मनसुनजन्य विपद्को पूर्व तयारी गर्न निर्देशन
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १६:५६:५७
३ जेठ, काभ्रे । मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्व तयारी अवस्थामा रहन काभ्रेका स्थानीय तहलाई निर्देशन दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज धुलिखेलमा सम्पन्न बैठकले ‘मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्य–२०८०’ अनुसार बाढी, डुवान तथा कटानका कारण हुनसक्ने क्षति कम गर्न स्थानीय तहलाई पूर्ववत् तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले बाढी, डुवान तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणार्थ सहजीकरण गर्न आग्रह गरेको छ ।
अत्यावश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ–दाउरा सङ्कलन गर्नेजस्ता कार्यलाई निषेध गर्ने, महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भई उच्च जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्नेगरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्ने निर्णय गरिएको सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिए ।
बैठकले विपद् व्यवस्थापन समितिको कार्यलाई संस्थागत गर्न स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने, विपद् कोषको संस्थागत व्यवस्था मिलाउने, राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने तथा विपद्का तथ्याङ्कलाई स्थानीय तहदेखि एकीकृत रुपमा अभिलेखिकरण गरी जिल्लास्थित कार्यालयमा सम्प्रेणष गर्ने, यसअघि विपद्जन्य घटनाका पीडितलाई प्राप्त रू आठ लाख छ हजार अनुमोदन गरिएको उनले बताए ।
सहायक प्रजिअ पोखरेलका अनुसार नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरी बललाई आवश्यकपर्ने सामग्री उपलब्ध गराउन बागमती प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग माग गर्ने, मनसुनजन्य विपद्बाट जिल्लास्थित राजमार्गमा अवरुद्ध सडक खुलाउन सरोकारवाला निकायलाई ‘हेव्बी इक्यूपमेन्ट’ राख्न निर्देशन दिइएको छ ।
स्थानीय तहले राजमार्ग तथा मुख्य सडक र ग्रामीण सडकका लागि एक एक थान डोजर तयारी अवस्थामा राख्नसमेत बैठकले निर्देशन दिएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
बर्सेनि विद्दका घटना बढ्दा थप नागरिक पीडित बन्ने भएपछि समितिले चालु वर्षमा मनसुन सक्रिय हुन अझै बाँकी रहेकाले थप उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन दोलालघाटस्थित सुनकोशी नदीमा गत वैशाख २३ गते विपद् प्रतिकार्य संयुक्त अभ्यास आयोजना गरेको थियो । उक्त विपद् प्रतिकार्य संयुक्त अभ्यासलाई जिल्लास्थित सेनाको कालीजङ गणले ‘मनसुन–३’ नामाकरण गर्दै अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेका व्यक्तिको उद्धार गरिएको थियो ।
यसअघि जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रहेका आपतकालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाउन निर्देशन दिइएको थियो । चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेका जनाइएको छ ।
यस अधिवमा पहिरोबाट तीन, आगलागीबाट २५, चट्याङमा परेका चार, हावाहुरीमा परेका एक र करेन्ट लागेका एकको उद्धार गरिएको थियो । पहिरोबाट चार, आगलागीबाट दुई, बाढीबाट दुई, हावाहुरीबाट तीन र करेन्ट लागेर तीन तथा सडक दुर्घटनामा ४६ को मृत्यु भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार