‘टोर्नाडो’को स्थलगत अध्ययन गर्दै मौसमविद् टोली, मङ्गलबारदेखि मौसम सफा हुने
इन्द्र रिजाल
चैत २४, २०७५ आइतबार २३:४३:३७
काठमाडौं । गत साता बारा र पर्सामा गएको मौसम प्रणाली साधारण हुरी नभई ‘टोर्नाडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि मौसमविद्को टोलीले स्थलगत अध्ययन थालेको छ ।
वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानका लागि जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोडं) र द स्मल अर्थ नेपालको एक टोली स्थलगत अध्ययनका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
विभागका महानिर्देशक सरजु वैद्यले टोलीमा विभागका तीन, ईसिमोडका दुई र द स्मल अर्थ नेपालका एक गरी छ मौसमविद् रहेको जानकारी दिँदै टोली स्थलगत अध्ययनबाट फर्केपछि ‘टोर्नाडो’का बारेमा आधिकारिक जानकारी सार्वजनिक गर्ने बताए ।
बुधबारदेखि घटनास्थलमा अध्ययन थालेको विभागका मौसमविद् डा अर्चना श्रेष्ठको नेतृत्वको टोली सम्भवतः सोमबार फर्किेनेछ । अध्ययन विवरण केलाएर एक साताभित्र प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने विभागको तयारी छ ।
विभाग र द स्मल अर्थ नेपालको वैज्ञानिक टोली सेन्टीनेल भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्वीरको अध्ययनबाट बारा र पर्सामा आएको हावाहुरी ‘टोर्नाडो’ भएको निष्कर्षमा पुगेको थियो । सो क्रममा भूउपग्रहबाट प्राप्त तस्बीरका साथै र सञ्चार माध्यम र सामाजिक सञ्जालका तस्बीर एवं भिडियोको पनि अध्ययन गरिएको द स्मल अर्थ नेपालका अनुसन्धान संयोजक पियूष दाहालले जानकारी दिए।
भूउपग्रहको तस्बीरका आधारमा ‘टोर्नाडो’ करीब ३५ किमी लम्बाइ र औसतमा २०० मिटर चौडाइ रहेको अनुमान गरिएको छ । टोलीले प्रभावितस्थलमा ड्रोन तथा अन्य क्यामेराबाट क्षतिको भिडियो र तस्बीर लिने तथा पीडित मानिससँग कुरा गरेर सूचना लिएको संयोजक दाहालले बताए ।
हावाहुरी प्रभावित क्षेत्र नजिक मौसमी स्टेशन र राडार पनि नभएका कारण विभागले उक्त मौसमी प्रणालीको विस्तृत तथ्याङ्क रेकर्ड गर्न नसकेको हो । तसर्थ विभागले अहिले भूउपग्रहबाट प्राप्त तस्बीर र स्थलगत अध्ययनमा जोड दिएको महानिर्देशक वैद्यले जानकारी दिए । दुवै अध्ययनपछि उक्त मौसमी प्रणालीको विस्तृत जानकारी प्राप्त हुने विभागको विश्वास छ ।
त्यसपछि ‘टोर्नाडो’ को नेपाली नामाकरण गर्नेसमेत विभागले जनाएको छ । यही चैत १७ गते साँझ बारा र पर्सामा गएको भिषण हुरीमा परी २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पु¥याएको थियो । महानिर्देशक वैद्यले बारा र पर्सामा आएको भीषण हावाको वेग १५० देखि २०० किमी प्रतिघण्टा हुन सक्ने अनुमान गरे ।
यसअघि नेपालमा ‘टोर्नाडो’ को घटना भएको अभिलेख छैन । भविष्यमा यस्ता घटनाको पूर्वसूचना प्रवाह गरी उपयुक्त सतर्कता अपनाउन यस्ता विनाशकारी मौसमी घटनाको विस्तृत जानकारीका लागि वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानको खाँचो रहेको विभागले औँल्याएको छ ।
मङ्गलबारदेखि मौसम सफा हुने
मुलुकमा प्रि–मनसुन क्रियाशिल हुँदा आज देशभरी कै मौसममा आंशिकदेखि सामान्य बदली भई वर्षा र हावाहुरीको सम्भावना देखिएको छ । मौसममा बदली भई पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भागका थोरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी बिहारमा न्यून चापिय क्षेत्र र बंगालको खाडीमा उच्च चापीय क्षेत्र बनेका कारण त्यसको प्रभावले नेपालमा प्रवेश गरेको जलवाष्पयुक्त हावाले मौसममा बदली भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
सोमबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने र पूर्वि तराईका केही स्थानमा बतास चल्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । मङ्गलबारदेखि पश्चिमबाट मौसममा तुलनात्मक सुधार आउने उनले जानकारी दिए । (भीष्मराज ओझाको सहयोगमा)
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार