दर्जा हबल्दारको, परिचय इन्सपेक्टरको
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १९:१२:४४
१२ वैशाख, जनकपुर । नक्कली प्रहरी बनेर आम सर्वसाधारण तथा व्यापारी ठग्ने धन्दा अनि तिनलाई प्रहरीले पक्राउ गरेका बारेमा त समाचार पढ्नु भएकै होला तर एक जना तल्लो दर्जाका प्रहरीले आफूलाई उपल्लो दर्जाको प्रहरी हुँ भन्दै तस्कर र व्यापारीसँग पैसा असुल्ने गरेको कथा भने बिरलै सुन्नमा आउँछ । हो, त्यस्तै सत्य कथाका पात्र हुन नेपाल प्रहरीका हबल्दार महेन्द्र प्रसाद महतो उर्फ एमपी राज महतो । सामाजिक सञ्जाल फेसबुक र साथीभाइहरु बीच एमपी राज महतोका नामले परिचय बनाएका प्रहरी हबल्दार महतोको यहाँ चर्चा गर्न लागिएको हो ।
"सन्तान थरी थरीका" भने झैं यिनले आफूलाई प्रहरी इन्स्पेक्टरको रुपमा तस्कर र व्यापारी माझ चिनाउने गरेका छन् । हालसालै त उनले आफूलाई डीएसपी समेत भन्न भ्याएको जनकपुर गणका एकजना डीएसपीले सुनाउँदै थिए । धनुषा जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भए पनि उनी लामो समयदेखि संघीय प्रहरी कार्यालय जनकपुरमा काजमा कार्यरत छन् । कारण ठेकिएको दरबन्दीमा जाँदा प्रहरी हबल्दारको ड्रेस लगाउनु पर्ने डर उनलाई छ ।
प्रहरी स्रोतका अनुसार महतोले हबल्दारमा बढुवा भएदेखि प्रहरीको ड्रेस लगाएका छैनन् । ठाँटबाँटका साथ झिल्के भएर हिँड्ने उनी कहिले रारा पुग्छन् त कहिले मुगु अनि कहिले बर्दिया राष्ट्रिय निकुञ्ज । प्रहरीका हाकिमहरूसँग बाक्लो उठबस, फोटो सेसन अनि आईजी, एआईजी र डीआईजीसँग फोन गरेर अरूलाई देखाउने, तर्साउने अनि प्रभावित पार्ने उनको वर्षौँदेखिको धन्दा हो । सिपाहीका रुपमा उत्तम सुवेदी धनुषाको एसपी हुँदा घुमुवा रहेका महतोको सेक्स स्क्याण्डल बाहिरिएपछि केही समय नुवाकोट खेदिनु परेको थियो ।
बिगत ७-८ बर्षदेखि संघीय प्रहरी कार्यालय जनकपुरमा बसेर सिभिलमा घुम्ने उनले १० बर्ष यता प्रहरीको ड्रेस नै नलगाएको बताइन्छ । प्रहरीका ठूला हाकिमसँग बाक्लो उठबस गर्ने उनले प्रहरीका सिपाही देखि जुनियर अधिकृतसम्मलाई सरुवा बढुवा गराइदिन्छु र काज मिलाई दिने भन्दै पैसा उठाउने गरेका छन् । खास गरी एआईजीबाट हालै अवकाश लिएका उत्तम सुवेदी, आईजीपीबाट अवकाश पाएका धीरजप्रताप सिंह लगायतका हाकिमहरूसँग उनको नजिकको उठबस र उठतीपुठती चल्ने गरेको दावी समाचार स्रोतकाे छ ।
अझ सिंह आईजी हुँदा त उनले तराईका जिल्लाबाट आईजीका नाममा लाखौं असुलेर आतंक मच्चाएको स्रोतले बतायो । हाकिमका नाममा पैसा उठाउने तर थोरै रकम मात्र उनीहरूलाई दिएर धेरै आफैले राख्ने गरेको प्रहरीहरू बीच चर्चा हुने गरेको छ । करिब ९ लाख पर्ने रायल ईन्फिल्ड बाइक चढेर सानका साथ हिँड्ने, कार फेरि फेरि चढ्ने उनको आम्दानीको स्रोत के हो भनेर अन्य प्रहरीदेखि सर्वसाधारण पनि चकित हुने गरेका छन् । हबल्दार जागीरले त्यो हैसियत कसरी सम्भव हुन्छ ?
मूल घर सर्लाही भएपनि उनी जनकपुरको मुझेलियामा आलिशान तीन तले घरमा बस्ने गरेका छन् । तर त्यो घर खरिदको आर्थिक स्रोत के हो भन्ने जवाफ कसैसँग छैन् । हालसालै मात्र काठमाडौंमा पनि घडेरी जोडेका उनले अहिले आफूलाई प्रदेश डीआईजीको घुमुवाका रुपमा परिचय दिने गरेका छन् । तस्कर र व्यापारीहरूलाई नयाँ डीआईजीको घुमुवा आफू नै बस्ने तय भएको भन्दै लाइन मिलाएर पैसा असुल्न थालिसकेको बताइन्छ ।
अझ आईजीपी बसन्त कुँवरका लागि पनि मधेशमा पैसा उठाउने जिम्मा आफ्नै भएको भन्दै उनले गफ चुट्ने गरेका छन् । त्यसैका लागि उनले अर्का हबल्दार सुरेन्द्र ठाकुरलाई काज दरबन्दी फिर्ता गराइसकेका छन् । ठाकुर रमाना लिएर रातमाटे गण हिँडेका छन् । गफ लगाउन माहिर मानिएका महतोले मधेश प्रदेशका वैध अवैध क्रसर उद्योग, जुवा अखडा तथा गाईगोरु तस्करहरूबाट मोटो रकम महिनावारी हाकिमका नाममा असुल्ने गरेको बताइन्छ । चर्चित गोरु तस्कर शम्भू सिंहदेखि महोत्तरीका ठूला क्रसर व्यवसायी विजय साह, बेतन शर्मासँग उनको पुरानो सम्बन्ध रहेको बताइन्छ ।
अझ विजय साहसँग त उनको पाटर्नरसीप विजनेश नै रहेको आशंका प्रहरीहरुले गर्ने गर्छन । हरेक साँझ विजयको जनकपुरस्थित डिपोमा उनको बसउठ हुने गरेको छ । एकजना प्रहरी भन्छन्, एमपी राजलाई तपाई प्रहरी कार्यालयमा कहिल्यै भेटनु हुन्न, त्यही डिपोमा गयो भने चाहि पक्का भेट हुन्छ । क्रसर व्यवसायी बेतन शर्माको सिराहा, महोत्तरी र धनुषा लगायतका स्थानमा थूप्रै अवैध क्रसर उद्योग निर्वाध चलिरहेका छन् । त्यसको संरक्षण यिनै महतोले गर्ने गरेका छन् । त्यसबाहेक महोत्तरी , सर्लाही र धनुषामा सञ्चालन हुने ठूला जुवाखालबाट ठेक्कामा पैसा असुली पनि यिनै महतोले गर्ने गरेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार