जनताको आशा कहाँ नेतृत्वको काम कहाँः नेपालको राजनीतिमा चरम अनैतिकता बढ्दै गएको हो ?
भेषराज पोखरेल
चैत २८, २०७९ मंगलबार ८:२४:४३
राजनीति सबै नीतिको मूल हो । यही राजनीतिले धर्म, समाज, अर्थ, विकास जस्ता अनेकौं पक्षलाई व्यवस्थित गर्छ भन्ने मान्यता छ । यही राजनीतिक क्षेत्र अनैतिक बन्दै गयो, संघ, प्रदेश र स्थानीय तहबीच असझदारी, दलहरुबीच तीक्तता बढ्दै गए के होला ? यसो भए देशमा अराजकता बढ्छ । विपन्नले दुःख पाउँछन् । पछिल्लो समय दलका नेताहरुले भ्रष्टाचार निवारणका चर्का नारा लगाइरहेका छन् । दलका प्रतिबद्धतापत्रमा पनि यो विषयले प्रमुख स्थान पाइरहेको छ । अझ नयाँ दल त यसैलाई चर्को रुपमा उठाएर अगाडि आएका छन् ।
जनतालाई भ्रष्टाचारमुक्त बनाउने तथा भ्रष्टाचारीलाई जेलमा कोच्ने आशा देखाएर मत बटुल्ने गरेका छन् । यस्ता प्रतिबद्धता पूरा गर्न राजनीतिक क्षेत्रमा नैतिक बल दह्रो हुँदै जानुको साटो खस्कँदै गएको पाइएको छ । अति नैतिकताको नारा उछाल्ने कम्युनिष्ट दल एमाले, माओवादीदेखि प्रजातान्त्रिक दल कांग्रेस तथा भर्खरै जनताको मन जित्दै अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत राजनीतिक नैतिकता कमजोर हुँदै गएको देखिएको छ । मधेश केन्द्रित दलहरुदखि अन्य दलको पनि नैतिक धरातल अत्यन्तै कमजोर छ । यही कारण भ्रष्टाचार निवारणको नारा कार्यान्वयन गर्न नभएर जनता भुलाउने मेलो बन्न गएको छ ।
देशमा भ्रष्टाचार छ, अनैतिकता छ, घूसखोरी घट्दो छैन बढ्दो छ । यसले विकासमा गम्भीर असर पार्दै लगेको छ । त्यसले समाजलाई पनि प्रभावित गर्दै लगेको छ । यस्तो गम्भीर कुरालाई निर्मूल गर्छौं भन्दा जनता आशावादी नबन्ने कुरा भएन । यही नारालाई अगाडि सारेर राजनीतिमा छलांग मारेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणले नैतिकतामा प्रश्नचिह्न लगाएको छ । जनताको आशाको केन्द्र बनेको रास्वपामा सांसददेखि मन्त्री बन्न करोडौं रुपैयाँको चलखेल हुने गरेको अडियो बाहिरिनु पछिल्लो समय राजनीतिमा डरलाग्दो गरी नैतिक पतनको ज्वलन्त उदाहरण हो ।
रास्वपाले आन्तरिक रुपमा छानविन होला, संसदीय समितिले पनि छानविन गर्ला, जे जस्तो भए पनि कारबाही गरिएला । अध्यक्षदेखि अन्य पार्टी संयन्त्र चोखो भेटिएलान्, ढाकाकुमार श्रेष्ठ दोषी ठहर होलान् तर यसले जनताको भरोसा भने टुटाउने नै छ । सो दलले गलत व्यक्ति छनोट त गरेको रहेछ नि । कम्युनिष्ट दल भए पनि एमाले, माओवादी केन्द्र तथा अन्य दल एवं प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा अध्यक्ष तथा सभापतिको मनोमानी, पैसाबिना पद प्राप्त गर्न नसकिने अवस्था छ । यी दलमा आफ्नो मान्छे अक्षम नै भए पनि पद दिने, योग्य तथा होनहार व्यक्तिलाई पाखा लगाउने जस्ता कुराबाट अगाडि बढेको राजनीतिक परिवेश फेर्न रास्वपा प्रभावकारी दल बन्ला भन्ने जनताको आशा देखिन्छ । यो प्रकरणले जनताले जिब्रो टोक्ने अवस्थामा पुर्याएको छ । सही नै नभए पनि यसले राजनीतिमा ठूलो धनराशिको चलखेल तथा मोलमोलाइ अझ बढेर जाँदै छ भन्ने प्रमाण त पेस गर्छ नि ।
पछिल्लो समय दल र तिनका नेताहरुको व्यवहारले राजनीतिलाई अत्यन्तै खर्चिलो बनाउँदै लगेको छ । एक त सांसद बन्ने टिकट पाउने कुरामै ठूलो चलखेल हुन्छ । सक्षमभन्दा आफ्नो मान्छे छान्दा जित्ने सम्भावना कम हुन्छ । यस्तो अवस्थामा निर्वाचनमा मोटो रकम खर्चेर चुनावी अभियान चलाउनु पर्यो । त्यसका लागि जसरी भए पनि धन कमउने दह्रो व्यक्ति खोज्नु पर्यो । अर्को, नेताको रुपमा रहन पनि सामान्य मान्छेले सक्ने अवस्था अहिले छैन । कांग्रेसको २०४६ पहिलेको अवस्था, कम्युनिष्ट घटकहरुको सुरुको अवस्थालाई त छाडौं एमाले बनेपछिको अवस्था पनि अत्यन्तै सादगीपूर्ण देखिन्छ । नेताहरुले सामान्य कार्यकर्ताका घरमा बास बस्ने, मकै–भटमास, आटो, ढिँडो, भात जे पाइन्छ खाएर संगठन गर्दै यी दलहरुको राजनीतिक जग बसाइएको थियो । कार्यकर्तासँग नेताको सीधा सम्पर्क थियो ।
अहिले यी दलका नेताहरु सौकिन बन्दै गएका छन् । जनतासँगको सम्बन्ध टुट्दै गएको । नेताहरुको जीवनचर्या नै अत्यन्तै खर्चिलो बन्दै गएको छ । कुनै कार्यक्रम सञ्चालन गर्न, कुनै कुरालाई जनतासम्म पुर्याउन ठूलो धनरमशि खर्च गरेर तडकभडक गरिँदै आएको छ । अहिले संगठन गर्न पनि सामान्य खर्चले पुग्दैन । यस्तो अवस्थामा जति ठूलो नेता भयो उसलाई त्यति धेरै धनको आवश्यक पर्ने अवस्था सिर्जना गरिएको छ । नेताहरुले आफ्नो र पार्टीका लागि धन जम्मा गर्न नैतिकतालाई तिरोहित गर्दै आएको देखिएको छ । यही राजनीतिक संयन्त्रको उत्पादन र हुर्किए बढेकाले रास्वापामा पनि पैसाको चलखेल डरलाग्दो भएको हो कि भन्ने आशंका बढेकै छ ।
यो प्रकरणमा रास्वपाका प्रमुख सचेतकले संसदमा ढाकाकुमार प्रकरणका बारेमा जानकारी गराएका छन् । उनले यो घटनाबाट संसदको गरिमामा आँच आएकोमा क्षमासमेत मागेका छन् । उनले यसको छानबिन होस् तथा पहिलेका यस्ता घटनाको पनि छानबिन होस् भनेका छन् । आफ्नो दलका सांसद र अध्यक्ष नै जोडिएको घटना संसदलाई जानकारी गराएर छानबिन गर्न आग्रह गर्नु राम्रो कुरा हो । पहिले पनि माओवादीका नेतोा कृष्णबहादुर महराको चिनियाँसँगको ५० करोडको अडियो प्रकरण तथा एमालेका तत्कालीन सञ्चार मन्त्री तथा नेता गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको मोलमोलाइ यस्तै अनैतिक घटना हुन् । पछिल्लो समय नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा माथिल्लो तहको राजनीतिक नेतृत्व नै संलग्न रहेको प्रारम्भिक छानबिनले देखाएको छ । मानव तस्करीमा आफूलाई अति क्रान्तिकारी भन्ने नेताहरु नै संलग्न हुनु गम्भीर नैतिक पतन हो ।
यसलाई रोक्न कसरी सकिएला ? यो राजनीतिको डरलाग्दो शंकटको अवस्था भएकाले सामान्य रुपमा रोक्न कठिन छ । रोक्ने सबैभन्दा प्रभावकारी कदम भनेको संसद नै पूर्ण रुपमा सक्रिय हुनुपर्छ । यस्ता घटनाको संसदले सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउन सक्छ । छानबिनको परिणाम सार्वजनिक गर्नु जरुरी छ । अर्को, प्रभावभारी कारबाहीका लागि पनि दबाब दिनु अति आवश्यक हुन्छ । दलका नेतृत्वकर्ता, अन्य नेताहरु तथा सांसदहरुले राजनीतिलाई खर्चिलो हुनबाट रोक्नु अवश्यक छ । अर्को, नेताहरुको भड्किलो जीवनचर्यालाई त्याग्न सक्नुपर्छ । त्यसो हुन सकेन भने नेताहरुबाट यस्ता अनैतिक कार्यहरु दोहोरिरहने छन् भने जनता दुःखी भइरहने छन् ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार