प्रधानमन्त्रीले चाल्ने कदमप्रति सशंकित एमालेले थाल्यो सरकार फेर्ने कसरत, देउवालाई नेतृत्वको अफर
केदार भट्टराई (काका)
जेठ १०, २०८० बुधबार १६:११:३०
१० जेठ, काठमाडौं । एकलौटी बहुमत भएका बेला सेना चलाएर अल्पआयुमै सत्ता च्युत भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपटक गठबन्धन सरकारको नेतृत्वबाट पनि शरणार्थी प्रकरणलाई राजनीतिक कारण बनाएपछि चाँडै सत्ता च्युत हुने अवस्था देखिएको छ । नक्कली शरणार्थी प्रकरणलाई सतहमा देखाएर भित्री राजनीतिक खेल भने प्रधानमन्त्री हटाउने तर्फ केन्द्रित देखिएको हाे ।
प्रधानमन्त्री प्रचण्डलाई सरकारको नेतृत्वबाट बाहिर पुर्याउन केही विषयहरू सतहमा नै देखिन थालेका छन् । एमाले प्रचण्डलाई कुनै पनि हालतमा सरकारको नेतृत्वमा देख्न चाहिरहेको छैन । सरकारकै कमजोरीले राज्य अस्थिर बन्ने संकेत देखिइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई एकलौटी मन्त्रिपरिषद बनाएर सरकारको नेतृत्व गर्न आग्रह गरिरहेको कुरा बाहिरिएको छ । कांग्रेसमा पनि सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने कुरा उठिसकेको छ ।
द्वन्द्व कालीन मुद्दा निराकरणको विषय निकै पेचिलो बन्ने स्थिति छ । मानवअधिकार र युद्ध अपराधका विषयमा प्रधानमन्त्री प्रचण्डमाथि विदेशी शक्ति राष्ट्रको चासोले उनलाई अप्ठ्यारो पार्ने स्थिति छ । टीआरसी विधेयकमा एमालेको साथ अनिवार्य छ । तर, माओवादी भने जसरी सत्य निरुपण र बेपताको विषय एमालेले अगाडि बढाउन दिने छैन । कांग्रेसमा पनि फरक धारणा छ । केही समय सामसुम भएपनि प्रधानमन्त्रीमाथि लागेको फौजदारी अभियोग हटिसकेकाे छैन । उनी माथि यस्ता धेरै मुद्दाहरू आउने संकेत आइसकेको छ ।
प्रधानमन्त्री आफै पनि आफ्नो अनुकूल हुने गरी केही महत्वपूर्ण निकायहरूको नेतृत्व हेरफेर गर्ने रणनीतिमा छन् । यसले पनि पहिलेको सेनापति प्रकरण जस्तै रुप नलेला भन्न सकिन्छ । सरकारका काम कारबाहीप्रति सत्ता गठबन्धनभित्रै पनि बेमेल देखिएको छ । सत्ता गठबन्धनका दलहरू प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्ध कालमा भएका घटनालाई सरकारी तहबाट स्थापित गराउन खोजिरहेको भन्दै असन्तुष्ट देखिएका छन् । जनयुद्ध दिवसलाई सरकारी मान्यता दिन खोजेको र सरकारको नीति तथा कार्यक्रममा समेत जनयुद्ध शब्द राखिएको प्रति असन्तुष्टि बढेको छ ।
प्रदेश सरकारका विषयमा पनि सत्ता गठबन्धनभित्र चर्को विवाद देखिएको छ । मधेश प्रदेशमा माओवादी र जनता समाजवादीबीच विवाद सुरु भइसकेको छ भने प्रदेश सरकारको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पनि पछिल्लो समय सम्बन्ध चिसिँदै गएको छ । कार्यक्रमका सिलसिलामा सुदूरपश्चिम पुगेका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई एकलौटी नगर्न चेतावनी नै दिएका थिए ।
सरकारलाई समर्थन दिइरहेको जनमत पार्टीभित्र पनि समर्थन दिन कि नदिने भन्ने बहस सुरु भइसकेको छ भने रेशम चौधरी रिहाइका लागि केही नेपाल ऐन संशोधन गर्न ल्याइएको विधेयक पास नभएमा नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन नदिने निश्चित छ । नेपाली कांग्रेसभित्र पनि प्रचण्ड नेतृत्वमाथि प्रश्न उठाइन थालेको छ भने बाह्य शक्ति राष्ट्रहरूले पनि माओवादी नेतृत्वको सरकारलाई रुचाएको अवस्था देखिएको छैन ।
अर्कोतर्फ उनी तत्कालीन माओवादी जनयुद्धमा भएका जघन्य अपराध र भ्रष्टाचारका प्रमाणहरुलाई आफू प्रधानमन्त्री भएको समयमा ढाकछोप र लुकाउने प्रपञ्चमा देखिएका छन् । माओवादी लडाकू शिविरमा भएको आर्थिक अनियमितता माथि मात्रै सर्वोच्च अदालतमा समेत १४ जनाभन्दा बढी नेता विरुद्ध उजरी परेका छन् । यी उजुरी अदालतबाट हटाउन र शिविर भ्रष्टाचार लुकाउन उनले केही निकायका अधिकारीहरू हटाएर आफू निकटका लागि लान खोजिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले यी कदम चाल्न सुरु गरेमा उनी विरुद्ध लागेको एमालेलाई गतिलो मसला मात्र हुने छैन, उनी स्वयं जोखिममा पर्नेछन् । प्रधानमन्त्री अहिले भित्रभित्रै नक्कली शरणार्थी प्रकरणलाई देखाएर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई हटाउन चाहिरहेका छन् । राई र तिमल्सिना ओलीका विश्वास पात्र हुन् ।
तिमल्सिना नहटाई प्रधानमन्त्री प्रचण्डले अख्तियारमा अर्को मान्छे लान मुस्किल छ । किनभने संवैधानिक परिषदमा यति बेला एमालेकाे बहुमतमा छ । एमाले बहुमतमा रहेसम्म अख्तियार प्रमुखमा अर्को नियुक्ति सम्भव छैन । प्रचण्ड अदालतमा पनि आफू अनुकुलका न्यायाधीशहरू पुर्याउने खेलमा छन् । उनी अनुकुलका न्यायाधीश नभएसम्म माओवादीका मुद्दा अदालतबाट हट्ने अवस्था छैन ।
प्रचण्डबाट यस्ता काम हुन लागेको संकेत पाएर नै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व लिन भनिरहेका छन् । उनले एमालेले सरकारमा सहभागी नजाउने तर, समर्थन गर्ने भन्दै देउवालाई कांग्रेसको मात्रै सरकार बनाउन दवाव दिइरहेका छन् । प्रधानमन्त्रीले अनायास प्रहरी नेतृत्व र अख्तियार माथि हात हाल्दा एमालेले नभने पनि कांग्रेस चुप बस्ने अवस्था छैन । यसलाई एमालेले सेनापति प्रकरण जस्तै बनाउने निश्चित पनि छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपशक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार