्यालयमा मंगलबार राति विस्फोट भएको छ । विस्फोटमा संलग्न आशंकामा प्रहरीले चन्द समूहका कार्यकर्तासहित नौ जनालाई नियन्त्रणमा लिएको छ । सदरमुकामबाट ५ किलोमिटर दक्षिण–पश्चिम कैलाशनगरस्थित वडा कार्यालय भवनमा विस्फोट गराइएको हो । विस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।
चितवन प्रहरी प्रवक्ता डीएसपी दुर्गाराज रेग्मीले भने, ‘घटनालगत्तै शंकास्पद ६ जना पक्राउ परेका थिए, बुधबार दिउँसो थप तीन जना समातिए ।’ उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यास सिलिन्डर विस्फोट गराउँदा वडा कार्यालय भवनमा आगलागी भएर कागजपत्र जलेका छन् । विस्फोटपछि लागेको आगो दमकलले निभाएको थियो ।
निगरानीमा हरेक कार्यकर्ता
धनगढी– सुरक्षा निकायमा चन्द समूहको गतिविधिलाई नियन्त्रण गर्न उच्च सुरक्षा सतर्कता अपनाएको छ । प्रदेश र जिल्ला तहमा बसेका सुरक्षा समिति बैठकले चन्द समूहका सबै कार्यकर्तालाई निगरानी गर्ने र कुनै गतिविधिमा शंका लाग्नेबित्तिकै पक्राउ गर्ने निर्णय गरेका छन् । ‘जनपद, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी परिचालन गरिएको छ,’ एक सुरक्षा अधिकारीले भने, ‘सेनाले पनि आन्तरिक रूपमा निगरानी बढाएको छ ।’
सीमा नाका, ग्रामीण क्षेत्र, राजमार्गलगायत क्षेत्रमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ । सुरक्षा अधिकारीले सुदूरपश्चिममा २ सय बढीको संख्यामा युवादस्ता रहेको अनुमान गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले केही दिनअघि कृष्णपुर नगरपालिकास्थित अस्थायी क्रसर उद्योग र शुक्लाफाँटा नगरपालिकास्थित एनसेलको टावरमा आगजनी गर्नेहरूको पनि खोजी भइरहेको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार