एनपीलाई रोकेर परराष्ट्रमा जाने महामन्त्री थापाको कसरत
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार १६:२९:४२
१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसभित्र सरकारमा पठाउने बाँकी मन्त्रीका विषयमा चलिरहेको विवाद थप पेचिलो बन्दै गएको छ । सरकारमा पठाउने मन्त्रीबारे कांग्रेसको संस्थापनइतर समूहसँग आन्तरिक विवाद चलिरहेका बेला पछिल्लो समय पार्टीका महामन्त्रीले नै सरकारमा जाने आकांक्षा देखाएपछि सभापति शेरबहादुर देउवासमेत अप्ठ्यारोमा परेका छन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा चैत्र १७ गते चार मन्त्री पठाएको कांग्रेसले एक राज्यमन्त्रीसहित बाँकी पाँच मन्त्रालयमा मन्त्रीको नाम पठाउन बाँकी छ । कांग्रेसभित्र दिनहुँ जस्तो मन्त्री बन्नेका नाम आउने र काटिने क्रम जारी छ । जनमत पार्टीको भागमा परेको खानेपानी मन्त्रालयबाट मन्त्री अब्दुल खानले राजीनामा दिएपछि रिक्त रहेको उक्त मन्त्रालय पनि कांग्रेसलाई बोनसका रुपमा आउने भएको छ ।
सभापति देउवा निकट उच्च स्रोतका अनुसार महामन्त्री गगन थापा परराष्ट्र मन्त्रालयमा जान इच्छुक देखिएका छन् । उनले अप्रत्यक्ष रुपमा परराष्ट्र मन्त्रालयमा जाने चाहना देखाएपछि कांग्रेसमा यसअघि चयन भएका मन्त्रीहरूको नाम पनि परिवर्तन हुने देखिएको छ । सार्वजनिक रुपमा बाहिर आफू सरकारमा नजाने बताउँदै आए पनि महामन्त्री थापाले कांग्रेस सरकारमा जानु अगाडि नै कांग्रेस र माओवादीबीच गृह र अर्थ मन्त्रालयको बार्गेनिङ चलिरहेका बेला भित्र भित्रै अर्थ मन्त्रालयको जिम्मेवारी लिने प्रयास गरेका थिए । स्रोतको भनाईमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि भित्रभित्रै थापालाई मन्त्री बनाउने प्रयास गरिरहेका छन् ।
मन्त्रिपरिषद विस्तारमा कांग्रेसका महामन्त्रीद्वयको भित्री चलखेलकै कारण पर सरिरहेको बताइन्छ । थापाले अर्थ मन्त्रालयको जिम्मा आफूलाई दिनका लागि प्रधानमन्त्री प्रचण्डसँग सुरु मै प्रत्यक्ष भेटेर खुसामद गरेका थिए । प्रधानमन्त्री निकट स्रोतको भनाइमा थापाले प्रधानमन्त्रीसँग भेटेको समयमा आफू पार्टीको महामन्त्री भएको र पार्टीको संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेकाले पनि देखिने गरी मन्त्री बन्ने कुरालाई सार्वजनिक गर्न नमिल्ने भएकाले अर्थ मन्त्रालयमा आउन सक्ने वातावरण मिलाइदिन भनेका थिए । यसमा अप्रत्यक्ष रुपमा अर्का महामन्त्री शर्माको पनि हात रहेको थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले थापालाई अर्थमन्त्रीको रुपमा आफ्नो मन्त्रिपरिषदमा ल्याउनु उचित भए पनि तपाईँलाई पार्टीले पठाएमात्र मैले नियुक्त गर्ने हो भन्दै पहिले यो कुरा पार्टी सभापतिसँग राख्नुपर्ने बताएका थिए । पार्टीका तर्फबाट अर्थमन्त्रीको रुपमा नाम पठाए आफुलाई कुनै आपत्ति नहुने प्रधानमन्त्री प्रचण्डको भनाई थियो । तर, थापाले खुलेर आफूले सभापतिसँग अर्थ मन्त्रालयमा जाने कुरा राख्न सकेका थिएनन् । देउवाले पनि थापाको घुमाउरो आशय बुझेर पनि बुझ पचाउँदै पत्नी आरजु लगायतको कोर टीमको दवावमा डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीको रुपमा पठाएका थिए ।
यसपछि कांग्रेसले पाएको परराष्ट्र मन्त्रालयमा कसलाई पठाउने भन्ने बहस कांग्रेसभित्र सुरु हुँदा महामन्त्री थापाले परराष्ट्रमा जाने चाहना राखेका हुन् । सभापति देउवाले परारष्ट्रमा नेता एनी साउदलाई पठाउने तयारी गरिरहेका छन् । तर, आफु परराष्ट्र जाने सोच बनाएर वातावरण बनाउन लागेका महामन्त्री थापाले इतर समूहबाट नाम दिन रोक्ने प्रयास गरेपछि न अरूले मन्त्रीको शपथ खान जान पाएका छन् न त देउवाले थापाको चलखेल बुझेर साउदलाई परराष्ट्रमा पठाउन सकेका छन् । थापाको पछिल्लो खेल सफल भए साउद पनि मन्त्री बन्नबाट रोकिने छन् ।
स्राेतका अनुसार अहिले क्षेत्री समाजका नाममा गुट फरक भएपनि महामन्त्री थापाले उपसभापति पूर्णबहादुर खड्कासँग सम्बन्ध बढाउँदै लगेका छन । यसमा पनि अर्का महामन्त्री शर्माको हात रहेको बताइएको छ । शर्मा थापालाई मन्त्री बनाएर पठाउन सकेको खण्डमा पार्टीभित्र महामन्त्रीका रुपमा एकल काम गर्दा सहज हुने पक्षमा देखिएका छन् । थापाले खडकासँग विशेष सम्बन्ध बढाएपछि उपसभापति खडकाले पनि प्रधानमन्त्री प्रचण्डसामू थापा परराष्ट्रमन्त्री बन्न चाहिरहेको सन्देश पुर्याएका छन् । तर, थापाले पार्टी सभापतिसँग आफू परराष्ट्रमन्त्री बन्न चाहेको कुरा अझै बताएका छैनन् ।
महामन्त्री थापाले परराष्ट्रमा जाने चलखेल सुरु गरेपछि कतिपय संस्थापन इतर समूहका नेताहरू नै चकित छन् । आफू बन्नकै लागि थापाले यसअघि पनि पटक पटक समूह परिवर्तन गर्दै आएकाले यसपटक पनि गुट बदल्न सक्ने आशंका व्यक्त गरिएको छ । थापा महामन्त्री भएकाले यो हदसम्म त नजालान् तर, उनका कारण मन्त्रिपरिषदको विस्तार भने रोकिएको आरोप पार्टीका शीर्ष नेताहरूले लगाउँदै आएका छन ।
संस्थापन इतर समूहको माग बमोजिम ३ जना मन्त्री र एक राज्यमन्त्री दिन यसै साता मात्र सहमति जनाएका सभापति देउवाले महामन्त्रीद्वयको चलखेलका कारण मन्त्रिपरिषद विस्तारको काम रोक्न बाध्य भएका छन् । उनीहरूले आसन्न उपनिर्वाचनको कारण देखाउँदै चुनावपछि मात्र मन्त्रिमण्डल विस्तार गर्न सुझाएपछि हिजोआज नै हुने भनिएको मन्त्रिपरिषद विस्तारको काम रोकिएको छ । यसले मन्त्री बन्न नाम आएकाहरु अन्योलमा परिरहेका छन् । पार्टीका दुवै गुटभित्र मन्त्री बन्ने नामको सूची बन्ने र काटिने प्रक्रिया चलिरहेको छ । सुरुदेखि सरकारमा कुनै हालतमा नजाने बताउँदै आएका महामन्त्री थापा सरकारमा गएको खण्डमा उनीमाथि राजनीतिमा नैतिकताको प्रश्न भने उठ्नेछ । उपसभापति पूर्णबहादुर खडकाले सार्वजनिक रुपमै अब आफू मन्त्री नबन्ने बताएपनि पछि रक्षा मन्त्री बन्न तयार भएजस्तै त होला नि भन्ने चर्चा राजनीतिक वृत्तमा चल्ने गरेको छ ।
स्रोतका अनुसार यसै साता प्रधानमन्त्री प्रचण्ड र कांग्रेस इतर समूहका नेता डा. शेखर कोइराला बीच भएको भेटका समयमा पनि थापा परराष्ट्रमन्त्री बन्न विशेष इच्छुक देखिएको विषयमा छलफल भएको बताइन्छ । कोइरालाले मन्त्रिपरिषद विस्तारमा कांग्रेसभित्र नखेल्न चेतावनी दिने उद्देश्यले अर्का नेता डा. मिनेन्द्र रिजाललाई लिएर प्रचण्डकोमा गएका थिए । कांग्रेसको आन्तरिक विवादमा नखेल्न प्रचण्डलाई सचेत गराउँदै डा. कोइरालाले झपारेपछि प्रचण्डले आफूले नभै पूर्णबहादुर खडकाले गगनलाई परराष्टमन्त्री बनाउन दवाव दिएको रहस्योद्घाटन गरेका थिए । जबकी कोइराला र सभापति देउवाबीच मन्त्रीहरूको भागवण्डाको सहमति भइसकेको थियो । कोइराला र देउवाबीच छलफल हुँदा देउवाले कांग्रेसले पाँच मन्त्रालय पाउने भयो । तपाईले तीन मन्त्रीको नाम दिनुस भनेका थिए । यद्यपि राज्यमन्त्रीका बारेमा भने कुनै निर्णय भएको छैन ।
स्रोतको भनाइमा थापाले परराष्ट्रमा चाहना देखाएका कारण कांग्रेसबाट मन्त्री बन्न जानेहरू रोकिएका हुन् । नत्र यसअघि नै उनीहरूको शपथ भइसक्ने थियो । उता, मन्त्रीको लागि प्रयासरत युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री थापा आफै मन्त्री बन्न प्रयासरत देखिएपछि निराश बनेको बताइन्छ। महामन्त्री थापालाई संसदीय दलको निर्वाचनमा जोखिम मोलेर साथ दिएपछि आफूलाई मन्त्री बनाउन थापाले प्रयास गर्ने पौडेलको विश्वास थियो । तर, उनले न थापाबाट सहयोग पाए न कृष्णप्रसाद सिटौलाले नै उनलाई साथ दिए । दलको नेतामा थापालाई सघाएको भन्दै पौडेलप्रति सभापति देउवा पनि रुष्ट छन् । पौडेलको नाम देउवाको कोर टीममा नेगेटीभ लिष्टमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार