न्यायाधीशले देवानीमा रुची देखाउँदा फौजदारी मुद्दाका पीडितलाई न्याय पाउनै कठिन
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १४:१५:११
२८ चैत, काठमाडौं । सर्वोच्च अदालतबाट न्याय सम्पादनका क्रममा न्यायाधीशहरूले देवानी प्रकृतिका मुद्दालाई विशेष प्राथमिकता दिएका कारण फौजदारी मुद्दाको अभियोग लागेका पीडितहरुले न्याय पाउन नसकेको गुनासो बढेको छ । देवानी प्रकृतिका मुद्दामा न्यायाधीशहरूको चासो बढी भएका कारण फौजदारी अभियोग सम्बन्धि मुद्दाको पेसी सरेको सर्यै हुने गरेको पीडितहरुको भनाई छ । फौजदारी अभियोगमा दर्ता मुद्दा विशेष संवेदनशील मानिन्छ ।
तर समयमा नै अदालतले फैसला नदिँदा यस्तो अभियोग लागेको कतिपय मुद्दाका पीडितहरु एक दिनमै छुट्ने अवस्था रहे पनि उनीहरूले महिनौं दिन जेल बस्नु परेको छ । फौजदारी सम्बन्धि मुद्दामा कम चासो दिने परम्परा जिल्ला र उच्च अदालतमा पनि कायम छ । तर, पछिल्लो समय न्यायाधीश कम भएको बहानामा सर्वोच्च अदालतमा पनि यो रोग सरेको बताइएको छ । आर्थिक हिसाबले फौजदारी मुद्दाभन्दा देवानी मुद्दा बढी लाभदायीक हुन्छ ।
पीडितको गुनासोबारे सर्वोच्च प्रशासनले भने लामो समयदेखि न्यायाधीश नियुक्ति हुन नसक्दा मुद्दाको चाप बढेको प्रष्टीकरण दिएको छ । सर्वोच्च अदालतमा विगत एक वर्षभन्दा बढी समयदेखि प्रधानन्यायाधीश नियुक्त गरिएको छैन । राजनीतिक दलबीचको खिचातानी र संवैधानिक परिषदसम्बन्धी ऐन बनाउने भनि तयार पारिएको संशोधन विधेयक अहिले संसदमा दर्ता भएको छ । तर, दलहरूबीच विधेयकका प्रावधानमा सहमति जुटेको छैन ।
सर्वोच्च अदालत स्रोतका अनुसार देवानी प्रकृतिका मुद्दा धेरै जसो घरजग्गा कारोबारका हुने गरेका छन् । यस्ता मुद्दामा करोडौंको आर्थिक विषयसँग जोडिएका हुन्छन् । बिचौलियाहरुले पनि यस्तैलाई प्राथमिकता दिएका हुन्छन् र न्यायाधीशहरूको पनि त्यसैमा बढी रुची देखिएको छ । न्यायालयमा परेको फौजदारी अभियोग सम्बन्धी दर्ता भएका मुद्दाको इजलाश तोकिन्छ तर, सुनुवाइ हुँदैन । विगत एक बर्षदेखि फौजदारी खास गरी थुनुवामा रहेका मुद्दाको साप्ताहिक सूचीमा चढाइने तर दैनिक पेसी सूचीबाट हटाइने क्रम बढेको छ थोरै कम मात्र इजलाश तोकिएका यस्ता मुद्दाको सुनुवाई हुने गरेको छ ।
कानुन व्यवसायीहरूका अनुसार अदालतले न्यायिक दृष्टिकोणबाट देवानीलाई भन्दा फौजदारीलाई पहिलो प्राथमिकता दिनुपर्ने हो तर, भएको छैन । यसमा चलखेल हुने गरेकाले पनि समस्या आइरहेको छ । अदालतले फौजदारी सम्बन्धी मुद्दामा दैनिक इजलाशमा नजाने र साप्ताहिकमा पारिएकाको पनि दैनिक पेसी सूचीमा स्थगित गर्ने प्रवृत्ति बढेको छ । यसले गर्दा दैनिक न्याय पाउनुपर्ने पीडितहरु महिनौं दिनसम्म थुनामा नै रहनुपर्ने अवस्थामा छन् । फौजदारी मुद्दालाई प्राथमिकता नदिँदा सर्वोच्चमा मात्र हैन देशभरका सबै न्यायालयमा न्यायका लागि गएका पीडितहरु ठूलो अन्यायमा परेका छन् ।
एक कानुन व्यवसायीले नेपालबहसलाई दिएको जानकारी अनुसार देवानी प्रकृतिमा मुद्दामाथि सर्वोच्चका मात्र हैन, उच्च र जिल्ला अदालतका न्यायाधीशहरूले प्राथमिकता दिने चलन छ । मुद्दाको पेशी तोक्ने र मिलाउन क्रममा नै यसमा न्यायाधीशहरूले सेटिङ मिलाएका हुन्छन् । कतिपय विचौलियाले वादी कि प्रतिवादीका पक्षमा फैसला दिने भनेर पहिले नै न्यायाधीशसँग सेटिङ मिलाइसकेका हुन्छन् । न्यायाधीशहरू बीचमै पनि यस्तो सेटिङमा आएका मुद्दा अर्को न्यायाधीशको इजलाशमा परे भरसक सार्ने र हेर्न नभ्याइनेमा पठाइन्छ । अप्ठ्यारो पर्ने अवस्था आएमा कारण देखाउ सम्मको आदेश हुन्छ ।
अरु ठूला प्रकारका सुन, राजश्व लगायतका मुद्दामा पनि यसरी सेटिङ गरिने भएकोले सामान्य फौजदारी अगियोग लागेका मुद्दाप्रति न्यायधीशहरुले कम चासो दिने प्रचलन छ । उनले फौजदारी अभियोग सम्बन्धी मुद्दा हेर्नका लागि छुट्टै फौजदारी इजलाश गठन गर्नुपर्ने बताए । वाणिज्य इजलाश जस्तै फौजदारी इजलाश गठन भएमा यस्तो मुद्दा लागेका पीडितहरुले चाँडो न्याय पाउने सम्भावना बढ्छ । नत्र अदालतको यस्तो परिपाटीमा सुधार आउने देखिएको छैन ।
न्यायालयमा चरम राजनीतिक हस्तक्षेप बढेपछि न्यायाधीशबाट हुने न्याय सम्पादन समेत खस्किएको कतिपयको भनाई छ । अहिले सर्वोच्च लगायतका न्यायालयमा न्यायाधीशको कमी भएको कारण देखाइए पनि सर्वोच्चमा २१ जना न्यायाधीश हुँदा पनि मुद्दाको चाङ यस्तै थियो । देवानीका अगाडी फौजदारी मुद्दा ओझेलमा नै पर्दै आएका थिए ।
भनाइ नै छ– ढिलो न्याय दिनु न्याय नदिनु सरह हो । तर, सर्वोच्च अदालतमा मुद्दाको चाङ हेर्दा धेरैले छिटो न्याय पाउने छाँट देखिँदैन । सर्वोच्च प्रशासनले दिएको तथ्याङ्क अनुसार सर्वोच्चमा मात्रै ३० हजार हाराहारीका मुद्दा फर्छ्योट हुन बाँकी छन् । हाल सर्वोच्चमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित १६ जना न्यायाधीश छन् । दैनिक आठ वटा इजलाश बस्छ । एउटा इजलाशमा दुई जना न्यायाधीश बस्छन्, जसलाई संयूक्त इजलाश भनिन्छ ।
मुद्दाको चाङ हेर्दा एउटा इजलाशको भागमा ३ हजार ६ सय ३६ वटा मुद्दा हेर्नु पर्ने देखिन्छ । सर्वोच्चका अनुसार ४ हजार पाँच सय ४५ मुद्दा पाँच वर्ष अघिदेखि र १६ हजार ९३५ मुद्दा दुई वर्ष अघिदेखि सर्दै आएका छन् । धेरै फर्छ्योट हुने मुद्दा पुनरावेदन पत्र शीर्षकको छ । यो मुद्दा मात्रै १८ हजार हाराहारीमा छ । सबैभन्दा कम संवैधानिक मुद्दा फर्छ्योट हुन बाँकी छ । सरदर सर्वोच्चमा ६ सय हाराहारी मुद्दा पेसीमा चढ्ने गरेका छन् । जसमध्ये २५ वटा सम्म फैसला हुन्छ । बाँकी हेर्दाहेदै आदेश, स्थगित, नभ्याइने र नमिल्नेमा जान्छन् ।
सर्वोच्च प्रशासनको भनाइमा सर्वोच्चमा २१ जना न्यायाधीशको दरबन्दी हो । तर, अहिले कामु प्रधानन्यायाधीशसहित १६ जना न्यायाधीश मात्र कार्यरत छन् । उनले न्याय परिषदले पाँच जना न्यायाधीश पूर्तिका लागि पहल गर्नुपर्ने हो तर, भएको छैन ।’ न्याय परिषद ऐन अनुसार न्यायाधीश खाली हुनुभन्दा एक महिना अघि नै पदपूर्तिको प्रक्रिया थाल्नुपर्छ । तर लामो समय गुर्जिदा पनि प्रक्रिया थालनी भएको छैन । मुद्दाको लोड धेरै हुँदा पनि यो आर्थिक वर्षमा जम्मा ६ हजार चार सय मुद्दा फर्छ्योट हुने देखिएको छ ।
अहिले सबैभन्दा धेरै मुद्दा पुनरावेदन पत्रमा देखिएका छन् । फौजदारी अभियोग लागेका थुनुवा मुद्दा यसपछिको सूचीमा आउँछन् । साधक, रिट निवेदन, संवैधानिक रिट-मुद्दा, पुनरावलोकन निवेदन-मुद्दा, दोहो¥याई पाउँ-अनुमति-अन्य निवेदन, प्रतिवेदन, विविधसहित दुई वर्ष नाघेको मुद्दा, पाँच वर्ष नाघेको मुद्दा, फुटकर निवेदन र थुनुवा मुद्दा सबै अवस्था दयनीय नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश राईको इललासमा बयान गराइने
पुष ८, २०८१ सोमबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार