भ्रष्ट चक्रव्यूहः शीर्ष नेताको राजनीतिक घेराले भष्टाचारको जालो बनाइरहने, युवाहरुले पत्तै नपाउने ?
भेषराज पोखरेल
बैशाख ३०, २०८० शनिबार १०:५०:१३
लोकतन्त्रमा पार्टी संयन्त्रको विशेष महत्व हुन्छ । पार्टी संयन्त्रले नीति नियम बनाउँछ, नेताहरु त्यसै अनुसार अघि बढ्छन् । नेता कसरी अगाडि बढिरहेका छन् ? कार्यकर्ताले के गरिरहेका छन् ? पार्टी वा दलको नीति अनुसार चलेका छन् कि छैनन् भन्ने कुरा पार्टी संयन्त्रले हेर्ने गर्छ । त्यसैले कुनै स्वतन्त्र व्यक्तिभन्दा पार्टीप्रति जनताको बढी भरोसा हुन्छ । प्रजातन्त्र अर्थात् लोकतन्त्रमा विश्वास गर्ने भनिएका पार्टी संयन्त्रले केन्द्रीय नेताहरुको कार्यव्यवहार, सरकारमा जाने प्रभावशाली नेताहरुले के गरिरहेका छन् भन्ने कुरा केही पनि थाहा पाउँदैनन् भने त्यसलाई के भन्ने ? पछिल्लो समयको नक्कली भुटानी शरणार्थी काण्डले पटक–पटक¬¬ सरकार सम्हाल्दै आएका कांग्रेस र एमालेका पार्टी संयन्त्र पंगु भएको स्पष्ट गरेको छ ।
शीर्ष नेताका परिवार तथा प्रभावशाली नेताहरु नै नेपाली नागरिकलाई भुटानी शरणाथी बनाएर अमेरिका पठाइदिने भन्दै ठूलो धनराशी असुल्ने धन्दामा गिरोह नै बनाएर लाग्दा पनि पार्टी संयन्त्रले केही पनि थाहा नपाउनु डरलाग्दो अवस्था हो । यस्तो अवस्थामा पार्टी प्रक्रिया खै ? आन्तरिक लोकतन्त्र कता बिलायो ? यी दलका शीर्ष नेताको वरिपरिको शक्तिकेन्द्र भ्रष्टाचारमा मुछियो, अन्य नेताहरुले भ्रष्टाचारमा संलग्नलाई कारबाही गनुपर्छ त भनिरहेका छन् तर तिनै नेताहरु पार्टी संयन्त्रमा भएर केही पनि नदेख्नुलाई के भन्ने ? प्रश्न उठेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण नेपालको इतिहासमै डरलाग्दो हो । गृहप्रशासनको उच्च तह र गृहमन्त्रालय नै संलग्न भएर नागरिकलाई अनागरिक बनाई मानव तस्करी गर्न अर्बौं रुपैयाँ उठाउने घटना जघन्य अपराध हो । सरकारी तथा अन्य संयन्त्रले केही पनि थाहा नपाउनु वा थाहा पाएर पनि नपाए जस्तो गर्नु सामान्य होइन । नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, अख्तियारदेखि अनेकौं संंयन्त्र भएर पनि केही सुइँको नपाउनु, शरणार्थी समस्याको दीर्घकालिन समाधानका लागि आयोग बनाउँदा नै सेटिंग मिलाउन भ्याउनुले राज्य संयन्त्रको पतनको डरलाग्दो अवस्था हो । अर्को चकित पार्ने पक्ष के छ भने संसदले केही पनि थाहा नपाउने अवस्था पनि उदेक लाग्दो हो ।
हुन त भ्रष्टाचार देखाएर गरिँदैन र भ्रष्टाचार गर्नेले मैले भ्रष्टाचार गरेँ भनेर कसैले पनि भन्दैन, कुनै न कुनै रुपमा कसैले कैफियत फेलापार्दा छानबिन गरेरै बाहिर आउने हो तर यो त जनतासँग जोडिएर आएको कुरा हो । अझ युवाहरुलाई अनागरिक बनाएर अमेरिका पठाइदिने भनेर पैसा उठाइएको कुरा पनि यसरी लुकिरहनु सामान्य होइन । गिरोह चलाउने विचौलियाहरु त लाग्ने नै भए, उनीहरुले चलाउने भनेकै यस्तै हो तर उपप्रधानमन्त्री भइसकेका एमालेका सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री, पूर्वमाओवादी नेता राबहादुर थापा बादलका सुरक्षा सल्लाहकार, थापा र रायमाझीका छोराहरु पनि संलग्न भएको प्रमाण प्रहरीले जुटाएको छ । गठबन्धनबाट बनेका पछिल्ला गृहमन्त्री पनि त्यसैको भाग लिन संलग्न हुनु कति डरलाग्दो हो । थापाका सम्बन्धमा प्रमाण भेटिएको बुझिएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार पनि गर्न दिन्नँ भन्दै आउनु तर उनकै समयमा आयोग बनाएर त्यसैलाई उपयोग गरेर यो प्रकरण मच्चाउन राज्य संयन्त्र नै लाग्नु राजनीतिक बेइमानी हो । अर्को, गाउँगाउँसम्म पार्टी कमिटी भएको एमाले पार्टी संयन्त्रले केही पनि थाहा नपाउनुलाई के भन्ने ?
ओली सरकारको समयमा भएको यो प्रकरण प्रजातान्त्रिक दलको रुपमा चिनिएको कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँड गृहमन्त्री हुनेबित्तिकै कारबाहीको दायरामा ल्याउन सक्थे । उनी र उनको परिवार अनि पार्टी सभापति शेर बहादुर देउवाको परिवार भ्रष्ट भएकाले त्यसलाई झन् विशेष रुपमा अघि बढाउन चाहे । तत्कालीन गृहसचिवको संलग्नता भयो, तत्कालीन गृहसचिव तथा अहिलेका अख्तियार प्रमुख प्रेम राईको पनि संलग्नताको प्रमाण जुटाइँदै छ । यिनीहरु राजनीतिक सेटिंगबाटै यी पदमा आएका हुन् । प्रहरी अनुसन्धान सकिँदासम्म को–को तानिने हुन् भन्न सकिने अवस्था छैन । यस्तो घटनामा राज्य सञ्चालन गर्दै आएका दलका शीर्ष नेतृत्वको यति डरलाग्दो रुपमा संलग्नता छ भने ठूलो विदेशी सहयोगका योजना, देशले निर्माण गर्ने ठूला आयोजना, निजी क्षेत्रले स्थापना गर्न लागेका ठूला उद्योग तथा योजनामा नीतिगत रुपमा कागजात मिलाएर कति घोटाला गरेका होलान् ?
अझ विदेशी राष्ट्रहरुसँग हुने आर्थिक मामिलाका सन्धि, सम्झौतामा कस्तो अवस्था होला ? यसको छानबिन कसले गर्ने ? सर्वसाधारण जनताले कसले कुन आयोजनमा कति खायो भनेर तथ्यांक पेस गर्न त जान्दैनन् तर राज्य सञ्चालन गर्दै आएका दलहरुका शीर्ष तह भ्रष्ट छन्, विकास, सुशासन, राष्ट्रियता कुनैमा पनि इमान्दार छैनन् भन्ने कुरामा स्पष्ट देखिन्छन् । उनीहरुले पछिल्ला उपनिर्वाचनमा दण्ड दिएको स्पष्ट देखाइदिए भने अन्य निर्वाचनमा पनि केही छनक दिइरहेकै हुन् ।
अहिले सर्वाधिक डरलाग्दो कुरा कांग्रेस, एमालेका पार्टी संयन्त्रमा युवाहरुको पकड बढ्दै गए पनि पार्टीका शीर्ष नेतृत्व र त्यस वरिपरिको घेरा यस्तो डरलाग्दो रुपमा भष्टाचार तथा अनियमिततामा डुब्दा पनि केही गर्न सक्ने अवस्थामा छैन । एमालेमा युवा नेताहरु ओली र उनको घेराका विरुद्ध शिर उठाएर बोल्न सक्ने अवस्थामा छैनन् । उनीहरुले यो संयन्त्रको आदेश मान्ने मात्रै हो तर कांग्रेसका युवा नेताहरुले नेतृत्वमाथि प्रश्न उठाउँदै आए पनि दह्रो परिणाम ल्याउन सकेका छैनन् । यो शरणार्थी प्रकरणमा कांग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, भूपेन्द्र जंग शाहीदेखि अन्य नेताहरुले गृहमन्त्रीलाई भेटेरै यो प्रकरणमा संलग्नलाई कारबाही अघि बढाएकोमा धन्यवाद दिएका छन् । छानबिन गर्नुपर्छ भनेर त एमालेका युवा नेताहरुले पनि भनेकै छन् तर ओलीको छट्पटी, देउवाको बेचैनी, प्रधानमन्त्री प्रचण्डको के गहौं, कसो गरौंको अवस्थालाई कसरी हेरेका होलान् ?
अब विरोधका लागि विरोधले काम गर्ने अवस्था छैन । अब त केही गर्ने हो भने सके शीर्ष नेतृत्वलाई बाध्य पार्न सक्नुपर्छ । सरकारमा संलग्न दल कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी दल एमालेका नेताहरु दैनिकजसो कानेखुसी गरिरहँदा जनतामा चिसो पसेको छ । यो अवस्थालाई यी दलका युवा नेताहरुले गम्भीर रुपमा लिनु आवश्यक छ । नेताको चाकरी नै राजनीतिक भविष्य हो भन्नेहरुले त के सचेत हुनु पर्यो र ? यदि केही गर्ने नै हो भने पार्टीभित्रका केही गरौ भन्ने युवाको ठूलो समूह नै तयार गरेर यस्ता कुरा खोज्न सुरु गरिहाल्नु पर्छ । नभए नेतृत्व आफ्नै तरिकाले चलिरहन्छ, बोल्ने बोलिरहन्छ भन्ने अवस्था रहनेछ । यो अवस्थामा पनि चुक्ने हो भने युवाहरुको अस्तित्व पनि रहने छैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपसहमतिका नाममा शीर्ष नेताको जात्रा हेरिनसक्नु छः घिमिरे
पुष २०, २०८० शुक्रबार
टिकटकमाथि प्रतिबन्धः भ्रम र यथार्थ
कात्तिक ३०, २०८० बिहिबार
संयुक्त राष्ट्रसंघमा नेपाल
कात्तिक १२, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कालिकोटको महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार