कांग्रेस रुपान्तरणमा महामन्त्रीद्वयको भूमिका शंकास्पद !
केदार भट्टराई (काका)
जेठ ५, २०८० शुक्रबार १३:२४:३८
५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र गगन थापा यति बेला कांग्रेसमा भूमिकाविहीन भएको अवस्थामा देखिएका छन् । आम कांग्रेस कार्यकर्ताहरूमा उनीहरूको भूमिकालाई लिएर चरम असन्तुष्टि बढेको छ । पार्टीका कतिपय नाम चलेकै नेताहरूले महामन्त्री द्वय सामाजिक सञ्जालमा मात्र केन्द्रित हुन पुगेको भन्दै शर्मा र थापाको आलोचना पनि गरिरहेका छन् ।
निर्वाचन सकिएपछि कांग्रेसका गतिविधि प्रायः सभापति शेरबहादुर देउवा कै धुम्बाराहीकाे कोठाबाट चलिरहेका छन् भने महामन्त्रीका भनाई र गुनासाहरू पनि सामाजिक भन्दा बाहिर आउन सकेका छैनन् । पार्टी रुपान्तरण गरिन्छ भन्ने देखि सभापति देउवालाई तर्साउनेसम्मका सबै कुरा सामाजिक सञ्जालमा मात्रै देखिन्छ । देउवाले केन्द्रीय समितिको बैठक नबोलाए पनि बेला बेलामा पदाधिकारी र संसदीय दलका बैठकहरू बोलाई रहे कै छन् । यी बैठकमा पनि महामन्त्रीद्वयको भूमिका सहमति जनाउने बाहेक उपस्थितिको अर्को काम देखिएको छैन ।
नेपाली कांग्रेस आफैंमा पुरानो र ठूलाे दल हो । संसदमा पनि अहिलेसम्म ठूलै दलका रुपमा स्थापित छ । तर, कांग्रेसका कार्यक्रम के हुन भन्ने कसैलाई थाहा छैन । बजेट आउन लाग्यो, नक्कली शरणार्थी प्रकरणले देश उचालेको छ, कांग्रेस र तीनका नेताका नाममा बहस चलिरहेको छ । देशको अर्थतन्त्र ऋणात्मक छ । स्वास्थ्य, शिक्षादेखि सबै तहमा महंगीले जनता आक्रान्त छन् । चुनाव सकिएपछि जितेर गएका दलहरूले केही नीति बनाउलान्, केही नयाँ कार्यक्रम लिएर आउलान भन्ने आस गरेका थिए । कांग्रेस सत्तामा छ । सत्ता बाहिर रहेको एमालेले सधैं कांग्रेसमाथि प्रश्न उठाउँदै आइरहेका छ तर, कांग्रेस कहाँ छ पत्तो छैन ।
कांग्रेस कहाँ छ भनेर देखाउने भूमिका महामन्त्रीको हो र यति बेला साँच्चै नै महामन्त्रीले खास भूमिका देखाउने समय पनि थियो । कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउन र छलफल चलाउने अधिकार महामन्त्रीसँग छैन । तर नीति अधिवेशन, महासमिति सदस्यहरूको भेला बोलाउन कुरामा उनीहरूले दवाव दिन समेत छाडेका छन् । सभापतिको तहबाट नभए पनि महामन्त्रीका हैसियतमा कांग्रेसजनले अब लिनुपर्ने बाटाे र बनाउनु पर्ने योजनाका बारेमा उनीहरूले पार्टीका सबै तहका नेताहरूसँग एक प्रकारको छलफल चलाउन सक्थे । यसले कांग्रेसले कही गर्दैछ भने सन्देश पनि बाहिर जाने थियो ।
कांग्रेस सुतिरहेको छ भन्न आरोप यसले एक हदसम्म टार्न सक्थ्यो । यी कुरा महामन्त्रीको तहबाट होस भन्ने आम कांग्रेस कार्यकर्ताको भावना पनि थियो । तर, महामन्त्री नै यति बेला सुतिरहेको अवस्थामा देखिएका छन् । महामन्त्रीको सभापतिसँग लडेर काम गर्ने अवस्था पहिले देखि नै नदेखिएको हो भने अहिले तल्लो तहमा कार्यक्रम लाने कुरामा पनि थापा र शर्मा पछि परिसकेका छन् । तल्लो तहमा तेस्रो पुस्ताका नेताहरूले एक प्रकारको अभियान सुरु गरिसकेका छन् । यसमा महामन्त्रीको उपस्थिति अब सहज देखिएको छैन ।
पार्टी नीतिमा चल्नुपर्ने हो । नेताहरू पार्टीको नाम लिएर हिँडेपछि अनुशासित हुनुपर्ने हो । एक खाले कांग्रेसका नेताहरू कार्यक्रम भन्दै तल हिँडिरहेका छन् । माथि कार्यक्रम के हो भन्ने नेतृत्वलाई थाहा छैन । एक हिसाबले हेर्ने हो भने कांग्रेसको अहिलेको अवस्था मियो विनाको दाई जस्तै छ । यसले कांग्रेसभित्र चाँडै विग्रह र ध्रुवीकरण हुने संकेत देखिएको छ । अहिले तेस्रो तहका नेताहरूले यो अभियान थालिसकेका छन् ।
पछिल्ला निर्वाचन र ती निर्वाचनबाट नवोदित राजनीतिक दलहरूलाई प्राप्त जनमतबाट त्रसित बनेका दोस्रो पुस्ताका नेताहरूले कांग्रेसभित्रै नयाँ ध्रुबीकरणको प्रयास थालेका छन् । पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको डेढ वर्षसम्म पनि नेतृत्वले आशा जगाउन नसकेको, बरू नेतृत्वको कार्यशैलीबाट निराशा पैदा भइरहेको भन्दै उनीहरूले ‘कांग्रेसमा रुपान्तरण अभियान’ घोषणा गरिसकेका छन् ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरू राज घिमिरे, केन्द्रीय सदस्य द्वय गोविन्दराज पोखरेल र मधु आचार्य, नेताहरू देवराज चालिसे, भुपेन्द्रजंग शाही र रञ्जित कर्णसहितले एक महिने देशव्यापी रुपान्तरण अभियानको घोषणा गरेका छन् । यो उनीहरूको कार्यक्रम कांग्रेसको हो कि नेताको मात्रै हो भन्नेमा नेतृत्व पनि दुविधामा देखिएको छ । यसलाई महामन्त्रीद्वयले अब कसरी लिन्छन् ।
नेतृत्व र स्वयं महामन्त्रीले गर्न नसकेका विभिन्न मुद्दाहरू बहसका लागि अघि सारेका उनीहरूले पार्टीमा नेतृत्वको कार्यशैलीबाट निराश बनेकाहरूलाई एक हुन आश्वस्त पारेका छन् । उनीहरूले रुपान्तरण अभियानका नाममा सातै प्रदेशमा पार्टीका प्रदेश कार्यसमितिको समानान्तर हुने गरी प्रदेश संयोजकसमेत तोकेका छन् । अभियानको अग्रभागमा देखिएका सबै नेता शेखर कोइराला पक्षका देखिएकाले पनि महामन्त्री गगन थापाको भूमिका अब के हुन्छ भन्ने चासो बढेको छ ।
अभियान कुनै गुट वा व्यक्तिगत स्वार्थकेन्द्रित नभई पार्टीको रुपान्तरण र संगठन सुदृढीकरणका लागि भएको उनीहरूले दावी गरे पनि कोइराला समूह भनेर चिनिएका छन । नेता कोइराला आफै पनि देश दौडाहा अभियानमा छन् । डेढ वर्षअघि भएको कांग्रेसको १४ औं महाधिवेशनमा नेता शेखर कोइराला र उनको नेतृत्वको समूहले रुपान्तरण र पुस्तान्तरणको नारा लगाएका थिए ।
महाधिवेशनमा शेखर पराजित भए, तर उनको समूहबाट गगन थापा भारी मतले महामन्त्री निर्वाचित हुँदा उपसभापतिमा धनराज गुरूङ, सहमहामन्त्रीमा जीवन परियार र बद्री पाण्डेसहित केन्द्रीय समितिमा केही नेताहरू निर्वाचित भए । तर, महाधिवेशनपछि रुपान्तरणको एजेण्डा ओझेलमा परेको युवा नेताहरूको आरोप छ । झुण्ड झुण्ड र समूह समूह भएर जनतामा जाँदा भोलि जनताले समूहलाई मात्र हेर्ने कि पार्टी भनेर हेर्ने हो । यति कुरामा त महामन्त्रीको पदमा पुगेकाले जान्नु पर्ने हो ।
नयाँ नेतृत्वको आधा कार्यकाल बितिसक्यो, तर केन्द्रीय कार्यसमिति नै अपूरो छ । भ्रातृसंस्था लथालिङ्ग छन् । पार्टीको न समयानुकूल नीति छ, न रणनीति छ । कार्यकर्तामा ऊर्जा छैन, निराशा भरिएको छ । रुपान्तरण अभियानका लागि उनीहरूले विभिन्न १२ मुद्दाहरूमा छलफलका लागि अघि सारेका छन् । जेठ ११ देखि ३१ गतेसम्म सातै प्रदेशमा हुने अन्तरक्रिया कार्यक्रममा ती नै मुद्दाहरू लक्षित बहस र छलफल गर्ने उनीहरूको भनाइ छ । अभियानका लागि जिल्ला र पालिकास्तरमा समेत संरचना बनाउने उद्देश्य रहेको उनीहरूको भनाई छ ।
रुपान्तरण अभियानले कांग्रेसको १० महिनादेखि बस्न नसकेको केन्द्रीय समिति बैठक र अस्तव्यस्त संगठनमाथि प्रश्न गरेको छ । अभियानले पार्टीको चुस्त संगठन, दुरुस्त सदस्यता र भ्रातृ संस्थाहरूको पुनर्जीवनको मुद्दालाई प्रमुख रुपमा उठाएको छ । अवसरमा समानता, सन्तुलित विदेश नीति, भ्रष्टाचार मुक्त राजनीति र सुशासन तथा सेवामुखी राजनीतिको बाटोमा कांग्रेस अघि बढ्नुपर्ने कुरा उठेका छन् । तर, महामन्त्री बोल्न सक्दैनन् । केवल सामाजिक सञ्जालमा राखिएका दुई शब्दले पार्टी रुपान्तरण हुँदैन ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार