कांग्रेसमा सभापति देउवा र नेता कोइरालामाथि नै चुलियो अविश्वास
केदार भट्टराई (काका)
बैशाख २६, २०८० मंगलबार १२:४०:२७
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसभित्र समूह गत नेतृत्वमाथि चरम असन्तुष्टि चुलिएको छ । संस्थापन पक्षको नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवा र इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइराला दुवै नेताले पार्टीको आन्तरिक काम र बाहिरको राजनीतिक परिवेश अनुसार काम गर्न नसकेको भन्दै युवादेखि दोस्रो तहका नेताहरूले सार्वजनिक रुपमा नै असन्तुष्टि जनाउन थालेका छन् ।
सभापति देउवासँग केन्द्रीय समितिमा बहुमत रहे पनि यसको फाइदा उठाउँदै पार्टीका काम कारबाही अगाडि बढाउन नसकेको भन्दै संस्थापन पक्षकै नेताहरूले उनको विरोध सुरु गरेका छन् । देउवा खेमाभित्र नेताहरू समूह गत रुपमा विभाजित हुन थालेका छन् । देउवाले पार्टीका काम त अगाडि बढाएनन् नै कांग्रेसप्रति यति बेला बढिरहेको असन्तुष्टिलाई सम्बोधन गर्ने कुरामा पनि उनले चासो नदेखाउँदा पार्टीको भविष्य के हुने भन्ने चिन्ता बढेको उनीहरूको भनाइ छ ।
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग सभापति पत्नी आरजु राणा देउवाको संम्लग्नताले विषय बाहिर आएपछि संस्थापन पक्षका नेताहरू थप सलबलाउन थालेका छन् । आम निर्वाचनको समीक्षा, त्यसपछि उत्पन्न राजनीतिक परिस्थिति, तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनले दिएको सन्देश लगायतका विषयमा सभापति देउवाले चासो नदिएको प्रति उनीहरूको असन्तुष्टि छ । आफ्नै समूहका नेताहरूले विरोध जनाउन थालेपछि सभापति देउवाले महामन्त्रीसहित केही नेताहरूलाई धुम्बाराहीमा बोलाएर पार्टीका काम एक साताभित्र सक्ने बताएका थिए ।
यसपछि उनी फेरी सेलाएको नेताहरू बताउँछन् । संस्थापन पक्षमै रहेका नेताहरू देउवाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट बन्दासमेत उनी कार्यशैली सच्याउने मनस्थितिमा देखिएका छैनन् । माओवादी नेतृत्वको सरकारमा मन्त्री पठाउने कुरामा पनि देउवाप्रति संस्थापन पक्षका धेरै नेताहरू असन्तुष्ट देखिएका छन् । नयाँ र समावेशी आधारमा मन्त्री छनोट नगर्दा आम असन्तुष्टि पार्टीप्रति नै चुलिएको भन्दै उनीहरूले समेत नेतृत्वको कार्यशैली नसच्चिए पार्टी दुर्घटनामा जाने चेतावनी दिएका छन् ।
संस्थापन पक्षीय एक केन्द्रीय सदस्यले नेपालबहससँग भने, ‘नेतृत्वबाट नयाँलाई निषेध गर्ने काम भइरहेको छ । नयाँलाई निषेध गर्ने काम पार्टीबाट भएको छ । यसले चुनाव जितेर आउनेहरूलाई पार्टीको कामप्रति ऊर्जा दिएको छैन । भइरहेकालाई मात्रै सभापतिबाट अवसर दिने काम भएको छ । अब संस्थापन पक्ष र पार्टी सभापति भनेर चुप लागेर बस्ने समय रहेन । धेरै नेताहरूले सभापतिको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको छ । अब सभापति र कांग्रेसकै शल्यक्रिया नै गर्नुपर्ने अवस्था आएको छ । यो ढंगले पार्टी पनि चल्दैन र राजनीति गर्न पनि सकिँदैन । अब सामान्य उपचारले नेतृत्वमा सुधार आउने छाँट देखिएको छैन ।’
यस्तै कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाको कार्यशैलीप्रति पनि नेताहरूले प्रश्न उठाएका छन् । पार्टीमा समूहको नेतृत्व गर्छु भन्ने तर, पार्टीले पाउने अवसरमा समेत सभापतिसँग दह्रोसँग कुरा राख्न सक्ने हैसियत पनि नदेखाएको भन्दै कोइरालाले अडिग भएर समूह र पार्टीका गतिविधिमा ध्यान नदिएको यो समूहका नेताहरू बताउँछन् । मन्त्री पठाउने विषयमा देउवाले मात्रै होइन, आफ्नै टिमबाट नेता कोइरालाले नेताहरूसँग समेत छलफल र परामर्श गर्न आवश्यक नठानेको उनीहरूको भनाइ छ ।
१४ औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालाले आगामी पार्टीको सभापति पनि दावी गरिरहेका छन् । आगामी पार्टी सभापति दावी गरेको नेताले पार्टीको आन्तरिक राजनीति र देशको राजनीतिक परिस्थिति अनुसार कदम चालेर नेता र कार्यकर्ताहरूलाई परिचालन गर्नु पर्नेमा नेता कोइराला पनि आफूखुसी हिँडिरहेको इतर समूहका नेताहरू बताउँछन् । उनीहरूको भनाइमा सभापति देउवाले पार्टी र राजनीतिलाई समयको माग र बदलिएको परिस्थिति अनुसार अगाडि बढ्न नसकेपछि कोइराला अगाडि बढ्नुपर्ने थियो । तर, उनी आफ्नै शैलीमा हिँडिरहेका छन् ।
कोइराला समूहका एक नेताले भने,‘कांग्रेसको भित्र अहिले दुई समूह छन् । पार्टी सभापति भएकाले संस्थापन समूहको नेतृत्व देउवाले गर्ने भए पनि आगामी पार्टी सभापतिमा दावी गरिरहेको नेताले यो परिस्थितिमा सभापतिले काम गर्न नसकेपछि अगाडि बढेर आफूले पार्टीका गतिविधिमा ध्यान दिनुपर्ने थियो । कुनै समूहको राग नदेखाई नेताहरूलाई अब कांग्रेसलाई जीवन्त पार्टी बनाउन यो ढंगले अगाडि जानुपर्छ भनेर नेताहरूलाई एकत्रित गरी परिचालन गर्नुपर्ने पर्ने थियो । राष्ट्रिय राजनीति कता जाँदैछ भनेर उहाँले सबैलाई एक बनाएर हिँडाउनु पर्ने थियो । यसो हुँदा हाम्रो समूहको मात्र नभएर नेपाली कांग्रेस र बाह्य राजनीतिमा पनि उहाँको भूमिका देखिने थियो । तर, सिंगो कांग्रेस यति बेला नेतृत्व विहीन देखिएको छ ।’
नेताहरूका अनुसार देउवा उमेरका हिसाबले शिथिल हुन थालेका छन् । १७ महिनादेखि आएको कांग्रेसको नयाँ नेतृत्वले काम पाएको छैन । विभागहरू गठन भएरको भए संगठनमा प्रतिनिधित्व भएका हिसाबले पनि यति बेला कांग्रेसका करिब १५ सय नेताहरू परिचालित हुने थियो । भातृ र शुभेच्छुक संस्थाहरूलाई पुर्णता दिएको भए अहिलेको परिवेषमा उनीहरु पनि क्रियाशील भएर काममा खटिने थिए । यी पार्टीका आन्तरिक जीवनका विषयबाहेक आम जनताले देशको यो परिस्थितिमा कांग्रेस के गर्दैछ भनेर सोध्दा जवाफ दिने अवस्था पनि रहेको छैन । कांग्रेसमा सफल नेतृत्वको अभाव देखिएको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार