प्रधानमन्त्रीको प्राथमिकतामा परेन लोकतन्त्र दिवस
जनयुद्ध दिवस मनाउने तर लोकतन्त्र दिवस नमनाउने प्रचण्डको निर्णय ! राष्ट्रिय उत्सव लोकतन्त्र दिवस हो कि जनयुद्ध दिवस हो ?
केदार भट्टराई (काका)
बैशाख ११, २०८० सोमबार १३:२५:२८
११ वैशाख,काठमाडौं । २०६३ वैशाख ११ गते दोस्रो जनआन्दोलन सफल भएको दिन । यही जन आन्दोलनपछि नेकपा माओवादी शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धात्मक संसदीय राजनीतिक व्यवस्थामा रुपान्तरित भएको थियो । त्यही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । उनै प्रचण्डका अगाडि आज लोकतन्त्र दिवसले प्राथमिकता पाएन ।
२०६३ मा आएको लोकतन्त्रलाई उनले प्राथमिकता दिएका रहेनछन् भन्ने पुष्टि गरेका छन् । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले संविधानले नचिनेको जनयुद्ध दिवसलाई फागुन १ गते माओवादी बाहेकका दलहरूले नरुचाउँदा नरुचाउँदै पनि निकै निकै धुमधामका साथ मनाएका थिए । आज राष्ट्रिय पर्व लोकतन्त्र दिवस हो । यसले न सार्वजनिक विदा पाएको छ, न यो दिनलाई सम्झन लायक सरकारी तहबाट कुनै कार्यक्रम नै राखिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने भन्दै मन्त्रिपरिषदबाट निर्णय गराएका थिए । संविधानमा जनयुद्ध भन्ने शब्द नै नभएको विषयलाई उनले दिवसका रुपमा मनाएको भन्दै चर्को आलोचना भएको थियो । हुन त प्रमुख राजनीतिक दलहरुबाटै विगत १७ वर्षमा लोकतन्त्रको निरन्तर अपमान र अवमूल्यन भइरहेकै हो । यद्यपि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने यो जनआन्दोलन अहिलेको शासकीय प्रणालीको मूल कारक थियो ।
लोकतन्त्र दिवस मनाउन र नमनाउनु भन्दा पनि यसले देश गलत नेतृत्वको हालतमा गएको प्रस्ट्याएको छ । अहिले पनि माओवादी नेतृत्व संसदीय र प्रतिस्पर्धात्मक शासन व्यवस्थाभन्दा लोकतान्त्रिक मूल्य र मान्यतालाई क्षतविक्षत बनाएर एकतन्त्रीय कम्युनिष्ट तानाशाह शासनकै पक्षमा छ भन्ने कुरा फेरी पुष्टि गर्न खोजेको चर्चा राजनीतिक वृत चलेको छ । नागरिक अगुवाहरुले अहिलेका प्रधानमन्त्री प्रचण्डले आफू सारथि बनेर एमालेलाई घोडा बनाएर हिंसात्मक कथित जनयुद्ध दिवस मनाएको टिप्पणी गरिरहेका छन् ।
अहिले कांग्रेसलाई घोडा बनाएर लोकतन्त्रका सारा मूल्य मान्यता ध्वस्त बनाउने कार्य अनुरूप आजको लोकतन्त्र दिवसलाई मान्यता नदिनु रहेको उनीहरूको भनाइ छ । माओवादीसँग मिलेर कांग्रेस र एमालेले लोकतन्त्रलाई नै घात गरिरहेको एक थरी राजनीतिककर्मीको भनाइ छ । आजकै विषयले पनि प्रचण्डले नै १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतालाई अवमूल्यन गर्दै हिंसात्मक क्रान्तिकारी आवरणलाई प्राथमिकता दिन खोजेको देखिन्छ ।
लोकतन्त्र दिवसलाई अवमूल्यन गर्दा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डमाथि राष्ट्रिय उत्सव लोकतन्त्र दिवस हो कि जनयुद्ध दिवस भन्ने प्रश्न पनि उठेको छ । जनयुद्ध दिवस मनाउने तर, लोकतन्त्र दिवस नमनाउने प्रचण्डको निर्णय आगामी राजनीतिमा उनकै लागि घातक हुने देखिन्छ । यसमा प्रमुख भनिएका राजनीतिक दलहरू पनि कारक छन् । र, यो प्रवृत्तिले लोकतन्त्र खतरामा छ भन्ने कुरा थप पुष्टि गरेको छ ।
उपनिर्वाचनले दिइरहेको आजकै परिणाम हेर्ने हो भने पनि प्रचण्ड समकालीन शीर्ष नेतृत्व लोकतन्त्र बचाउने पक्ष छैन भन्ने देखाउँछ । इतिहास बदलिन खोजिरहेको र लोकतन्त्रभित्र समुन्नत लोकतान्त्रिक व्यवस्थाका लागि नेतृत्वमा विकल्प खोजिन थालेको संदेश दिइरहेको छ । प्रचण्डले प्रधानमन्त्री भएको बलमा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस त मनाउन खोजे तर, उनको यो हठले संक्रमणकालीन न्यायका विषय प्रभाव पारेको छ ।
लोकतन्त्र दिवसलाई महत्वहीन बनाएर जनयुद्ध दिवसमा जबर्जस्ती गरे जस्तै द्वन्द्वकालका मुद्दामा जबर्जस्ती सम्भव छैन । पीडित समुदाय, मानवअधिकार समुदाय र अन्तर्राष्ट्रिय समुदायले यसमा लेखा जोखा गरिरहेको छ । उनी आसन्न भारत भ्रमणको तयारीमा छन । त्यहाँ पनि यी विषयहरू उठान होलान् । लोकतन्त्रलाई भर्याङ बनाएर २०६३ पछि प्रचण्ड तीनचोटि प्रधानमन्त्री भए । १३ वटा सरकारमध्ये १२ वटामा माओवादी सामेल छ । यी सरकारमा रहँदा माओवादीका प्रचण्डले लोकतन्त्रलाई नै भर्याङ बनाए लुटतन्त्र मच्चाइएको जग जाहेर नै छ ।
जनयुद्ध दिवससँग प्रचण्डले ४ हजार अयोग्य लडाकुलाई ८ अर्ब बाँड्ने निर्णय मन्त्रिपरिषदबाट गराएका थिए । अहिले यो निर्णय फिर्ता लिइएको भनिए पनि गृहमन्त्रालयले काम अगाडि बढाइरहेको छ । गृहमा पनि अहिले माओवादीकै हालिमुहाली छ । पार्टीका उपाध्यक्ष गृहमन्त्री छन् । प्रचण्डले लडाकू भनेर ट्रेड युनियनका मजदुरलाई रकम बाँड्ने तयारी गरिरहेका छन् । लोकतन्त्रलाई उनले बिर्सिए पनि लोकतन्त्रले उनका लागि भने कल्याण नै गरिरहेको छ । प्रश्न दिगो गर्छ कि गर्दैन भन्ने मात्र हो ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपवर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार
स्ववियु निर्वाचन चैत ५ गते हुने
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार