कांग्रेस जिल्ला सभापतिहरु केन्द्रीय समितिको निर्णयविरुद्ध भेला गर्दै
इन्द्र रिजाल
चैत १०, २०७५ आइतबार १३:१७:३६
काठमाडौं । केन्द्रीय सदस्य सीधै महाधिवेशन प्रतिनिधि बन्ने पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध कांग्रेसका जिल्ला सभापतिहरूले भेला बोलाएका छन्।
सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले महासमिति बैठक समापन समारोहमा गरेको प्रतिबद्धता २१ फागुनको केन्द्रीय समिति बैठकले उल्ट्याएपछि असन्तुष्ट सभापतिहरूले २० र २१ चैतमा काठमाडौंमा भेला डाकेका हुन्।
२९ मंसिरदेखि ८ पुससम्म चलेको महासमिति बैठकमा अधिकांश जिल्ला सभापतिले केन्द्रीय नेताहरू पनि महाधिवेशन प्रतिनिधिका लागि बुथबाटै चुनिएर आउनुपर्ने आवाज उठाएका थिए।
उनीहरूले समानुपातिक चुनाव प्रणालीमा आरक्षणको सुविधा पनि एकपटक मात्रै लिन पाउने व्यवस्था विधानमा राख्न माग गरेका थिए। जिल्ला सभापतिहरूको माग सम्बोधन गर्दै महासमिति समापन कार्यक्रममा सभापति देउवा र नेता पौडेलले केन्द्रीय समिति बैठकबाट कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।
‘केन्द्रीय समितिको बहुमतले आफूभन्दा माथिल्लो निकाय महासमिति बैठकमा सभापति र नेताले जनाएको प्रतिबद्धता उल्ट्याउने काम गर्यो,’ नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘त्यसविरुद्ध चरणबद्ध दबाब दिन रणनीति तय गर्न सभापति भेला आयोजना गर्ने निर्णय गरेका हौँ।’ काठमाडौंमा उपलब्ध सभापतिहरूको बैठकले भेला डाक्ने निर्णय गरेको उनले बताए।
महासमिति बैठकअघि १२ र १३ मंसिरमा नुवाकोटको ककनीमा बसेको जिल्ला सभापतिहरूको भेलाले विधान संशोधनका लागि २४ वटा बुँदा तय गर्दै सुझाबका रूपमा सभापति देउवालाई बुझाइएको थियो। २३ र २४ नम्बर बुँदामा केन्द्रीय नेताहरू बुथबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षण कोटाको उपयोग एकपटक मात्रै दिइनुपर्ने माग गर्दै संशोधित विधानमा समावेश गर्न भनेका थिए। महासमिति बैठकमा पनि ५० भन्दा बढी सभापतिले लिखित रूपमै यो माग राखेका थिए।
महासमितिमा नेतृत्वले पनि प्रतिबद्धता जनाएको विषय केन्द्रीय समितिको बहुमतले उल्ट्याएपछि २१ फागुनमा ५६ जिल्ला सभापतिहरूले हस्ताक्षरसहित विज्ञप्ति निकालेर विरोध जनाएका थिए। नयाँ पत्रिकामा खबर छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार