भौतिक मन्त्रालयका कामः निर्माण कम, विस्तार बढी
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १५:१२:३२
सञ्चिता घिमिरे
३० चैत,काठमाडौं । सडक विभागले यो वर्ष नयाँ निर्माणभन्दा भइरहेका सडक विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माण गरेको छ । विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती जडान, ‘फ्लाई ओभर’ निर्माण, सुरुङलगायतका संरचनाको अध्ययन, आधुनिक पुल निर्माणलगायतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय केन्द्रीत भएको पाइएको छ । साथै यसैवर्ष चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउने र इम्बोस्ड नम्बर प्लेटमा रहेको समस्या समाधान पनि प्राथमिकतामा रहेका छन् ।
सरकारको रणनीति परिवर्तन भएर भइरहेका राजमार्ग विस्तारले प्राथमिकता पाइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । उनका अनुसार यातायातको माध्यममा सडक यातायात सबैभन्दा महत्वपूर्ण भएकाले अहिले प्राथमिकता राष्ट्रिय राजमार्गको विस्तार भएको बताए । उनले भने, पूर्व––पश्चिम राजमार्ग, मुग्लिन–पोखरा राजर्मालगायत चार लेनमा विस्तार भइरहेको बताए । काठमाडौँ उपत्यकाको यातायातलाई चुस्त बनाउन र चोक (इन्टरसेक्सन) मा हुने ढिलाइ न्यूनीकरण गर्दै ट्राफिक जाम कम गर्न आवश्यक ठाउँमा फ्लाई ओभर निर्माण गर्ने नीति रहेको विभागले जनाएको छ ।
पछिल्लो चरणमा प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि सहरी क्षेत्रका चोकहरुमा क्षमता अभिवृद्धि गर्न आवश्यक ठाउँमा फ्लाई ओभर निर्माण र ट्राफिक बत्ती व्यवस्थापन गर्ने, आवश्यक ठाउँमा भइरहेका सडक विस्तार र स्तरोन्नति गर्ने सरकारको नीति भित्रको काम हो । राष्ट्रिय राजमार्गको मर्मत सम्भार गर्ने, स्तरोन्नति गर्ने, नयाँ राजमार्गको निर्माण गर्ने, भएका सम्पत्तिको संरक्षण गर्ने र नागरिकलाई सर्वसुलभ किफायती यातायात संरचना प्रदान गर्ने विभागको जिम्मेवारी रहेको छ । सोहीअनुसार सरकारले कार्यक्रम स्वीकृत गरेको र विभागले काम गरिरहेको छ ।
चालु आवमा ग्वार्खाेमा फ्लाई ओभर निर्माण अघि बढेको र सिद्धबाबामा सुरुङमार्ग सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । लामो समयदेखि सिद्धार्थ राजमार्गको त्यो खण्डमा नागरिकले दुःख पाइरहेकाले त्यसलाई सुधार गर्न सिद्धबाबामा सुरुङ बनाउन लागिएको हो । सरकारले सूर्यविनायकदेखि धुलिखेल सडक विस्तारको काम अघि बढाएको छ । काठमाडौँ उपत्यकाबाट पूर्वतर्फ जाने सवारीसाधनको चाप धेरै रहेकाले त्यसलाई समाधान गर्ने गरी ठेक्का गरिएको हो । विश्व बैंकको सहयोगमा धेरै सडकमा आवधिक सडक मर्मत अघि बढाइएको छ । अहिले धेरै ठाउँमा सुरुङ आवश्यक देखिएकाले अध्ययन अघि बढिरहेको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ बजारमा ठूलो सिग्नेचर पुल बनाउन सुरु भएको छ । मुग्लिन–पोखरा सडक, नागढुङ्गाबाट नौविसे हुँदै मुग्लिन सडक स्तरोन्नति सुरु भइसकेको छ । पूर्वमा काँकडभिट्टादेखि लौकहीसम्म र कमलाबाट ढल्केबर सडक सुरु गर्ने चरणमा रहेको छ । राष्ट्रिय गौरबका आयोजनाको लक्षित समय नजिकिए पनि सम्पन्न हुने चरणमा पुगिसकेका छैनन् । ती आयोजनामा लक्ष्य कोभिड सङ्क्रमण सुरु हुनुभन्दा पहिले लिइएको भए पनि दुई तीन आर्थिक वर्ष कोभिडले र अरु विभिन्न कारणले अवरोध सिर्जना गरेकाले मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्ग पहिले निर्धारित समयमा सम्पन्न हुने नदेखिएको छ ।
त्यसलाई कहिलेसम्म सम्पन्न गर्न सकिन्छ भनी नयाँ लक्ष्य निर्धारण गर्न आवश्यक रहेको छ । अहिलेसम्मको अवस्था हेरेर त्यसलाई नयाँ अवधि तोक्ने गरी अघि बढिएको छ । राष्ट्रिय गौरबका आयोजनातर्फ मध्यपहाडी राजमार्गमा यो वर्ष ४२ किमी सडक कालोपत्र भएको छ, भने चार पुल सम्पन्न भएका छन् ।
हुलाकी राजमार्गममा ३६ दशमलव पाँच किमी सडक सम्पन्न भएको छ भने सात पुल सम्पन्न भएको छ । उत्तर दक्षिण करिडोरमध्ये कालीगण्डकी करिडोरमा प्रगति बढी देखिएको छ । सो करिडोरमा १० किमी सडक कालोपत्र, ३० किमी सडक ग्राभेल भएको छ भने चार पुल सम्पन्न भएको छ । कोशी करिडोरमा १५ किमी सडक ग्राभेल भएको छ र एउटा पुल सम्पन्न भएको छ । कर्णाली करिडोरमा साढे तीन किमी ट्र्याक खोलिएको छ भने ३८ किमी सडकको ट्रयाक चौडा गरिएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत चालु आवमा थप छ किमी कालोपत्र भएर जम्मा दुई सय ६५ किमी सडक सम्पन्न भएको छ । राजमार्गमा पर्ने एक सय ८५ पुलमध्ये ९९ सम्पन्न भएको छ । नागढुङ्गा सुरुङमार्गमा पाँच किमी चार सय ९९ मिटरमध्ये चार किमी दुई सय ७५ दशमलव ४५ मिटर सुरुङ खन्न सकिएको छ । नौ सय ७७ दशमलव सात मिटर सुरुङ कङ्क्रिट लाइनिङ सकिएको छ । अहिलेसम्म तीन अण्डरपास, चार कल्भर्ट, एक ओभरपास र तीन पुल सम्पन्न भइसकेको छ ।
नारायणगढ–बुटवाल सडकमा २८ साना पुल र तीन प्रमुख पुलको निर्माण सम्पन्न भएको छ । मुग्लिन–पोखरा सडकमा सात साना पुलको निर्माण सम्पन्न भएको छ । सो सडकमा पर्ने मादी र सेती नदी पुल ठेक्का सम्झौता भएर हाल डिजाइन स्वीकृति हुने चरणमा रहेको छ । अहिलेसम्म मन्त्रालयको प्रगति झण्डै ३० प्रतिशत रहेको छ ।
गत वर्षमा कोभिडका कारण निर्माणमा बाधा पुगेकामा अहिलेसम्म पहिलेको गतिमा काम फर्किन नसकेको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । कोभिड सङ्क्रमण फैलिरहँदा बन्दाबन्दी भयो र मानिसमा त्रास रहेको थियो । कोभिडका कारणले काम गर्ने प्रवृत्ति विग्रिएको र अहिले पनि पहिले जस्तो काम हुन नसकेको हो । कोभिडपछि काम गर्ने गतिमा सुधार हुन नसकेकाले यो समस्या देशभर नै रहेको छ । अहिलेसम्म खर्च निकै कम भएको मन्त्रालयले जनाएको छ । यसमा धेरै कुरामा सुधार गर्नुपर्ने र खासगरी बजेट र काम गर्ने तरिकामा परिवर्तन आवश्यक रहेको र नयाँ बजेट बनाउँदा यी कुरा सुधारेर योजना बनाउनुपने देखिएको छ ।
अहिलेसम्म धेरै योजना छनोट हुने अनि तीनमा थोरै बजेट छुट्टने समस्या रहेको छ । आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर भएको कामको भुक्तानी गर्नुपर्ने अवस्था रहेको छ । योजनामा चाहिए बमोजिम बजेट राखेर धमाधम काम गर्ने व्यवस्था हुन आवश्यक छ । यसलाई सुधार गरेर सीमित योजना छनोट गर्ने र तीनमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ । सबैभन्दा बढी सुधार बजेट निर्माण प्रक्रियामा आवश्यक रहेको छ । रातो किताबमा परेका कार्यक्रममा समस्या नभए पनि अरु योजनामा बजेटको समस्या आइरहेको छ ।
खासगरी राष्ट्रिय गौरबका आयोजनामा बजेटको समस्या रहेको छैन । सडक विभागको प्रगति अहिलेसम्ममा ६०÷६५ प्रतिशतभन्दा माथि जानुपर्नेमा अहिलेको प्रगति कम रहेको छ । अहिले प्रगति कम हुनुमा काम कम हुनुसँगै काम भइसकेर भुक्तानी गर्न बाँकी रकम यसमा जोडिन बाँकी रहनु पनि हो । धेरै ठेक्कामा निर्माण व्यवसायीले काम गरिसकेर भुक्तानीका लागि आवश्यक कागजात पेस गरिरहेको हुनसक्छ ।
कतिपयले काम गरेको तर भुक्तानी लिन आइनसकेको अवस्था छ । कोभिडभन्दा पहिले अर्थात अहिलेभन्दा तीन चारवर्ष पहिले यो मन्त्रालयको प्रगति झण्डै ८० प्रतिशत खर्च हुने गरेको थियो । नेपाल सरकारको लगानीका योजनामा प्रगति ९० भन्दा बढी हुन्थ्यो र वैदेशिकको केही कम हुँदा पनि समग्रमा झण्डै ८० प्रतिशत पुग्ने गरेको थियो । कोभिड सुरु भएयता भने प्रगति कम रहेको छ ।
सरकारको र वैदेशिक दुबै आयोजनामा पुँजीगत खर्च कम रहेको छ । गत आवमा प्रगति ५७ प्रतिशत र त्योभन्दा पहिलेको वर्षमा ६७ प्रतिशत रहेको थियो । कोभिडपछि खर्च हुन नसकेको अवस्था रहेको थियो । कोभिड पहिलेको जति नभए पनि वर्षको अन्तिमसम्म खर्च केही बढ्नेछ ।
यो वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा दुई किमी रेल्वे ट्र्याकबेड र दुई रेल्वे पुल निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म साढे ५४ किमी ट्र्याक बेल्ट तयार भएको र सात रेल पुल सम्पन्न भएको रेल विभागले जनाएको छ । बर्दिवासदेखि निजगढको खण्डमा मात्रै निर्माणको काम भइरहेको छ । भारत सरकारको सहयोगमा निर्माण भएका रेलमार्गमध्ये भारतको बथनाहादेखि बिराटनगरको कस्टम कार्यालयसम्म र भारतको जयनगरदेखि बिजुलपुरासम्म रेलमार्गसम्म सम्पन्न भइसकेको छ । जयनगरदेखि कुर्थासम्म रेल चलिरहेको छ । कुर्थाबाट बिजुलपुरासम्म १७ किमीमा पनि रेल सम्पन्न भइसकेको छ ।
छिमेकी देशहरुले संघीय राजधानीसँग जोड्ने गरी रेलमार्ग निर्माणमा चासो देखाएर अध्ययन अघि बढाइरहेका छन् । रक्स्यौल–काठमाडौँ अध्ययन भएर प्रतिवेदन आउन बाँकी छ । काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ । साढे तीन वर्षको अवधि रहेकामा अहिलेसम्म चार महिना मात्रै सकिएको छ । अहिले स्थलगत रुपमा अध्यनयन भइरहेको छ ।
मन्त्रालयले यातायात प्राधिकरणका लागि आवश्यक कानुन निर्माण अघि बढाएको छ । यातायात प्राधिकरणको नियमावली मस्यौदा तयार गरेर अर्थ मन्त्रालयमा सहमतिका लागि गएको छ । मन्त्रालयले गर्ने काम गरिसकेको र सहमति आएपछि कानुन मन्त्रालयमा सहमतिका लागि जानेछ । कानुन मन्त्रालयबाट सहमति आएपछि मन्त्रिपरिषदमा पेस हुनेछ ।
गत फागुनसम्ममा पाँच लाख दुई हजार २२ थान सवारी चालक अनुमतिपत्र छापिएको छ । हालसम्म जम्मा ३२ लाख ३१ हजार चार लाख ७५ अनुमतिपत्र छापिसकिएको छ । यो वर्ष जम्मा २७ हजार नौ सय ५६ र हालसम्म जम्मा दुई लाख ५७ हजार तीन सय ९४ इम्बोस्ड नम्बर प्लेट छापिसकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार
‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
मंसिर २७, २०८१ बिहिबार