ओरालोमा अर्थतन्त्र, ओरालोमै शेयरः धितोपत्र बजारलाई माथि उठाउन सरकारले कस्तो नीति लेला ?
भेषराज पोखरेल
बैशाख ९, २०८० शनिबार १४:४७:२६
दुई वर्षअघिको मध्य तिर शेयरबजारमा उछाल आयो । लगानीकर्ताहरू उत्साहित भए । साना लगानीकर्ताहरूले पनि ऋण काढेर भए पनि लगानी गर्न कस्सिए । २०७८ को भदौको सुरुमा नेप्से परिसूचक बढेर ३ हजार १ सय ९९ अंकमा पुग्यो । त्यही वर्षको मंसिर अन्त्यमा आउँदा २२ सय ६० मा झर्यो । पछिल्लो समय शेयरबजारमा सुधार आएको छैन । लामो समयदेखि नै नेप्से परिसूचक २ हजारभन्दा तलै रहेको छ । यो हप्ताको बुधबार नेप्से परिसूचक १ हजार ९ सय २२ दशमलव १२ मा रह्यो । त्यसको अर्को दिन बिहीबार १५ दशमलव ७३ अंकले घटेर नेप्से परिसूचक १ हजार ९ सय ४ दशमलव ४० विन्दुमा पुग्यो । यसरी शेयरबजारमा तल–माथि हुँदा लगानीकर्तामा अन्यौलता सिर्जना भएको छ ।
शेयरबजारमा उछाल आइरहन अर्थतन्त्रमै सुधार हुनुपर्छ । अर्को, सरकारको नीतिले पनि शेयरको कारोबारमा तल–माथि हुने गर्छ । नेपालमा सीमित ठूला लगानीकर्ताको हल्ला र अस्वाभाविक चलखेलले पनि शेयर कारोबारमा फरक पर्ने गरेको छ । सामान्य रुपमा यो मन्दीको अवस्थामा तत्कालै शेयरबजार उकालो लाग्न त कठिन छ तर सरकारले अर्थतन्त्रलाई सक्रिय बनाउने नीति अगाडि सार्यो भने शेयरबजार फैलने नै हो, बजार गुल्जार बन्ने नै हो । सरकारको नीति कस्तो रहन्छ त्यो भने केही समय पर्खनैपर्छ ।
शेयरमा लगानी गर्ने बित्तिकै नाफा भइहाल्छ, बजार सधैं उकालो लागिरहन्छ भन्ने हुँदैन । लगानी गर्नेले धैर्य गर्नै पर्छ । शेयर खरिद गरिएको संस्था कुनै कारणले कमजोर भयो, घाटामा गयो भने मुनाफा बाँड्न सक्दैन । त्यस बेला त्यसको शेयर मूल्यमा उछाल आउने त कुरा भएन । अनुकूल समयमा संस्थाको प्रगति हुन सक्छ, पर्खनुपर्छ । पछिल्लो समय उद्योगहरू फस्टाउन सकेका छैनन् । अझ उत्पादनमूलक उद्योग आफ्नो क्षमता अनुसार चल्न सकेका छैनन् । यसको कारण हो अर्थतन्त्रमा मन्दी आउनु । कोरोनाले थलिएको अर्थतन्त्र रुस–युक्रेन युद्धले अझ खराब अवस्थामा पुर्यायो । कतिपय उपभोग्य सामग्रीको मूल्य अस्वाभाविक रुपमा बढ्न गयो, यसले संसारमै सर्वसाधारण नागरिकको जीवन निर्वाह खर्चमा ठूलो वृद्धि भयो । नेपालमा पनि यसको प्रभाव सामान्य रहेन ।
अझ सामान बजारमा प्रशस्त छ तर मूल्य बढिरहेको छ अर्थात् स्टेगइन्फ्लेसनसमेत भइरहने नेपालजस्तो देशमा जनताको क्रयशक्ति नै कमजोर भएपछि बजारमा ठूलो असर पर्ने नै भयो । दैनिक उपभोग्यका सामग्री उत्पादन गर्ने कम्पनी पनि नेपालकै कच्चा पदार्थमा आधारित नभएकाले क्षमता अनुसारको उत्पादन गर्न सकेका छैनन् । जसले गर्दा यी कम्पनीहरूको नाफामा कमी आएको छ । यिनले आफ्ना शेयर लगानीकर्तालाई राम्रो मुनाफा दिन सक्ने अवस्था छैन । यस्तो अवस्थामा यस्ता कम्पनीका शेयर किन्न मान्छे तयार हुने कुरा भएन । जसले गर्दा तिनका शेयर मूल्यमा भारी गिरावट आउनु स्वाभाविकै हो । आइरहेकै छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको ब्याज बढेको छ । यी संस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याज बढेको छ । वाणिज्य बैंकहरुले लिने महँगो ब्याजका कारण उद्योग व्यवसाय क्षेत्र ठूलो रुपमा प्रभावित भएको छ । एक वर्षभन्दा अघि अधिकतम ९ प्रतिशत रहेको कर्जाको ब्याजदर बढेर १८ प्रतिशत हुँदा उद्योग व्यवसायको नयाँ लगानीमा असर पर्न गयो । अर्को, दैनिक उत्पादन तथा कच्चा पदार्थ खरिद तथा सञ्चित गर्न पनि ज्यादै कठिन हुन गयो । यस्तो अवस्थामा उद्योगी व्यवसायीहरूले बैंकको ब्याज घटाउनुपर्छ भन्दै आन्दोलनमा समेत उत्रिए । सरकारसँग ब्याज घटाइदिन अनुनय विनय पनि गरे तर सरकारले कुनै पहल गर्न सकेन ।
पछिल्लो समय बैंकहरुमा तरलता बढ्न थालेपछि निक्षेपको ब्याज त घटाएका छन् तर ऋणको ब्याज भने घटिसकेको छैन । यही अवस्थामा बैंकहरुले नाफा त कमाएका छन् तर खराब कर्जा अत्यन्तै बढेर गएको छ । वितरण योग्य मुनाफामा भने कमी आएको छ । यस्तो अवस्थामा बैंकहरुले लाभांश दिने रकममा त्यसै कमी आउने भयो । यस्तो अवस्थामा बैंकहरुको शेयरको मागमा पनि कमी आउने नै भयो । पछिल्लो समय लघु वित्त कम्पनी तथा फाइनान्स कम्पनीको अवस्था राम्रो छैन । जसले गर्दा यी संस्थाको नाफा तथा यिनले आफ्ना शेयर लगानीकर्तालाई दिने लाभांशमा पनि गिरावट आउने नै भयो ।
अहिलेको अवस्था यस्तो भए पनि सधैं यही लयमा अर्थतन्त्र चल्न सक्दैन । सरकारले अर्थतन्त्र सक्रिय बनाउन एकपछि अर्को नीतिगत सुधार गर्नेपर्छ । त्यसो भएपछि उद्योग व्यवसायको गति अगाडि बढ्छ, उनीहरूको लाभांश बढ्छ । शेयर लगानीकर्तालाई बढी लाभांश दिन्छन् । त्यस बेला बेच्दा पनि शेयरको बढी पैसा आउने नै भयो । अहिलेका अर्थमन्त्री अर्थतन्त्रलाई सक्रिय बनाएर लैजान प्रयासरत छु भनिरहेका छन् । उनले तीन जना अर्थशास्त्रीहरूलाई विज्ञका रुपमा नियुक्ति गरिसकेका छन् ।
वैदेशिक लगानीमा अब स्वचालित प्रणाली लागू हुने भएको छ । घरजग्गाको कित्ताकाट खुला गरिएको छ । यी सबै कुराहरूले अर्थतन्त्रमा पक्कै पनि सुधार आउला, उद्योग व्यवसायमा सकारात्मक प्रभाव पर्ला, शेयर लगानी कर्ताहरुले धैर्य भएर केही समय कुर्नै पर्छ । आत्तिएर के गरौँ र कसो गरौं भन्ने हो भने शेयरमा ठूलै घाटा खान सकिन्छ । शेयरबजार अब उठ्दैन, लगानी डुब्यो भन्ने हल्ला फैलाउने वा अब छिटै शेयरबजारमा उछाल आउँछ भन्नेहरूसँग पनि सचेत भएर अवस्थाको विश्लेषण गरेर निर्णय गर्नु बुद्धिमानी होला । समग्र अर्थतन्त्रको कुरा त छँदै छ, सरकारले जनताको ठूलो लगानी रहेको धितोपत्र बजारलाई उकास्न विशेष ख्याल गरेर उपयुक्त नीति पनि लिनुपर्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपजनताका सुख–दुःखलाई बेवास्ता गर्ने सरकार सञ्चालकहरूको कस्तो प्रवृत्ति हो ?
असोज ९, २०८१ बुधबार
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
असोज ८, २०८१ मंगलबार
भ्रष्टाचारविरोधी भन्नेहरू उल्टो यात्रामा जोरजुलुम, जनता सधैं मारमा ?
असोज ६, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार