बालेनले भने झैं के नेताहरु ‘चोर’ हुन् ?
विनोद त्रिपाठी
बैशाख २०, २०८० बुधबार ११:५६:८
काठमाडौंका मेयर बालेन साहले १९ वैशाख २०८० राती करिब १० बजेतिर आफ्नो फेसबुकमा लेखे,‘नयाँ पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन !’ उनको स्टाटसमा दुनियाँ भरका नेपाली तन्नेरीहरूले स्याबास बालेन भनिरहेका छन् ।
के नेपालका राजनीतिक नेताहरू चोर नै हुन् ? अब यो प्रश्न सतहमै उत्रेको छ । मेयर बालेनले यो बहस सार्वजनिकरण गरिदिएका छन् । हुन त, पार्टी अध्यक्ष भएको जोसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि एक आमसभामा यस्तै भाषण ठोकेका थिए । उनले पनि वाही वाही पाएर जनमत आफूतिर खिच्न सफल पनि भए । अहिले बालेन साहले भनेको चोर पुराना नेतामा मात्र सीमित रहेन, नयाँ देखा परेका नेताहरुतिर पनि तेर्सिएको छ ।
चोरको अर्थ हुन्छ, अरूलाई झुक्याएर आफ्नो बनाउनु । यसमा कुनै सामग्री वा सीप वा अन्य अभौतिक तत्वहरु पर्छन् । नेताहरूलाई चोर भन्नुको अर्थ लुट्नु, दोहन गर्नु र खोस्नु भन्ने जनाउँछ । यसको शाब्दिक अर्थ भनेको देशको सम्पति लुटेर भ्रष्टाचार गर्ने नेताहरू हो भन्ने स्पष्ट हुन्छ । बालेनले संकेत गरेका यी र यस्तै भ्रष्ट कामचोर नेताहरूलाई संकेत गरेको सजिलै बुझिन्छ ।
विना व्यवसायी र तलबी कामबिना एउटा गरिब परिवारको व्यक्ति राजनीति गरेर सानदार जीवन व्यतीत गर्छ भने के उ साधु हो ? के उ चोर होइन ? यसको जवाफ सुप्रिमो प्रचण्ड र आरजु राणाहरुसँग छ ? कदापि छैन । न हिजो थियो, न आज छ, भोलि त हुने कुरै भएन । इतिहासमा भ्रष्ट भएको व्यक्ति अनन्तकालसम्म सदाचार हुने संभावना हुन्न । त्यसैले, बालेनले भने झैं हालका नेताहरू देश र जनताको कर चोर्ने चोरहरू हुन् । जनताको पसिना शोषण गर्ने शोषकहरू हुन् । काम गर्ने नेपालीलाई बाटो बन्द गर्ने पटके चोरहरू हुन् ।
लाखौं महिला ती हुन्, जसले पारिवारिक सुख बिर्सिएर श्रीमानसँगको सुखद दाम्पत्य जीवनबाट अल्पकालीन अलग हुनु परेको छ । जीवनको यौवनकालमा अलग भएका ती लाखौं दम्पतिहरु आज रोजीरोटी खोज्न अलग अलग बाटो रोजेर विदेश भौतारिनु परेको छ । यस्ता कयौं पीडाहरु छन्, जुन आरजु राणा देउवाहरुमाथि बर्सिएका हुन् ।
तिनले जनतालाई झुक्याएर चोरेको अथाह सम्पत्तिबाट यी कृतिम शक्तिशाली बनेका छन् । यसको प्रमाण खोज्न कहिंकतै जानै पर्दैन । बुढानिलकण्ठ, कोटेश्वर, बालकोट, बालुवाटार र खुमलटारका यिनका निवास खोतले स्वतः पुष्टि हुन्छ । त्यहाँ भेटिएन भने इष्टमित्र र यिनका निकटका व्यक्ति अनुसन्धान गरे आफैँ प्रमाणित हुन्छ । नेपालका नेताहरू भ्रष्टाचारी छैनन् भनेर फैसला आउनै पर्दैन, जनताका हरेक अभिव्यक्तिहरू सबैभन्दा असली फैसला हुन् । जुन फैसला जनताले ३३ वर्षदेखि गर्दै आएका छन् । यिनको प्रतिवाद गर्ने कुनै प्रमाण आरजु राणाहरूसँग छैन । बालेन साहले त्यो सत्य सार्वजनिक गरिदिए, जुन सत्य विषय जनताको लागि सधैं पीडा मात्र बनिरह्यो । जनताले भनिरहेका छन्,‘बालेन जस्तै सत्य बोल्ने लाखौं जनता निस्क, यी कुरूप चोरहरू सिद्धिने छन् ।’
सडेका नेताहरूका गन्हाएका अभिव्यक्ति
शेरबहादुर देउवा पत्नी अर्थात्, राजनीतिक नेतृ वा प्रतिनिधिसभा सदस्य, समाजसेवी, उद्यमी । जेसुकै भन्नोस, उनी हुन्, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा । १९ वैशाख २०८० मा उनले एउटा विज्ञप्ति जारी गरिन्,‘आफ्नो राजनीतिक चरित्र हत्या भएको र दुष्प्रचार बारेमा ।’
आरजुको विज्ञप्ति सबै मिडियाले कभर गरे । समाचारमा आएका झन्डै सतप्रतिशत प्रतिक्रिया आरजुलाई नै गाली थियो । सामाजिक सञ्जालबाटै बर्सिएका यी गाली फगत रोमाञ्चक चन्द्रागिरि डाँडामा खसेका मौसमी हिउँ थिएनन् । यी ती आवाजहरू थिए, जुन आवाजहरू समाजमा पीडा भोगेर दबिएका थिए । अहिले प्रतिक्रिया मार्फत उत्खनन भएका मात्र हुन् ।
भलै एक नेपाली महिलाले एक उच्च स्थान प्राप्त गर्नु आरजुप्रति सम्मान छ । तर, यहाँ लैङ्गिक प्रसंग होइन । सवाल हो, नेपालको राजनीतिले निम्त्याएको पीडा । आरजुलाई कुन नेताले कुन कार्यक्रममा बोलेर राजनीतिक चरित्र हत्या गर्यो, त्यो प्रसंग यहाँ उल्लेख गर्न खोजिएको होइन । यहाँ त केवल पुराना पार्टीहरूमा क्षमता भएका कयौं महिलाहरू दबिएर बसेकाहरू छन्, जसको आफ्नो श्रीमान प्रधानमन्त्री वा मन्त्री छैन । ती योग्य महिलाहरूले कहिले जिम्मेवारी पाउने हुन् । ती आवाजहरू प्रतिक्रिया मार्फत बोलेका हुन् । अर्को कुरा लाखौं महिला ती हुन्, जसले पारिवारिक सुख बिर्सिएर श्रीमानसँगको सुखद दाम्पत्य जीवनबाट अल्पकालीन अलग हुनु परेको छ । जीवनको यौवनकालमा अलग भएका ती लाखौं दम्पतिहरु आज रोजीरोटी खोज्न अलग अलग बाटो रोजेर विदेश भौतारिनु परेको छ । यस्ता कयौं पीडाहरु छन्, जुन आरजु राणा देउवाहरुमाथि बर्सिएका हुन् ।
कुरो हो, २०७८ असार ३० गते । कांग्रेस उपसभापति विजय गच्छेदार बालुवाटार जग्गा प्रकरणको भ्रष्टाचार मुद्दामा १० लाख धरौटी तिरेर रिहा हुँदा अदालतदेखि अख्तियारसम्म व्यापक आलोचना भएको थियो । यो जग्गा प्रकरणमा मुछिएका माधव नेपालदेखि विष्णु पौडेलसम्मका १७५ जनाले अहिलेसम्म उन्मुक्ति पाइरहेका छन् । पछि जन आक्रोश बढ्दै गएपछि भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात थुनामा परे । बस्न्यात तिनै व्यक्ति हुन्, उनैलाई अख्तियारको प्रमुख आयुक्त बनाएर सम्पूर्ण भ्रष्टाचारका मुद्दाका फाइल बन्द गर्न लगाइएको थियो । अहिले पनि अख्तियारका प्रमुख आयुक्तदेखि आयुक्तसम्म पूर्व सरकारी कर्मचारीमा नियुक्ति गरिएको छ । कारण हो, शक्तिशाली दलहरूका नेताहरूका भ्रष्टाचार मुद्दाहरू कहिल्यै अदालत नपुगुन् भनेर भागबन्डामा आयुक्त नियुक्ति गरिएको हो । यो भन्दा नेपालको राजनीतिमा दुर्गन्ध के हुन्छ ?
हर्कले बोकेको ढुंगा र बालेनले मिलाएको डिभाइडर
१६ वैशाख २०८० साँझको बेला शान्तिनगरबाट तीनकुने जाँदै गरेका काठमाडौंका मेयर बालेन साह आफ्नो गाडीबाट झरेर सडकमा ढलेको प्लाष्टिकको डिभाइडर मिलाउँदै थिए । तत्काल उनको यो शैली सामाजिक संजालमा भाइरल भयो । उता, धरानका मेयर दिनदिनै खानेपानी ल्याउन पाइप तान्न र ढुंगा बोकिरहेका तस्विर सामाजिक संजालमा पोष्ट गरिरहन्छन् ।
हेर्दा यी शैली, स्टण्टबाज जस्तो लाग्न सक्छ, तर यसले जिम्मेवारी व्यक्तिहरूमा आफ्नो कर्तव्यको संचार प्रवाह गरिरहेको हुन्छ । हाम्रो शासकीय प्रणालीले प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर, वडा अध्यक्ष, सदस्यहरू लगायतका जनप्रतिनिधिलाई बैठक र निर्णय गर्ने मात्र सिकाएको छ । आफ्नो टोल, वडा, नगर, जिल्ला र सिंगो देश बनाउन फिल्डमा उत्रनुपर्छ भन्ने सिकाएन । फलस्वरुप निर्णय गरेका सयौं आयोजनाहरु बर्षौंदेखि अल्झिएर बसेका छन् । अहिले डिजिटलको जमानामा यी सम्पूर्ण तथ्यहरू जनतामाझ छर्लङ्ग उधिनिएको अबस्था छ ।
कुशासनले जरा गाडेको हाम्रो शासकीय शैलीको जालो नतोडेसम्म यस्तो द्धन्द्ध चलि रहनुपर्छ । जब बालेनले टुकुचा खोलालाई प्राकृतिक रुपमा बग्न दिने काम शुरु गरे, जब उनले अब्यबस्थित सुकुम्बासी बस्ती हटाउन खोजे, जब उनले सडकका कुरूप तस्विरहरू हटाउन खोजे तब पुराना दलहरू र यिनका आडमा चलेका अन्ध मिडियाहरु बालेनमाथि खनिए ।
कुनै बेला चोक, चौतारामा शासकलाई आक्रोश पोख्ने थलो अहिले सामाजिक संजाल बनेको छ । यो त्यो समय हो, जहाँ हातमा भएको डिजिटल भाँडोले हरेक विषय छर्लङ्ग देखाइदिन्छ । कसैले म असल, मेरो चरित्रहत्या भो भन्नै पर्दैन । जनताले कारण सहित तुरुन्त जवाफ फर्काइदिन्छन् । राम्रो काम गर्नेलाई स्याबासी दिइरहेका छन् । नराम्रो काम गरेर रातारात सम्पति जोड्नेलाई गाली गरिरहेका हुन्छन् । आज बालेन र हर्क साम्पाङले स्याबासी पाइरहनु र आरजु राणाहरुले गाली खाइरहनुको यसैको प्रामाणिक कारणहरू हुन् । धरान उपमहानगरपालिकामा मेयर भएदेखि हर्क साम्पाङको काँधमा ढुंगा हटेको छैन, हातमा पाइप छुटेको छैन । आज, ती धरानबासी मात्र होइन, हर्क साम्पाङको कामबाट देशैभरबाट जनतामा जागरण पैदा भएको छ ।
बालेन आक्रोशमा मिसिएको जनताको आवाज
जब, बालेन काठमाडौं भद्रगोल बजारलाई सुन्दर शहरमा रुपान्तरण गर्न खोज्छन्, अनि दलहरूको अवरोध झेल्छन् । यस्तै, अड्चन धरानका मेयर हर्कले पनि व्यहोरिरहेका छन् । यी दुवै स्वतन्त्र जनप्रतिनिधि हुन् र दुवैको आक्रोश दलहरू माथि निरन्तर खनिएको अबस्था छ । हाम्रा विकासका संरचना स्थानीयदेखि संघीय सरकारसम्मको सर्कलमा घुमेको छ । उदाहरणको लागि कुनै पालिकाले सडक निर्माण गर्ने योजना अघि सार्दा सडक विभागदेखि केन्द्रीय भौतिक निर्माण मन्त्रालयसम्मको अधिकार र आदेश आवश्यक पर्छ । एउटा मात्र सरकारी अड्डाले अवरोध सृजना गरिदियो भने पालिकाले काम गर्न सक्दैन । यी अड्डाहरु केन्द्रीय सरकारको मुठ्ठीमा छ । बालेन र हर्क आफ्नो नगर बनाउन दर्जनौं निर्णयमा पुग्छन्, अनि दलहरूका एैंजेरुहरु सल्बलाई रहन्छन् र बाटो बन्द गरिदिन्छन् ।
केही दिनअघि बालेनले सिंहदरबारभित्रको फोहोर नउठाउने घोषणा गरेर दलहरूले पुर्याएको अवरोधको पीडा सार्वजनिक गरेका थिए । उता हर्क साम्पाङ वडा अध्यक्षहरूप्रति त्यस्तै गुनासो पोख्दै थिए । बर्षौंदेखि काम नगरी ठालु नेता बनेर दर्ज भएकाहरूको तौरतरिका चिर्न बालेन र हर्कहरूको प्रयास कतिलाई स्टण्डबाज लाग्छ । हाम्रो पुरानो मानसिकताले द्रुत गतिमा काम गर्ने शैलीलाई स्टण्डबाज देख्छ । कुशासनले जरा गाडेको हाम्रो शासकीय शैलीको जालो नतोडेसम्म यस्तो द्धन्द्ध चलि रहनुपर्छ । जब बालेनले टुकुचा खोलालाई प्राकृतिक रुपमा बग्न दिने काम शुरु गरे, जब उनले अब्यबस्थित सुकुम्बासी बस्ती हटाउन खोजे, जब उनले सडकका कुरूप तस्विरहरू हटाउन खोजे तब पुराना दलहरू र यिनका आडमा चलेका अन्ध मिडियाहरु बालेनमाथि खनिए ।
दलहरूको आफू पनि काम नगर्ने, अरूलाई पनि काम गर्न नदिने प्रवृत्तिको खुलेर आलोचना हुँदा कुनै नेताले प्रायश्चित महसुस गरेका छैनन् । यहाँका सडकमा दैनिक यी नेताहरू ओहोरदोहोर गरिरहन्छन् । आजसम्म कसैले सडकको भद्रगोल र ट्राफिक अस्त व्यस्तताको समाधान गर्नुपर्ने आवाज उठाएका छैनन् । यी पुराना हुन् वा नयाँ नेताहरूले उपत्यकाको भद्रगोल बजारलाई देशको सुन्दर राजधानी बनाउने चिन्ता व्यक्त गरेका छैनन् । के यही हो, विकास ?
आज बालेन र हर्कहरूले आफ्नो ठाउँ बनाउन जसरी कम्मर कसेर लागेका छन्, त्यसरी नै हरेक जनप्रतिनिधिले आ-आफ्नो ठाउँ बनाउने हो भने मुलुक बन्न के बेर लाग्छ र ? यहाँ गलत नियत बोकेर राजनीतिमा छिरेका कयाैँ नेताहरूले बर्षौंदेखि देखाएको असली स्टण्डबाजले बालेन र हर्कलाई काम गर्न छेकिरहेका छन् । जबसम्म भ्रष्ट, कामचोर र गैरजिम्मेदार नेताहरू मैदानबाट हट्दैनन् वा समाप्त हुँदैनन्, तबसम्म सत्य र असत्यबीच द्धन्द्ध चलिरहन्छ । जुन द्धन्द्ध बालेन हर्कका आक्रोश र दलहरूका वादविवादका दृष्यहरु हुन् । बालेनले भने झैं अहिले जिउँदै भएका एक जना नेतालाई यो देशको माया छैन । बहुसङ्ख्यक जनताले पनि यही भनिरहेका छन्, यी कामचोर नेताहरू साँच्चिकै ‘चोरहरू’ हुन् ।
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार